चाइना जर्नल
चीन र भारतबीचको तुइन नेपाल
नेपालले आफ्नो छिमेकीको रूपमा दुई ठूला राष्ट्रहरू पाएको छ । हिमाल र नदीले जोडेका छिमेकी देशहरू चीन र भारत नेपालको स्वभावतः प्राकृतिक मित्र र साझेदार हुन् । तापनि दुई शक्तिशाली छिमेकीबीचको तरूलको रूपमा परिभाषित नेपाल चाहेर पनि पुलको संज्ञा पाउन सकेको छैन ।
विश्व मानचित्रमा भूपरिवेष्ठित नेपाल व्यवहारमा भारतवेष्ठित रहेको छ । चीनको बेल्ट एन्ड रोडमा जोडिएपछि भूजडित देश बन्ने सपना देखेको नेपाल अझै पनि सार्थकताबाट टाढा छ । यसो हुनुमा नेपाल आफैँको धेरै क्षेत्रमा धेरै कमी कमजोरी प्रस्टै देखिन्छ र मुख्य कमजोरी अपरिपक्व र अकुशल कूटनीति नै हो ।
इतिहासदेखि नै एसियाको शक्तिशाली र आजको विश्वको प्रमुख शक्तिशाली राष्ट्रको पंक्तिमा उभिएका दुई छिमेकीसँग एक नासको सुमधुर सम्बन्धको विस्तार चुनौतीपूर्ण पनि छ । दुवै देशलाई सन्तुलनमा राख्न र अनाहक रूपमा नचिढ्याउन कूटनीतिक कौशलताको व्यापक खाँचो छ । हुन त, यी दुवै राष्ट्रसँग प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको पनि हो । तापनि समयको धारसँगै सम्बन्धमा उतार चढाव नआएको भने होइन । यसरी बेलाबखतमा सम्बन्ध चिसिने घटना दक्षिणतर्फ बढी देखिन्छ ।
धार्मिक, सांस्कृतिक सम्बन्ध, भाषिक समानता, रोटी-बेटीको सम्बन्ध या खुला सिमानाका कारण जनस्तरमा नेपाल र भारतबीचको सम्बन्ध मजबुत देखिन्छ । यसै अर्थमा राजनीतिक खेलाडीहरू दुई देशबीचको सम्बन्धलाई जोड्न ‘सुपर ग्लु’को आवश्यकता नरहेको टिप्पणी पनि गर्न भ्याउँछन् ।
जनस्तरमै सम्बन्ध प्रगाढ देखिए तापनि भनिरहनु पर्दैन; भारत र भारतीयको प्रभुत्ववादी सोच र आन्तरिक मामिलामा चासो र हस्तक्षेपका कारण आमनेपाली चिढिएका छन् । नेपालको राजनीति वृत्तमा भारतको ‘इन्ट्रेस्ट’ ब्रिटिसबाट आजाद भएदेखिनै रहेको छर्लङै छ । ठुल्दाइको हैकम शैलीसँगै सुस्ता, कालापानी, लिपुलेक तथा खुला सिमानामा हुने आक्रमण, अतिक्रमणको कथा सदा दोहोरिने घटनाक्रम भएका छन् ।
हालसालै पनि तुइन नै छिनालेर एक नेपालीको जीवनमा पूर्ण बिराम लगाइदिएको छ । यस्ता किसिमका घटनाहरू र बल मिचाइ आमनेपालीले हरेक दिन भोगिरहेका छन् । देश र देशवासीसँग सम्बन्धित संवेदनशील विषयमा नेपाल सरकारले भने सम्बोधन गर्न सकेको छैन ।
यसै गरी, नेपालले संविधान घोषणा गरेपछि भारतसँग चिसिएको भनेको सम्बन्ध पनि अझै उस्तै छ भनिन्छ । हुन त नेपाल र भारतबीच समानता र सम्मानपूर्वक व्यवहारको समय पनि साक्षी छैन होला । हो, नेपालको राजनीतिक परिवर्तनमा भारतको साथ र समर्थन देखियो तर त्यसको बदलामा आफ्नो अनुकूलता खोजेको बुझिन्छ ।
भारतवेष्ठित नेपाललाई अन्तर्राष्ट्रिय कानुनविपरित नाकाबन्दी गर्दैआएको भारतले नेपालको संविधान घोषणापछिको पछिल्लो नाकाबन्दीको नतिजा स्वरूप नेपाल उत्तरी ढोका ढक्ढक्याउन बाध्य बनेको थियो । यसबाट उत्तरी छिमेकसँग नयाँ युगमा नयाँ सम्बन्ध विस्तारको मौका मिलेको थियो । त्यसलगत्तै उत्तरबाट नूनतेल मात्रै आएन रेलसमेत भित्रिने अवस्था सिर्जना भएको छ ।
पुलको सम्भावना धेरै छ तर फाइदाका लागि दुवै छिमेकीलाई रिझाउन सक्ने सामर्थ्य चाहिन्छ । दक्षिण र उत्तरतर्फ दुवैको विश्वास जित्नु जरुरी बनिसकेको छ ।
नेपालको सीमा नजिकसम्म अबको दुई वर्षभित्र रेल आइपुग्ने छ । हुन त, नेपालले सँगसँगै पहल गरेको भए दुई देशबीचको रेलसम्बन्धले छिटै आर्थिक क्रान्तिमा सहयोग हुन्थ्यो । नेपालले यही गतिमा किन काम गरेन, त्यो अर्कै पाटो भयो । तापनि विश्वको हरेक क्षेत्रको होडमा पहिलो स्थान ओगट्ने दाउमा रहेको चीनसँग ढिलोचाँडो जोड्ने नै छ र यो आजको परम आवश्यकता पनि हो ।
हिजोसम्म भौगोलिक अवस्थाको कारण नेपाल चीन सम्बन्ध चाहे अनुरूप बढ्न सकिएन होला । तर, अहिले चिनियाँ पूर्वाधार निर्माणका अगाडि जल, जमिन कुनै ठूलो समस्या रहेन । चाहे पहाड पर्वत फोडेर होस् या सुरुङ बनाएर बाह्रै महिना उपयुक्त हुने पुल, बाटो बनाउन चीन सक्षम छ । नेपालसँग सीमा जोडिएको तिब्बतको अभूतपूर्व विकास र समृद्धि यसैको प्रमाण हो ।
उच्च भूभाग तथा पहाडी भूमिबीच व्यापक रूपमा पूर्वाधार तथा राजमार्ग र रेलमार्गको निर्माण भएको छ । गत जूनबाट चार हजार मिटरको उचाइमा तीव्र गतिको रेल समेत सञ्चालनमा आइसकेको छ । तिब्बत चीनका अरू सहरसँग हवाई र सडकमार्गबाट जोडिएको छ ।
बेल्ट एण्ड रोडको विकास तथा दक्षिण एसियाको कोरिडोर बनाउने पक्षमा चीनको केन्द्रीय तथा स्थानीय सरकारले लाखौँ यूआनको लगानी लगाउँदैआएको छ । पछिल्लो पञ्च वर्षीय योजनामा तिब्बतलाई दक्षिण एसियाको कोरिडोरको रूपमा विकास गर्ने उल्लेख छ ।
हिजो भौगोलिक अवस्था र भूबनोटको कारण टाढा देखिएको उत्तरी छिमेक नजिक बन्दैगएको छ । यद्यपि यो बढ्दै गएको निकटतालाई सामीप्यमा बदल्न सकेको छैन । यसबाहेक, उसले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामा सधैँ साथ दिँदै आइरहेको छ साथै आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको पनि छैन र सम्बन्धमा पनि कुनै उतारचढाव छैन ।
उता दक्षिणी छिमेकले भने भौगोलिक अवस्थाको कारण नै सक्दो फाइदा उठाउँदै आएको थियो र आज पनि उस्तै छ । भौगोलिक अवस्थाको कारण नै नेपालीले बारम्बार नाकाबन्दीको परिस्थितिदेखि प्रभुत्ववादी हुँकारको सामना गर्नुपरेको छ । अनि निरीह बन्ने गरेको छ, नेपाल सरकार । हालै पनि एकजना नेपालीलाई महाकाली नदीमा बेपत्ता बनाइदिँदा पनि चुँइक्क बोल्नसकेको होइन ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा बेपत्ता नेपालीको विषय कतै मिडियाबाट थाहा पाएको कारण यसको प्रतिक्रिया दिन नमिल्ने जवाफले नेपालको निरिहता प्रष्ट झल्काउँछ । किनकि नेपाली पक्षबाट भारतीय सुरक्षाकर्मीबाट भएको घटनाको भारतीय पक्षलाई नोट नै गराएको छैन । यसबाहेक, नेपालबाट अघि पठाएका नोटहरूको पनि कुनै जवाफ नपाएको सम्बन्धित मन्त्रालयको भनाइ छ ।
यस्तो परिस्थितिमा चीनसँगको सम्बन्धलाई पनि नयाँ चरणमा विकास गर्न नसक्नु नेपालको कूटनीति या परराष्ट्र नीति असफल बनेको छ । त्यसमाथि हालसालै नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै गरेको समिति गठन सम्बन्धलाई कमजोर बनाउने कदम बनेको देखिन्छ ।
हुम्लाको नाम्खा क्षेत्रमा सीमा विवाद रहेको भन्दै समिति बनाउने निर्णयप्रति नेपालस्थित चिनियाँ दूतावासले नेपाल चीनबीच कुनै सीमा विवाद नरहेको र नेपाल सरकारले समेत यसअघि नै स्पष्ट पारिसकेको जनाएको छ ।
अघिल्लो सरकारको पालोमा, यसै सीमा विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले प्रमाणको आधारमा विज्ञप्ति जारी गरी चिनियाँ पक्षले सीमा नमिचिएको उल्लेख गरेको थियो । सोही समयमा, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले पनि चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका थिए । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वनपिनले निराधार हल्ला भएको र यो तेस्रो पक्षको प्रपञ्च भएको समेत भनेका थिए ।
यसरी सरकार परिवर्तन हुनासाथ सार्वजनिक विज्ञप्ति नै तलमाथि हुन्छ भने विश्वमा कस्तो सन्देश पुग्छ । यसले नेपालको कूटनीतिलाई कता पुर्याउँछ, त्यो पनि हेक्का राख्नुपर्छ । यसबाहेक, पञ्चशीलको सिद्धान्तमा आस्था राख्ने मुलुक नेपाल र चीनबीच सीमा सम्बन्धमा उत्पन्न हुने कुनै पनि विवादलाई दुवै पक्षद्वारा मैत्रीपूर्ण छलफलबाट समाधान गरिने समेत उल्लेख छ ।
सन् १९६० को अप्रिलमा गरिएको दुई देशबीच शान्ति तथा मैत्री सन्धिदेखि नै एक अर्का देशको प्रादेशिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रतालाई मान्यता दिँदैआएको छ । यहाँनेर चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नेपाली कांग्रे्रेसप्रतिको सद्भाव बारे चर्चा गर्नु पनि उपयुक्त हुन्छ । चीनमा नेपाल चिन्ने चिनियाँहरू विपिलाई सम्मान गर्दछन् र नेपाली कांग्रेससँग सद्भावपूर्ण सम्बन्ध रहेको व्यक्त गर्दछन् ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा पनि दुई देशबीचको सम्बन्धमा नेपाली कांग्रेसको महत्त्वपूर्ण योगदान रहेको कुरालाई चिनियाँ जनताले कहिल्यै नबिर्सिने बताएका थिए । साथै चीनले नेपालमा जुनसुकै पार्टीको सरकार आए तापनि दुई देशको सम्बन्ध स्थिर तथा मैत्रीपूर्ण रहने बताउँदैआएको पनि छ ।
यसबाहेक, चीनले सदा कुनै पनि देश र त्यहाँका जनताले रूचाएको प्रणालीलाई सम्मान गर्ने र हस्तक्षेप तथा प्रभुत्वादको धारणा नलिएको पनि व्यक्त गर्दैआएको छ । साथै चीनले सदा नेपालप्रति स्वार्थरहित सहयोग गर्दै आएको छ । आजको कोरोना कहरमा होस् या विनाशकारी भूकम्पको बेलामा चीनको सदाशयता र सहयोग आमनेपालीले पाएका छन् । यस्तै, पछिल्ला वर्षहरूमा चिनियाँ पर्यटक नेपाली पर्यटन बजारको मुख्य स्रोत बनेको छ । नेपालमा प्रत्यक्ष लगानीमा चीन सबैभन्दा ठूलो लगानीकर्ता मुलुक पनि हो ।
यसै गरी, चीनद्वारा यसै वर्षको जनवरीमा सार्वजनिक नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय विकास तथा सहकार्य शीर्षकको श्वेतपत्रमा सन् २०१३ यता बेल्ट एन्ड रोडपछि चीन नेपाल विकास सहयोगमा नयाँ अध्याय आरम्भ भएको उल्लेख छ । साथै चीन नेपालको समग्र विकास हेर्न पनि चाहन्छ ।
चिनियाँ राष्ट्रपति सीले आफ्ना छिमेकी समृद्ध भएपछि आफू पनि बलियो हुने धारणा व्यक्त गर्दैआएका छन् । यसैबीच पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमण क्रममा आयोजित प्रेस सम्मेलनको स्मरण गर्नु उपयुक्त हुन्छ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले उक्त पत्रकार सम्मेलनमा यसो भनेका थिए, नेपालले आफ्नो फाइदासँगै थप विकासका लागि चीन र भारतलाई जोड्नुपर्छ । चीन र भारतबीचको सहकार्यबाट स्वतः नेपाल लाभग्राही बन्नेछ ।
चीन नेपाललाई दक्षिण एसियाको पुल बनाउन चाहन्छ । दुई उदीयमान आर्थिक शक्तिका लागि नेपाल पुल बन्ने क्षमता पनि राख्छ । आजको आवश्यकता भनेको आर्थिक विकास नै हो र आर्थिक कूटनीतिको पहल अहम् हुन्छ । नेपालले यतातिर सोचेको छ ? चीन र भारतबीच अहिले केहीमा समानता छ भने त्यो आर्थिक क्षेत्र नै हो ।
यसकारण आर्थिक पुलको सम्भावना धेरै छ तर फाइदाका लागि दुवै छिमेकीलाई रिझाउनु सक्ने सामथ्र्य चाहिन्छ । दक्षिण र उत्तरतर्फ दुवैको विश्वास जित्नु जरुरी बनिसकेको छ । तर नेपाल दुई देशबीचको पुल होइन तुइनको रूपमा देखिन्छ ।
त्यस बाहेक, यी दुई बलिया छिमेकीबीचको हानथाप नेपाललाई हितकर हुने छैन र यतातिर सावधानीपूर्वक कदम चाल्नुपर्ने हुन्छ । यसबाट पनि अढाई सय वर्षअघिदेखि भनिँदै आएको नेपाल दुई ढुङ्गाबीचको तरुल नै चरितार्थ हुन्छ । यस बाहेक, दुई उदीयमान छिमेकीका लागि नेपाल संवेदनशील देश पनि हो । यहाँ तेस्रो मुलुकले पनि प्रभाव जमाउन खोजिरहेको छ । दुई छिमेकीलाई सन्तुलित व्यवहार गरेबाट तीनै पक्षलाई राहत मिल्नेछ ।
नेपाल आफ्नो विकास पहिल्याउन सक्षम छ भन्ने विश्वास गर्ने ठाउँ पनि प्रशस्त छन् । तरुलका रुपमा रहेको नेपाल र नेपालीले देशको स्वाभिमान बचाएर चौतर्फि विकासमा ध्यान दिनुपर्ने छ र २१औँ शताब्दीको चीन र भारत बीचको सम्बन्धमा नेपाल तुइन होइन आधुनिक पुल नै बन्नेछ । नेपाल, चीन र भारतको त्रिदेशीय आर्थिक करिडोर पनि निर्माण हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया