विचार

२००७ सालको डायरी

राणाको क्‍लबको प्रवेश शुल्‍क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय

विमल आचार्य |
साउन २६, २०७८ मंगलबार १०:५४ बजे

इतिहासकार नयराज पन्तको डायरी अनुवाद तथा सम्पादनमा व्यस्त छन्, उनका जेठा छोरा डा. महेशराज पन्त । पिता नयराजले संस्कृत भाषामा लेखेको डायरीलाई किताबका रूपमा छाप्ने तयारी गर्दै गर्दा महेशराज सत्तरी वर्षअघिको नेपालमा पुगेका छन् । राणाशासनको अन्तिम दिनदेखि प्रजातन्त्रको सुरुवाती समयका डेढ वर्षमा पिताले हर दिनजसो लेखेको राजनीतिक डायरी फेरि फेरि पढिरहँदा महेशराजलाई लागेको छ- यो नेपालले कहिल्यै सुख पाएन !

आज साउन २६ गते नयराजको १०९ औँ जन्मदिनको बिहान इकागजसँग कुराकानी गर्दै महेशराजले भने, ‘लक्ष्मीपूजाको दिन बुवाको श्राद्ध पर्छ । आउने कात्तिक १८ गतेसम्म यो डायरी किताबका रूपमा आउला कि भन्‍ने मेरो विश्वास छ ।' डायरी २००७ देखि २००८ सालसम्मको राजनीतिक घटनाक्रममा केन्द्रित रहेको महेशराजले बताए । उनले भने, ‘२००७ कात्तिक २२ गते राजा ज्ञानेन्द्र गादी चढेदेखि वि.सं. २००८ को अन्त्यसम्मको घटना समेटेर नयराज पन्तले प्राञ्जल संस्कृतमा गद्य र पद्यमा लेखेको डायरी हो, यो । डायरीलाई बुवाले ''प्रजातन्त्रारम्भको इतिहास'' भनी नाउँ राखे पनि वि.सं. २०४१ मा डायरीको केही अंश छापिन लाग्दा उहाँले नै ''वि.सं. २००७-०८ मा आफूले देखेसुनेका र आफ्ना मनमा लागेका कुरा'' भनी नाउँ दिनुभएको थियो ।’ 


नयराज पन्त तिनै विद्वान् हुन् जसले आजभन्दा ८१ वर्षअघि २७ वर्षको उमेरमा पाठशाला खोले । प्रचलित त्रिखण्डी शिक्षा (एक तिहाइ अंक ल्याए पनि पास हुने) मा असन्तोष जनाउँदै उनले आफैँ पाठ्यक्रम बनाए । उनले आफ्ना छोराहरूलाई पनि आफूसँगै पढाए । पन्त पाठशाला (नाम भने कहिल्यै राखिएन) बाट ४४ जनाले शिक्षा-दीक्षा लिए । नयराजका कान्छा छोरा तथा हालका प्राज्ञ प्राध्यापक दिनेशराज पन्त पाठशालाका सबैभन्दा कान्छा शिष्य हुन् । धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, शंकरमान राजवंशी, भोलानाथ पौडेल, गौतमवज्र वज्राचार्य, पन्त दाजुभाइ पाठशालाकै उत्पादन हुन् । नेपालको प्रामाणिक इतिहास लेखनमा पन्त पाठशालाको विशद् योगदान छ । 

२००९ सालदेखि पन्त पाठशालाका विद्यार्थीले इतिहास शुद्ध पार्न पर्चा-पुस्तिका निकाल्न थाले । यिनहरूमा यति जोस थियो कि २०११ सालतिर त दिनमै दुइटासम्म ‘इतिहास संशोधनपत्र’ निकाल्थे । यी पर्चा-पत्रिका हातहाती बिक्री हुन्थे । 

२०१८ सालदेखि तीन-तीन महिनामा निकाल्ने गरी ‘अभिलेख संग्रह’ छापे । २०२१ सालदेखि अभिलेख संग्रहको ठाउँ ‘पूर्णिमा’ पत्रिकाले लियो । महेशराज यसको संस्थापक सम्पादक हुन्, त्यतिबेला उनी २१ वर्षका थिए । यो पत्रिका हाल अनियमित भए पनि महेशराज यसका सम्पादक नै छन् । गत वर्ष मात्र महेशराजको ‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ पुस्तक मार्टिन चौतारीबाट छापिएको छ, जसमा २५ वटा अनुसन्धानमूलक लेख संगृहीत छन् । 
अब फेरि लागौँ, नयराजको प्रकाशोन्मुख डायरीतिरै । किनभने आज नयराजको जन्म दिन पनि हो । 

नयराज पन्तले लेखेको डायरी अनि त्यसलाई ज्ञानमणि नेपालले साफी गरेका दुवै प्रति महेशराजसँग सुरक्षित छन्, दुरुस्त छन् । नयराजले डायरी किन संस्कृतमा लेखे त ? अनुवादक महेशराज भन्छन्, ‘उहाँ आफ्नो कुरा स्थायी रूपले रहोस् भन्‍ने लाग्यो भने संस्कृतमा लेख्नुहुन्थ्यो । उहाँले लिच्छविकालमा चलेको गुप्तलिपिमा पनि अरु टिपोट गर्नुभएको छ । १९९७ सालमा नयराजकहाँ राणाहरूले जाँचपड्ताल गर्दा बुवाका ससुरा जो श्री ३ जुद्धका प्रियपात्र थिए, ती अत्यन्त चिन्तित भएका थिए । यस्तै यस्तै कारणले पनि होला, उहाँ संस्कृतमा लेख्नुहुन्थ्यो ।’

‘राणाहरूले यस नेपाल राज्यलाई आफ्नो पैतृक सम्पत्ति नै सम्झेका थिए । तिनीहरूको दृष्टिमा सबै वर्णका मानिस तिनीहरूको दासता गर्न ब्रह्माले पठाएका थिए ।’

प्रकाशोन्मुख डायरीमा नयराजले आफूबारे, आफ्नो पारिवारिक विषयबारे भने केही लेखेका छैनन् । डायरी निजात्मक विधा त हो तर यो पूरै निर्वैयक्तिक छ । पूर्णतया राजनीतिक घटनाक्रममा केन्द्रित छ, यो । ‘कौटलीय अर्थशास्त्र’लाई पानी बनाएका नयराजले आफ्नो डायरीमा धेरै ठाउँमा राजनीतिसम्बन्धी टिप्पणी गर्दा कौटिल्यको सिद्धान्तलाई आधार बनाएका छन् । २००७ चैत २३ गते उनी लेख्छन्, ‘अहिले नेपालमा राणावंशको पतन पनि कौटल्यको सूत्रअनुसारै भएको छ भन्‍ने कुरा विद्रोहीहरूका सेनापति सुवर्णशमशेर भएकाले प्रमाणित हुन्छ । सुवर्णशमशेरको पछि लागेका महावीरशमशेर, गोपालशमशेरहरू पनि राणाजी नै हुन् । तिनीहरूकै पैसाले जोडिएको फौजले राणावंशसँग विद्रोह गर्न हतियार उठायो । धेरै मानिसको हर्षको कारण भएको प्रजातन्त्र त्यही फौजले नेपालमा ल्यायो ।’

लेखक मदनमणि दीक्षितले ‘यो शताब्दीको सबैभन्दा अग्लो नेपाली’ भनेर लेखेका छन्, नयराजलाई । नयराजको प्रकाशोन्मुख डायरीमा उनले देखेका राजनीतिक घटनाक्रम उतारिएको मात्र छैन, उनले आफ्नो विचार पनि टिप्पणीका रुपमा प्रस्तुत गरेका छन् । 

२००८ सालको आजकै दिन अर्थात् साउन २६ गते उनी लेख्छन्, ‘वि.सं. २००८ साउन २४ गते हिरण्यशमशेर (सुवर्णशमशेरका बाबु) परलोक भए । यिनी श्री ३ भीमशमशेरका भित्रिनीपट्टिका छोरा हुन् ।....त्यसपछि हिरण्यहरूले राणाद्रोह स्पष्टसँग गरे । तिनका छोरा सुवर्ण त रोणाद्रोहीहरूका अग्रणी भए । तिनकै धनले निर्धन कोइरालाहरूको ठूलो उपकार गर्‍यो ।’ 

नयराजले यो डायरीमा मूलत: राजा, राणा र कांग्रेसलाई विषय बनाएका छन् । अनुवादक महेशराजका अनुसार नयराजले यी सबैलाई आलोचनात्मक आँखाले हेरेका छन् । ‘उहाँले आफूले देखेको कुरा दुरुस्तै उतार्नुभएको छ । अनि राजा, राणा, कांग्रेस सबैको निर्मम आलोचना गर्नुभएको छ । अब उहाँलाई के वादी भन्‍ने ?’ महेशराजले प्रश्नचिह्नमा जवाफ दिए ।

उनले राणाहरूको शासनलाई कसरी हेरेका छन्, २००८ मंसिर १५ गतेको उनको यो अंशले बताउँछ, ‘राणाहरूले यस नेपाल राज्यलाई आफ्नो पैतृक सम्पत्ति नै सम्झेका थिए । तिनीहरूको दृष्टिमा सबै वर्णका मानिस तिनीहरूको दासता गर्न ब्रह्माले पठाएका थिए ।’ 

यसरी नै २००७ चैत ३० गते उनी लेख्छन्, ‘आज बिहान गोरखा दलका महामन्त्री भरतशमशेरलाई गृहमन्त्री विश्वेश्वरको आज्ञाले आइजीपी तोरणशमशेरले पक्री ठानामा थुने ।....विश्वेश्वरले हानेको गोलीले केही मानिस मरे । त्यसपछि मुक्तिसेनाका बन्दुकधारी सिपाहीहरूले आएर भरतशमशेरलाई जिउँदै पक्रे । नेता भरतशमेशर भएकाहरूले केहीलाई घाइते पारे, विश्वेश्वरलाई नारायणहिटी दरबारमा लगियो ।’ 

डायरीमा पन्तले उसबेलाका गृहमन्त्री बीपी कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनी लेख्छन्, ‘हामीले प्रजातन्त्र व्यवस्था चलाउन उद्योग गरेका छौँ भनी मुखले भन्‍ने नेता भनाउँदा यिनीहरूले अदालतमा दोषी ठहर नभइसकेको मानिसलाई कसरी समात्लान् वा समातेर झ्यालखानामा थुन्लान् भन्‍न प्रजातन्त्र बुझेको कुन मानिसले भन्‍न सक्ला ?’ पन्तले अदालतको फैसालविनै भरतशमशेरलाई सोझै जेल हाल्नु अप्राजातान्त्रिक हो भन्दै यस्तो काम राणाशासन अर्थात् एकतन्त्रमा मात्र सुहाउँछ भनेका छन् । पन्तको टिप्पणी छ- बीपी प्रजातन्त्रको नीति-नियमअनुसारै चल्ने खालका मान्छे नै हुन् त ?

गरिब राज्यको धेरै स्रोत शासकहरूबाट अनावश्यक खर्च भएकामा नयराजले आपत्ति जनाएका छन्- धन कमाउन कष्ट गर्न नपर्ने मानिसहरू प्राय: यस्तै हुन्छन् ।

डायरीमा बीपी कोइरालाकै अर्को रोचक प्रसंग पनि छ । बीपीले गृहमन्त्रीबाट राजीनामा दिइसकेका थिए । उनी वनारस गए । त्यहाँ उनले आफूले पढेको हरिश्चन्द्र कलेजलाई पाँच हजार रुपैयाँ चन्दा दिए । यो खबर नयराजले ‘सन्मार्ग’ पत्रिकामा पढे । नयराजलाई लाग्यो- विश्वेश्वर ९ महिना मात्र गृहमन्त्री भए । महिनाको १५ सय रुपैयाँ गरेर जम्मा उनले १३ हजार पाँच सय रुपैयाँ बुझे । उनी घरमा सम्पन्‍न मान्छे पनि होइनन् । त्यस्ता मान्छेले यत्रो चन्दा कसरी दिए ? यो खबर पढ्दा नयराजलाई ‘धेरै खर्च गर्नेलाई शंका गर्नू’ भन्‍ने कौटल्यको सूत्रको सम्झना भयो । 

नयराजले डायरीमा सेनाको विस्तारको विषयमा पनि लेखेका छन् । नौसेना र हवाई सेनाबारे पनि कुरा गरेका छन् । राणाहरू लोकको हित गर्दैनथे, प्रजालाई दास जस्तो व्यवहार गर्थे भनेर उनले धेरै ठाउँमा लेखेका छन् । प्रजातन्त्र आएपछि विलास प्रचुर मात्रामा बढ्यो र त्यसमा राजपरिवार र राणापरिवारको ठूलो हात रहेको भन्दै उनले लेखेका छन्- जावलाखेलमा श्री ३ जुद्धको दरबारमा उनका नाति युवराजशमशेरले नेपाल होटलको नाउँले एउटा होटल र त्यहीँ नाइट क्लब खोलेका थिए । त्यस क्लबको प्रवेश शुल्क मात्र १५ सय रुपैयाँ थियो । त्यहाँ त्रिभुवन बराबर जान्थे । त्यतिले नपुगेर नारायणहिटी दरबारमा पनि बराबर बल डान्स हुन्थ्यो । 

गरिब राज्यको धेरै स्रोत शासकहरूबाट अनावश्यक खर्च भएकामा नयराजले आपत्ति जनाएका छन्- धन कमाउन कष्ट गर्न नपर्ने मानिसहरू प्राय: यस्तै हुन्छन् भन्दै उनले पुराना नाटक र कथाको चर्चा गर्दै ‘रघुवंश’मा राजा अग्‍निवर्णको विषयमा लेखिएको पद्य उद्धृत गरेका छन् । 

हुन पनि उसबेलाका गृहमन्त्रीको महिनाभरिको तलबले एकचोटि मात्र क्लब छिर्न पुग्ने रहेछ । बीपीको मासिक तलब पनि १५ सय, क्लब प्रवेश शुल्क पनि १५ सय रुपैयाँ नै । प्रकाशोन्मुख यस पुस्तकमा नयराजको संस्कृत र महेशराजको नेपाली अनुवाद सँगसँगै पढ्न सकिनेछ । एक इतिहासकारले पूर्णत: राजनीतिक विषयमा लेखेको यो डायरी पक्कै विशेष हुने अनुमान गर्न सकिन्छ ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x