विचार

भेटी संस्कृति : भगवानसँग माग्‍ने, भगवानलाई नै पैसा किन दिने ?

चिरञ्‍जीवी मास्के |
असोज ९, २०७८ १३:१० बजे

रातभरिको बर्षाले बिहानको मौसम निक्कै खुलेको थियो । घडीले ८ बजाउँदै गर्दा काठमाडौँ उपत्यकामा गर्मी चढ्दो क्रममा थियो । क्रमश: रातोपुल, गौशाला हुँदै एयरपोर्ट गन्तव्य बनाएर अगाडि बढेका मेरा पाइला कमल पोखरीको एउटा सानो मन्दिरको दृश्यले रोकिन पुगे । मैले निक्कैबेर नियालेँ, त्यो दृश्य । 

कमल पोखरीबाट रातो पुलको ओरालो लाग्‍ने क्रममा बायाँपट्टी पर्ने त्यो मन्दिर अगाडि एकजना आमै ( जेष्ठ नागरिक) भक्तजनसँग पैसाको अपेक्षा गरेर बस्नु भएको थियो ।  एक जना पाको मानिस मन्दिर अगाडि आउनु भयो । उहाँले ती आमैलाई देखेनदेखै गर्नुभयो र मन्दिरभित्र केहि सिक्का भेटी चढाउनु भयो । त्यसपछि हात जोड्दै मन्दिरको फन्को मारेर अगाडि बढ्नु भयो । 


पैसाको अपेक्षासहित भक्तजनलाई एकटकले नियाली रहनु भएको ती आमैको मुहार मलिन बन्यो । आफ्नै गतिमा दौडिएको बादलको एक टुक्रा सूर्यको आकृति अघिल्तिर ढसमस्स रोकिँदा आमैको मुहारसँगै मन्दिर आसपासको दृश्य पनि मधुरो बन्यो । सवारी साधनहरूको दोहोरो चेपुवाले मलाई पनि धेरैबेर अडिन सहज भएन । अनि म अगाडि बढेँ । 

म नास्तिक हैन । धर्ममा विश्वास गर्छु । मठ-मन्दिरमा पुग्छु, दर्शन गर्छु, केही कामना र अपेक्षा पनि गर्छु अनि कहिलेकाहीँ केही सिक्का र नोटै पनि मन्दिरमा भेटी स्वरुप चढाउने गर्छु । तर सिक्का र नोट भेटी चढाउनुको अपेक्षा भगवानले मनोकामना पूरा गरिदिनु हुन्छ भन्‍ने कुरासँग जोडिएको हुँदैन । मैले या म जस्ता भक्तजनहरूले मन्दिरमा चढाएको भेटी रकमले मन्दिर संरक्षणमा सहयोग पुग्‍नुपर्छ भन्‍ने मेरो अपेक्षा हुन्छ । 

भगवानसँग हामी धेरै कुरा माग्छौँ । भगवानले हाम्रो मनोकामना पूरा गरिदिनु हुन्छ भन्‍ने विश्वास छ । हामी आफै भगवानसँग मागिरहेका छौँ भने उहाँलाई पैसा चाहिँ किन दिनु पर्‍यो र ? कमल पोखरी मन्दिरमा फन्को मारेका ती भक्तजनले मन्दिरमा चढाएको सिक्का मन्दिर अगाडि अपेक्षित नजरसहित आफैलाई हेरिरहेको आमैलाई दिएको भए उहाँको एक छाक टर्ने पो थियो कि ! अनि धर्म त ती आमैको आर्शिवादबाटै प्राप्त हुन्थ्यो होला नि । 

तर यस्ता कुरामा हामी कसैको पनि ध्यान जान सकेको छैन । मन्दिरै मन्दिरको देश हो नेपाल । देशैभरिका सयौँ मठ-मन्दिरमा हजारौँ भक्तजनहरु पुग्‍ने गर्नुहुन्छ । देशका हरेक मठ-मन्दिरमा भक्तजनसँग केही अपेक्षासहित विशेष गरी विपन्‍न ज्येष्ठ नागरिकहरू हात फैलाई रहनुहुन्छ ।

तर विडम्बना हामी भक्तजनको ध्यान त्यस्ता ज्येष्ठ नागरिकमा कहिल्यै पुग्दैन । पैसा चढाउँछौ भगवानलाई, जसले हामीलाई दिनुहुन्छ भन्‍ने मान्यता हाम्रो छ । जसलाई हामीले दिनुपर्ने हो उहाँहरु प्रति हाम्रो सके घृणाभाव हुन्छ हैन भने पनि दयाभाव त पटक्कै पलाउँदैन । तर केही चाहिँ यस्ता भक्तजनहरू पनि हुनुहुन्छ जसले भगवानलाई पनि दिनुहुन्छ, मन्दिरमा हात फैलाई रहनु भएका ज्येष्ठ नागरिकलाई पनि दिनु हुन्छ । 

मैले माथिनै उल्लेख गरे म मठ- मन्दिरमा पनि जान्छु र पैसा पनि चढाउँछु । मन्दिरमा पुग्‍ने हरेक भक्तजनले गच्छे अनुसार पैसा चढाउँदा हुन्छ । तर हामी सबैले खोजी गर्नुपर्छ, हामीले चढाएको पैसाको सदुपयोेग कसरी भएको छ ? मन्दिरमा पैसा चढाउनुको अर्थ के हो भने त्यो पैसाले मन्दिरको संरक्षण, पुर्ननिर्माण तथा विस्तार र ऐतिहासिक तथ्यको खोजी एवं प्रचार प्रसारमा सहयोग पुग्‍न सकोस् । 

देशका अधिकांश मन्दिरमा संरक्षणको लागि समिति बनाइएको हुन्छ । पूजारी तथा हेरालु राखिएको हुन्छ । भक्तजनले चढाएको पैसाको हिसाब किताब राखिन्छ र त्यो पैसालाई त्यही मन्दिरको संरक्षणको लागि सदुपयोग गरिन्छ । 

म सम्झन्छु, दोलखा भीमेश्वर मन्दिरको कुरा । त्यहाँको चन्दा बाकसमा भक्तजनले चढाएको पैसा निश्चित समयमा निकालिन्छ र स्थानीय प्रशासनको समेत रोहबरमा गिन्ति गरेर मन्दिर संरक्षणकै लागि त्यसको उपयोग गरिन्छ । समाचार प्रयोजनकै लागि पनि मैले कतिपय बेला पैसा गन्‍ने मेलोमा आफूलाई त्यहाँ सहभागी गराएको छु । त्यो बेलाको माहौल नै कति आनन्ददायी हुन्छ । हामी जस्तै भक्तजनले चढाएको पैसाको हिसाब किताब राखिन्छ र मन्दिर संरक्षणकै लागि त्यसको उपयोग हुन्छ भन्‍ने कुराले साँच्चै पुण्य गरे झैँ लाग्दो रहेछ । 

देशका नाम चलेका मठ- मन्दिरमा भक्तजनले चढाएको पैसाको हिसाब किताब राख्‍ने र त्यसबाट पुजारी तथा हेरालुको व्यवस्थापनसहित मन्दिर संरक्षणमा खर्च गर्ने प्रचलन रहेको छ । तर अरु सयौँ मन्दिरहरू पनि छन् जहाँ न भक्तजनले चढाएको पैसाको सदुपयोग हुन्छ, न मन्दिर संरक्षणमा स्थानीयको चासो नै रहन्छ ।

कमल पोखरीमा मैले देखेको दृश्य जस्तै भक्तजनले धर्मकै लागि मन्दिरमा आश्रित दु:खी तथा विपन्‍न मानिसको उपेक्षा गर्दै भेटी स्वरुप मन्दिरमा पैसा त चढाउँछन् तर त्यसको उपयोगितामा चासो नदिँदा त्यसको चरम दुरुपयोग भइरहेको हुन्छ । व्यवस्थापन नभएका धेरै मन्दिरमा भक्तजनले चढाएको पैसा मादक पदार्थ सेवन गर्ने हुल्लडबाज र सडक पेटीमा भौतारिने अल्लारेको हात लाग्छ ।

त्यसैले सरकारले, समाजले या समुदायले हरेक मठ- मन्दिरको व्यवस्थापनसहित भेटी रकमबाट मन्दिरमा आश्रित विपन्‍न ज्येष्ठ नागरिक तथा अन्य मानिसलाई सहयोग गर्ने र मन्दिरको सम्वद्र्धन तथा प्रर्वद्धनमा समेत ध्यान पुर्‍याउने हो भने ठोस उपलब्धि हात लाग्‍न सक्छ । 

मानिसको आस्था मार्नुहुन्‍न । मन्दिरमा भेटी स्वरुप पैसा चढाउने कुरा आस्थासँग जोडिएको छ । नेपालीहरूको परम्परा र सांस्कृतिक सभ्यतासँग जोडिएको छ । त्यसैले मन्दिरमा पैसा चढाउने परम्परालाई न रोक्न सकिन्छ, न रोक्न आवश्यक नै छ । तर त्यसको व्यवस्थापन जरुरी छ । पुण्य कमाउने अभिलाषासहित परम्परागत आस्थालाई आत्मसाथ गरेर चढाएको भेटी मन्दिरमा आश्रित विपन्‍नले समेत पाउने अवस्था बन्यो भने उनीहरूलाई बेवास्ता गरेर मन्दिर भित्र भेटी हुर्‍याउने भक्तजनहरूले समेत पुण्य कमाउन सक्छन् । भेटीको व्यवस्थापन हुन सकेन भने न भक्तजनले विश्वास गरेको भगवानले त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ, न त्यो असल कामका लागि उपयोग हुन सक्छ ।

मानिसलाई कुनै न कुनै प्रकारले लाभ पुर्‍याउने कुरा देवता हो । पृथ्वी, जल, अग्‍नि, वायु, माता, पिता यी सबै कुराले मानिसलाई लाभ पुर्‍याउँछन् । त्यसैले हामी यी सबैलाई देवता भनेर पूज्‍ने गर्छौँ । मन्दिरमा भेटी चढाउने र अब भगवान खुशी हुन्छन् भनेर बस्‍ने हो भने न त्यसबाट पुण्य कमाउन सकिन्छ, न कुनै लाभ लिन सकिन्छ ।  

भगवान व्यक्ति हैन, व्यक्तिमा हुने गुण हो । जुन केही महापुरुषमा थियो । शिव, कृष्ण, भीम, विष्णु, गौतम बुद्ध, यशु क्रिष्ट आदिमा ज्ञान, महानता, पुरुर्षाथ आदि विशेष गुण थियो त्यसैले भगवान भनियो । शिवको जन्मथलो दोलखाको देउलाङलाई मानिन्छ । रामायण र महाभारतमा चर्चा भएको भूमिहरू नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्कातिरै पर्दछन् ।

महापुरुषको महानतालाई आत्मसाथ गरेर हामीले प्रकृतिका हरेक कुराहरुलाई भगवानको रुपमा पुज्दै आएका छौँ । त्यसैले भेटीलाई सभ्यता र संस्कृतिसँग जोडेर असल काममा उपयोग गर्नु नै भगवानको प्राप्ति हो । भेटीको रकमबाट पुण्य कार्य गर्नु नै भगवानको प्राप्ति हो । 

मन्दिर को ढोकामा अगाध आस्था र सुखद अपेक्षासहित हात फैलाई रहने गरीब दु:खीलाई दुत्कार्दै निर्जिव मूर्तिमा भेटी चढाउने भक्तजनले पुण्य कमाउन सक्दैनन् । मन्दिरका ढोकाहरूमा फैलिएका अपेक्षित हातहरूलाई केन्द्रमा राखेर आफूले चढाएको भेटीको उपादेयता खोज्ने भक्तजनहरूले मात्र पुण्य कमाउन सक्छन् । 

म जतिपटक घोत्लिए पनि, घोसेमुन्टो लगाएर एकाग्र बने पनि मन्दिरमा चढाएको भेटीको उपयोगिता खोज्न चुकिरहेको छु । नत्र कमल पोखरीको देब्रेपट्टी भद्र भक्तजनको भेटीमा विपन्‍न तथा दिन दु:खीको आकृति हेर्दै विस्मित भावमा एकोहोरो मन्दिर मात्र नियाली रहने मेरो नियतिमा केही त परिर्वतन हुने थियो होला नि । वा भेटीको संस्कृतिले नेपाली सभ्यतालाई आत्मसम्मानका साथ हरेक मन्दिरहरूमा उभ्याउन सकिने थियो ।



Author

थप समाचार