विचार

श्राद्ध संस्कृतिलाई कसरी बुझ्‍ने ?

चन्द्रप्रकाश बानियाँ |
असोज ७, २०७८ १२:१० बजे

सामान्यत: सामाजिक व्यवहारमा ‘श्राद्ध’ भन्‍नाले पुण्यतिथिमा आयोजना गरिने पितृयज्ञ भन्‍ने अर्थ लाग्दछ । श्राद्धको व्युत्पत्ति अर्थात् मूल ‘श्रद्धा’ हो । ‘श्रत्’ र ‘धा’ नामका दुई शब्दको मिलनबाट ‘श्रद्धा’ भन्‍ने शब्द बनेको हो । शब्दार्थका हिसाबाले ‘श्रत्’ भनेको ‘विश्वास’ र ‘धा’ भनेको ‘कार्य’ भन्‍ने बोध हुन्छ । अर्थात् विश्वासपूर्वक गरिने कुनै कार्यलाई श्राद्ध भनिन्छ । 

‘धार्मिक कार्यप्रतिको विश्वास नै श्राद्ध हो (प्रत्ययो धर्मकार्येषु तथा श्रद्धेत्युदाहृता)’ भनेर देवल ऋषिले परिभाषा गरेका छन् । श्राद्धको भावार्थको प्रयोग व्यापक र बृहत् अर्थमा गरिन्छ । बरु “एतेन पितृनुद्दिश्य द्रव्यत्यागो वा द्रव्यस्य प्रेतोदेद्दश्न श्रद्धया त्याग’ भनेर पितृको नाममा उत्सर्ग गरिएको दानदातव्य ब्राह्मणद्वारा ग्रहण गर्नु नै श्राद्ध हो भनेर श्राद्धकल्पतरुले फरक, स्पष्ट र संकीर्ण परिभाषा गरेको भेटिन्छ । विशुद्ध शब्दार्थका हिसाबले यतिबेला प्रचलनमा रहे जस्तो श्राद्ध भन्‍नाले पितृयज्ञलाई मात्र जनाउने शब्दावली श्रद्धाको संकीर्ण प्रयोग हो भन्‍नु बढ्ता नहुने देखिन्छ । त्यसैले कहिलेदेखि किन र कसरी पितृका नाममा गरिने यज्ञलाई श्राद्धको नाम दिन थालिएको होला भनेर वैदिक धर्म व्यवस्थाका प्रावधानहरूमा उरलझिरल पार्ने चेष्टा गर्नु असान्दर्भिक र अप्रयोजनीय ठहर्दैन होला ।


मूलत: वैदिक साहित्यमा श्राद्धलाई नित्य, नैमित्तिक र काम्य भनेर तीन वर्गमा विभाजन गरिएको छ । प्रारम्भमा पितृका लागि भनेर श्राद्धकर्मको आयोजना औँसीका दिनमा गरिन्थ्यो (गौतम (१५ १-२) । समयक्रममा श्राद्धका प्रकार र समयमा पनि फेरबदल हुँदै आएको हो । श्राद्ध कति किसिमका हुन्छन् भन्‍ने कुरामा वेदशास्त्रहरू एकमत रहेको देखिँदैन । कुर्म पुराणमा नित्य, नैमित्तिक, काम्य, बृद्धि, पार्वण गरी पाँच प्रकारका हुन्छन् भनिएको छ । मिताक्षरा (याज्ञवल्क्य सूत्र १। २१७) मा अहरह:, पार्वण, बृद्धि, एकोदिष्ट र सपिण्डीकरण भनेर फरक पाँच नाम दिइएको छ ।

विश्वामित्रद्वारा रचित एउटा बहुउद्धृत श्लोकमा नित्य, नैमित्तिक, काम्य, बृद्धि (पुत्रोत्पत्ति, विवाह वा शुभ घटनामा गरिने श्राद्ध), सपिण्डन, गोष्ठी, शुद्धि, कर्माङ्ग, दैविक, यात्रा, पुष्टिसमेत गरी बाह्र श्राद्धका प्रकारहरू उल्लेख गरिएको पाइन्छ । ‘षण्णवति श्राद्ध’ नामको किताबमा वर्षभरमा गरिने ९६ श्राद्धको नाम र तिथिको वर्णन गरिएको छ ।

सबै मृतात्माहरूलाई मरेतिथि, आमावस्या, तीर्थ, पर्व र आश्विन शुक्ल पक्षभर श्राद्धतर्पण दिएर स्मरण गरिने यो परम्परा वैदिक आर्यहरूले बसालेका हुन् भनेर मानिन्छ । पछिल्लो कालखण्डमा हिन्दू धर्मको नामबाट परिचित सनातन परम्परामा श्राद्धतर्पणले धार्मिक संस्कृतिको रूप ग्रहण गरेको छ । हिन्दू धर्मको आदिस्रोत मानिने वेदहरूमा भने ‘श्राद्ध’ भन्‍ने शब्द कहीँकतै उल्लेख भएको पाइँदैन । ऋग्वेदमा पितृ शब्दको प्रयोग पनि फेला पर्दैन । 

शतपथब्राह्मणमा परेको ‘पितृ’ले ‘वानप्रस्थ आश्रममा रहेका बृद्धात्माहरू भन्‍ने अर्थ दिन्छ । कठोपनिषद्मा श्राद्ध शब्द ‘ब्राह्मणसभामा गरिने उत्घोषण’को अर्थमा गरिएको छ । श्राद्धतर्पणलाई वेदले नचिन्‍ने भएको हुनाले आफूलाई वैदिक धर्मका सच्चा अनुयायी भनेर दाबी गर्न रुचाउने आर्यसमाजीहरूले श्राद्ध गर्दैनन् । श्राद्धको परम्परालाई धार्मिक शोषणका रूपमा अर्थ्याएर विरोध गर्छन्, श्राद्धका पक्षपातीहरूलाई दुत्कार्छन् ।

हिन्दू परम्परामा बाहेक अन्य धर्म-संस्कृतिमा मरेका पितृहरूलाई पुण्यतिथिमा सम्झना गर्ने चलन भए पनि श्राद्धतर्पण जस्ता कुनै कार्यहरूको व्यवस्था देखिँदैन । हिन्दू समाजमा प्रचलित श्राद्धको परम्परा एउटा विशिष्ट र मौलिक परम्परा हो । श्राद्धतर्पणको नामबाट जन्मदाता पितृहरूलाई नियमितरूपमा सम्झेर कृतज्ञता जाहेर गर्ने यो परम्परालाई नराम्रो भन्‍न मिल्दैन । तापनि वेद-उपनिषद्‌मा श्राद्धको व्यवस्था नपरेको हुनाले वेदकालपछि अर्थात् पुराणकालमा अथवा सूत्र स्मृतिकालमा मात्र श्राद्धको परम्परा सुरु भएको हो भन्‍नुपर्ने हुन्छ ।

वैदिक कालमा अग्नि, वायु, वरुण, सूर्य आदि देवताको स्मरण, स्तवन र पूजाको परम्परा बसालिएको भए पनि पितृपूजाको परम्परा भने बसेको थिएन । निकै पछि, खास गरेर, ब्राह्मणग्रन्थकालमा मात्र श्राद्ध र पितृको अवधारणा विकसित भयो र पुराणकालमा विस्तारित भयो । मत्स्य पुराणमा मृतकलाई १२ दिनसम्म पिण्ड दिनुपर्ने कुरा लेखियो । मार्कण्डेय पुराणमा श्राद्धमा गरिएको पिण्डलगायतका दानबाट आफ्नो कर्मानुसार विभिन्‍न लोकमा पुगेका पितृ (मृतात्मा) हरूले आवश्यकता अनुसारको फल प्राप्त गर्छन् भनेर लेखियो ।

वेदमा उल्लेख नभएका कारण देखाएर आर्यसमाजीहरूले श्राद्धको विरोध गर्छन्, तापनि राम्रो परम्परा जसले जहिले बसालेका भए पनि अनुकरणीय हुन्छन् । अनुसरण गर्न मनले मान्दैन भने पनि विरोध गर्नुपर्ने जरुरत हुँदैन । फेरि ‘अर्ति त के जातिको पनि लिनु’ भनिन्छ । दिवङ्गत आमाबाबु, बाजेबजै वा दाजुभाइहरूलाई वर्षमा एक दिन सम्झनु, उनका नाममा आफन्त ईष्टमित्रहरूलाई मिष्ठान्‍न भोजन गराउनु र सक्ने क्षमता हुनेहरूले दानदक्षिणा दिनु रात्रै काम हो । तर यतिबेला श्राद्धलाई यो दृष्टिकोणबाट हेर्नु र निरन्तरता दिनु, पुस्तौं पुस्तादेखि चलिआएको चलन भनेर पछ्याउनु एउटा कुरा हो, यसको उत्पत्ति वा प्रारम्भ कुन उद्देश्यबाट भएको हो भन्‍ने कुरा फरक विषय हो । 

दिवङ्गत मातापितालाई सम्झने पुण्यदिनका रूपमा श्राद्धको तिथिलाई जसरी उत्तम भन्‍न सकिन्छ वास्तवमा यसको प्रारम्भ वा स्थापना त्यस्तै पवित्र कार्यका रूपमा भएको हो भन्‍ने कुराको प्रमाण हाम्रा धर्मग्रन्थहरूले दिन सक्दैनन् । 

‘आत्माको अमरत्व’को हिन्दू दर्शनमा श्राद्धतर्पणको अवधारणा आधारित छ । हिन्दू अध्यात्म दर्शनले भौतिक संसारलाई अनित्य र परमार्थ (परमात्माको सायुज्य) लाई नित्य मान्छ । मृत्युपश्चात् पञ्चभूतबाट निर्मित मानवदेह खरानी भए पनि आत्मा अजरअमर रहन्छ भन्‍ने मान्यता राख्दछ । अर्थात् देह मरे पनि आत्मा मर्दैन बरु ‘ठाम सर्छ’ भन्‍ने कुरामा विश्वास गरिन्छ । 

पानीका सबै स्रोत र धारहरूको अन्तिम गन्तव्य समुद्र भए जस्तै सबै आत्माहरूको अन्तिम गन्तव्य परमात्मा हो भनिन्छ । जब पानीका हरेक थोपाहरू समुद्रमा मिल्छन्, ती थोपाहरूको अलग अस्तित्व मेटिन्छ, सबै थोपाहरू, सबै खोलाहरू, सबै नदीहरूको अस्तित्व समुद्रमा विलीन हुनजान्छ । सबै किसिमका पानीका स्रोतहरू समुद्रसँग एकाकार हुन्छन् । समुद्रमा मिसिएपछि कुनै स्थानविशेषको वा नदीविशेषको पानी ‘यो हो’ भनेर कसैले छुट्याउन सक्दैन । ठीक त्यसै गरी सबै मृत शरीरबाट नि:सृत भएर परमात्मा मिसिन पुग्ने कुनै पनि आत्माको अलग अस्तित्व बाँकी रहँदैन पनि भनिन्छ ।

अर्कोतिर आत्मा र परमात्माको मिलन सहज छैन पनि भनिन्छ । अर्थात् वैदिक दर्शनले आत्मा र परमात्माको सम्बन्धको परस्पर विरोधाभाषी परिभाषा गरेको देखिन्छ । बरु बुद्ध दर्शनले भौतिक देहको पुनर्जन्म हुनसक्छ, आत्माको र अक्षुण अस्तित्व स्वीकार्दैन । हिन्दू अध्यात्म दर्शनले भने आत्मा अमर रहन्छ, उसको अलग अस्तित्व हुन्छ र जब कुनै मान्छे मर्छ, मृत शरीरबाट निस्केको आत्माले नयाँ शरीरमा प्रवेश गर्छ भनेर मानेको छ । त्यही सन्दर्भमा गीताले भन्छ : ‘तथा शरीराणि विहाय जिर्णन्यन्यानि संयाति नवानि देही’ (२।२२) । त्यसैगरी बृहदारण्योपनिषद्मा भनिएको छ, ‘अयमात्मेदं शरीर निहत्याविद् गमयित्नान्यन्वतरं रूपं कुरुते पित्र्यं वा गान्धर्व वा दैवं वा प्रजापत्यं वा ब्रह्मं वान्यषां वा भूतानाम (बृ-४।४। ४) । 

श्राद्धतर्पणको अवधारणाले ‘अहम् ब्रह्मस्मि’ भन्‍ने एक ब्रह्मवाद (एकेश्वरवाद) लाई पनि मान्दैन । गीता वा बृहदारण्यकोपनिषद्का पुनर्जन्मसम्बन्धी मान्यताहरूभन्दा विल्कुल फरक धारणा राख्दछ । तीन जना पूर्वपुरुषहरूलाई तीनपुस्ते पिण्डदान गर्नुपर्ने सिद्धान्तले ती मृतात्माहरू ५०/१०० वर्षसम्म पनि वायुमण्डलमा घुमिरहन सक्छन् भनेर मान्दछ र तिनै भौँतारिएको आत्माहरूलाई तृप्त गर्नका लागि नियमितरूपमा पिण्डदान गर्नुपर्छ भन्‍ने सिद्धान्त प्रतिपादन गरिएको छ । मार्कण्डेयपुराण (२९।३८), मत्स्यपुराण (१९/११-१२), अग्निपुराण (१६३/४१-४२) हरूमा श्राद्धमा दिइएको पिण्डबाट तृप्त भएका पितृहरूले आफ्ना सन्तानहरूलाई सुख र समृद्धिको आशीर्वाद दिन्छन् भनिएको छ । सन्तानले दिएको पिण्ड मरेर देवतासमान बनेका पितृका लागि अमृत, असुरादि योनिमा पुनर्जन्म लिएका पितृहरूका लागि सुखभोगका भौतिक वस्तु र पशु बनेका पितृहरूका लागि असल घाँसका रूपमा प्राप्त हुन्छ भनिएको छ ।

मरणपछि भौतिक देहसँगै आत्माको अस्तित्व नामेट हुने भएको हुनाले स्वर्ग, नर्क, पितृलोक वा अन्य कुनै दिव्यलोकमा बसोबास गर्नका लागि अर्को कुनै चीज बाँकी रहन्छ भन्‍ने मान्यता एउटा काल्पनिक र भ्रान्त धारणा मात्र हो ।

पिण्डदानको फल प्राप्तिको सम्बन्धमा एउटा स्वाभाविक प्रश्न उठ्छ कि पशुरूप धारण गरेको पितृले छोरानातिले दिएको पिण्डदानबाट तत्काल कसरी तृप्ति प्राप्त गर्न सक्दछ जब कि कुनै पनि घाँस उम्रने निश्चित प्राकृतिक प्रक्रिया हुन्छ । खर, घाँस समान्यत: वर्षमा एकपटक निश्चित याममा उम्रन्छ, बढ्छ र मर्छ । यस्तो यथार्थवादी र प्रयोगधर्मी प्रश्नको उत्तरमा श्राद्धमा विश्वदेवका रूपमा बसु, रुद्र र आदित्य नामका देवताहरूको आह्वान र पूजन गरिन्छ र तिनै देवताहरूले तत्तत् पुरुष (पितृ) कहाँ पुर्याइदिन्छन् भनेर श्राद्धकल्पतरुले भनेको छ ।

हिन्दू धर्मग्रन्थहरूमा कहिले पिण्ड सोझै पितृले प्राप्त गर्छन् पनि भनेको भेटिन्छ भने कसैले शङ्का उठायो भने आदिन्य, बसु र रुद्र नामका देवताले हुलाकीको काम गरिदिन्छन् पनि भनेको देखिन्छ । तर श्राद्धतर्पणको पौराणिक मान्यता वा परिभाषालाई हेर्ने हो भने श्राद्धले ती दुवै कुरासँग कुनै साइनो- सरोकार राखेको देखिँदैन र श्राद्धतर्पणको असली उद्देश्य पनि त्यस्तो होइन भन्‍ने स्पष्ट हुन्छ । उदाहरणका निमित्त ब्रह्मपुराण एउटैलाई लिँदा पर्याप्त हुन्छ । त्यसमा भनिएको छ -
देशे काले च श्रद्धया विधिनां च यत ।
पितृउद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतया । (ब्र- १-२) ।
अर्थात् जे-जति उचित काल, पात्र र स्थानअनुसार विधिद्वारा पितृको नाममा श्राद्धपूर्वक ब्राह्मणलाई दिइन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । 
श्राद्धकल्पतरुमा पनि भनिएको छ- एतेन पितृनुद्दिश्य द्रव्यत्यागो ब्राह्मस्वीकारणपर्यन्तं श्राद्धस्वरूपं प्रधानम् ।
पितृहितका निमित्त प्रदान गरिएको याज्ञिक वस्तु ब्राह्मणद्वारा ग्रहण गर्नु नै
प्रधानरूपमा श्राद्धस्वरूप हो ।
उल्लिखित पौराणिक उद्धरणहरूले पितृश्राद्धको अर्थ केवल ब्राह्मणहरूको
सन्तुष्टि हो भन्‍ने भाव प्रकट गर्दछन् । हुन पनि श्राद्ध घरमा मात्र गरिँदैन ।
तीर्थमा वा नदी किनारहरूमा पनि गरिन्छ । आवश्यकता भनेको पुरोहित-

ब्राह्मणहरूको उपस्थिति र उपलब्धताको मात्र हो । ब्राह्मण वर्ण (जात) लाई पढ्ने-पढाउने र यज्ञ यज्ञादि गराएर जीविका चलाउने बाहेक दोस्रो वैकल्पिक व्यवसाय अवलम्बन गर्नबाट वञ्चित गरिएको तत्कालीन कुनै समयमा उनीहरूको जीविकाको लागि विभिन्‍न कर्मकाण्डहरूको व्यवस्था गर्ने सिलसिलामै श्राद्धको विधि र परम्परा बसालेर मानिसहरूमा रहने स्वाभाविक स्वजनमोह र बन्धुप्रेमको भावनात्मक शोषण गर्ने चलन चलाइएको होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

व्यवहारमा शुभपर्वहरूमा, तीर्थस्थानहरूमा, मरेतिथिमा र सोह्र श्राद्धमा गरी चार प्रकारका श्राद्धविधिहरू प्रचलनमा रहेका देखिन्छन् । श्राद्धपिण्डबाट पितृहरूलाई तृप्त गर्ने मान्यता नै अन्धविश्वासमा आधारित छ । मरेका आफन्तहरूलाई मरेतिथिमा सम्झने परम्परालाई ठीकै मान्‍ने हो भने पनि सोह श्राद्धका नामले परिचित पितृपक्षमा गरिने पार्वण श्राद्ध को त कुनै औचित्य पुष्टि हुँदैन । सामान्यत: मृताकात्मालाई उनको काम, जन्म र मृत्युका तिथिमितिका आधारमा स्मरण गरिन्छ ।

त्यसैले जन्ममितिमा जन्मजयन्ती र मरेतिथिमा पुण्यतिथि मनाउने वा श्राद्ध गर्ने परम्परा बसेको हो । पितृपक्ष नाम दिइएको हरेक वर्ष घुमिफिरी आउने सोह्र श्राद्धका तिथिहरू एउटा पूर्णिमालाई छोडेर अरू सबै कृष्णपक्षमा पर्दछन् । सबै मानिसहरू कृष्णपक्षमा मात्र मर्दैनन् । तर पार्वण श्राद्ध भनेको शुक्लपक्षमा मरेका मानिसको नाममा पनि कृष्णपक्षकै तिथिमा गर्नुपर्ने हुन्छ । वर्षभरिमा यही एकपटक मात्र मरेतिथिको पक्ष परिवर्तन कसरी हुन्छ भन्‍ने कुराको उचित जवाफ भने श्राद्धको कुनै विधि-व्यवस्थासँग हुँदैन ।

वास्तवमा सोह्र श्राद्धको परम्परा दसैँ मनाउने परम्पराभन्दा कान्छो हुनुपर्छ । किनकि दसैँको लगत्तै अगाडि भएभरका सबै यजमानहरूबाट दानदक्षिणा बटुलेर पुरोहितहरूले दसैँ खर्च सजिलोसँग चलाउन सकून् भन्‍ने सदाशय राखेर पार्वण श्राद्धको परम्परा बसालिएको पो होला कि ?

श्राद्ध भनेको पितृहरूको तुष्टिका लागि पनि होइन, ईष्टमित्र वा दीनदु:खीलाई तृप्त गर्नका निमित्त पनि होइन, त्यो त केवल पुरोहित-ब्राह्मणहरूको स्वार्थपूर्तिका निमित्त बसालिएको परम्परा पो होला कि भन्‍ने छाप समाजमा पर्ने गरी तिनै पुराणहरूमा ‘श्राद्ध गर्ने व्यक्ति जोसुकै होस्, श्राद्ध भोजनका लागि आमन्त्रण पाउन योग्य केवल ब्राह्मण हुन्छ । त्यसैले श्राद्धमा जति सक्यो त्यति धेरै ब्राह्मणहरूलाई बोलाउनू’ भनेर पनि लेखिएको होला । सबै धर्म, संस्कृतिहरूमा स्वर्ग र नर्कको परिकल्पना रहेको देखिन्छ । 

पुनर्जन्मको कल्पना गर्ने धर्म वैदिक (हिन्दू) मात्र हो । वैदिक धर्मको पहिलो ग्रन्थ ऋग्वेदमा स्वर्गको बारेमा उल्लेख भए पनि नर्कको भने स्पष्ट व्यवस्था र व्याख्या भेटिदैन । अथर्ववेदकालसम्म आइपुग्दा बल्ल वैदिक धर्मले नर्कको कल्पना गर्न थालेको भेटिन्छ । अर्थात् अन्य सबै धर्ममा जस्तै वैदिक धर्ममा पनि कालक्रममा स्वर्ग र नर्कको परिकल्पना गरिएको छ । वेदमा पुनर्जन्मको कुरा भने कतै परेको छैन । धेरैपछि अर्थात् पुराण, गीता आदि ग्रन्थहरूले पुनर्जन्मको परिकल्पना गरेका हुन् । यसबाट स्वर्ग, नर्क र पुनर्जन्म भन्‍ने विषयहरू अलग अलग समयमा विकसित भएका अवधारणा हुन् भन्‍ने पुष्टि हुन्छ । त्यसैले हुनुपर्छ स्वर्ग, नर्क र पुनर्जन्मको आपसी तालमेल नमिलेको स्पष्ट आभास हुन्छ ।

धर्तीमा गरिएका कर्मअनुसार मृत्युपश्चात् स्वर्ग वा नर्क प्राप्त भइहाल्ने हो भने ‘पितृ’को अस्तित्वमा संकट आइलाग्छ । मरणपश्चात् मान्छेको आत्माले अर्को भौतिक शरीर धारण गर्ने अर्थात् गीताको शब्दमा वस्त्राभूषण परिवर्तन गर्ने वा बसाइँ सर्ने हो भने लामो समयसम्म पितृका रूपमा अस्तित्वमा रहिरहने तत्त्व कुनचाहिँ हो त भन्‍ने प्रश्न उठ्छ । श्राद्धकल्पतरुमा दिएको व्यवस्थाअनुसार तीनपुस्ते श्राद्धतर्पण गर्नुपर्ने हुन्छ । अर्थात् नातिले बूढाबाजे (प्रपितामह) लाई सम्म पिण्डतर्पण दिनुपर्ने परम्परा बसालिएको छ ।

पितृलोकको आत्माको बसाइँ स्वर्ग वा नर्कलोकमा स्थानान्तरण हुनुपूर्वको अवस्था हो भने मान्छे मरेपछि कमसेकम एक सय वर्षसम्म पितृको रूपमा रहनुपर्ने हुन्छ । अर्थात् मान्छे मरेपछि स्वर्ग वा नर्क जानका लागि कम्तीमा पनि सय वर्ष कुर्नुपर्ने हुन्छ । त्यसो नहुने हो भने नातिले बूढाबाजेलाई पिण्डदान दिनुको प्रयोजन नै रहँदैन ।

कर्मफल भोग गर्ने सन्दर्भमा स्वर्ग वा नर्क जाने अनुमति पाउनुपूर्व आदेश कुरेर बस्ने ठाउँको रूपमा पितृलोक र पात्रका रूपमा पितृको कल्पना गरिएको हुनाले स्वर्ग वा नर्कतिरको सवारीका निमित्त प्रतीक्षारत पितृहरूलाई सन्तुष्ट-तृप्त बनाउने दायित्व पूरा गर्ने सन्दर्भमा श्राद्धतर्पण गर्ने चलन चलाइएको हो । श्राद्ध अर्थात् पितृयज्ञमा मुख्य दुई तत्त्व रहेको हुन्छन् भनेर मानिएको छ । ब्राह्मण भोजन र पिण्डदान नामका दुई महत्त्वपूर्ण कार्य श्राद्धमा सम्पन्‍न गरिन्छन् । त्यहीँनेर पिण्डदान र ब्राह्मण भोजनको मान्यतामा अलिकता सङ्गति नमिलेको जस्तो देखिन्छ ।

ब्राह्मणलाई भोजन गराउनु अर्थात् पितृका नाममा प्रदान गरिने दान, दक्षिणा र भोजन ब्राह्मणले ग्रहण गर्नुलाई श्राद्धको रूपमा परिभाषित गरिएका धार्मिक मान्यताहरू रहेका छन् । वायुरूपमा रहने पितृ (आत्मा) ले श्राद्धको अवसरमा पुरोहित ब्राह्मणको शरीरमा प्रवेश गर्छन् र ब्राह्मणलाई प्रदान गरिएका वस्तुहरूबाट तृप्ति, सन्तुष्टि र खुसी प्राप्त गर्छन् भनिएको छ । अर्कोतिर उनै ग्रन्थहरूमा पितृका नाममा पिण्ड विसर्जन गरिदिँदा त्यो सोझै पितृले प्राप्त गर्छन् भन्‍ने मान्यता पनि अघि सारिएको हुन्छ । पितृले पाउने पिण्ड मात्र हो र पिण्डदानको कर्मकाण्ड गराइदिएबापत ज्यालास्वरूप ब्राह्मणलाई दान, दक्षिणा र भोजन प्रदान गरिने हो भनेर कतै उल्लेख भएको देखिँदैन । 

त्यसैले श्राद्धतर्पणका सन्दर्भमा गरिने ब्राह्मण भोजन र पिण्डदानको तालमेल मिलेको देखिँदैन । पितृले पाउने पिण्ड मात्र हो भने ब्राह्मणलाई भोजन गराउनुको प्रयोजन के हो ? र ब्राह्मणलाई दिएको वस्तु पितृले प्राप्त गर्ने हुन् भने फेरि पिण्डदानको नौटङ्की किन गर्ने भन्‍ने प्रश्नको जवाफ कहीँकतैबाट पाइँदैन ।

जन्ममिति वा मरणतिथिका अवसरमा सालिन्दै नियमितरूपमा दिवङ्गत अग्रजहरूको स्मरण गर्नु, उनीहरूका नाममा अतिथिभोजन गराउनु वा पुण्यतिथिको अवसरमा समाजहित र मानव कल्याणका काममा यथाशक्ति अग्रसर रहने चेष्टालाई सन्ततिहरूले नियमितता दिनु राम्रो हो । तर त्यस्तो कार्यका लागि ब्राह्मण-पुरोहित नै बोलाउनुपर्ने, ब्राह्मणकै मुखबाट संस्कृत भाषाका वाक्यहरू पाठ गर्न लगाउनुपर्ने, बाहुनलाई दानदक्षिणा दिएर खुसी बनाउनुपर्ने र पितृयज्ञको नाममा गरिने पिण्डदानबाट दिवङ्गत पितृहरू सोझै र तत्काल लाभान्वित हुन्छन् भनेर पत्याउनुपर्ने अन्ध परम्पराप्रतिको अन्धआस्था मात्र हो । पहिलो कुरा त मान्छे मरिसकेपछि कुनै न कुनै रूपमा उसको अस्तित्व बाँकी रहन्छ भन्‍ने कुरा नै अप्रमाणित विषय हो । दोस्रो कुरा, मरेपछि मानिसको बसोबासका लागि पृथ्वीभन्दा अन्यत्र कतै कुनै अर्को लोकको व्यवस्था गरिएको छ भन्‍ने कुरा असत्य कल्पना मात्र हो । तेस्रो कुरा पुराण वा गीतामा भनिएझैँ आत्माले चोला बदलिरहन्छ भन्‍ने कुरा पनि बिल्कुल अप्रमाणित र काल्पनिक मान्यता हो ।

‘वीरभोग्या वसुन्धरा’ भन्‍ने अवधारणा अब पुरानो र अप्रसाङ्गिक भइसक्यो । धर्ती सबैको साझा फूलबारी हो । प्रकृतिप्रदत्त सबै चीजवस्तुहरू सबैका बीचमा बाँडचुँड गर्नु मानवको साझा कर्तव्य हो । ‘दिने-खाने’ भन्‍ने मान्यताको अर्थ हुने-सक्नेले दिने भन्‍ने हो । त्यस अर्थमा दान, चन्दा, पुरस्कार आदि स्वाभाविक मानव कर्तव्यभित्र पर्दछन् । तर मरेका मान्छेका नाममा दिइने दानदक्षिणा आदि दिवङ्गत आत्माहरूले उपभोग गर्न पाउँछन् भन्‍ने जस्ता नितान्त काल्पनिक मान्यता आजको युगसापेक्ष मानिँदैनन् ।

भौतिक वस्तुको उपयोग र उपभोग गर्नका लागि जीवित भौतिक देहको आवश्यकता पर्दछ । मृत्युको अर्थ मानिसको भौतिक अस्तित्वको पूर्ण समाप्ति हो ।
आत्माको अमरतामा विश्वास गर्ने हो भने पनि मरेपछि उसको नाममा अर्पण गरिने भौतिक वस्तुहरूको उपभोग गर्न सक्ने सामथ्र्य आत्मासँग रहँदैन । आत्मालाई परमात्माको अंश हो भनेर मान्‍ने हो भने त झन् भौतिक देहको अवसानपछि आत्मा स्वत: परमात्मामा विलीन हुन्छ र उसको स्वतन्त्र अस्तित्व नै बाँकी रहँदैन भनेर मान्‍नुपर्ने हुन्छ ।

आत्मा मान्छेको शरीरसँग जोडिएर मात्र अस्तित्ववान् रहने हो । शरीरविना आत्माको अलग परिचय र अस्तित्व रहँदैन । आत्मालाई परमात्माको अंश हो भनेर मान्‍ने हो भने भौतिक शरीरको अवसानपछि उसको एकमात्र सहारा परमात्मा नै हो । जसरी पोखरीमा चुहाइएको एक थोपा पानीलाई कुनै पनि विज्ञान-प्रविधिको सहारामा पुन: पोखरीको पानीबाट विभाजित गरेर छुट्याउन सकिँदैन त्यसैगरी आत्मारूपी चेतनाको अस्तित्व पनि परमात्माको विराट् स्वरूपमा छुट्याउनै नसकिने गरी अन्तर्घलित हुनजान्छ । मरणपछि भौतिक देहसँगै आत्माको अस्तित्व नामेट हुने भएको हुनाले स्वर्ग, नर्क, पितृलोक वा अन्य कुनै दिव्यलोकमा बसोबास गर्नका लागि अर्को कुनै चीज बाँकी रहन्छ भन्‍ने मान्यता एउटा काल्पनिक र भ्रान्त धारणा मात्र हो ।

पितृका नाममा गरिने पितृयज्ञ, दान, दक्षिणा र ब्राह्मण भोजनको व्यवस्था आत्मा, परमात्मा, जन्म, पुनर्जन्म, स्वर्ग, नर्क वा कुनै विशिष्ट लोकको कल्पना गरेर मरेका मान्छेहरूका नाममा दान, दक्षिणा असुल्ने पुरेत चतुर्याइँ मात्रै होइन भन्‍नका लागि विश्वासिलो आधार फेला पार्न सकिँदैन ।

(पोखरामा बस्‍ने लेखक चन्द्रप्रकाश बानियाँको पुस्तक ‘भौज्याहा’बाट । एक वर्षअघि शिखा बुक्सबाट प्रकाशित यस पुस्तकमा बानियाँका ४० विचारोत्तेजक बौद्धिक निबन्ध संगृहीत छन् । ‘भौज्याहा’अघि छापिएको उनको उपन्यास ‘महारानी’ले मदन पुरस्कार प्राप्त गरेको थियो । पुस्तकमा यस निबन्धको शीर्षक ‘पिण्ड तर्पण’ रहेको छ ।) 



Author

थप समाचार