विचार

यसकारण आयो मेलम्चीमा विपत्ति

शिवकुमार शर्मा |
साउन २१, २०७८ ८:१० बजे

मेलम्चीमा गत असार १ र साउन १८ गते जुन भीषण बाढी-पहिरोको प्रकोप आयो, यसको मुख्य कारण मौसम परिवर्तन हो । मौसम परिवर्तनका कारण पृथ्वीको वातावरणमा तापमान वृद्धि भइरहेको छ । क्रमशः बढोत्तरी भएको वातावरणको तापमानले हाम्रा स्थायी हिउँरेखा (आइस लाइन) क्रमशः विलुप्त हुँदै गए ।

शून्य डिग्रीको तापक्रममा रहने स्थायी तुषारो ९एभचmबाचयकत० पनि हराउँदै गए । लाखौं वर्षदेखि जमेका यस्ता तुषार क्षेत्र माथि-माथि गइरहेको छ, तल तलका सकिँदै । पृथ्वीमा मौसम परिवर्तनका असर पर्नुअघि यस्तो तुषार क्षेत्र बाह्रै महिना ठण्डा रुपमा रहन्थे । यो तुषार क्षेत्रको महत्व पृथ्वीको भूगर्भ जोगाउन यति महत्वपूर्ण छ कि यसले सतहका ढुंगा र माटोलाई समातेर राखेका हुन्छ ।


ADVERTISEMENT

यसको माटो र ढुंगालाई कसिलो बनाउने प्राकृतिक संयन्त्र (तुषारो) नभएपछि खुकुलो हुन थाल्छन् । जब सामान्य पानी पर्छ, अनि ती क्रमशः झर्ने र बग्ने हुन्छ । कसिलो तवरले जमेर बसेका ढुंगामाटो खुकुलो भएपछि सामान्य वर्षाले पनि खोलामा सोहोरिएर ओइरिने गर्छन् । सदियौंदेखि बरफ जमेर बसेको क्षेत्र अहिले नेपालमा पनि रित्तिँदै गइरहेका छन् ।

 

मेलम्चीको अस्तिको विपत्ती कुनै एक ठाउँमा पहिरो गएर भएको होइन । मौसम परिवर्तनले गर्दा हिउँ पग्लेर पानी भयो । ढुंगामाटालाई समाएर राख्ने केही भएन । त्यसमा अलिति पानी पर्‍यो कि बगेर ओरालो लागिहाल्छ । त्यसकारण यो एउटा चेतावनीको संकेत मात्र हो ।

हिमालबाट सुरु भएर मेलम्चीजस्ता यस्ता खोला नेपालमा सयौं छन् । यी खोलाहरुमा यस प्रकारको विपत्ति हुने सम्भावना असाध्यै धेरै छ । यसले के देखाउँछ भने मेलम्चीको जस्तो घटना मुलुकका अन्य ठाउँमा पनि हुन सक्छन् । त्यसैले सबै सजग र सचेत हुन जरुरी छ । मेलम्ची आयोजना भएका कारण यसको सबैतिर ध्यानाकर्षण भयो । अन्य ठाउँमा पनि यस्तो घटना भइरहेका छन् र हुनेवाला पनि छन् । पहिरोले खोला थुनिएको सिन्धुपाल्चोकको जुरेमा मात्र हो ।

हिमालभन्दा मुनिका क्षेत्रबाट यसको तुषार क्षेत्र पग्लने क्रम सुरु भएको छ । यो माथि माथि गइसकेको छ । माथिबाट सुरु भएको तुषार क्षेत्रको स्खलनले तल सोहोरेर ल्यायो । मलाई कोही विशेषज्ञले बताइदिउन् कि मेलम्चीका भौतिक संरचना अहिलेकोभन्दा उपयुक्त ठाउँमा गरेको भए केही हुँदैनथ्यो भन्‍ने । म चुनौती नै दिन चाहन्छ । मेलम्ची संरचनाको डिजाइनका कारण यो विपत्ति भएको होइन । ‘यो जियोलोजिकल स्केल’ (भौगर्भिक) को मौसम परिवर्तनको समस्या हो ।

अब आउने दिनहरुमा यस्तो मौसम परिवर्तनका कारण उत्पन्‍न समस्या निरन्तर भइरहनेछन् । मेलम्चीमा २२, २३ किलोमिटरसम्म १० मिटर बाक्लो भएर गेगरान बग्यो । यो घटना भएका बखत मेलम्ची क्षेत्रमा खासै ठूलो पानी पनि परेको थिएन । २४ घण्टामा जम्मा ४० मिलिमिटर पानीपरेको छ। यो भनेको सामान्य वर्षा मात्रै हो ।

हाम्रो रेकर्डमा २४ घण्टामा ४५० मिमिका हाराहारीमा पानी परेको छ । मेलम्चीको त्यस दिनको वर्षात् सामान्य हो । तर माथिबाट गुटुङगुटुङ लेदो आएको छ । पानी सामान्य परेको छ । त्यो लेदो डेब्रिज फ्लो (गेगरान प्रवाह) हो । गेगरानको प्रवाह र पानीको प्रवाहमा आकाश जमिनको फरक छ । गेगरान बहावमा ठूलो ठूलो ढुंगा बग्छ ।

पानीमाथि ठूला संरचना बोकेर हिंड्छ । यस्ता कुरा थुप्रै हुँदैछन् । मौसम परिवर्तनका कारण तुषार क्षेत्र गुमाइरहेका छौं । यसले गर्दा पहिला कसिलो भएर बसेको ठाउँमा सामान्य पानी पर्दा ढुंगा माटो झर्न थाल्यो । त्यसले नदी थुन्यो । नदी थुनिएपछि त्यसको पछाडि बाँध बन्यो । बाँध भरिएपछि फुट्यो । यसरी फुट्दा त्यसले गेगरानसहित लिएर वहाव सुरु भयो । त्यस्तो त्यसपछि त्यसले गति (मोसन) लिन सुरु गर्‍यो । यस्तो गेगरानसहितको वहावले एकचोटि गति लिन सुरु गरेपछि विनाश गर्नु सामान्य मानिन्छ । यो विपत्ती अपेक्षित कुरा हो । यो विपत्तिको सुरुआत मात्र हो । यसबाट हामीले बेलैमा पाठ सिकेर सजगता अपनाउन जरुरी भइसकेको छ । (कुराकानीमा आधारित)



Author

शिवकुमार शर्मा

सिंचाइ विभागका पूर्व महानिर्देशक रहेका शर्मा मेलम्ची खानेपानी खानेपानी आयोजनाको परामर्शदाताको पूर्व टिम लिडर हुन् ।


थप समाचार