विचार

माधवकुमार नेपाललाई सधैं कलंक लाग्‍नेछ

सूर्य थापा |
भदौ २, २०७८ बुधबार १७:४९ बजे

माधवकुमार नेपालमा तत्कालीन महासचिव केशरजंग रायमाझीको झल्को देखिएको थियो । अन्ततः उनले त्यही गरे । घरभित्र झगडा थियो तर उनले घरमा आगो लगाउदै आफू बाहिरिने काम गरे । त्यस्तै काम रायमाझीले गरेका थिए ।

रायमाझीले राजा महेन्द्रको पाउमा लगेर तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको एक हिस्सालाई बुझाएका थिए । तर माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पाउमा लगेर बुझाउन खोजे । केही चाेइटो बुझाइ पनि हाले । हुनत् उनले प्रतिगमनको समयमा पनि राजाको पाउमा दाम चढाएकै हुन् । त्यो बुझेर पनि तीन पुस्तादेखि पार्टीमा लागेकाहरू यताउता गर्ने देखिदैनन् ।


विगत नै हेरौ न, २००७ सालपछि नेपालमा राजनीतिक दल स्थापाना भएर अगाडि बढ्दा ती दलबाट हाँगा बनेर गएका कुनै पनि पार्टी टिकेका छैनन् । त्यसयता बनेका दलमा अनेकन विभाजन भए अर्थात् अनेका हाँगा विंगा बने ।

अहिलेसम्म कुनै हाँगा पनि मूल रुख बन्‍न सकेन । अर्थात मुलुक पार्टीलाई उछिनेर अघि बढ्न सकेन । पछि हाँगा खोलेर जानेहरू फर्केर मूल पार्टीमा नै फर्केका छन् । कांग्रेसमा नै मातृकाप्रसाद कोइरालाको राष्ट्रिय प्रजा पार्टी होस् या पछि मोहनविक्रम सिंहका विभिन्‍न समूह हुन् । कुनै टिकेन । पछि नेपाली कांग्रेस प्रजातान्त्रिक खोलेर गएका शेरबहादुर देउवा अहिले मूल पार्टीमा फर्केर सभापति भएको उदाहरण नै छ ।

पुष्पकमल दाहालबाट फुटेर गएकाको अवस्था नै हेरौँ । एमालेबाट फुटेर गएका वामदेव गौतम पुनः एमालेमा फर्केका होइनन् । यो विषय हामीले बुझ्‍न पर्छ । अब धेरै खुद्रा दोकान चल्दैनन् । अहिले मूल पार्टीबाट फुट्ने भनेको खुद्रा दोकान खोल्ने नै हो ।

माधवकुमार नेपालले पार्टी बनाउने कुरो पनि यो इतिहासको कडीभन्दा बेगर हुन्‍न । खुद्रा दोकानजस्तै हो । म्याद सकिएका सामान राखेर वा सामान नै नभएका खुद्रा पसल चल्ने कुरै छैन । त्यसैले घरमा जति झगडा भए पनि पार्टीका पूर्वमहासचिवले नयाँ पार्टी खोलेर जाँदा एक पटक सबैले विगत सोच्‍नेछन् ।

त्यसैले बागमती प्रदेशमा अध्यक्ष ओलीको खरो आलोचककाे छबी बनाउनु भएकी नेतृ नै मुख्यमन्त्रीमा फर्कदै हुनुहुन्छ । आलोचना गर्ने एक कुरा तर पार्टी नै भताभुंग पारेर जाने अर्को कुरा हो । त्यस्तै प्रदेश एकमा पनि परिवर्तन हुने निश्‍चित भएको छ । सम्भवत भिम आचार्य त्यहाँ आउनु हुनेछ ।

जसरी रायमाझी दरबारिया गोटी सावित भए । त्यसको बदलामा उनी राजाको मन्त्री र पछि राजपरिषद् स्थायी समिति सभापतिजस्ता के के पद पाए । माधवले यसपालि त्यही गर्नुभयो । तर उहाँ पुष्पकमल दहालको गोटी बन्‍नुभयो र शेरबहादुरलाई बुझाउनु भयो ।

सिद्धान्तहीन, संस्थागत निर्णय हितविपरीत पार्टीमा बुझाउने काम  माधव नेपालबाट भएको छ । रायमाझीको कित्ता झैं देखिएका नेपालजीले जति प्रयास गरे पनि नयाँ दुकान चल्ने वाला छैन । केपी ओलीले भने झै उहाँ दाहालको कार्यकर्ता भएर रहनुहुनेछ ।

समाजवादी अनेक पुच्छर जोडे पनि व्यक्तिवाद कुण्ठा बोकेका ७ दशक उमेर काटेकाले खोलेको पार्टीमा को पछि लाग्‍ने ? केपी ओलीले नै नयाँ दल खोले पनि कोही पछि लाग्दैनन् भने माधवजीकोमा को लाग्लान र ? अहिले उहाँले खोेलेको पार्टी कस्तो हो भने जुन गोरुको सिंग छैन उसको नाम तिखे भनेजस्तै हो ।

इमानविनाको इमानसिंह जस्तै हो । पार्टी निर्माण गर्न ७० वर्ष लगाएका व्यक्तिहरू माधव नेपालसँग पनि के आधारमा जाने र किन जाने ? नयाँ पार्टी खोलेकोमा अपमान गरेको होइन । शुभकामना नै भनौला । तर कसरी के आधारमा उनीहरूको पछि लाग्‍ने ? व्यक्तिगत कुण्ठामै पार्टी नै खोलिदिने । कसैले उचालेको भरमा पछि लाग्‍ने ?

एमालेमा रातारात लागेको पंक्ति छैन । ६० वर्षदेखि मेहनत गरेर पार्टी बनाएका छन् । पाँच, दस वर्षदेखि यसलाई नेतृत्वमा ल्याउन प्रयास गरेर यहाँसम्म आएको पार्टीलाई यो अवस्था बनाउने काम गलत हो । शेरबहादुरले पार्टी फुटाउने प्रयास गर्नु स्वभाविक हो । तर माधवजीले गर्नु स्वभाविक होइन ।

मातृ पार्टीलाई विभाजित गर्ने सोच कसैको हुँदैन । सबैको यसमा पसिना परेको छ । हिजो को कता लाग्यो कता भए भन्ने कुरा फरक हो । अब पार्टी एकताको पक्षमा को उभियो भन्ने मुख्य कुरा हो । प्यानलको विवादमा राख्नु हुन्न । आजको विन्दुबाट पानी ढलोमा हेर्नुपर्छ । विवाद गर्न पाइयो घर ध्वस्त पार्न पाइँदैन । यसको कलंक माधवकुमार नेपाललाई सधै लाग्‍नेछ ।

(एमाले केन्द्रीय सदस्य थापासँगको कुराकानीमा आधारित)


Author

थप समाचार
x