विचार

सहरमा आज रमिता छ

राजाराम बर्तौला |
भदौ १०, २०७८ बिहिवार ९:५६ बजे

आज सहरमा रमिता छ । रमिता त छ, तर केको रमिता छ ? उसो त सहर भन्‍ने ठाउँ नै यस्तो हो, जहाँ हरदम केही न केही रमिता चलिरहेको हुन्छ । के अनौठो भयो र सहरमा रमिता नहुनु, जात्रा नहुनु ! काठमाडौँ त झन् यस्तो सांस्कृतिक सहर हो जहाँ हरेक दिन कुनै न कुनै नगर, टोल, चोक या गल्लीमा जात्रा चलिरहेको हुन्छ । जात्रा पनि थरीथरीका, शक्तिको प्रतीक खड्ग साट्नेदेखि गाईजात्रामा बहुरंगीरूप धारण गर्ने र मुखुण्डो भिर्ने । गाईजात्रा भन्‍नेबित्तिकै गाईको भन्दा बढी मानिसको जात्रा बढी हुने भएकाले हेर्न लायक हुन्छ । 

सहरमा जता हेर्‍यो त्यतै रमिता छ । टुँडिखेलमा चटकेको चटक होस् या सबै रोगको रामवाण, वीर्यवर्द्धक, आयुवर्द्धक हिमालय तेलको करामत हेर्नेलाई रमिता छ, मनोरञ्जन छ सित्तैको । सहरमा विभिन्‍न साइज र रङको मुखुण्डो बिक्रीका लागि पसल–पसलमा राखिएको छ । आफूलाई ठीक हुने साइज र मन परेको रङको मुखुण्डो भिरेर नृत्य गरे हुन्छ सहरमा । 


यी विभिन्‍न रङ र रूपका मुखुण्डोधारीहरू कोही शक्तिको प्रतीक हातमा खुँडा र तलबार लिएर, कोही प्रतिरक्षामा ढाल बोक्दै हिँडिरहेका देखिन्छ । यी खड्गधारकहरू घरिघरि दर्शकलाई झम्टन आइपुग्छन्, फ्रिस्टाइल नृत्य देखाउँदै । जात्रा सहरको परिचय हो । जता हेर्‍यो त्यतै जात्रा देखिन्छ । नेपालीको सुखको कुरा ? भो त्यो त सोच्दै नसोचौँ । दुःखको कुरा पनि नगरौँ । कोरानाको महामारीले सताएको, शोक र भोकको कुरा पनि नगरौँ आजलाई । यही लोकतान्त्रिक व्यवस्था मिलाउँछु भन्‍ने कबोल गरेर समृद्धिको सपना देखाउने राजनीतिक दलहरूकै कुरा गरौँ ।

माथि वर्णित विवरण काठमाडौँ खाल्डोभित्रको राष्ट्रिय राजनीतिको दृश्य हो । कुनै नाट्यशालामा मञ्चन गरिने दृश्यको झलकसँग सादृश्य राख्ने राजनीति क्रिया । खड्गप्रसाद खड्ग प्रहारको मुद्रामा देखिन्छन् भने हातमा चक्र लिएर हिँडेका छन् माधवेति । अनि अरु इन्द्रादि मरुतगण आआफ्ना शक्तिपासहरूले सुशोभित भएर इन्दाशनको तर्फ यात्रा गर्दैछन् । खड्ग र चक्रले धुजाधुजा भएको नेपालको लोकतन्त्र संरक्षण र संवद्र्धनका लागि अर्को कुनै बहादुरको प्रतीक्षामा रहेको प्रतीत हुन्छ । 

नेपालको लोकतन्त्र सधैँ यस्तै उस्तै पात्रहरूको कारणले स्थायित्व लिन सकेको अवस्थामा भ्रमित छ । राजनीतिक परिवर्तनका लागि आफ्नो सर्वस्व उत्सर्ग गर्न पछि नपर्ने नेताहरू पनि सत्ता स्वार्थको मतान्धतामा सिद्धान्त, निष्ठा र त्याग सबैलाई त्यागेर दलगत स्वाथ, व्यक्तिगत कुन्ठा, पद, प्रतिष्ठा, सम्पत्ति र निजी समृद्धिको निमित्त लागि परेको देख्दा लोकतन्त्र आफैँ लज्जित हुने अवस्थामा रहेको छ । राजनीति नितान्त आत्मकेन्द्रित भएको छ । राजनीतिक सिद्धान्त अरुलाई देखाउन बाहिरी आवरणका रूपमा लगाउने खोल मात्र भएको छ । 

अहिलेको स्थिति, राजनीतिको ध्येय जनसेवा होइन । परोपकार त किमार्थ हुँदै होइन । यो त व्यक्तिको इच्छा पूर्ति गर्ने माध्यम भएको छ । जसरी पनि सत्ता प्राप्त गर्ने र सत्ता प्राप्त गरेपछि सबै जायज नाजायज हथकण्डाहरू प्रयोग गरेर सत्तामा टिकिरहने एउटै लक्ष्य हुने गर्दछ । आफ्ना विरोधीहरूको पत्तासाफ गर्ने र राजनीतिक प्रतिपक्षीहरूको मानमर्दन गर्दै किनारामा धकेलेर कसरी एकाधिकार स्थापना गर्ने र आफ्नै अधिनायकत्व स्थापित गर्ने भन्‍ने अभिष्ट रहने गर्दछ । राजकीय स्रोत र साधनहरूको अधिकाधिक दोहन गरेर आफू र आफन्तहरूको समृद्धिको चाहना पूरा गर्नु यही हो अहिलेको राजनीतिक चरित्र । 

यी सबै गर्नका लागि राजनीतिक दलका रूपमा स्थापित हुनु पर्दछ र राजनीतिक ब्रान्ड कायम गरिनु पर्दछ । जस्तै : सूर्य ब्रान्ड, रुख ब्रान्ड, हलो, वा हँसिया हथौडा त्यस्तै त्यस्तै । यति गरेपछि जनतालाई ध्रुवीकृत गर्न विभिन्‍न ब्रान्डको राजनीतिक दर्शनको घुँटी पिलाएर आफ्नो बनाउन सक्नुपर्दछ । यस काममा केही स्थापित दलहरूले महारथ हासिल गरिसकेका हुँदा पछाडि प्रवेश गर्ने नवागन्तुकहरूका लागि भने राजनीतिक प्रतिस्पर्धा अलि कठिन देखिन्छ । 

त्यसैले राजनीतिक ब्रान्ड छोड्न हत्तपत्त कोही तयार हुँदैनन् । छुट्टै परिचय लिएर जाँदा निर्वाचनमा पराजय हुने डरले पुराना मतदाताहरूलाई आफूप्रति आकर्षण गर्न पुरानो आफू सम्बद्ध दलको फुर्को समातेकै हुन्छन् । जसरी एउटा व्यापारीले आफ्नो उत्पादनलाई नयाँ प्याक र साजसज्जामा नयाँ ब्रान्डसहित सोकेसमा राखेर विभिन्‍न स्टन्टसहित बजार प्रवद्र्धन गर्दछन्, त्यसैगरी हाम्रा राजनीतिक नेताहरू पनि ब्रान्ड प्रवद्र्धन गर्न लागिपरेका छन् । 

अहिले बजारमा फेरि केही थान नयाँ राजनीतिक दलरूपी प्रडक्टले प्रवेश पाएको छ । मूल दलसँग राजनीतिक विमति भएर छुट्टिएर गएको समूहहरूले आफ्नो छुट्टै राजनीतिक दल दर्ता गर्दा पुरानो ब्रान्डको नाम त्याग गर्न नसक्ने रअ‍ेछन् । जस्तै ः ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्‍ने ब्रान्ड नाम चाहिँ कसैले पनि छोड्न चाहेको देखिएन । सिद्धान्त एउटै भएर पनि ब्रान्ड फरक अर्थात् पेप्सीकोला र कोकाकोला भने जस्तो । 

तर बुझ्‍न कठिन तब पर्छ जब साम्यवाद र समाजवाद एउटै फुर्कोमा जोडिएर आउँछ । अनि कताको साम्यवाद कताको समाजवाद । जनतालाई भुलभुलैयामा राख्ने दुष्प्रयास जस्तो । राजनीतिक सिद्धान्तको सिद्धान्तकार एउटै, प्रयोगकर्ता पनि एउटै तर दल फरक, कम्युनिस्टहरूको कम्युनिस्टहरूको कम्युनमा बस्ने कि समाजवादीको समाजमा भन्‍ने द्विविदा देखिने गरी नामाकरण । यो पनि गाईजात्रामा मुकुन्डो लगाएर हिँडेको जस्तो देखिएन र । त्यसैगरी लोकतन्त्रवादी भन्‍नेहरूले ‘जनता र लोकतन्त्र’ भन्‍ने शब्दहरू मोह त्याग्‍न नसकेको जस्तो । लोकतन्त्रप्रतिको बफादारी बखान गर्नेहरू आफ्नै दलको निर्वाचन गराउन सक्दैनन् वा चाहँदैनन् त्यस्तोलाई लोकतान्त्रिक भनेर मानिदिनुपर्ने । 

हाम्रो नेपालमा यो सबै सम्भव छ कि एउटै दल साम्यवादी, समाजवादी र लोकतन्त्रवादी होऊन् । यहाँ त एकदम विपरीत असंगत चरित्रका पात्रहरू पनि एकीकृत होऊन् । एकआपसमा विरोधाभाषी तत्वहरूलाई संश्लेषण गरेर नितान्त नयाँ अवतारमा ल्याउनु हाम्रो राजनीतिक चरित्र जस्तै भएको छ । साम्यवादी दल एकै पटक ‘जनताको बहुदलीय जनवाद’ भन्दै नयॉ अवतारमा लोकतन्त्रको मुकुन्डोसहित अवतरित हुन्छन् । 

यहाँ घोर दक्षिणपन्थीले घोर वामपन्थीको पुच्छर समातेर वैतरणी तर्न खोज्दछ । संविधानवाद र लोकतन्त्रको दुहाई दिँदै साम्यवादीको घोडा चडेर इन्द्रसभामा इन्द्रलाई पुनःस्थापना गराउने सपना देख्छ । भन्‍न त आफूलाई सनातनी परम्पराको अग्रदूत भन्छ तर होली वाइनवालाको घरमा भातभान्सा गर्छ । सिद्धान्त र व्यवहारबीचको चरम विद्रुप रूप यही नेपालमा देख्न पाइन्छ । त्यसैले भनेको यहाँ रमिता छ । 

यतिविधि विशृंखलता र विरोधाभास किन छ नेपाली राजनीतिमा ? नेपालमा लोकतन्त्रले किन संस्थागत आकार ग्रहण गर्न सकेको छैन ? किन यो रमिता छ सधैँ ? किनभने यसमा पात्र र प्रवृत्तिभन्दा पनि पात्र र प्रवृत्तिलाई पैदा गर्ने भूराजनीतिक, सांस्कृतिक र दार्शनिक आधारहरू प्रमुख तत्वका रूपमा रहेका छन् । 

नेपालको भौगोलिक अवस्थितिको कारणले यसको स्वतन्त्रता र सार्वभौमिता रक्षा गर्नु नै प्रारम्भिक र प्रमुख उद्देश्य रहेकाले केन्द्रीकृत शासन व्यवस्थाको आधार नै यसको शासन शत्ताको मियो रहेको हो । भौगोलिक अवस्थिति यस्तो रह्यो बाह्य जगत्मा आएको राजनीतिक परिवर्तनको छिटाहरू पनि ढिलो गरी आएको थियो ।

नेपालको केन्द्रीकृत शासन व्यवस्थाले अधिनायकवादी बलियो शासन व्यवस्था खोज्छ । राणाहरूले पनि राजा नहटाउनुको कारण पनि यही हो । २००७ सालदेखि अभ्यास गर्न प्रयत्न गरिएको संसदीय शासन व्यवस्था जनसहभागितामा आधारिक लोकतान्त्रिक व्यवस्था हो । त्यसो भएको हुँदा यसको स्थायीकरण गर्न र सुदृढीकरण गर्न सांस्कृतिकरूपमा जरा गाडेको केन्द्रीकृत शासन व्यवस्था अवरोधका रूपमा रहनु मनोवैज्ञानिक कारण हो । 

ऐतिहासिक रूपमा हेर्दा भारतमा केन्द्रीकृत शासन व्यवस्था बलियो कहिल्यै थिएन । तर जापान र चीनमा केन्द्रीकृत शासन व्यवस्था सुदृढ थियो । त्यसैले होला, यी दुई मुलुक, यद्यपि भिन्‍न राजनीतिक दर्शन र सिद्धान्तबाट शासित छन्, पचासौँ वर्षदेखि एउटै पार्टीको शासन सत्ता हाबी रहेको छ । तर भारत जहिल्यै पनि अस्थिर रह्यो । अहिले पनि त्यहाँको लोकतन्त्र स्थिर भइसकेको अवस्था छैन । 

नेपालका राजनीतिक दलका नेताहरूले विभिन्‍न रङका जामा र मुकुन्डो पहिरिएर सडकमा गाईजात्रा देखाइरहेका छन् । त्यही भएर सहरमा आज रमिता छ ।

नेपालको राजनीतिक परिदृश्यको अर्को महत्वपूर्ण पाटो के पनि देखिन्छ भने यो पूर्वीय र पश्चिमा सभ्यताबीचको विरोधाभाषी समिश्रण । नेपालले अवलम्बन गरेको लोकतन्त्रको ढाँचा पश्चिमा शैलीको बेलायतको संसदीय व्यवस्था र अमेरिकाको शक्ति सन्तुलनको हो । मूलभूतरूपमा राजनीतिक दर्शनसँग यी दुई विचारले एकाकार गर्न सकिरहेको अवस्था छैन । हाम्रो सनातनी राजनीतिक दर्शन मनुस्मृति र चाणक्य नीतिबाट प्रभावित रहेको छ भने पश्चिमा लोकतन्त्रमा क्रिस्चियानिटीको प्रभाव देखिन्छ । 

तेस्रो महत्वपूर्ण तत्व हो राजनीतिक दर्शन र पर्यावरण । नेपालको उत्तरमा अधिनायकवादी शासन व्यवस्था छ भने दक्षिणमा विश्वकै ठूलो लोकतन्त्र भनिएको संसदीय शासन व्यवस्था । यी दुवैको प्रभाव नेपालमा देखिनु स्वाभाविक हो । यसो भन्दै गर्दा, नेपालको राजनीतिमा प्रत्यक्षरूपमा दक्षिणको प्रभाव नै देखिँदै आएको छ । नेपालका दुई ठूला राजनीतिक दलहरू, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतमा नै भएको हो र यसका ठूला भनिएका नेताहरू त्यहीँको राजनीतिक संस्कार र संस्कृतिमा हुर्किएका र दीक्षित भएका हुन् । पछिल्लो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षमा पनि यसका शीर्ष नेताहरू दिल्लीमा बसेर नेपालको क्रान्ति सञ्चालन गरेका हुन् । 

नेपालको राजनीतिमा दक्षिणको प्रभाव यति बलियो रहेको छ कि त्यहाँको राजनीतिक चरित्र र व्यवहारको छायाँ अटुट रूपमा परिरहेको छ । त्यसैले त्यहाँको राजनीतिक कुसंस्कार हामीकहाँ तुरुन्तै आयात हुन्छ । भारतकै सिको गरेर पाकिस्तान र बंगलादेशको राजनीति पनि प्रभावित छ । समग्र दक्षिण एसियाको राजनीतिक परिदृश्यहरू संस्कारित राजनीतिभन्दा कुसंस्कारबाट ग्रस्त देखिन्छ । त्यो भनेको राजनीतिक दलहरू टुट्ने, फुट्ने, सांसदहरूको अपहरण, बन्धक बनाइनु, असंसदीय संस्कार, आचरण र व्यवहार, अमर्यादित गतिविधि गर्नु, राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्नु, कसैको चरित्र हत्या गर्नु, निर्वाचनमा धाँधली गर्नु, पैसा र पावरको दुरुपयोग गर्नु हो । यी सबै अवगुण हाम्रो संसदीय अभ्यासमा आयातित भएको देखिएका छन् ।  

नेपालले अझै धेरै राजनीतिक गाईजात्रा हेर्न बाँकी छ । किनभने लोकतन्त्रले स्थायित्व प्राप्त गर्न लामो अभ्यास पछि यसलाई संस्कार र सभ्यताका रूपमा आत्मसात् गर्दै सामाजिक आवश्यकताका रूपमा विकसित भएको हुनुपर्दछ । त्यसका लागि अझै धेरै दशक लाग्‍न सक्दछ । यसका लागि छिमेकमा कसरी राजनीतिक संस्कार विकास हुन्छ, त्यसले पनि असर गर्दछ ।

अमेरिकाको लोकतन्त्रमा असर पर्ने गरी छिमेकी कुनै शक्ति राष्ट्रको प्रभाव थिएन । त्यसैगरी बेलायतका लागि पनि बाह्य प्रभावको असर रहेन । जापानमा पनि भौगोलिक कारणले कुनै छिमेकीको असर पर्न सकेन । तर हाम्रो नेपालमा भने भौगोलिक सामीप्य, सांस्कृतिक एकीकरणको कारणले राजनीतिक प्रभाव पर्ने भएकाले अझै धेरै वर्षसम्म यो राजनीतिक गाईजात्रा हेर्न नेपालीहरू विवश हुनेछन् । 

राजनीतिक दलहरूले नेपालीहरूमा भएको कमी-कमजोरीलाई राजनीतिक सिद्धान्तको खोलमा नयाँ प्याक र ब्रान्ड देखाउँदै हाम्रो मत लिइरहनेछन् । नेपाली जनताहरू राजनीतिक सिद्धान्तको आधारमा ध्रुवीकृत भएको कुरा त घाम जत्तिकै छर्लङ्ग छ । यही कमजोरी थाहा पाएका नेताहरू आफूहरू फुटेर नयाँ दल बनाउँदा पनि पुरानो आफू सम्बद्ध दलको नाम वा चिन्हको फुर्को जोड्न छोड्दैनन् ।

कहाँ छ साम्यवाद र साम्यवादी चरित्रको सामीप्य यिनीले नेतृत्व गरेको राजनीतिक दलको ? फेरि पनि दलको नाम कम्युनिस्ट पार्टीमा साम्यवादी, सामाजवादी, माक्र्स र लेलिन सबै जोडिएको । होलीवाइनको पछि लागेर हिँड्ने यिनीहरू खुलारूपमा आफूलाई लोकतन्त्रवादी भनेर साम्यवादी बिल्ला त्याग्‍न सक्दैनन् । किनभने यिनलाई भोटको डर छ । नेपालका राजनीतिक दलका नेताहरूले विभिन्‍न रङका जामा र मुकुन्डो पहिरिएर सडकमा गाईजात्रा देखाइरहेका छन् । त्यही भएर सहरमा आज रमिता छ ।


Author

थप समाचार
x