विचार

कांग्रेस रूपान्तरणमा पुस्तान्तरण अनिवार्य हो ?

भोला भट्टराई |
भदौ २९, २०७८ मगलवार १७:२८ बजे

नेपाली कांग्रेसको वडा अधिवेशनले एक जना १९ वर्षीया युवतीलाई वडा सभापतिमा निर्वाचित गरेको विषय यतिबेला निकै चर्चाको विषय बनेको छ । यो चर्चाको दुइटा पक्ष छन्, एउटा कांग्रेसको जस्तो परम्परागत पार्टीमा युवा आउनु आश्चर्यको विषय भएकाले र दोस्रो समाजले राजनीतिक प्रणालीमा युवाको प्रवेश चाहेकाले । म यस लेखमा दोस्रो पक्षमा केन्द्रित भएर आफ्नो विचार प्रस्तुत गर्दैछु ।

नेपाली कांग्रेसमा युवाको प्रवेश, भूमिका र जिम्मेवारीबारे बहस सुरु भएको लामो समय भयो । तर १४ औँ महाधिवेशनको सन्दर्भमा युवाको उल्लेखनीय उपस्थितिले कांग्रेसमा नयाँ पुस्ताको भूमिका बढ्ने निश्चित छ । युवा पुस्ता प्रवेशका लागि गगन थापा, विश्वप्रकाश शर्र्मा, प्रदीप पौडल, धनराज गुरुङहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । हुन त, कतिपय बेला युवा नेताहरू पनि पार्टीका पुराना र बूढा नेताको छायामा गुडुल्की पर्ने पनि गरेका छन् । यद्यपि पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सेतु बनेर यिनीहरूले खेलेको भूमिका उल्लेखनीय मान्नुपर्छ ।


वडा अधिवेशन कांग्रेसको संरचनागत हिसाबले आधार तह हो । यो आधार निर्माण गर्दा केही सकारात्मक सन्देश दिन कांग्रेस सक्षम भएको छ । वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्दा सबै जात-जाति, वर्ग र समुदायको प्रतिनिधित्व गराइएको छ । अझ महत्वपूर्ण पक्ष त धेरै जसो वडा तहको निर्वाचन आम-सहमतिमा सम्पन्न भएको छ । अस्वस्थ प्रतिस्पर्धा, रोकावट, वादविवादका घटना ज्यादै न्यूनमात्र सुनियो । यसले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र, सुशासन र प्रणालीगत पक्षमा निकै सुधार भएको आँकलन गर्न सकिन्छ । 

युवा पुस्ता निडर र कसैको लोभ–लालचमा नपस्ने समूह हो । तर कांग्रेसमा नेताका पछिल्तिर दगुर्ने र दगुराउने जमातका रूपमा मात्र विकास गरियो । अब पिछलग्गु पक्कै बन्ने छैनन् ।

वडा अधिवेशनमा गाउँमा बसोबास गरिरहेका र विभिन्न पेसा, व्यवसायमा सहर पसेका सबैको सभागिता र समावेशीय जिम्मेवारी बाँडफाँड भएको देखिन्छ । यदि यो जिम्मेवारी सबैले समान ढंगले निर्वाह गर्ने हो भने कांगे्रसको आधार तह निकै बलियो बन्ने छ ।

तर यहाँ शंका गर्ने अवस्था के छ भने वडा समितिलाई पर्याप्त एजेन्डा दिन उपल्लोस्तरीय वा जिल्लास्तरीय नेतृत्व सक्षम भएनन् भने वडा समितिमा रहनेहरूमा छिट्टै निराशा आउने र आधार तह भत्कन सक्ने खतरा पनि त्यत्तिकै छ ।

यतिखेर वडा तथा क्षेत्रीय प्रतिनिधिमा चयन भएका युवा पंक्तिको काँधमा निकै धेरै जिम्मेवारी थपिएको छ । युवा आफैँ परिवर्तनकारी शक्ति हुन्, युवाले आफू, आफ्नो समाज र समग्र संरचना बदल्न सक्छ । त्यस कामका लागि युवामा पार्टीको सिद्धान्त, आदर्श, मूल्य र उद्देश्यबारे स्पष्ट ज्ञान हुनु आवश्यक छ ।

प्रश्‍न उठ्ने गरेको छ, नेपाली कांग्रेसका युवा पिँढी पार्टीको आदर्श एवं वैचारिक सवालमा अत्यन्त कमजोर छन् । पार्टीका केही अगुवा नेताको पछाडि-पछाडि मात्र लाग्ने, सीमित स्वार्थमा रुमल्लिने समूहका रूपमा युवापंक्तिलाई आलोचना गरिन्छ । त्यस्तो आलोचनाबाट मुक्त हुन युवा पुस्तामा व्यापक स्कुलिङ आवश्यक देखिन्छ ।

नेपाली कांग्रेसले आफ्नो नीति तथा प्रशिक्षण प्रतिष्ठानमा युवा विशेष प्रशिक्षण एकाइमार्फत यो काम गर्न सक्छ भने सबै स्तरमा गठन हुने प्रशिक्षण विभागलाई क्रियाशील बनाउँदै ‘स्कुलिङ’ गर्नुपर्छ । युवा पुस्तालाई कांग्रेसको परम्परागत प्रशिक्षण तरिकामा फेरबदल गरी समयानुकूल विषय, सीप र शैलीको प्रयोग गर्नुपर्ने देखिन्छ ।

समय सापेक्ष पार्टीको वैचारिक पक्षको व्याख्या, प्रविधि, सूचना र प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय राजनीतिक मुद्दासँगको सरोकारलाई स्थानीय सवालसँग जोड्न सक्ने बनाउन आवश्यक छ । अर्कोतर्फ, यतिबेला राष्ट्रिय राजनीति यति धेरै गाली, गलौज, निषेध र फोहोरी भएको छ, त्यसलाई सुधार्न पनि कांग्रेसले तत्काल आफ्नो नवगठित वडा, पालिका, जिल्ला, क्षेत्रमा प्रशिक्षण अभियान थाल्नु आवश्यक छ । जिल्ला अधिवेशनपश्चात् सबै जिल्ला कार्यसमितिले आफ्नो रणनीतिक योजना, चुनावी योजना सँगसँगै प्रशिक्षणलाई एक साथगाउँ-गाउँमा पुर्याउनुपर्छ ।

प्रश्‍न उठ्ने गरेको छ, नेपाली कांग्रेसका युवा पिँढी पार्टीको आदर्श एवं वैचारिक सवालमा अत्यन्त कमजोर छन् । पार्टीका केही अगुवा नेताको पछाडि-पछाडि मात्र लाग्ने, सीमित स्वार्थमा रुमल्लिने समूहका रूपमा युवापंक्तिलाई आलोचना गरिन्छ । त्यस्तो आलोचनाबाट मुक्त हुन युवा पुस्तामा व्यापक स्कुलिङ आवश्यक देखिन्छ ।

युवा पुस्तामा राजनीतिलाई र समाजलाई बुझ्ने हैसियत निर्माण गर्नुपर्छ । युवा उमेर सबै कुरा जान्छु भन्ने उमेर पनि हो । त्यस्तो बेला अरूको कुरा सुन्न सक्ने युवा बनाउनु, व्यवहार परिवर्तन गराउनु सहज विषय होइन ।

त्यसैले यस कामका लागि अनुभवी, विषय विज्ञ, सीप र दक्ष प्रशिक्षक/सहजकर्तामार्फत प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्छ । कांग्रेसमा ३०-३५ वर्षदेखि प्रशिक्षणको नाममा एउटै विषयवस्तु र एकै खालको प्रशिक्षण विधि प्रयोग हुँदै आएको छ ।

यसमा तत्काल सुधार आवश्यक छ । प्रशिक्षणलाई औपचारिक जमघटका थलो मात्र बनाइने परिपाटीको अन्त्य गरिनुपर्छ । नेताको भाषण प्रशिक्षण होइन । त्यो सुधार गर्नु आवश्यक छ । युवाले त्यस कार्यमा पार्टीको संरचना र नेतृत्वलाई आवश्यक दबाब दिनुपर्छ ।

अर्काे, महत्वपूर्ण जिम्मेवारी भनेको पालिका, क्षेत्र र जिल्ला अधिवेशनदेखि केन्द्रसम्म युवा पुस्ताको प्रतिनिधित्व बढाउने, नेतृत्वमा युवालाई ल्याउने, युवा दृष्टिकोण तयार गर्ने वा नेतृत्व गर्नेलाई आफ्नो दीर्घकालीन र अल्पकालीन दूरदृष्टि सार्वजनिक गर्न दबाब दिनेमा युवाले भूमिका खेल्नुपर्छ । किन म कुनै पदमा उम्मेदबार हुँदैछु भन्ने कुरामा नेताहरूसँग लिखित प्रतिबद्धता लिनुपर्छ । त्यो लिखित  प्रतिबद्धताका आधारमा उसको जवाफदेहिता र उत्तरदायित्व माग गर्न सकिन्छ ।

कांग्रेस समाजवादी पार्टी हो । यो नामले मात्र समाजवादी भएर पार्टी समाजवादी हुँदैन । यसका लागि समाजवादको अवधारणा अनुसारको विधि, परिपाटी र कार्यकर्ताको आचरण पनि समाजवादी हुन आवश्यक छ । प्रणालीलाई व्यक्ति विशेषको पकडमा राख्ने, सहभागितामूलक प्रक्रिया नै कमजोर पार्ने, आर्थिक गतिविधि पूर्णत दलाल पुँजीवाद शैलीमा बाट सञ्चालन गर्ने, पछाडि परेका वर्ग र समुदायलाई वेवास्ता गर्ने वा दास बनाउने चरित्र कहिले पनि समाजवादी हुन सक्दैन ।

त्यसैले पार्टीको विचार र प्रयोगमा शुद्धीकरण ल्याउन पनि युवाले भूमिका खेल्नुपर्छ । युवा आफैँ परिवर्तनको संवाहक भएको कारण हाम्रो सामाजिक संरचनामा कायम रहेको असमावेशीकरण, निषेधको अवस्था, कुरीति, विभेद, असमानता जस्ता पक्षलाई  निस्तेज पार्दै सबै वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समेत काम गर्नुपर्ने देखिन्छ ।

नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने मौका १४औँ महाधिवेशनले दिएको छ । यो रूपान्तरण नेतृत्व परिवर्तनमा मात्र होइन । कांग्रेस पार्टीले लिने वैचारिक सवाल देखि संरचनासम्मको विषय हो । नेतृत्वको सवालमा युवा, पार्टीको दर्शन बुझेको र व्यवहारमा प्रयोग गर्ने, कुशल संगठक, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई व्याख्या गर्न सक्ने जुझारु व्यक्ति नेतृत्वमा आउनुपर्छ ।

कांग्रेसभित्र मौलाउँदै गएको व्यक्ति, गुटगत व्यापारी-साझेदारहरूको दबाबलाई निस्तेज नपार्दासम्म कांग्रेस सिद्धान्तहीन बनिरहनेछ । यतिबेला बीपीले भन्नुभएको सुकिला-मुकिला अर्थात् पैसा, बल र पदको शक्ति पार्टीभित्र हाबी भएको छ । यसले पार्टीलाई कहिल्यै बलियो बनाउँदैन । पार्टी कमजोर बनाउने नै यिनीहरू हुन् ।

सवालगत र वैचारिक पक्षमा चर्चा गर्दा प्रमुखतः बीपीले लागू गर्नुभएको लोकतान्त्रिक समाजवादलाई अक्षरशः प्रयोगमा ल्याउन सक्ने, गरिब तथा पछाडि पारिएका वर्ग समुदायको पक्षमा पैरवी गर्ने, वातावरणीय र जलवायु परिवर्तनका सवाललाई स्थानीय अवस्थाअनुसार कार्यान्वयन गर्न सक्ने, भूमण्डलीकरण, व्यापारीकरण र उदारीकरणको कारण समाजमा सिर्जित असमनाताविरुद्धमा कार्य गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

यदि सामूहिक निर्णयमा विश्वास गर्ने नेतृत्व भएमा त्यसले कांग्रेसको सबै संरचनालाई पनि उत्तिकै जिम्मेवार बनाउन सक्दछ संरचनाहरू पनि गतिशील बन्नेछन् ।

युवा पुस्ता निडर र कसैको लोभ-लालचमा नपस्ने समूह हो । तर कांग्रेसमा  नेताका पछिल्तिर दगुर्ने र दगुराउने जमातका रूपमा मात्र विकास गरियो । अब पिछलग्गु पक्कै बन्ने छैनन् । पैसा र शक्तिको पछाडि भन्दा पनि पार्टीको दर्शन, सिद्धान्तअनुसार पार्टी चलायमान बनाउन सक्ने नेतृत्व चयन गर्ने र आफूमा पनि उस्तै आचरणको नेतृत्व क्षमता विकासमा युवाले ध्यान दिनेछन् ।

कांग्रेसभित्र मौलाउँदै गएको व्यक्ति, गुटगत व्यापारी-साझेदारहरूको दबाबलाई निस्तेज नपार्दासम्म कांग्रेस सिद्धान्तहीन बनिरहनेछ । यतिबेला बीपीले भन्नुभएको सुकिला-मुकिला अर्थात् पैसा, बल र पदको शक्ति पार्टीभित्र हाबी भएको छ । यसले पार्टीलाई कहिल्यै बलियो बनाउँदैन । पार्टी कमजोर बनाउने नै यिनीहरू हुन् । त्यसैले नवयुगका युवा साथीहरू कांग्रेसको रूपान्तरणमा युवा मात्र होइन कस्तो युवा ? कसको पक्षमा काम गर्ने युवा ? दर्शन कि बलको प्रयोग गर्ने युवा ? प्रणाली विकास गर्ने कि व्यक्तिगत भूमिका बढाउने युवा ? यी सबै पक्षलाई विचार गर्ने जिम्मा युवा पुस्तामा आएको छ । यो गम्भीर दायित्व पूरा गरेर नयाँ युगको नेतृत्व गर्न युवा सक्षम छन् भन्ने विश्वास जित्न पनि युवाले भूमिका खेल्नु पर्दछ ।

अन्त्यमा,
परिवर्तन चाहने युवाका लागि कांग्रेसको १४ औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण कोसेढुंगा बन्नेछ । युवा नेतृत्वको भूमिका र जिम्मेवारी बढाउनेदेखि कांग्रेसमा देखिएको विचारको शून्यतालाई क्रमभंग गर्दै वैचारिक पार्टी, समावेशीय पार्टी, गरिब र निमुखाको पार्टी बनाउन यो मौका कांग्रेसजनले उपयोग गर्ने नै छन् ।


Author

थप समाचार
x