विचार

जलवायु परिवर्तन र मानवजातिका विश्वव्यापी मुद्दा बोकेर राष्ट्रसंघ पुगेका एक सत्याग्रही

पुष्पराज आचार्य |
असोज ८, २०७८ ८:११ बजे

नेपालमा चिकित्सा शिक्षा सुधारका लागि १५ पटकमा २५५ दिन अनशन बसिसकेका सत्याग्रही डा. गोविन्द केसी जलवायु परिवर्तन र मानवजातिका मुद्दा बोकेर संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको ७६औं महासभा सुरु हुनै लाग्दा सोमबार र मंगलबार डा. केसी र उनका समर्थकहरूले राष्ट्रसंघको मुख्यालय अगाडि धर्ना दिएर विश्वभरका नेताहरूसँगै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराए । 

आज विश्वभरका मानिसहरूले द्वन्द्वको अन्त्य र शान्ति स्थापना, जलवायु परिवर्तन प्रतिकार्य, गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा पहुँच र महामारी नियन्त्रणका लागि विश्वव्यापी सहकार्यको याचना गर्दै आएका छन्, डा. केसीले त्यही आवाज उठाएका हुन् । 


नेपालको चिकित्सा शिक्षा सुधारका लागि अनवरत संर्घरत रहेका डा.केसीले यो अभियानलाई अझै ठूलो र फराकिलो बनाएका छन् । भौतिक विकासलाई मात्र विकास मान्दै आएका भौतिकवादीहरूलाई चुनौती दिने जलवायु परिवर्तन अबको पेचिलो मुद्दा हो । जतिसुकै ठूला उपलब्धिलाई पनि निमेषभरमै नामेट बनाइदिने जलवायु परिवर्तनजन्य प्रकोपबाट जोगिन साँच्चिकै संवेदशनशीलता अपनाउनुपर्नेछ । त्यो संवेदनशीलताको अभावमा भौतिक र मानवीय क्षतिको परिमाण क्रमशः बढ्दै जानेछ । वास्तवमा मानव सभ्यतालाई जोगाउन यो मुद्दामा संवेदनशीलता र प्रतिकार्य जरुरी छ । 

हिजो हिउँ फुल्ने हाम्रा पहाडहरू, आज क्रमशः कालापहाडमा परिणत हुँदैछन् । 

नेपालकै उदाहरण दिउँ, नेपालले झण्डै २५ वर्ष लगाएर निर्माण गरेको मेलम्ची खानेपानी आयोजना जब सम्पन्न भयो, तब पनि काठमाडौँबासीले खानेपानी उपभोग गर्न पाएनन् । मेलम्ची खोलाको माथिल्लो भाग पहिरोले पुरिएको छ, वर्षमा आधा समय उक्त पहाडमा हिउँ जमेर बस्ने हुँदा पहाडी क्षेत्रको माटो खाँदिएर (दबिएर) अडिन्थ्यो । जब विश्वव्यापी तापमानमा वृद्धि हुनथाल्यो, तब हिउँ पर्न छाड्यो, पहाडको माटो खुकुलो भयो अनि वर्षात्को पानीले सहजै पहाडलाई बगाएर खोलामा थुपारिदियो । जसले गर्दा उपत्यकाबासीले मेलम्चीको पानी कहिले खान पाउने भन्ने अनिश्चित छ । आधुनिकीकरणका नाममा ठूला सहर निर्माण गर्ने, सहरीकरण गर्ने लहडमा हामीले प्राकृतिक सन्तुलनको न्यूनतम ख्याल नगर्दा आज हामी विपत्तिले घेरिएर बसेका छौं । प्रकृति विनाशले सिर्जना गरेको त्यो ताण्डव कतिबेला, कहाँ आइपर्छ भन्ने थाहाछैन । 

औद्योगिकरण, पेट्रोलियम, कोइला आदिको अत्याधिक प्रयोगले कतिपय देशहरूले भौतिक विकासको एउटा उचाइ त हासिल गरे, तिनले उत्सर्जन गरेको कार्बनले विश्वव्यापी तापमान वृद्धि हुँदा हामीजस्ता हिमाली र कोस्टल (सामुद्रिक तट)का देशहरू बढी प्रभावित हुन् निश्चित छ । हिजो हिउँ फुल्ने हाम्रा पहाडहरू, आज क्रमशः कालापहाडमा परिणत हुँदैछन्, किनकी तातो (तापक्रम वृद्धि) र हिउँ एकसाथ बस्नसक्ने अवस्था रहेन । 

डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि उभिएर जलवायु परिवर्तन प्रतिकार्य र जलवायु न्यायको लागि ध्यानाकर्षण गराए । द्वन्द्वग्रस्त यमन, सोमालिया, दक्षिणी सुडान, इथियोपिया, सिरिया र मध्य अफ्रिकी गणतन्त्र लगायतका देशमा शान्ति स्थापनालाई माग बनाएर उनले धर्ना गरेका हुन् । आज पनि विश्वभर शरणार्थीको समस्या छ, पश्चिम एसियाको अशान्तिका त्यसक्षेत्रका कतिपय देशबाट टर्की हुँदै युरोपमा पसेका शरणार्थी छन् । म्यानमारले सिर्जना गरेको रोहिंग्या शरणार्थीको मुद्दा छ, तालिबानले सत्ता हातमा लिएपछि अफगानीहरू पश्चिम एसियाली देशमा शरण लिइरहेका छन् । द्वन्द्वग्रस्त यमन, इथियोपिया, सोमालिया, दक्षिणी सुडानका शरणार्थी समस्या छन्, उनीहरूको व्यवस्थापनका विषयमा विश्व नेताहरूलाई मुखर गर्न जरुरी छ । डा. गोविन्द केसीले विश्वव्यापी मुद्दा उठाएका छन् । कतिपयले डा.केसीले संयुक्त राष्ट्रसंघ अगाडि धर्ना दिएर यी मुद्दाको सुनुवाइ हुन्छ र पनि भन्लान्, आलोचकहरूले गोविन्द केसीले प्रचारका लागि यी काम गरेको पनि भन्लान् । तर यो पहल कसै न कसैले गर्नैपर्छ । मानवजातिका विश्वव्यापी मुद्दा उठाएर डा. केसीले निश्चित भूगोलको मात्र होइन, विश्वकै ध्यान खिच्न सफल भएका छन्, यसअर्थमा उनी 'ग्लोबल गोविन्द' बनेका छन् । 

पेशाले चिकित्सक रहेका डा. गोविन्द केसीको जीवन मानव सेवामा समर्पित छ । डा. केसीले सशस्त्र द्वन्द्वकालमा देखि रोग–प्रकोपको समयमा नेपालका गाउँ–गाउँमा पुगेर अस्पताल र चिकित्सकको मुख नै देख्न नपाएकाहरूको उपचार गरेका छन्, त्यो पनि आफ्नै खर्चमा । नेपालमा मात्र होइन, उनी सन् २००१ मा भारतको गुजरातमा गएको महाभूकम्प, पाकिस्तान प्रशासित कस्मिरको सन् २००५ को भूकम्प, २००८ मा म्यानमारले भोगेको त्रासदीपूर्ण आँधिबेहरी र सन् २०११ मा बाढीको विपद् भोगेको पाकिस्तानमा पुगेर प्रभावितहरूलाई उपचार गरे । डा. केसीले सन् २०१० को हाइटीको विनाशकारी भूकम्प देखि सन् २०१३ को फिलिपिन्सको टाइफून प्रभावितलाई समेत सेवा गरेका छन् । सन् २०१३ मा भारतको बद्रीकेदारमा गएको बाढी पहिरो प्रभावितको उपचारका लागि त्यहाँ पुगेका डा. केसी आफैं त्यो विपद्को भुक्तभोगी बनेर पनि बच्न सफल भए । बद्रीकेदारको बाढीपहिरोलाई प्रत्यक्ष अनुभूति गरेका डा. केसीले प्राकृतिक विनाश र जलवायु परिवर्तनका असरलाई नजिकबाट नियालेका छन् । सन् २०१९ मा अफ्रिकी राष्ट्र मोजाम्बिकका साइक्लोन इदाइका पीडितलाई राहत दिन पुगे, म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीको बंगलादेश पुगेर उपचार सेवा दिनेदेखि द्वन्द्वग्रस्त यमनमा उनले सोही मानवीय सहायता देखाए । डा. केसीले जसको सेवा गरेका छन्, उनको आवाज उठाएका हुन् । यो कुनै खोक्रो मुद्दा, प्रचारको भोक या आडम्बर होइन । विश्व शान्ति दिवसका दिन शुरु गरिएको यो उनको अर्को सत्याग्रह हो । 

डा. केसीले सशस्त्र द्वन्द्वकालमा देखि रोग–प्रकोपको समयमा नेपालका गाउँ–गाउँमा पुगेर अस्पताल र चिकित्सकको मुख नै देख्न नपाएकाहरूको उपचार गरेका छन्, त्यो पनि आफ्नै खर्चमा ।

संयुक्त राष्ट्रसंघ अगाडि गरिएको डा.केसी र उनका समर्थकहरूको धर्ना कोभिड–१९ विरुद्धको खोपको समन्यायिक वितरणका लागि पनि हो । खोपको पहुँच र समन्यायिक वितरण अहिलेको विश्वव्यापी मुद्दा हो । विश्वव्यापी खोप सहकार्य र समन्यायिक वितरणका लागि गाभीको प्रयासका बाबजूद ठूला र शक्तिशाली देशहरूले खोप ‘होल्ड’ गरिरहेको र उत्पादक राष्ट्रले बिक्री प्रतिबन्ध लगाएका कारण, गाभीको प्रायोजित कार्यक्रम कोभ्याक्सले प्रतिवद्धता अनुसार खोप वितरण गर्न सकेको छैन । जसका कारण पहुँच र प्रभाव कम भएका देशहरूको खोप कार्यक्रम प्रभावित भएको छ । सबै सुरक्षित नभएसम्म विश्वमा कोही पनि सुरक्षित हुन नसक्ने महामारीको समयमा पनि यो संकीर्णताको डा. केसीले विश्वका नेताहरू जम्मा हुने संयुक्त राष्ट्रसंघीय महासभाको समय पारेर त्यहाँ विरोध जनाएका छन् । 
विश्वव्यापी यस अभियानका लागि डा. केसीलाई शुभकामना !
 



Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार