विचार

हाम्रो कूटनीति खस्किँदा खस्किँदा कहाँ पुग्यो पुग्यो !

रमेशनाथ पाण्डे |
साउन २३, २०७८ ७:४८ बजे

वैदेशिक सम्बन्धको इतिहास पचास वर्षभन्दा कम भएको भुटानको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँचवटै स्थायी सदस्य राष्ट्रहरूसँग दौत्य सम्बन्ध छैन । उसको विश्वभर जम्मा पाँच मुलुकमा आफ्नो दूतावास छ । राष्ट्रसंघमा सदस्य रहेका कैयन् मुलुकसँग उसको अनौपचारिक सम्बन्ध छ । जति दूतावास छ, त्यति निकै सक्रिय र आफ्नो मलुक हितमा उपयोगी छ ।

भुटानमा राजदूत पद रकम दिएर किन्‍न पाइँदैन, बक्सिसमा पनि पाइँदैन, नेता र दलहरूबीच पदहरूको भागबण्डा पनि हुँदैन र योग्यताले मात्र पद पाइन्छ । र, शासकीय संस्कृतिको यो अभ्यासले कोरोना महामारीमा मित्र राष्ट्रहरूबाट सद्‌भावना स्वरूप समयमा नै पर्याप्त खोप पाएको भुटानले आफ्ना जनतालाई खोप लगाएर सुरक्षित बनाएपछि बाँकी भएको खोप नेपाललाई अनुदानमा दिएको छ ।


कूटनीतिक र शासकीय सफलता तथा राजनीतिक संस्कारको यो नमुना हो । सर्वोच्च अदालतद्वारा आफ्नै अनुभवले खारिएको र आवश्यकताद्वारा अनुप्राणित एवं विशिष्ट किसिमको भनिएको नेपालको प्रजातन्त्रमा आम जनता अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर मसानमा धर्मअनुसार दाहसंस्कारसमेत गर्न नपाएर व्याकुल भएका छन् ।

अहिले खोप लगाउन नपाएर छटपटाइरहेका छन् । प्रतिपक्ष निर्जीव नभएको भए अहिले सदन र सडकमा वैदेशिक सम्बन्धको २५० वर्ष लामो इतिहास, सार्क मुलुकहरूमध्ये सबैभन्दा पुरानो अनुभव, राष्ट्रसंघ सुरक्षा परिषद्का पाँचवटै स्थायी सदस्यहरूसँग पुरानो दौत्य सम्बन्ध र ती देशहरूमा रहेका दूतावासहरूको प्रासंगिकता र औचित्यबारे प्रश्न घन्किन्थ्यो ।

यस्तो अवस्थामा नेपालका दूतावासहरू के गरिरहेका छन् ? राजदूत केका लागि त्यहाँ गएका हुन् ? त्यसको जिम्मेवारीको हेक्का छ कि छैन ? यो प्रश्न सोध्न जरुरी छ । सरकारमा रहेकाले पनि यस्ता विषय ख्याल गर्न आवश्यक छ । यतिबेला सत्तामा भएकाहरू भागबण्डा मिलाउन र सत्ताबाट बाहिरिएकाहरू घर झगडा मिलाउन बुध्दि खियाइरहेका छन् । यसैले नेपाली राजनीतिमा इतिहासको ज्ञान, जनताप्रतिको दायित्व बोध र राजनीतिक संस्कारको प्राधान्य खोज्‍न थालेको छ । यही अवस्था रह्यो भने खोजीको गति थप बढ्नेछ । (पाण्डे पूर्वपरराष्ट्र मन्त्री हुन् ।)



Author

थप समाचार