अब त कहिले हो कहिले घुम्न पाउने !
आज भदौ २९ अर्थात् राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ आज ५७औँ राष्ट्रिय बाल दिवस मनाइयो, मनाइँदै छ । यसै सन्दर्भमा करिब दुई वर्षदेखि विद्यालय जान नपाई घरमै अनलाइनको माध्यमबाट शिक्षा लिइरहेकी सान्भी धितालको सानो अनुभूति :
मेरो नाम सान्भी धिताल हो । मेरो स्कुलको नाम ज्ञानकुञ्ज माध्यमिक विद्यालय हो । म आठ कक्षामा पढ्दै छु । अहिले मेरो अनलाइन कक्षा हुन्छ । अनलाइन पढ्दाभन्दा स्कुलमै गएर पढ्दा मलाई रमाइलो हुन्छ । स्कुलमा सबै साथीहरू भेट हुन्छन् । स्कुलमा भए साथीहरूसँग मिलेर खेल्न पाइन्छ । कम्प्युटर ल्याबमा पनि जान पाइन्छ । हाम्रो स्कुलमा हामीलाई डान्स तथा आर्ट सिकाउनुहुन्छ । अनलाइनमा पढ्दा यो सबै धेरै याद आइरहेको छ ।
कारोनाले गर्दा सकेसम्म घरबाहिर ननिस्क भन्नुहुन्छ घरमा । स्कुलबाट पनि यसै भन्नुहुन्छ । साथीहरूसँग भेट नभएको पनि कति धेरै भइसक्यो । कहिले यो कोरोना सकिएला अनि स्कुल जान पाइएला जस्तो हुन्छ, मलाई ।
म मोबाइलमा गेम त खेल्दिनँ तर युट्युबमा भिडियो चाहिँ हेर्ने गर्छु तर क्लास भएको बेला हेर्दिनँ । युट्युबमा डान्स तथा कार्टुनहरू हेर्ने गर्छु । बिदा भएको बेला डान्स तथा कार्टुन हेरेर समय बिताउँछु ।
अनलाइन क्लास लिँदा धेरै गाह्रो हुन्छ । बेलुका त आँखा दुखेर कहिलेकाहीँ हेर्न नि गाह्रो हुन्छ । कक्षा सकिएपछि पनि गुरु, गुरुआमाले दिने गृहकार्य त्यसमै हेरेर गर्नुपर्ने हुन्छ । यो झनै गाह्रो हुन्छ । धेरै समय ल्यापटपमा हेर्दा आँखा अनि टाउको दुख्छ ।
अनलाइनमा क्लास लिएको सबै राम्ररी बुझिँदैन पनि । प्रयोगात्मक, अभ्यासमूलक विषय त निक्कै गार्ह्रो हुन्छ । अरू चाहि बुझिन्छ । गणित र विज्ञान विषय बुझ्न अलि गार्ह्रो हुन्छ । कहिलेकाहीँ त नेटले तथा बिजुलीले गर्दा पनि अप्ठ्यारो हुन्छ । बेला बेला नेट जाँदा पढाएको कुरा अरू साथीसँग बुझ्नुपर्ने हुन्छ ।
कोरोनाले गर्दा घरमै बस्नुपरेको छ । बाहिर कहिले निस्कन पाउँछु जस्तो भएको छ । कोरोना नभएको भए पौडी खेल्न जान हुन्थ्यो । त्यो याद आइरहेछ । अब त कहिले हो कहिले घुम्न पाउने !
घरमा ममी–बाबाले समय चाहिँ दिनुहुन्छ । बाबा–ममी घरमै हुनुहुँदा रमाइलो लाग्छ । मलाई यति लामो समय बाबा–ममी घरमा बसेको थाहा थिएन । यो कोरोनाले गर्दा चाहिँ बस्नुभयो । कहिलेकाहीँ कोरोना आएको पनि राम्रो हो जस्तो लाग्छ । तर स्कुल अनि घुम्न जान नपाउँदा चाहिँ यो कहिले सकिएला जस्तो भएको छ ।
अब अलिकति देशको कुरा गर्छु । शेरबहादुर देउवा हुनुहुन्छ, हाम्रो प्रधानमन्त्री । म्यामले भन्नुभएको, केपी शर्मा ओली हटेर शेरबहादुर देउवा आउनुभयो भनेर । हाम्रोमा केपी शर्मा ओलीलाई चाहिँ किन हटाएको ? भारतमा नरेन्द्र मोदी त कहिल्यै हट्दैनन् त ? मोदी प्रधानमन्त्री भएको त कत्ति भइसक्यो । हाम्रोमा त कति चाँडै हट्छन् त, किन होला ?
मलाई नेताहरूको बारेमा धेरै थाहा छैन । तर, राजनीति गर्नेहरू असल नभएरै हाम्रो देश पछि परेको जस्तो लाग्छ मलाई । पुष्पकमल दाहाल प्रचण्डबारे थाहा छ । लालबाबु (पण्डित) बारे थाहा छ छ । अरुको नाम थाहा छैन । प्रचण्ड र केपी ओलीको नाम त जहिल्यै टिभीमा आउँछ । आज बाल दिवस । तर यहाँ बालबालिकाका कुरा धेरै सुनिँदैन । यो दिवसमा पनि ठूलाकै कुरा हामीले सुन्नुपर्छ । हामीलाई बोल्न दिइँदैन ।
मलाई त पछि गएर नर्स बन्ने इच्छा छ । म नर्स बन्छु, भविष्यमा । म जस्ता सबैलाई बाल दिवसको मेरो शुभकामना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया