विचार

सल्लाह पाएपछि हाम्रो दूतावास थन्कियो ?

राजाराम बर्तौला |
भदौ १७, २०७८ बिहीबार ८:५९ बजे

अध्येता, विश्लेषक तथा लेखक सौरभद्वारा लिखित र बुकहिल पब्लिकेसन प्रालिबाट २०७७ चैतमा प्रकाशित ‘असहमति-३’को पृष्ठ ५४ मा परराष्ट्रसँग सम्बन्धित विषयहरूमा ‘परराष्ट्र प्रवृत्ति : विनाटिप्पणी’ भनी लेखक सहमत हुन नसकेका असहज विषयहरूका विवरण दिइएको छ ।

यसै सिलसिलामा यही शीर्षकअन्तर्गतको बुँदा सातमा नयाँपत्रिकामा लेखिएको समाचारलाई उद्धरण गर्दै लेखिएको छ, ‘कोरिया टाइम्सलाई अन्तर्वार्ता दिँदै सोलस्थित भारतीय राजदूत विष्णुप्रकाशले सगरमाथा, भारत र चीनको सिमानामा पर्ने दाबी गरे । अन्तर्वार्ता पढेपछि कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गरायो । मन्त्रालयले प्रतिवाद गर्न नेपाली राजदूतावासलाई निर्देशन दियो । तर, भारतीय राजदूतले नेपाली राजदूत कमानसिंह लामालाई बोलाएर यो विषयमा बढी टिप्पणी नगर्न सल्लाह दिएर पठाए (९ असार, २०६९ नयाँ पत्रिका) । सल्लाह पाएपछि हाम्रो दूतावास थन्कियो ?’


पत्रिकामा भारतीय राजदूतको लेख प्रकाशित भएपछिको प्रतिक्रियामा त्यसपछि के-के भए त ? के हाम्रो दूतावास चुपै लागेर बस्यो होला त ? आमपाठकको जिज्ञासा रहिरहने देखियो । साथै ‘असहमति-३’ का लेखकले समेत जवाफको प्रतीक्षा गरेको प्रतीत हुन्छ । 
९ असारको ‘नयाँपत्रिका’मा लेखिएको समाचार खै के कति कारणले हो जानकारीमा आउन सकेन अथवा जानकारीमा आएर पनि राजदूतले प्रतिक्रिया जनाउन आवश्यक देख्नुभएन । असहमतिका व्यहोरा लेखिरहँदा लेखकले प्रश्न गरेका छन् र त्यो प्रश्न सीधै राजदूतावास लक्षित रहेको छ । प्रश्न छ, ‘सल्लाह पाएपछि हाम्रो दूतावास थन्कियो ?’

हुन त, प्रसंगमा जोडिएका पात्रहरू कोरियाका लागि नेपाल र भारतका दुई राजदूतहरू हुन् । जतिखेर यो विषयको उठान भएको थियो, त्यति नै खेर हाम्रो राजदूतले यो विषयलाई प्रस्ट पारिदिएको भए भए यो विषय प्रश्न बन्‍ने थिएन । सायद, विषयलाई थप जटिल बनाउनु कूटनीतिक रूपमा लाभादायी नहुने देखेर चुप बसेको पो हो कि भन्‍ने मेरो अनुमान रहेको छ । तर यो विषय जेलिएर पुस्तकको पानाभित्र टाँसिएर भोलिका लागि समेत प्रश्नचिन्ह बनेर बसेको छ । तत्कालीन राजदूत कमानसिंह लामा अब यस दुनियाँमा हुनुहुन्‍न । त्यसैले उहाँले अब यस प्रश्नको जवाफ कहिल्यै पनि दिनुहुने छैन ।

अध्येताहरूमध्ये आफ्नो छुट्टै पहिचान बनाएका लेखक सौरभ आफ्नो लेखकीय शैली, विषयको गाम्भीर्य र गहनतालाई टिपेर खोजी पस्दै त्यसको पिँधैसम्म गएर उत्खनन् गरी पाठकहरूलाई पस्कन रुचाउँछन् । उनको विशेषता भनेकै विषयवस्तुमा सघन विचारको मन्थन गर्ने, वाद, संवाद र प्रतिवादको सनातनी परम्परा जीवन्त राख्नु हो ।

यस्तो लेखकले विषयको उठान गरेर आफ्नो पुस्तकमा स्थान दिएपछि भोलिका विद्वत् वर्गले गर्ने खोज अनुसन्धानमा सन्दर्भ सामग्रीका रूपमा लिने सम्भावना हुन्छ । साथै भौगोलिक धरोहर, सार्वभौमिता एकातर्फ अर्कोतर्फ नेपाली सांस्कृतिक र प्राकृतिक गौरवसँग जोडिएको विषयसमेत भएको हुँदा आफूलाई थाहा भएसम्मको विषयलाई प्रस्ट पारिदिन प्रासंगिक नै हुने सम्झेर यो सानो प्रयत्न गरेको छु । 

यो लेखक त्यो समय नेपाली राजदूतावास, सिओलमा नियोग उपप्रमुखको जिम्मेवारीमा रहेको हुँदा यससम्बन्धी विषयको प्रत्यक्ष साक्षी पनि हो । साथै अरु केही व्यक्तिगत व्यवहारका कुरामा भने नेपाली राजदूतले व्यक्तिगत रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूको जानकार पनि । यद्यपि, धेरैजसो स्वागत कार्यक्रमहरूमा मेरो स्वयंको समेत उपस्थिति रहेको हुँदा राजदूतहरूबीचको व्यवहार र संवादको प्रत्यक्ष दर्शकसमेत थिए । 

सार्क सदस्य राष्ट्रका नयाँ राजदूत कार्यभार सम्हाल्न आउँदा अरु राजदूतहरू विमानस्थलमा नै गएर स्वागत गर्ने चलन छ । भारतीय राजदूत प्रथमपटक कार्यभार सम्हाल्न आउनुहुँदा अरु राजदूतहरूसँगै हाम्रो राजदूत पनि विमानस्थलमै नै स्वागत गरेका हुन् । तर भारतीय राजदूतले कार्यभार सम्हालेपछि पनि कहिल्यै हाम्रो राजदूतलाई ‘कर्टेसी कल’ गरेनन् । हाम्रालाई मात्र होइन उनी सार्क राष्ट्रका अरु कुनै राजदूतहरूलाई पनि भेटघाट गर्न गएका थिएनन् । 

यी भारतीय राजदूत भारतीय कूटनीतिक सेवाका प्रतिभावान् र दक्ष कूटनीतिज्ञ भएको कुरा त यिनीलाई पूर्वप्रधानमन्त्री राजीव गान्धीले आफ्नो कार्यालय सहयोगी बनाएबाटै थाहा हुन्छ । साथै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा विशेष दख्खल राख्ने सीमित व्यक्तिहरूमध्ये पनि थिए । आफू अरुहरूभन्दा विज्ञ छु भन्‍नेमा गर्व गर्थे भन्‍ने लाग्छ ।  

हाम्रा राजदूतको यिनीसँगको सम्बन्ध भनेको यदाकदा कूटनीतिक वार्ता तथा मिटिङहरू र राजदूतावासहरूले आयोजना गर्ने स्वागत भोजहरूमा सीमित थियो । राजदूतहरूको बीचमा सम्बन्ध सामान्य नै रहे पनि नियोग उपप्रमुखहरूबीच भने सौहार्द र घनिष्टता थियो । 
बौद्धिक राजदूतहरू स्थानीय पत्रपत्रिकामा लेखहरू लेखेर भए पनि आफ्नो मुलुकलाई प्रवर्द्धन गर्न रुचि राख्छन् । यसै सिलसिलामा भारतीय राजदूतले कोरिया टाइम्समा आफ्नो विचारधारासहितको लेख छपाएका हुन् । उक्त लेखमा विश्वको सर्वोच्च शिखर सगरमाथा भारतको उत्तरी सीमामा रहेको सगर्व बताइएको थियो । 

कोरिया टाइम्समा प्रकाशित लेख पढिसकेपछि हाम्रो राजदूतले आफ्नो असहमतिसहित भारतीय राजदूतको नाममा कूटनीतिक नोट लेखी दृढ रूपमा विरोध जनाएका थिए । साथै उक्त विचारको खण्डन गर्दै पत्रमार्फत भारतीय राजदूतले आफ्नो लेखाइको सोही पत्रिकामार्फत तत्काल भूलसुधार गरुन् भन्‍ने समेत अपेक्षा गरी पत्र पठाइएको थियो ।

भारतीय राजदूतको नाममा लेखिएको पत्रमा एउटा विद्वान कूटनीतिज्ञबाट यस किसिमको तथ्यहीन, छिमेकी राष्ट्रको सार्वभौमिकतामा आँच आउने गरी र एउटा घनिष्ठ मित्रलाई चोट पर्ने गरी लेखिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको र यस किसिमका अभिव्यक्ति अज्ञानतावश भएको मान्‍न नसकिने भएकाले गहिरो आघात गरेको कुरा स्मरण गराउँदै तत्काल त्रुटि सच्याउनसमेत अनुरोध गरिएको थियो । 

भारतीय राजदूतलाई लेखिएको पत्र र निजद्वारा लेखिएको लेख दुवै परराष्ट्र मन्त्रालयमा पठाइएकामा त्यस्तो थप विरोध जनाउने गरी निर्देशन प्राप्त भएको थिएन । परराष्ट्रमार्फत सायद उक्त नोट भारतीय परराष्ट्र मन्त्रालयसम्म पुगेर विरोध दर्ज भएको हुनुपर्छ भन्‍ने अनुमान त्यसपछि भारतीय राजदूतबाट देखाइएका असहज व्यवहारहरूले देखाउँथ्यो ।

भारतीय राजदूतले आफ्ना विचार स्थानीय पत्रिकामा असंगत तरिकाले अभिव्यक्त गर्दा एउटा घनिष्ठमित्र एवम् छिमेकीको सार्वभौमिकता र राष्ट्रिय गौरवमा चोट पर्ने र यसले अनपेक्षित रूपमा सम्बन्धमा दरार ल्याउन सक्नेमा ध्यान दिएको अथवा हेक्का राखेको पाइएन । एक हिसाबले ‘नेहरु डक्ट्रिन’को पुनरोक्ति सगर्व व्यक्त गरेको देखियो, जुन भाष्यलाई बीपी कोइरालाले उत्तिखेरै नकारेको र त्यसलाई नेहरुले स्वीकार गरेको रेकर्ड भारतीय संसद्मा नै रहेको हुनुपर्छ । 

त्यसपछिका केही दिनसम्म पनि कोरिया टाइम्समा न त लेखकको तर्फबाट न त पत्रिका स्वयंको तर्फबाट भूलसुधार आयो । प्रतीक्षाबाट केही उपलब्धि हात नलागेपछि सम्पादकसँग सम्पर्क गरी तथ्यभन्दा बाहिरको विषय लेखिनु सम्पादकीय त्रुटि पनि भएकोतर्फ ध्यानाकर्षण गरी भूलसुधार गर्न भनिएकामा ‘रिज्वाइन्डर’ छापिदिने आश्वासन दिएका थिए । त्यही क्रममा कोरियामा विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा माधवी भट्टबाट पठाइएको ‘रिज्वाइन्डर’ छापिएको थियो ।

असहमतिको टिप्पणीमा भनिएजस्तो ‘भारतीय राजदूतले नेपाली राजदूत कमानसिंह लामालाई बोलाएर यो विषयमा बढी टिप्पणी नगर्न सल्लाह दिएर पठाए’ भनी लेखिएको कुरा वास्तविकतासँग मेल खाँदैन । खासमा रिसेप्सनहरूमा र कूटनीतिक बैठकमाबाहेक निज भारतीय राजदूतसँग भेटघाट वा उठबस भएको थिएन । एकपटक एउटा भेटमा हाम्रा राजदूतले उक्त लेखका विषयमा कडा प्रतिवाद गर्दा, ‘तपाईंलाई त्यस्तो लाग्छ भने तपाईं पनि त्यस्तै लेख छपाउनोस्, म केही भन्दिनँ’ भनी भारतीय राजदूत झर्किंदै हिँडेका थिए । उक्त घटनापछि हाम्रो राजदूतको भारतीय राजदूतसँग सौहार्दता कायम रहन सकेन ।

त्यस घटनालगत्तै केही दिनपछि भारतीय नियोगका नियोग उपप्रमुख नेपाली राजदूतावासमा आई नियोग उपप्रमुखसँग भेटघाट गरी लामो संवाद गरेको र आपसी सम्बन्ध सुदृढ गरी गएका थिए । नेपाली सार्वभौमिकताको सम्मानमा इतिहासका घटनाहरूको शृंखलाबद्ध उल्लेखसमेत गरेका थिए । यस भेटघाटमा कोरिया टाइम्सको एउटा आलेखलाई लिएर नेपाल-भारत सम्बन्ध जटिलतातिर धकेल्न हुँदैन भन्‍ने सन्देश दिन खोजिएको थियो । 

भारतीय राजदूतबाट लेखिएको उक्त लेख कोरियाका लब्धप्रतिष्ठित व्यक्ति, प्राध्यापकहरू र नेपालको हिमालसँग साइनो गाँस्न रुचाउने व्यक्तिहरू तथा संघ-संस्थाले पनि पढेका थिए । गलत सूचना सम्प्रेषण गरेको भनी दुःख व्यक्त गरेका थिए । भारतसँग कोरियाको सम्बन्ध धेरै राम्रो रहे तापनि कोरियाको एउटा ठूलो प्राज्ञिक समूहले भारतीय राजदूतको उक्त हर्कतलाई सहज रूपमा लिएका थिएनन् । 

‘सल्लाह पाएपछि हाम्रो दूतावास थन्कियो ?’ भन्‍ने प्रश्नमा यस घटनाले राजदूतावासलाई थप सक्रिय भई नेपालको प्रवर्द्धन गरिनुपर्छ भन्‍ने चेत दिएको हो । हुन त, राजदूतावास चुपै लागेर बसेको त थिएन । यद्यपि थप सक्रियता आवश्यक छ भन्‍ने कुराको संज्ञान लिन यो घटना पर्याप्त थियो । यही घटनालाई गिजोलेर बस्नुभन्दा कूटनीतिक रूपमा कार्यक्षेत्र विस्तार र मुलुकलाई प्रवर्द्धन गर्न चाहिने थप सूचनामूलक जानकारीहरूको सम्प्रेषणलाई महत्व दिइनु सही विकल्प हुन्छ भन्‍ने अठोटले नेपाली विद्यार्थी, प्राज्ञिक एवम् व्यावसायिक व्यक्तिहरूसमेत सहयोग र सहकार्यमा प्राज्ञिक सम्बन्ध स्थापित गर्दै विश्वविद्यालय, गैरसरकारी संघसंस्थाहरूमा विषयगत प्रस्तुति दिने कामलाई विशेष जोड दिइएको थियो ।

साथै, कोरियामा आयोजना गरिने प्रायः सबै नै पर्यटन मेलामा सक्रिय रूपमा सहभागिता जनाउने, प्रस्तुति दिने, प्रवर्द्धन गर्ने काम पनि गरिएको थियो । यस किसिमका प्रवर्द्धनात्मक कार्यहरूले सकारात्मक प्रभाव नै परेको हुनुपर्छ । धेरै यस्ता मेलाहरूमा नेपाली राजदूतावासको स्टलले विविध विधामा उत्कृष्ट भई प्रसंशासहितको प्रमाणपत्रसमेत पाउन सफल भएको थियो । त्यस्ता प्रमाणपत्रहरू राजदूतावासका भित्तामा र टेबलमा सजिएका छन् अहिले पनि ।


Author

थप समाचार
x