विचार

चाणक्य : नीति  र नियत

रघु परियार |
भदौ २१, २०७८ सोमबार ९:३६ बजे

मौर्यकालीन ब्रह्मागिरीको शिलालेखमा लिपिकारका रूपमा ‘चपड’को नाम उल्लिखित छ । विश्वप्रसिद्ध भाषाविज्ञ तथा इतिहासकार प्रा.डा. राजेन्द्रप्रसाद सिंह मौर्यकालीन समयका ख्यातिप्राप्त लेखकका रूपमा चपड रहेको बताउनुहुन्छ । मौर्यकालीन समयमा प्रमुख भाषाका रूपमा प्राकृत भाषाको प्रयोग हुने गरेको पनि सिंहले उल्लेख गर्नुभएको छ । तर चपडको नाम इतिहासको गर्भमा लुकाइएको छ । तिनै मौर्यकालीन महान् लेखक चपडलाई उन्‍नाइसौँ शताब्दीतिर चाणक्यको रूपमा प्रचारित गरिएको सिंहको तर्क छ ।

राजीव पटेलले ‘बुद्धिजीवीका षड्यन्त्र’ नामक पुस्तकमा भारतीय इतिहासमा तथ्यभन्दा बढी कथाकहानी हाबी भएको सविस्तार वर्णन गर्दै भएका षड्यन्त्रको भण्डाफोर गर्नुभएको छ । यही षड्यन्त्रले जन्माएको अनगन्ती पात्रमध्ये चाणक्य पनि एक पात्र हुन् भन्‍ने निष्कर्ष पछिल्लो समयमा धेरै इतिहासकारहरुले निकाल्नु भएको छ ।


ब्राह्मणवादी सत्ताले सबैभन्दा बढी प्रचारित गरेको पात्र हो, चाणक्य । धेरैले कौटिल्यका रूपमा समेत चिन्दछन् चाणक्यलाई । कतिपय इतिहासकारहरू विष्णुगुप्त भन्दछन् । विशेषत: घनानन्दलाई सत्ताच्युत गरी चन्द्रगुप्त मौर्यलाई राजा बनाउनमा चाणक्यको योगदान थियो भन्‍ने गरिन्छ । मौर्य साम्राज्यमा चन्द्रगुप्त, बिम्बिसार र अशोक गरी तीन पुस्तासम्म चाणक्यलाई प्रस्तुत गरिएको छ । तर पछिल्ला खोज तथा अनुसन्धानका आधारमा चाणक्यको ऐतिहासिकतामाथि प्रश्न उठेको छ । चाणक्यबारे उठेका प्रश्न र भ्रमबारे यो लेखमा चिर्ने कोसिस गरिएको छ ।

इतिहास
इतिहासलाई मुख्यत: दुई तरिकाका साक्ष्य वा प्रमाणको आधारमा लेखिने गरिन्छ । पहिलो उत्खनन, पुरातात्विक प्रमाण वा शिलालेखका आधारमा । दोस्रो स्वदेशी/विदेशी समकालीनहरूद्वारा लेखिएको नोट्सका आधारमा । सन् १८३५ अघि अशोक स्तम्भलाई भीमको गधा भनिन्थ्यो । जेम्स प्रिन्सेपले अशोक स्तम्भको लिपि अध्ययन गरेपश्चात् भारतको वास्तविक इतिहास सामुन्‍ने आयो । अशोक स्तम्भमा बुद्ध र बौद्ध सभ्यता मात्रै थियो । कहीँकतै महाभारत थिएन-न भीम वा अर्जुन नै ।

आश्चर्य त अशोकलाई सम्राट् बनाउन महत्वपूर्ण भूमिका खेलेका चाणक्यसमेत थिएनन् । अशोकको शिलालेख धम्मलिपि (ब्राह्मी) का अतिरिक्त खरोष्टि, अरामाइक तथा युनानी भाषा/लिपिमा समेत भेटिएको छ । कतिपय ठाउँमा दुई वा दुईभन्दा बढी लिपि एकै शिलालेखमा समेत पाइन्छ । अशोकको कालमा द्विभाषीयहरू रहेको प्रमाणसमेत भेटिएको छ । तर संस्कृत भाषाको प्रमाण कहीँकतै भेटिँदैन । यसबाट चाणक्य ब्राह्मण र संस्कृत भाषा तथा मौर्य सम्राट् र धम्म लिपिबीच कुनै सम्बन्ध नरहेको देखिन्छ ।

मौर्य साम्राज्यको छुटाउनै नहुने नाम हो युनानी सेनापति सेल्युकस । सेल्युकसका विशेष दूत मेगस्थनीज (३५० ई.पू.-२३० ई.पू.) पाटलीपुत्रमा कयौँ वर्ष बसेका थिए । उनैले लेखेको यात्रावृत्तान्त ‘मेगस्थनीजको इन्डिका’का रूपमा विश्वप्रसिद्ध छ । इन्डिकामा कही कतै चाणक्यको उल्लेख भेटिँदैन । बरु इन्डिकामा भारतीय सामाजिक तथा सांस्कृतिक तथ्यको महत्वपूर्ण जानकारी पाइन्छ ।

मेगस्थनीजले तत्कालीन भारतमा युनानी समाजको विपरीत दास प्रथा नभएको उल्लेख गरेका छन् । ब्राह्मणवादी इतिहासकारहरू चन्द्रगुप्तको जन्म ‘मूरा’ नामको दासीबाट भएको बताउँछन् । इन्डिकाले यो मतलाई पूरै नकारिदिन्छ । भारतमा सबै व्यक्ति समान र विशिष्ट रहेको उल्लेख गरेका गर्दै उनले भारतका मूलनिवासीहरुलाई सात वर्गमा विभाजित गरेका छन् : १) विद्वान् २) कृषक ३) पशुपालक ४) कारिगर ५) सैनिक ६) व्यापारी ७) गरिब ।

भारतीयहरू पातलो, अग्लो र हलुका शरीर भएको फुर्तिला बताएका छन् । यहाँ सैनिकहरू कृषक तथा पशुपालकहरूको सम्मान गर्दछन् । युद्धमा समेत बालीनालीको कुनै नोक्सान पु¥याउँदैनन् भन्‍ने तथ्यले मौर्य साम्राज्य कालमा जातमा आधारित वर्णव्यवस्था नभई काममा आधारित वर्गव्यवस्था थियो भन्‍ने प्रमाणित गर्दछ । अत: चाणक्य ब्राह्मण र मौर्य शाषक क्षेत्रीय कुलको भन्‍ने भ्रम स्वत: समाप्त हुन्छ ।

प्रतिक्रान्ति
भारतमा आर्य आगमन आजभन्दा ३६ सय वर्ष अगाडिको वरिपरि भएको डीएनए रिपोर्टले पुष्टि गरेको छ । ई.पू. १८४ मा अन्तिम मौर्य सम्राट् वृहद्रथको हत्यापछि पुष्यमित्र सुङ्ग (ब्राह्मण) साम्राज्य सुरु हुन्छ । यही काललाई मनुस्मृतिकाल पनि मानिन्छ । इतिहासकार जयसवाल यही काललाई ब्राह्मणवादी प्रतिक्रान्तिकाल मान्‍नुहुन्छ । भारत वर्षमा यस्ता प्रतिक्रान्ति पटकपटक भएको इतिहास पाउँछौँ । चाणक्यका सन्दर्भमा पनि यो तथ्य लागू हुन्छ । चाणक्यबारे निम्न पुस्तकहरूमा लेखिएको भेटिन्छ : 

१. महावंश 
२. परिशिष्टपर्वन 
३. कथाशरिष्ठसर्ग 
४. मुद्राराक्षस

महावंश बौद्ध ग्रन्थ र परिशिष्टपर्वन जैन ग्रन्थ हो । कथाशरिष्ठसर्ग कास्मिरी कथासंग्रह र मुद्राराक्षस नाटक एक साहित्यिक कृति हो । प्राय: ब्राह्मणवादी ग्रन्थहरूको प्रकाशन मिति र लेखकको उल्लेख नभएजस्तै यी पुस्तकहरूको प्रकाशन मिति भेटिँदैन । महावंशमा यसअघि सिंहलदीप र सिलोन नाम भएको श्रीलङ्काको उल्लेख पटकपटक गरिएको छ । जसरी रामायणमा लङ्काको प्रयोग गरिएको छ । महावंशमा चाणक्यको सन्दर्भमा लेखिएको पंक्ति हेरौँ :

‘मोरियान खत्तीयान वसजात सिरिधर
चन्द्रगुत्तो ति पञ्जात चणक्यको ब्रह्मणततो । १६ ।
नवामं घनानन्दं तं घातेत्वा चणडकोधसा
सकल जम्बुदिपस्मि रज्मे समिभिसिच्मसो । १७ । महावंश ।
(क्षत्रीय कुलका मौर्यवंशी श्री चन्द्रगुप्तलाई चाणक्य नामको ब्राह्मणले घनानन्दको चन्द्रगुप्तको हातबाट मृत्युवरण गराई सम्पूर्ण जम्बूदीपको राजा बनाउनुभयो ।)

अब महावंश पुस्तकको विश्वसनीयतातर्फ पनि ध्यान दिऔँ । पुस्तकको प्रारम्भमा गौतम बुद्ध श्रीलङ्कामा तीन पटक आउनुभएको उल्लेख गरिएको छ । जबकि अध्ययनले गौतम बुद्ध श्रीलङ्का एक पटक पनि जानुभएको थिएन भन्‍ने देखाउँछ । दोस्रो मौर्य वंशलाई क्षत्रीय बताइएको छ । मेगस्थनीजको इन्डिकाले यो भ्रमको अन्त्य गरिसकेको छ । 

अर्को किताब मुद्राराक्षसको पनि विश्वसनीयता हेरौँ । मुद्राराक्षस महाकवि विशाखादत्तद्वारा लेखिएको नाटक साहित्यिक कृति हो । महाकवि विशाखादत्तको जन्मकाललाई लिएर नै भारतीय इतिहासकारहरू फरकफरक धारणा राख्दछन् । यो कृति हलिउडको भ्याम्पायर जस्तै लाग्छ । जस्तो कि अब्राहम लिङ्कनलाई भूत जस्तो देखाइएको छ । बाँकी अन्य कृति पनि साहित्यिक कृति भएकाले वास्तविकताभन्दा बढी काल्पनिक लाग्छ ।

धेरैले चाणक्य (कौटिल्य) को अर्थशास्त्रलाई आधार मान्छन् । ब्राह्मणवादी इतिहासकारहरूले लेखेका मौर्य साम्राज्यमा चाणक्यको हत्या राजा बिम्बिसारका प्रधान खल्लाटकको षड्यन्त्रबाट भएको थियो भन्‍ने छ । जसअनुसार खल्लाटकले राजकुमार सुसीम तथा सीयामकसँग मिली छलपूर्वक हत्या गरी कुटीमा आगो लगाई उनका सम्पूर्ण कृति जलाइदिएका थिए । अब अर्थशास्त्र चाहिँ कसरी बाँकी रह्यो ? वर्तमानमा उपलब्ध चाणक्य (कौटिल्य) को अर्थशास्त्र मनुस्मृति लगायतका अन्य ब्राह्मणवादी ग्रन्थहरूको चोरचार मान्‍नुहुन्छ- डा. सुरेन्द्रकुमार शर्मा ‘अज्ञात’ । उहाँले ‘कौटिल्यको अनर्थशास्त्र’ नामक पुस्तक नै तयार गर्नुभएको छ । उदाहरणका लागि ऋग्वेदको पुरुषसुक्त र मनुस्मृतिको झल्को दिने कौटिल्य अर्थशास्त्रको प्रयुक्त श्लोक हेरौँ :

स्वधर्मो ब्राह्मणस्य ध्ययनमध्यापनं यजनं याजनं दानं प्रतिग्रहश्चोति ।
क्षत्रिय स्याध्ययनं यजनं दानं शस्त्राजीवो भूतरक्षणं च ।
वैश्यस्याध्ययनं यजनं दानं कृषि पशुपाल्चे वाणिज्याच ।
शुद्रस्य द्विजातिशुभुषा वार्ता कारूकुशीलवकर्म व । अर्थशास्त्र १/ १/२ । ।
(ब्राह्मणको कर्म - पढ्ने, अध्ययन गर्ने, ध्यान गर्ने, धर्म गर्ने । क्षेत्रीको कर्म-पढ्ने, दान गर्ने, शस्त्र चलाउने, राज्यको रक्षा गर्ने । वैश्यको कर्म-पढ्ने, दान गर्ने, कृषि गर्ने, पशुपालन गर्ने, व्यापार गर्ने । शुद्रको कर्म- ब्राह्मण, क्षत्री र वैश्य अर्थात् द्विजातीयको सेवा गर्ने ।)

कतिपयले बृहत् शिलालेखको चौथो अभिलेखमा उल्लिखित ‘वम्हनसमन’ शब्दलाई लिएर ब्राह्मणको वकालत गर्दछन् । वम्हन शब्दले आजीवकको अर्थ दिन्छ जुन जैन तथा बौद्ध परम्परामा प्रचलित छ । यसबाहेक ग्रिक लेखक या अन्य कसैको लेख, शिलालेख कहीँकतै ब्राह्मण शब्द भेटिँदैन । महापण्डित केदारनाथ पाण्डे बौद्ध धर्मबाट दीक्षित भएर राहुल सांस्कृतायन हुनुभयो । पाली भाषाको त्रिपिटकलाई हिन्दी भाषामा अनुवाद गर्नुभयो । जहाँ ब्राह्मण शब्द प्रयोग गरिएको थियो । यही घटनाक्रमलाई ब्राह्मणवादी प्रतिक्रान्ति मान्‍नेहरू पनि धेरै छन् । दयानन्द सरस्वतीको सत्यार्थप्रकाश यसकै एउटा पाटो थियो । 

मौर्यकाल पूर्णत: बौद्ध सभ्यताको काल थियो भन्‍ने प्रमाणित आधार छ । यही कालताका भारत भूमिलाई ‘सोने का चिडिया’ उपनाम मिलेको थियो । मौर्यकालमा सर्वप्रिय सम्राट्हरू चन्द्रगुप्त मौर्य, बिम्बिसार मौर्य, अशोक मौर्यहरूले शासन गर्नुभएको थियो । यदि कहीँकतै भारतवर्षमा ‘रामराज्य’ थियो भने त्यो मौर्यकाल नै थियो । यस्तो स्वर्ण काल उन्‍नाइसौँ शताब्दीसम्म गुमनाम राखिएको थियो । यो नियोजित नभएर के थियो त ? जेम्स प्रिन्सेप, विलियम वासिङ्टन लगायतलाई हामीले धन्यवाद दिनैपर्छ- जसका कारणले मौर्य साम्राज्यको वास्तविकता सामुन्‍ने आयो । अर्थात् ब्राह्मणवादी प्रतिक्रान्ति केही हदसम्म चिर्न सफल भयो । तसर्थ यो निष्कर्ष निकाल्न सकिन्छ कि सन् १९१५ पछि मौर्य साम्राज्यको जस लिन भारत वर्षमा ब्राह्मणवादी सत्ताले एउटा पात्र जन्मायो- चाणक्यका रूपमा । यसो भन्दा अब दुई मत नहोला ।

(वरिष्ठ उपाध्यक्ष, नेपाली जनता दल ।) 


Author

रघु परियार

परियार नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष हुन् ।


थप समाचार
x