विचार

बदलिँदो नेपाली समाज

मौलिकता र आधुनिकताको बहसमा तीज : गीतको सन्दर्भ

मधुसूदन सुवेदी |
भदौ २३, २०७८ ८:५८ बजे

समाज परिवर्तनशील छ । मान्छेहरूका चाहना पनि फराकिला हुँदै गएका छन् । बजार अर्थ व्यवस्था, प्रविधिको विकास र भूमण्डलीकरणले गर्दा मान्छेका इच्छालाई असीमित बनाइदिएको छ । टाढाका व्यक्तिका गतिविधिलाई सजिलै थाहा पाउने बनाएको छ । हुनेहरूका लागि चाडपर्व सहज छ । सुखद छ । अरुलाई आफ्नो आर्थिक हैसियत देखाउने अवसर पनि छ । 

ईष्टमित्रसँगको भेटघाटमा तडकभडक छ । सुनका गहना र थरी-थरीका साडीको प्रतिस्पर्धा छ । धन नहुनेहरूका लागि पीडा छ, चिन्ता छ र असहज पनि । विदेशमा बस्ने नेपाली आमा, दिदी-बहिनीले मनाउने तीजलाई फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत संसारको जुनसुकै कुनामा बसे पनि थाहा पाउन सकिने अवसर दिएको छ । 


तीज : राम्रो लाउने र मीठो खाने चाड 
नेपालीले मनाउने थुप्रै चाडपर्वमध्ये हरेक वर्ष भदौ शुक्ल तृतीयाका दिन विशेषत: हिन्दू महिलाहरूले धुमधामका साथ तीज पर्व मनाउने गर्छन् । धार्मिक आस्थाका साथ मनाउनेहरूले महादेवको पूजा-आराधना गर्नुका साथै यस दिन विवाहित महिलाले व्रत बसेमा पतिको स्वास्थ्य र दीर्घायु हुने तथा अविवाहित नारीले व्रत बसेमा मनोकामना अनुसारको वर पाउने विश्वास गर्छन् । 

धार्मिक आस्था कम हुनेले पनि तीजलाई स्वतन्त्रतापूर्वक नाच्ने, गाउने, राम्रो लगाउने र मीठो दर पकाउने र खाने पर्वको रूपमा रमाउने कोसिस गरिरहेका हुन्छन् । पछिल्लो समयमा तीज घरबाट निस्केर बजार, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसमा र म्युजिक भिडियोको स्टुडियोमा सरेको छ । खर्चिलो, भड्किलोपना र प्रतिस्पर्धात्मक भइरहेको छ । 

पहिले तीजसँग छोरीचेली अनि माइतीको विशेष सम्बन्धका साथ माइती घर जाने, दर खाने र गाउँ, टोल, धार्मिकस्थल तथा सार्वजनिक चौतारामा जम्मा भएर मनाउने चलन थियो । तीज पर्व सहर बजारको रमझम भइसकेको छ । 

परम्परागत रूपमा लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्‍न थालेका छन् । हरेक वर्ष सयौँ तीजका नयाँ भाकाहरू रेडियो, टेलिभिजनका पर्दा, फेसबुक र यु-टुबमा आउने गछैन् । सफलता र असफलता मूल्यांकन हुन्छन् । विभिन्‍न टेलिभिजन च्यानल र रेडियोहरूले तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्छन् ।

पहिलेको दर खाने र तीज : गाउँघरमै बसेर रमाइलो 
पहिलेको तीजमा छोरी चेली र माइतीको गहिरो सम्बन्ध थियो । सानो उमेरमा विवाह हुने चलन थियो । आजको जस्तो यातायातको साधनको सुविधा थिएन । सडक निर्माण तथा हवाई सेवाको विकास भएको थिएन । सञ्चारको विकास भएको थिएन । त्यसैले फोन गरेर सञ्चो बिसञ्चोबारे सोध्न सम्भव थिएन । टाढा माइती हुने, हिँडेर घर-माइत गर्नुपर्ने, अनि सधैँ माइत जान नपाइने हुँदा छोरीलाई माइत जान तीज पर्खनुपर्ने अवस्था थियो । 

ठूलो परिवारमा बस्नुपर्ने, बुहार्तन भोग्नुपर्ने चलन हुँदा तीजमा माइती घर जानु, मीठो मसिनो दर पकाउनु र खानु सामाजिक सम्बन्धको महत्वपूर्ण पाटो थियो । आफ्नो श्रीमान, सासू-ससुरा, देवर-जेठाजु, नन्द-आमाजूले आफूलाई गर्ने असल र खराब व्यवहारबारे आमा तथा दिदीबहिनीसँग अनुभव साटासाट गर्न तीज पर्खनुपर्ने अवस्था थियो । माइती गाउँका आफन्त र प्रियजनहरूसँगको भेटघाटलगायतका रमाइला गतिविधिहरूले दु:ख बिर्सने संस्कृतिका रूपमा तीज मनाउने चलन थियो ।

त्यतिबेलाका गीतले विवाहपछि श्रीमान्‌को घरमा पाएको दु:ख, माइतीको सम्झना, आमाको मायाको सम्झना, सासूले गरेको हेला, परिवारको टोकसो समेटेर गीत बन्थे । उनीहरूले समाजमा भएका घटना, अत्याचार र आफ्ना कष्टहरूलाई गीतमा फुकाउँथे । जस्तो : 
तीज आयो भन्छन् सबै माइत जान्छन्
मै चेली अभागी कसको माइत जाम्
फाटिदे बादलु म हेर्छु माइतीको देश

अहिलेको तीजमा माइत जानी हो
आमाले पकाको दर खानी हो...

भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरी लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरी लै

आगँनीको डिल डाल काली कौवै का... का...
के समाचार ल्यायौ काली कौवै का का

लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टुनी बरी लै
जन्मै किन हेपिएको, यो छोरीको जुनी बरी लै

यस्ता गीतमार्फत हाम्रा हजुरआमा, आमा र उहाँका दौँतारीहरूले तीज मनाउनु हुन्थ्यो । वेदनाको भारी बिसाउने भावनाको चौतारी थियो, तीजका गीत र नाचहरू । आफ्नै भोगाइ र परिवेश, सम्बन्ध र व्यवहारका शब्दहरू प्रयोग हुन्थे । जसले गीतलाई मर्मस्पर्शी र स्थानीयता प्रदान गर्थे । गाउँभरिका दिदी-बहिनी भेला भएर नवविवाहिता नारीका दु:ख, पीडा गीतमार्फत सुन्थे । आँखा रसाउने भाकाले छोरीको दु:ख बाआमालाई बुझ्न मद्दत गर्थ्यो । सोहीअनुसार सम्झाउने, बुझाउने र पारिवारिक सम्बन्ध जोड्ने काम हुन्थ्यो । महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो पीडा पोख्‍ने र उत्साहका साथ तीज पर्व मनाउने चलन थियो पहिलेको तीजमा ।

तीजमा चेलीलाई माइतीबाट दाजुभाइ लिन जान्थे । बाबुआमा, दाजुभाइ छैनन् भने काका-काकी, मामा-माइजू वा अन्य कुनै दाजुभाइ लिन आउँछन् कि भनी बाटो हेरिरहेकी हुन्थे । यसको मतलब उनीहरू भेट भएपछि चेली र माइतीबीचको सम्बन्ध र सुख-दु:ख साटासाट हुन्थ्यो । पारिवारिक सम्बन्ध जोडिएको हुन्थ्यो । 

तीजको अघिल्लो दिन एक दिनमात्र दर खाने चलन थियो । थरी-थरीका तरकारी, अचार, खिर, पुरी, सेल जस्ता स्थानीयस्तरमा मीठा खानेकुरा पकाउने र खाने चलन थियो । दिउँसोदेखि नै खाने र रमाइलो गर्ने चलन थियो । दरखाने दिन राति १२ बजेसम्म परिवारका आमा-छोरी, दिदी-बहिनी लगायत घरका पुरुषसमेत सबै मिलेर दर खाने चलन थियो ।

दरको भरमा तीजमा व्रत बस्ने चलन थियो । तीजको दिनमा महिलाहरू रातो सारी, चुरा, पोते र गहना लगाएर तीजको भाकामा नाच्ने र गाउने गर्थे । पहिला तीज भन्‍नेबित्तिकै गाउँघरमा दु:ख-सुखका अनुभवलाई गीतको भाकामा आफूले पाएका वेदना पोखेर परिवारमा बसेर गान-बजान गर्दै मनाइन्थ्यो । 

पहिलेको तीजमा महिलाले बुहारी भएर बस्दाको पीडा, सासूको थिचोमिचो, आमाबाबु नहुँदा दाजु-भाउजूले गरेको उपेक्षा, माइतमा जान नपाउँदाको पीडा जस्ता अनेकौँ विषयको बयान गरिएका गीतहरू गाउने र नाच्ने चलन हुन्थ्यो ।

दरखाने र तीज 
पार्टी प्यालेसमा भोज, हिन्दी र अङ्ग्रेजी गीतमा कम्मर मर्काउने नाच, समय, काल, परिस्थिति फेरिएको छ । उमेर पुगेपछि परिवारसँग चिनजान भएपछि मात्रै विवाह हुने प्रचलन आइसकेको छ । एकल परिवारमा बस्नेको संख्या बढ्दै छ । कृषिभन्दा गैरकृषि क्षेत्रमा काम गर्नेहरू बढ्दैछन् । आर्थिक आम्दानी हुने पेसामा महिलाहरूको संख्या क्रमश: बढिरहेको छ । यसले गर्दा तीजको सांस्कृतिक र सांगीतिक पक्ष परिवर्तन भएका छन् । 

गत वर्ष र यो वर्ष कोरोनाका कारणले पार्टी प्यालेसहरूमा तीज कार्यक्रम आयोजना गर्ने कमी आए पनि सहरमा आर्थिक अवस्था राम्रो भएकाहरूले भड्किलो पाराले पार्टी प्यालेसहरूमा तीज कार्यक्रम आयोजना गरेर हिन्दी र अङ्ग्रेजी गीतमा कम्मर मर्काउने परम्परा बढ्दो छ । गीतको भाका पनि फेरिएका छन् । ‘पोइल जान पाम्’ भन्‍ने गीत चर्चित छन् ।

हरेक वर्ष साउन लाग्नेबित्तिकै र कहिलेकाहीँ त्यो भन्दा अगाडि नै तीजका गीतहरू बजारमा आउन थालेका छन् । गीतको शब्द र प्रस्तुतिको शैली पनि फरक भएका छन् । अहिले व्यापारिक हिसाबमा गीत बन्‍ने भएकाले यसलाई कसरी सबैभन्दा धेरै दर्शकसामु पुर्याउने र आफ्नो आम्दानी बढाउने भन्‍नेबारेमा सर्जक र उत्पादकको ध्यान केन्द्रित छ ।

तीजका थुप्रै गीतहरूमध्ये ‘चिटिक्कै भाछु रे’ जस्ता गीतले दर्शकलाई तान्‍न सफल भएका छन् । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् । जस्तो कि : ‘हामी पनि नाच्‍नुपर्छ बिच्च बिच्चमा’ । 

तीजका गीतलाई अडियो, भिडिओ तथा पछिल्लो समय सामाजिक सञ्जाल र अन्य थुप्रै डिजिटल प्लेटफर्ममार्फत आर्थिक आम्दानी गर्ने व्यवसाय सुरु भइसकेको छ । समग्रमा तीजको दर र नाच घरबाट बाहिर निस्केर बजारमा आम्दानी र खर्चको हिसाब-किताब गर्दै छ । 

बदलिँदो सम्बन्ध : सानो परिवार, समान हक र अधिकार 
पछिल्लो दशकमा समाजमा सम्बन्धहरू परिवर्तन भइरहेका छन् । संयुक्त परिवारमा बस्ने प्रचलन क्रमश: घट्दो छ । सासू-बुहारी, जेठानी-देउरानी, भाउजू-नन्दबीचका तिक्तता पनि हट्ने क्रममा छन् । पहिलेको तुलनामा सम्बन्धमा फेरबदल आएको छ । आजकालका सासू वा नन्दले आर्थिक रूपले आत्मनिर्भर बुहारी वा भाउजूलाई हैकम र शासन चलाउन सक्ने हैसियत राख्दैनन् ।

स्वदेशभित्रै पनि विभिन्‍न संघसस्था र कार्यालयहरूले समेत आफ्ना महिला कर्मचारीलाई दर खुवाउने चलन बढेको छ । गाउँ-गाउँमा महिलाले नेतृत्व गरेका बचत तथा ऋण सहकारी संस्था तथा महिला समूहको आयोजनामा महिलाहरू एकै ठाउँमा भेला हुने, दर खाने र नाच्‍ने चलन बढेको छ । पारिवारिकभन्दा व्यावसायिक सम्बन्धहरू बलियो हुँदैछन् ।

तीजमा गाउने गीतहरू पनि परिवर्तन भएका छन् । ‘यसपालि तीजमा कोरियन साडी लर्काउँदै नाचिन्छ, जे परे पर्ला माइतीको आँगन थर्काउँदै नाचिन्छ’ र ‘नाचिन्छ कम्मरै भाँचिन्छ, अर्को तीजमा मरिन्छ कि बाँचिन्छ’ जस्ता गीतहरू गाउने, बजाउने र नाच्नेको होडबाजी छ ।

गीतमा महिला सशक्तीकरण
पञ्चायती व्यवस्थाको समयमा पार्टीहरू प्रतिबन्धित थिए । महिलालाई वैचारिक रूपमा गोलबन्द गर्न तीजको गीतमार्फत पार्टी संगठन गर्ने चलन थियो । गीत गाइरहेको बेला प्रहरी धडपकड हुन्थ्यो । कतिपय महिलालाई सार्वजनिक अपराधको मुद्दा लगाई जेलमा राखेका थुप्रै उदाहरण छन् । बहुदलीय व्यवस्थाका सुरुका वर्षमा महिला संगठनहरूले तीजका गीतमार्फत आफ्नो विचारको प्रवाह गरे पनि हालका दिनहरूमा विचारभन्दा व्यक्तिगत स्वतन्त्रताले बढी प्राथमिकता पाएको छ ।

आजको समयमा कतिपय महिला कामकाजी छन् । आफ्नो खर्च आफैँ जुटाउन सक्छन् । उनीहरूलाई पहिले जस्तो श्रीमान् र परिवारसँग हात फैलाउनुपर्ने अवस्था अहिले छैन । आफैँ कमाउन सक्षम भएकाले रमाइलो गरी तीज मनाउँछन् । आज भोलिका तीज गीतमा पानीसमेत नखाई व्रत बसेर पूजा आराधना गर्ने भन्दा रमाइलो गर्ने, नाचगान गर्ने, साथीहरू भेट्ने रूपमा तीज मनाउने परम्परा बढ्दो छ । 

आफ्नो आम्दानी हुँदा आफूलाई मन पर्ने साथीहरू घरमा बोलाउने, दर खुवाउने, नाचगान गर्ने चलन बढिरहेको छ । सुनका गहना, नयाँ लुगा र पोतेको लागि श्रीमान्सँग अनुनय-विनय गर्नुपर्ने अवस्था नहुँदा के खाने, के लाउने भन्‍नेमा महिलाहरूले आफैँ निर्णय गर्न सक्षम भएको देख्न सकिन्छ । यो संख्या बिस्तारै बढ्दै छ ।

धार्मिक आस्थामा विश्वास गर्ने महिलाहरू तीजमा श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरूले व्रत बस्ने परम्परालाई चुनौती दिदै ‘अबको तीज नो व्रत प्लिज’ बोलको तीजको गीतले तीजलाई हेर्ने नयाँ दृष्टिकोणबारे बहस छेडेको छ । 

अन्त्यमा, 
रातो रङमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने पर्व हो, तीज । यो स्वतन्त्रताको प्रतीक पनि हो । कतिपय महिलाका लागि यो धार्मिक चाड हो भने कतिपयका लागि राम्रो लगाउने, मीठो खाने र स्वतन्त्रताको प्रतीक । जिउने तरिका बदलिँदै जाँदा तीज मनाउने तरिका पनि परिवर्तन भएको हो ।



Author

मधुसूदन सुवेदी

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।


थप समाचार
ad
x