विचार

सहिदको रगत र मधेस आन्दोलन

राकेश यादव |
असोज ८, २०७८ शुक्रवार ८:३० बजे

मधेस आन्दोलनको छ वर्ष पूरा हुँदै छ । मधेसले के पायो, के गुमायो प्रश्नको उत्तर आम नेपालीले सोच्न बाध्य भएका छन् । एकतिर मधेसलाई मधेसी नेताहरूले कमाइ खाने भाँडो बनाए, अर्काेतिर वर्तमानका परिदृश्यहरू हेर्दा सुखद छैन । 

बृहत् शान्ति सम्झौतापश्चात् देशमा वर्गीय संघर्षहरूको माग उत्कर्षमा थियो । माओवादीले सशस्त्र आन्दोलनताका गरेको वर्गीय आन्दोलनको प्रचारको परिणामस्वरूप विभिन्‍न आन्दोलनहरूको बीजारोपण भयो । केही उग्र आन्दोलनहरू जस्तै : मधेस आन्दोलन र थरुहट आन्दोलन त्यसका प्रतिछायाँ हुन् । अन्तरिम संविधान घोषणापछिको मधेस आन्दोलनले मधेसका केही सपुतहरूको बलिदानीपश्चात् मुठ्ठीभर नेताहरूको जन्म भयो ।


पहिलो सविधान सभाको अवसानपश्चात् फेरि पनि २०७२ मा नेपालको संविधानलाई अन्तरिमबाट पूर्णता प्रदान गर्न रगतकै खाँचो पर्‍यो र त्यसका दाता बने मधेसका राजनीतिक दल र मधेसका सपुत । त्यसमध्येका एक सपुत हुन्, सहिद दिलीप चौरसिया ।

‘जिस दिन तु सहिद हुवा नजाने तेरी माँ कैसे सोइ होगी, ओ गोली भि तेरे कलेजेको छुनेसे पहले कितना रोई होगी ।’ पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका सहिद दिलिप चौरसियाको मृत्यु २०७२ भदौ १४ गतेका दिन हुन्छ र त्यो पनि मेरो काखमा उनले आफ्नो सास छोडे मधेस आन्दोलनले वीरगञ्ज आगोमा जल्दै थियो । वीरगञ्जमा कर्फ्यूको आह्वान र आन्दोनकारीहरूको कर्फ्यू जसरी पनि तोड्ने चक्रहरू दिनदिनै चल्दै थियो । प्रायः मानिसहरूको दैनिकी आन्दोलनकारी बिहानदेखि बेलुकासम्म आन्दोलनको तयारीमा जुट्ने र केही चाहिँ रक्सौलबाट कसरी दुई-चार रुपैयाँ कमाउन सकिन्छ, त्यसको तयारीमा लाग्ने र केही चाहिँ खानपिन गरेर आन्दोलनको रमिता हेर्न गर्थे । 

वीरगञ्जको आन्दोलनको एक विन्दु राधेमाई टोलको मेन रोडदेखि लिएर पावरहाउस चोकसम्म त्यसका एक पात्र थिए, दिलीप चौरसिया । दिलिप एक चोटि पहिला आन्दोलनमा केही थान ढुंगा चलाएर फर्किसकेका थिए, पछिबाट फेरि उनी आफ्नो डेरामा गएर आन्दोलनको हल्ला सुनेर फेरि भिडमा आए भन्‍ने सुनियो । 

त्यसै दिन म र मेरो टोल वीरगञ्जका केही साथीहरूसँगै एकछिन रमाइलो गरेर वीरगञ्जमा विभिन्‍न ठाउँबाट गोली चलेको जस्तो आवाज आउन थालेपछि बुवाले फोन गरेर घरमा आउन रिसाए र मसँगै रहेको साथी पन्‍नालाल यादव सुखुवा प्रसौनी गाउँपालिकाको टोल बलुवा निवासी आन्दोलनमा सरिक हुन पुगे । नभन्दै केही समयको अन्तरालमा उनी दौड्दै मलाई मेरो घरको छतमा देखे र भोजपुरीमा भने, ‘हो नेता लुकाइल बाड आवन निचा आन्दोलनमा ।’ अर्थात् किन लुकेर बसेको आऊ आन्दोलनमा । 

गर्मीको महिना म मात्र एउटा गम्छा शरीरमा बेरेर विद्युत्को लाइन गएको हुनाले छतमा हावा खाँदै थिएँ कि अचानक पन्‍नालालको चरा लडेझैँ भुइँमा लड्यो म मेरो छतबाट दौडेर उसलाई उठाउन गएँ । रगत बगिरहेको छ । म आफूलाई सम्हाल्दै उसलाई उठाउन कोसिस गरेँ तर सकिनँ । 

त्यतिकैमा मेरो टाउको माथिबाट एउटा आवाज गयो र मेरो घरसँगै रहेको एक साथीको ढोका डयांग ठोकियो । मभन्दा आधा किलो मिटरको दुरीमा पुलिसहरू रोडमा बसेर गोलीहरू चलाइरहेको देखेँ म पनि आज बाच्दिनँ जस्तो लागिरहेको थियो तर काखीमा एउटा घाइतेलाई कसरी छोडेर भागूँ भनी मन मानिरहेको थिएन । साथै मेरो मनमा २०६३ सालको मधेस आन्दोलन सम्झना आयो । दिपेन्द्र महतो भाग्दाभाग्दै बाटोमा लडेको बेला पुलिसले छातीमा गोली हानी मारेको सम्झना आयो ।

त्यति बेला हामी रेडक्रसबाट प्राथमिक उपचारका लागि खटेका थियौँ । हुन सक्छ, त्यो घटना फेरि पनि दोहोरिन सक्छ या शरीरबाट बढी रगत बगेर घाइतेको मृत्यु पनि हुन सक्छ । त्यसकारण मैले पन्‍नालाललाई तान्दै थिएँ त्यतिकैमा एक जना मेरो अगाडिबाट दगुर्दै गइरहेको देखेँ र उसलाई आग्रह गरेँ- साथी मलाई उठाउन सहयोग गर हैन भने यो मर्छ । 

एकछिन ऊ अल्मलियो तर पनि मेरो आग्रहलाई देखेर हामी दुबै जना पन्‍नालाललाई उठाएर केही पर रहेको एक घरमा लुक्यौँ र त्यहाँ रहेको एक साथीको गम्छा मागेर पन्‍नालालको रगत धेरै नबगोस् भनेर उसको तिघ्रामा जोडले बाँधेर रगत रोक्ने प्रयास गरेँ । त्यति बेलासम्म एउटा अन्डरवियर मात्र थियो कारण मैले बेरेको गम्छा कतै खसिसकेको थियो ।

अब मैले पन्‍नालाललाई अस्पताल पुर्‍याउनु थियो । त्यसका लागि मैले एउटा बाइकको व्यवस्था गरेँ तर पन्‍नालाललाई बाइकमा राख्दा ऊ जोरले कराउन थाल्यो र सबैलाई आमाचकारी गाली गर्न थाल्यो । कारण उसको गोली लागेको घाउ जोडले दुख्‍न थालेको थियो । मेरो दिमागले काम गर्न छोड्न थाल्यो । त्यतिकैमा मलाई रेडक्रसको याद आयो र सभापति फुलमहम्मद मियाँलाई फोन गरे उनले एकछिनमा पठाउँदै छु भन्‍नुभयो र हामी पन्‍नालाललाई टोलमै रहेको एक औषधी पसलबाट पेनकिलरको इन्जेकसन दिन लगाई एम्बुलेन्सकोलाई पर्खिंदै थियौँ मैले घरबाट एउटा हाफ कटटु र भेस्ट मगाई अस्पतालसम्म पुर्याउने भनी तयारीमा थिए ।

दिलिप चौरसियाको बुबा मधेसवादीहरू मेरो छोराको हत्यारा हो भनी चुनावमै भाषण गरी हिँडे त्यति मात्र होइन कयौँ सहिद परिवार र घाइतेहरू आन्दोलनसमेत गरेको पाइन्छ हाम्रा मागहरू पूरा भएन हामीलाई हेर्ने कोही भएन भनी हामीलाई बारबार फोन गरेर गुनासो गरेका छन् ।

केही बेरमा एउटा बाइकमा तीन जनालाई आएको देखे एक जना चलाउँदै गरेको र बीचमा एक जना धाइते र पछाडि एक जना बसेको त्यतिकैमा एम्बुलेन्स पनि आइपुग्यो अगाडि बाइक चलाइरहेकाले हामीलाई आग्रह गर्‍यौ यसलाई पनि गोली लागेको छ अस्पतालसम्म लगिदिनु पर्‍यो म पनि हुन्छ भनेर राख्यो । त्यो घाइतेको पिठ्युँमा बुलेट लागेको थियो र सानो प्वाल देख्दै थियो तर त्यो मान्छे अचेत अवस्थामा थियो पन्‍नालाल यादवको खुट्टा टोलकै शिव भन्‍ने भाइले समातेर बसेको थियो र म त्यो घाइते युवाको रगत नबगियोस् भनेर उसको शरीरको प्वाललाई जोरले थिचिरहे । मेरो हिम्मत पनि काम गर्न छोडिसकेको थियो । एकछिन रिङ्गटा लागेको जस्तो महसुस भयो तर आफूलाई सम्हाल्दै एम्बुलेन्स अगाडि बढाउन भने ।

सहरको मेन रोड आगोले लतपत र जताततै आगो र बीचबीचमा विभिन्‍न रोकहरू साथै बाटोका पोलहरू ढालेर बाटो अवरोध गरिएको थियो । हामी सबै चिर्दै अगाडि बढ्यौँ । एक ठाउँमा केही हुलले रोकेर चेक गर्न थाले । साँच्चिकै बिरामी लिएर गइरहेका हुन् कि भनेर एम्बुलेन्स चेक गर्न रोके । 

म नेपाली कांग्रेसको एक लडाकु र नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको हैसियतमा थिएँ र मधेसी दलको नेताहरूको अह्वानमा विभिन्‍न ठाउँमा कांग्रेस, तत्कालीन एमाले र माओवादीका नेताहरूको घर तोडफोड गर्ने काम दिनहुँ हुने गर्थ्यो । उनीहरूको कुरा सुनेर म आफूलाई सुरक्षित पार्न आफूसँग रहेको गम्छाले मुख छोपेँ र अस्पताल जान आग्रह गरेँ नभए यी घाइतेहरूलाई जे पनि हुन सक्छ  भन्दा एक समझदार अन्दोलनकारीले तुरुन्त लिएर जानुस् भनेर बाटो छोडे केही समयपछि हामी वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पुग्यौँ त्यहाँ पहिलेदेखि कयौँ घाइतेहरू भर्ना गरिएका थिए र हामी थप दुई जना लिएर जाँदा झन् अस्पतालको माहौल आतंकित भयो । 

मैले एम्बुलेन्सको पछाडिको ढोका खोले एक डाक्टर बाहिर आए र पिठयुँमा बुलेट लागेको युवाको नाडी छाम्दै भने यो मरिसकेको रहेछ । मेरो मन सुक्यो आत्मा खिन्‍न भयो तर सँगै रहेको अर्को घाइते पन्‍नालाललाई हामी एम्बुलेन्सबाट ओरालेर इमर्जेन्सीमा लगेर भर्ना गराई औषधीहरूको जोहो गर्न थालियो त्यतिकैमा मसँगै रहेको भाइ शिवजी यादवले दाइ तपाईं यो एम्बुलेन्सबाट नै घर फर्किनुस् हैन भने मान्छेको कस्तो कस्तो सोच हुन्छ भन्यो । 

मैले पनि उचित सम्झेर घर फर्के बेलुकाको समाचार सुनियो आज केही घाइते र दिलिप चौरिसियाको पुलिसको गोली लागी मृत्यु बल्ल मलाई झसङ्ग भयो मेरो काखीमा रहेको त्यो कलिलो उमेरको युवा ने दिलिप चौरसिया रहेछ मैले तुरुन्त शिवजीलाई फोन गरे अनि सोध मेरो काखीमै दम मृत्यु भएको केटाको नाम के हो उसले पनि जवाफ फर्कायो दाइ त्यो नै दिलिप चौरिसिया थियो । 

म त्यो रात सुत्न सकिनँ । एक पन्‍नालालको खुट्टा र अर्को मेरो आखा अगाडि मेरो काखमा बोकेको युवाको निधन दुइटै तस्बिरहरू अहिले पनि मेरो आँखाको अगाडि झलझली घुमिरहेको छ । पछि पन्‍नालालको लाखौँ लाख खर्चपछि अहिले अलि खुट्टाले हिँड्ने भएका छन् तर दिलिप चौरसिया जो वीरगञ्जकै बीआईटी कलेजमा डिप्लोमा गर्दै थिए, छोरा वियोगमा बुबा केही दिन मृत्युवरण गरे यिनी दुई उदारहण हुन कयौँ सहिद र घाइतेहरू अहिले घर नाघाटको भएका छन्, कारण मधेस आन्दोलनको वाचालाई सत्ताको भर्याङका रूपमा मात्र प्रयोग गरिएको साबित हुन गएको छ भनी अहिले पनि घाइते पन्‍नालाल बताउँछन् । 

मधेस आन्दोलनको पाँच वर्ष पूरा भयो तर मधेसले के पायो र के गुमायो भन्‍ने प्रश्न गर्दा केही उपलब्धीबाहेक मधेसले सबै गुमाएको छ मधेस आन्दोलनका जगमा मधेसले संघीयता, समानुपातिक र आरक्षण पाएको हो यो नर्कान सकिन्‍न तर जुन जुन माग राखेर रगतहरू बगाइयो त्यसलाई सत्ता प्राप्तीको बाटोका रूपमा मात्र प्रयोग गरियो हिजो चुनावा मधेसमा जुन किसिमले टिकटको खरिद बिक्री, समानुपातिकमा भाइ बुहारी, तल्लो प्रदेशमा स्वास्नी आफन्त र स्थानीयमा राम्राभन्दा हाम्रालाई अवसर दिएपछि आन्दोलनकारी आम कार्यकर्तामा अहिले निराशा छाएको छ ।

झन् दिलिप चौरसियाको बुबा मधेसवादीहरू मेरो छोराको हत्यारा हो भनी चुनावमै भाषण गरी हिँडे त्यति मात्र होइन कयौँ सहिद परिवार र घाइतेहरू आन्दोलनसमेत गरेको पाइन्छ हाम्रा मागहरू पूरा भएन हामीलाई हेर्ने कोही भएन भनी हामीलाई बारबार फोन गरेर गुनासो गरेका छन् । 

उपेन्द्र यादव, महन्थ ठाकुर र बाबुराम भट्टराईको लगनगाँठोले अब मधेसमा कोही पनि मधेसवादी रहेनन् हिजोको मधेस केन्द्रित दलहरू सबै सत्तामै रमाएका छन् अब हामीलाई हेर्नै कोही भएन भनी रोइलो गरेको देख्दा साँच्चिकै मधेस आन्दोलनको १४ वर्ष र २०७२ पछिको पाँच वर्ष सबै आन्दोलन सत्ता र भत्ताका लागि नै रहेको हो जस्तो लाग्न सहिद दिलिप चौरसियाजस्ता कयौँ सहिदहरूको रगत बेइमानहरूलाई कुनै न कुनै कालमा परिणाम देखाउनेछन् तसर्थ सहिदको सम्मान र घाइतेको व्यवस्थापन नै तपाईंहरूको अगाडिको बाटोको अधार हो । नत्र माओवादीको पतन जस्तै तपाईंहरूको पतन पनि बेर छैन ।

फेरि मधेसीदलको कयौँ स्वार्थीहरू आआफ्नो डम्फुहरू बजाउन तल्लीन छ । जुट र फुटको राजनीतिले आन्दोलनमा घाइते र सहिद भएकाहरूको दुराअवस्था र मधेस एजेन्डा नै जोगीबाबाको झोरीमा बिर्सन भएको भान आम मधेसमा चर्चाको विषय हुन गएको छ । 

नेतामा सत्ता लोभको परिर्वतनसँगै जनतामा पनि परिवर्तन आएको छ हिजो मधेसमा बस्ने जनता अब कसैको बहकावा नआउने र देश नै एकढिक्का भएको हेर्न चाहने भावनाहरू विकसित भएको त्यसको प्रत्यक्ष प्रमाण हो जान अन्जान एमसीसीको चर्को विरोध बिस्तारै बिस्तारै अब उपरान्त कसैले मधेसमा जनता उचालेर विगतको परिदृश्य सिर्जना गर्न खोजे अब जनता ठाउँका ठाउँ व्यवस्थापन गर्ने चर्चा चलेको सुन्दा निश्चय पनि नेपालीमा चेतना विकास भएको छ । 

प्रथम मधेस आन्दोलन र दोस्रो मधेस आन्दोलनको निष्कर्षमा अब नाकोई मधेसी नाकोई पहाडी हामी नेपाली नाराले बल्ल ठाउँ पाएको छ । कारण पनि मधेसका नेता नै हुन जसले आन्दोलनको उचित व्यवस्थापन गर्न सकेनन् तर मधेस, पहाड र हिमालको एकता कायम राख्‍न आम नेपालीको मनमा एकता, आदर, समकक्षताको भावनाको निरन्तरता हुन जारुरी छ । अन्यथा फेरि पनि कोही मदारी आउनेछ, डमरु बजाउनेछ र मधेस पहाड अलग-अलग गरी लडाउनेछ ।


Author

थप समाचार
x