विचार

‘मै छोरो रुँदै रुँदै साउदी जेलैमा’ भन्‍ने गीत कहिले ?

हरि देवकोटा |
भदौ ३०, २०७८ बुधबार ७:५२ बजे

नुवाकोटका अर्जुन (नाम परिवर्तन) तीन वर्षअघि साउदी गए । दूधे बालक, श्रीमती तथा परिवारको उज्ज्वल भविष्यका लागि विदेशिएका उनको चार महिनादेखि श्रीमतीसँग मनमुटाव सुरु हुन थालेको थियो । आफूले पठाएको पैसा कहाँ कति बचत गरेका छौ ? केमा खर्च भएको छ ? भन्‍ने कुराहरूमा उनले खोजीनीती गर्न थाले । यस्ता प्रश्नमा श्रीमती झर्किन थालिन् । 

केही समयपछि उनले थाहा पाए, गाउँमा श्रीमतीको अर्कै केटोसँग प्रेम सम्बन्ध रहेछ । उनले धेरै सम्झाएको बताए । अनि कराए पनि । श्रीमतीले आफू गलत नभएको तर्कले जितिरहिन् । उनै श्रीमतीले गत वर्ष घरमा सासूससुरा र दुई बच्चा छोडी त्यही केटासँग दोस्रो बिहे गरिन् । उनले दोस्रो बिहे गरेर गइन् । परिवारमा बच्चाहरूको बिचल्ली भयो । दोस्रो विवाह गरेर गएको केटाको अर्को पनि श्रीमती भएकाले उनको सम्बन्ध धेरै समय टिक्न सकेन । यता ससाना बच्चा हुर्काउन गाह्रो भएकाले बाबुआमाको कुराबमोजिम अर्जुनले आफ्नी श्रीमतीलाई पुनः घरमा ल्याए ।  


काभ्रेका दीपक (नाम परिवर्तन) गैरसरकारी संस्थामा काम गर्थे । स्टाफ नर्ससँग बिहे भयो । बिहे भएपछि श्रीमतीले अस्ट्रेलिया जान रहर गरिन् । दीपकको पनि यताको जागिर र सानोतिनो व्यवसाय भएकाले केही समयपछि आउने कुरा गरे । ३५ लाख रुपैयाँ खर्च गरेर चैतमा अस्टे«लिया पठाए । गएको दुई महिनापछि उनलाई श्रीमतीको व्यवहार फरक लाग्न थाल्यो । उनीहरूबीच  मनमुटाव सुरु भयो । उनको अस्टे«लियामा अरु केटासँग लिभिङ टुगेदरमा रहेको भन्‍ने दीपकले शंका गरेका थिए ।

श्रीमतीको त्यही केटासँग माया-प्रेम गाढा हुन थालेपछि उनी डिभोर्स गर्ने सुरमा असोजमा नेपाल फर्किइन् र अदातलमा डिभोर्सको प्रक्रिया अगाडि बढाइन् । अरु दसैँको रमझममा हुँदा दीपक डिभोर्सको कालोमसी पुछ्दै थिए । उनले श्रीमती मात्र गुमाएनन्, बिहेमा भएको १५ लाख रुपैयाँ खर्च, अस्टे«लिया पठाउँदा लागेको ३५ लाख खर्च, सामाजिक प्रतिष्ठा र इज्जत पनि गुमाएका थिए । 

तनहुँका शिव (नाम परिवर्तन)ले बिहे गरेपछि केही समय गाउँमै कामको सुरसार गरे । तर भने जस्तो कुनै काम मिलेन । सहरतिर झर्ने कि भन्‍ने सुर पनि नचलेको होइन तर साथीभाइहरू साउदी-कतार हिँडेपछि उनी पनि साथीहरूकै सरसल्लाहमा दुबई गए । श्रीमती प्लस टु पढ्नका लागि बजार झरिन् । उनले नियमित रूपमा श्रीमतीलाई पैसा पठाउँदै गए । तीन वर्षको अवधिमा करिब ११ लाख रुपैयाँको हाराहारीमा पैसा पठाएको उनी बताउँछन् ।

श्रीमती सबै पैसा बैंकमा भएको बताउँथिन् । उनी नेपाल फर्केपछि बजारमा घडेरी किन्‍ने सरसल्लाह भएको थियो । तर जुन दिन उनी नेपाल फर्किइन्, न त उनले श्रीमती भेटे, न त दुबईमा दुःख गरेर पठाएको पैसा नै । उनले फोन गर्दा नम्बर स्वीच अफ थियो । उनी विदेश गएको चार महिनापछि अर्कै केटासँग उनको लभ परेछ । पछि उसै केटोसँग घरजम गरिसकेको थाहा भयो । अहिले शिव के गर्ने भनेर केही सोच्नै नसक्ने विक्षिप्त अवस्थामा छन् ।   

यी माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । वैदेशिक रोजगारीले दम्पतीबीच खाडल ल्याइदिएको छ । यी महिलाबाट पुरुष पीडित भनेर देखाइएका कथा होइन । विदेश जाने पुरुष नै धेरै भएको हुँदा महिलाको कमजोरी जस्तो देखिएला तर यो सामाजिक-मनोवैज्ञानिक समस्या हो । 

विदेशमा पुरुषको पनि परस्त्रीसँग नाजायज सम्बन्ध हुन सक्छ । पुरुषले महिलाप्रति जति चियोचर्चो गर्छ, नियन्त्रण गर्न खोज्छ महिलाले पुरुषप्रति गर्दैनन् । यौन सम्बन्धको पवित्रताबारे सोच्‍नैपर्ने भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले करिब ५६ प्रतिशत घरमा रेमिट्यान्स पुगेको छ भने देशकै जीडीपीलाई योगदान गर्ने महत्वपूर्ण कारकका रूपमा रेमिट्यान्स रहेको छ । बिस्तारै विभिन्‍न मुलुकहरूमा नेपाली दाजुभाइहरू जाने क्रम बढेको छ ।

यसमा महिलाको संख्या पनि थपिँदै छ । अहिले पनि करिब ३० लाख हाराहारीमा नेपाली दाजुभाइ विदेशमा छन् । घर, परिवार, श्रीमान्-श्रीमती बालबच्चाबाट टाढा हुँदा यसको सामाजिक लागत त धेरै महँगो भएको छ । साथसाथै वैदेशिक रोजगारीमा गएका दाजुभाइ अहिले पनि विभिन्‍न भाषागत समस्या, नियम कानुन थाहा नभएका कारण झण्डै ५ हजारभन्दा बढी विदेशको जेलमा रहेका छन् ।   

तीजको रमझममा सबैको मुख मुखमा झुण्डिएको गीत हो, ‘मै छोरी रुँदै रुँदै बेसी मेलैमा ।’ छ । श्रीमान्को लामो आयु, प्रगति र उन्‍नतिका लागि व्रत गर्ने पुरानो परम्परामा बिस्तारै परिवर्तन हुँदै छ । नयाँ नयाँ आयामहरू पनि थपिएका छन् । यो आफैँमा सुन्दर पाटो हो । 

महिलाहरू घरको काममा मात्र सीमित थिए । अहिले पनि महिलालाई बाहिर निस्किन खासै दिइँदैन । घरभन्दा बाहिर उनीहरुको कमै पहुँच हुन्थ्यो । महिला भनेको घरायसी काम, खेतीकिसान गर्ने र पारिवारिक साधनका रूपमा व्याख्या गरिन्थो । घरमा बिहान उठेदेखि दैलो कसेर गर्नुपर्ने, श्रीमान्लाई चिया-खाना तयार गर्ने, बालबच्चाको स्याहार-सुसार गर्ने व्यक्तिको पहिचान थियो, महिलाको । यसमा यसले व्यापक नै परिवर्तन नआए पनि सुधारोन्मुख छ भन्‍न सकिन्छ । 

समयको चक्रसँगै महिलाको शिक्षाको स्तर, जनचेतना स्तर, रोजगारी, प्रजजन अधिकार, सम्पत्तीमा अधिकार जस्ता कुरामा महिला बलियो हुँदै छन् ।  पितृसत्तात्मक सोच भत्काउनैपर्छ । भत्किँदै पनि छ, जुन आफैँमा एउटा ठूलो उपलब्धि हो । 

समयको परिवर्तनसँगै परिवारमा दर्द पीडा बढेका पनि छन् । यौन अधिकारप्रति संकुचित बुझाइले गर्दा महिलाप्रति आरोप लाग्ने गर्छ । घरपरिवार टुटेका, सम्पत्ती रित्तिएका, पारिवारिक विखण्डन भएका प्रशस्तै उदाहरण बढेका छन् । पहिले पुरुषहरुबाट यस्तो अत्याचार हुन्थ्यो, अहिले महिला पनि सशक्त भएका छन्, यसमा । 

जो र जसबाट भए तापनि आखिरी हिंसा हिंसा नै हो, जुन सर्वथा गलत हो । सबै घरायसी र पारिवारिक उल्झनहरुको उपचार अदालतबाट नै हुन्छ भन्‍ने छैन तर पनि पुरुषका लागि यी कुराहरूको सुनुवाइ हुने ठाउँ छैन । सामान्यतया अहिले पनि पीडक पुरुष नै हुन्छ भन्‍ने गहिरो सामाजिक मान्यताका कारण तमाम समस्या बताउनका लागि पुरुषलाई समाजले वर्जित गरिदिएको छ । पुरुष प्रधान देशमा पुरुषहरू रुनसमेत नहुने भन्‍ने मान्यता स्थापित हुँदा न त पुरुषहरू यो मान्यतालाई परिवर्तन गर्न सकेका छन्, न त समाजमा पीडा र विरहबारे बोल्न सक्छन् । 

पुरुषहरुको सन्दर्भमा उनीहरूले आफ्नो पीडा बताउने कुनै समय, स्थान, माध्यम, संगीत, गीत छैन । महिलाहरूलाई जसरी तीजमा माइती वा नजिकको आफन्तकोमा गई आफ्ना कुराहरु राख्ने स्थान छ। त्यसै गरी पुरुषहरुलाई पनि कुनै माध्यम र समय जरुरत हुन थालेको महसुस हुन्छ । महिलाहरुका लागि तीज सँगसँगै आम महिलाहरूका लागि अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ । पुरुषहरूको त्यस्तो कुनै ठाउँ नै छैन जहाँ उनीहरू जम्मा होऊन्, मनमा भएका तमाम कुरा भन्‍न सकून, धित फुकाएर रुन पाऊन् जसको सुनुवाइ पनि भइदियोस् । सायदै पुरुषहरूले पनि यस्ता समस्या भोग्नुपर्छ, पुरुषहरू पनि पीडित हुन्छन् भन्‍ने कहीँकतै कल्पना नै गरिएको थिएन कि ?

पुरुष घरपरिवारको मुख्य अभिभावक बनाइएका कारण त्यसको बोझले परिवारको तमाम आवश्यकता पूरा गर्न ऊ हर दिन-रात खट्नुपरेको छ । छोराछोरीको लालनपालन, उच्च शिक्षा, श्रीमती र घरपरिवार बुबाआमाको राम्रोसँग हेरचाह त उसकै जिम्मेवारी नै भयो । समाजमा सामाजिक तथा राजनीतिक भूमिकामा समेत उसले आफूलाई स्थापित गराउनुपर्ने कारण वास्तवमै पुरुषहरू धेरै जिम्मेवारीबाट थिचिएका हुन्छन् । जसलाई आदानप्रदान गर्ने कुनै थलो आजसम्म विकास नभएकाले पनि उनीहरू यी र यावत् कुराहरू मनमा थिचेर राखेका हुन्छन् ।  

परिवार व्यवस्थापन र परिवारभित्र हुने अनावश्यक मनमुटाव, कलह, सासू-बुहारी, दाजुभाइबीच हुने अनावश्यक घरझगडाले ठूलो मानसिक तनाव दिएको हुन्छ । समय परिवर्तन हुँदै जाँदा अब ‘मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ जसरी नै ‘मै छोरो रुँदै रुँदै साउदी जेलैमा’ भन्‍ने गीत पनि बजारमा आउन जरुरी छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकासमा विद्यावारिधि गर्दैछन् । यो लेखकको निजी धारणा हो ।) 


Author

थप समाचार
x