विचार

चाइना जर्नल

अन्तरिक्षमा पनि शक्तिशाली बन्दै चीन

अजय अलौकिक |
असोज १०, २०७८ १८:३७ बजे

पृथ्वीको वायुमण्डलभन्दा माथि अथवा पृथ्वीको समुद्री सतहभन्दा सय किलोमिटर माथिदेखिको भागलाई अन्तरिक्ष भनिन्छ । मानवका लागि यो अन्तरिक्ष रहस्यले भरिपूर्ण छ । अन्तरिक्ष अन्वेषण तथा खोजमा मानिसको पहिलेदेखि नै चासो पनि रहँदैआएको छ । साथै पृथ्वीभन्दा पर अर्को विकसित ग्रह हुनसक्ने अनुमान वैज्ञानिकहरूले गर्दैआएका पनि छन् ।

त्यसै गरी, मानवजातिको सुरक्षित भविष्यकालागि पनि अन्तरिक्षको खोज अपरिहार्य बनेको देखिन्छ । यसबाहेक, पृथ्वीको वातावरण र मौसमसम्बन्धमा पूर्व सूचनाका लागि तथा सञ्चार क्षेत्रको विकासमा अन्तरिक्ष क्षेत्रको विस्तारले महत्त्वपूर्ण भूमिका खेल्दैआएको छ । यसै अन्तरिक्ष खोजको होडमा पछिल्लो समय दोस्रो आर्थिक शक्ति चीनले विशाल फड्को मारेको छ ।


गत सेप्टम्बर १७ तारिख, तीन महिने लामो अन्तरिक्ष यात्रापछि तीन चिनियाँ अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा सकुशल अवतरण गरेसँगै चीनको पछिल्लो अन्तरिक्ष मिसनसमेत सफल भएको छ । अप्रिल २९ तारिख चीनले चीन अन्तरिक्ष केन्द्र स्थापनाकालागि थ्येनख्ह कोर मोड्युललाई शनचौ-१२ मानववाहक यानको साथमा प्रक्षेपण गरेको थियो । यो सँगसँगै चिनियाँ अन्तरिक्ष सपनाले पनि आकार लिँदैगएको देखिन्छ ।

चीनको पहिलो मानव निर्मित स्याटलाइट (उपग्रह) तोङफाङहोङ-१ देखि शनचौ-१२ अन्तरिक्ष यानसम्मको यो पचास वर्षको संघर्षले चीनले आफ्नो अन्तरिक्ष अभियानको सपना भेट्टाउन गरिरहेको प्रयास स्पष्ट देखिन्छ । सन् १९७० मा चीन तोङफाङहोङ-१ लाई अन्तरिक्ष अर्बिट (ग्रहपथ) मा पठाउन सफल भएको थियो । त्यसअघि सन् १९६४ मा सेतो मुसासहित रकेट प्रक्षेपण गर्दै अन्तरिक्षमा पहिलो कदम राखेको थियो ।

२०औँ शताब्दीका दुई महाशक्तिहरू संयुक्त राज्य अमेरिका र सोभियत संघबीच दोस्रो विश्व युद्धपछि अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा चलेको थियो । सन् १९५७ अक्टोबर ४ मा तत्कालीन सोभियत संघले स्पुतनिक-१ को सफल प्रक्षेपण गरेसँगै अन्तरिक्ष युग आरम्भ भएको हो । यसै गरी, सन् १९६१ अप्रिल १२ मा मानव इतिहासमा पहिलो पटक मानवसहितको अन्तरिक्ष उडान भरेको थियो । रूसी नागरिक युरी गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन् ।

तत्कालीन सोभियत संघको अन्तरिक्ष क्षेत्रको फड्कोसँगै प्रतिस्पर्धी अमेरिकाले एपोलो-११ को उडानसँगै चन्द्रमामा मानव पाइला टेकाउन सफल भएको थियो । अमेरिकी नागरिक निल आर्मस्ट्रङले सन् १९६९ जुलाई २० मा चन्द्रमाको धरातलमा टेकेर मानव इतिहासमा नयाँ किर्तिमान बनाएका थिए ।

चीनले पनि यसै समयको सेरोफेरोमा अन्तरिक्ष अन्वेषणमा चासो राखिसकेको थियो । सन् १९५० मा भएको कोरिया युद्धको क्रममा अमेरिकाले उत्तर कोरियामाथि आणविक हतियार प्रयोग गर्ने धम्की दिएपछि चीनले अन्तरिक्ष क्षेत्रमा निरन्तर चासो दिनथालेको थियो । अध्यक्ष माओ चतुङले नयाँ चीनको सुरक्षाको खातिर अन्तरिक्ष अन्वेषणको घोषणासमेत गरेका थिए ।

भनिन्छ, तत्कालीन सोभियत संघको पहिलो मानवनिर्मित कृत्रिम उपग्रहसँगै चीनले पनि दुई महाशक्ति राष्ट्रसँग उभिन तयारी गरेको थियो । तर चीनले सफलता पाउन धेरै वर्ष कुर्नुपर्यो । सन् १९७० अप्रिल २४ मा आएर मात्र चीनले उपग्रह प्रक्षेपण गर्न सफल भएको थियो । यसपछि पनि चीनले ठूलो उपलब्धि हासिल गर्न सकेन । यद्यपि, सन् १९७५ मा पनि एउटा उपग्रहको सफल प्रक्षेपण गरेको थियो ।

सही अर्थमा चीनको अन्तरिक्ष मिसन आरम्भ गत शताब्दीको नब्बेको दशकपछि मात्र भएको मान्न सकिन्छ । सन् १९९२ मा चीनले औपचारिक रूपमा अन्तरिक्ष मिसनकालागि सहयोग, अन्वेषण तथा कानून निर्माण सँगसँगै अन्तरिक्षसम्बन्धि अन्तर्राष्ट्रिय कानून अध्ययनकालागि प्रतिष्ठानको स्थापना गरेको थियो । यसरी शक्ति राष्ट्रहरू अमेरिका र तत्कालीन सोभियत संघको अन्तरिक्ष अन्वेषण थालेको धेरै वर्षपछि मात्र चीन यो क्षेत्रमा योजनाबद्ध ढंगले अघि बढेको हो ।

यसपछि, सन् १९९९ नोभेम्बर २० मा मानवविहिन अन्तरिक्ष यान शनचौ-१ को सफल प्रक्षेपण गरेको थियो । यसै गरी, सन् २००३ मा अमेरिका र रूसपछि अन्तरिक्षमा मानिस पठाउने तेस्रो राष्ट्र बन्न सफल भएको थियो । सन् २००३ अक्टुबर १५ मा चीनले अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान पठाएको थियो । यसपछि चीनले निरन्तर रूपमा अन्तरिक्ष तथा चन्द्रमाको अन्वेषणमा अन्तरिक्ष यान पठाउने क्रम जारी राख्दै सन् २०११ मा अन्तरिक्ष कक्षमा पहिलो अस्थायी मोड्युल स्थापना गरेको थियो । यसरी निरन्तर रूपमा अन्तरिक्ष अभियान तथा अन्वेषणको क्षेत्रमा लागिपरेको चीनले पछिल्लो समय निकै तीव्रता दिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनदेखि नै अन्तरिक्ष उद्योगको विकासकालागि महत्त्वपूर्ण निर्देशन दिनुकासाथै नवीनता तथा आत्मनिर्भरताको माध्यमबाट नयाँ सफलता खोज्नुपर्ने बताएका थिए । साथै, सन् २०१६ मा चीनले अन्तरिक्ष गतिविधी सम्बन्धमा श्वेतपत्र पनि जारी गरेको थियो । चिनियाँ राष्ट्रपति सीले अन्तरिक्ष कार्यक्रमलाई अघि बढाउनु एक प्रमुख रणनीतिक कदम भएको र यसले चीनको भविष्यको विकासलाई निर्धारण गर्ने समेत बताएका छन् ।

यस्तै, सन् २०१९ मा चन्द्रमाको अर्को पाटोमा चीनले पहिलो पटक रोभर अवतरण गरेर नयाँ इतिहास नै रच्यो । साथै ४० वर्षको लामो अन्तरालपछि चीन चन्द्रमाबाट चट्टानको नमूनासमेत ल्याउन सफल रह्यो । यस्तै, मे १५ तारिख चीनको थ्येन वन-१ डिटेक्टरलाई मङ्गल ग्रहमा सफल अवतरण गराउँदै अन्तरिक्ष इतिहासमा मङ्गल ग्रहमा रोभर उतार्ने दोस्रो मुलुक बन्यो । चुरोङ रोभरले रातो ग्रहको तस्वीरहरू पठाइरहेको छ ।

यसबाहेक, हालैको शनचौ-१२ मानववाहक यानको सफल प्रक्षेपण चीनको अन्तरिक्ष केन्द्रको निर्माणको महत्त्वपूर्ण चरण हो । अप्रिल २९ तारिख प्रक्षेपण गरेको यो शनचौ-१२ का तीन अन्तरिक्ष यात्रीले जुन १७ मा अन्तरिक्षमा प्रवेश गर्दै थ्येनख्ह कोर मोड्युललाई अन्तरिक्ष कक्षमा लञ्च गरेका थिए र विभिन्न कार्यभार सम्पन्न गर्दै सेप्टम्बर १७ मा तीन महिने लामो अन्तरिक्ष बसाइपछि सकुशल फर्के । चीनको अन्तरिक्ष केन्द्रको निर्माणकालागि अब चाँडै नै शनचौ-१३ बाट महिला अन्तरिक्ष यात्रीले उडान भर्ने जनाइएको छ । निर्धारित योजना अनुसार, चीनले सन् २०२२ मा आफ्नो अन्तरिक्ष केन्द्रको स्थापना गर्ने छ ।

साथसाथै, यो निर्माणाधिन चिनियाँ अन्तरिक्ष केन्द्रलाई बहुराष्ट्रिय अन्तरिक्ष केन्द्रको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । अमेरिका, रूस, क्यानाडा, जापान र युरोपेली युनियनको संयुक्त परियोजनाको उक्त अन्तरिक्ष केन्द्रमा चीनलाई समावेश गरिएको छैन । यसबाहेक, उक्त अन्तरिक्ष केन्द्रको आयु पनि सकिँदैछ ।

हुन त सन् १९९८ मा लञ्च गरिएको अन्तरिक्ष केन्द्रको आयु पन्ध्र वर्ष भनिए तापनि अझै प्रयोगमा छ । यो बढीमा २०२८ सम्म चल्ने अनुमान छ । त्यसपछि अन्तरिक्षमा चिनियाँ अन्तरिक्ष केन्द्रको मात्रै एकाधिकार रहने छ । यसो त यो चिनियाँ अन्तरिक्ष केन्द्रको आयु दस वर्ष भनिएको छ । तर यसले नयाँ पुराना शक्तिशाली राष्ट्रबीच अन्तरिक्षको होड भने अवश्य बढाउने छ ।

यसै त अहिले अमेरिका र चीनबीचको सम्बन्ध धरापमा छ । अन्तरिक्ष क्षेत्रमा चीनको फड्कोले अमेरिकालाई थप चिन्तित बनाउने छ । यसबाहेक, सन् २०११ मा अमेरिकी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन तथा अन्तरिक्ष सम्बन्धित उद्योग व्यवसायहरूलाई चीनको अन्तरिक्ष संस्थासँग सम्पर्क नराखोस् भन्ने हेतुले अमेरिकाले ‘वुल्फ’ नामक कानूनी सर्त नै प्रस्तुत गरेको थियो । यस्ता घटनालाई नियाल्दा अन्तरिक्षको विषयमा युद्धको सम्भावना नकार्न सकिँदैन ।

उपन्यास र चलचित्रमा ब्रह्माण्डका विभिन्न पिण्ड र ग्रह, उपग्रहका बासीहरूबीचको युद्धको कथा पढ्दै र हेर्दैआएको अवस्थामा यो वास्तविकतामा पनि परिवर्तन हुन सक्नेछ । यद्यपि ग्रह, उपग्रहका बासीहरूबीच या पृथ्वीबासीको एलियन्सबीच नभइ पृथ्वीकै मानवजाति बीचमा बाह्य अन्तरिक्षमा युद्ध छेड्ने अवस्था नआउला भन्न सकिन्न । यसरी शक्ति राष्ट्रको तँछाड मछाड सँगसँगै यतातिर पनि व्यापारी, बिचौलियाको प्रवेश निश्चित छ । हाल, अन्तरिक्षमा अर्को पाटोको पनि विस्तार भइरहेको छ । अन्तरिक्ष पर्यटनको अवधारणासँगै धनाढ्यहरू अन्तरिक्ष भ्रमणलगायतमा चासो बढाइरहेको अवस्था छ ।

यद्यपि, चीनले सधैँ नै शान्तिपूर्ण प्रयोग, साझा हितकालागि सहकार्य र संयुक्त विकासको वकालत गर्दैआएको छ । चीनले विश्वमा मानव भाग्य समुदायको प्रस्ताव प्रस्तुत गर्दै समान र पारस्परिक हित, शान्तिपूर्ण प्रयोग, समावेशी विकासको आधारमा अन्तरिक्ष क्षेत्रको अन्तर्राष्ट्रिय आदान प्रदान र सहकार्य गर्ने आशा लिएको छ । सन् २०१८ मा, चिनियाँ राष्ट्रपति सीले एसिया प्रशान्त अन्तरिक्ष सहयोग संगठनको स्थापनाको दसौँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै बाह्य अन्तरिक्ष मानवको साझा सम्पति रहेको र बाह्य अन्तरिक्षको अन्वेषण, विकास र शान्तिपूर्ण प्रयोग मानवको साझा चाहना रहेको व्यक्त गरेका थिए । वास्तवमा, अन्तरिक्ष, ब्रह्माण्ड विश्वको साझा सम्पति हो । यसको अन्वेषण पनि मानवको साझा कार्य हो ।

चीनले कठिन परिस्थितिबाट गुज्रेर आफ्नै प्रयासमा निर्माण गरिरहेको अन्तरिक्ष केन्द्रलाई चीनको मात्र नभई संयुक्त राष्ट्र संघका सबै सदस्य मुलुककालागि खुला रहने पनि बताएको छ । सन् २०१६ यता, चीनले संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष विभागसँगको सहयोगमा १७ वटा मुलुकसँग ९ वटा परियोजना चयन पनि गरेको छ । चिनियाँ अन्तरिक्षको विकासले विश्वसँगै छिमेकी नेपाल पनि लाभान्वित हुनेछ ।

चीन अन्तरिक्ष क्षेत्रमा विशाल फड्को मार्दै छ । तथापि चीन मानवजातिको हितकालागि अन्तरिक्ष अन्वेषण तथा अन्तरिक्ष स्रोत साधनको विकास र प्रयोगका साथै अन्तरिक्ष वातावरणको संरक्षणमा योगदान दिन चाहेको स्पष्ट देखिन्छ । विज्ञान तथा प्रविधि, सञ्चार र नविनम प्रविधि आदि क्षेत्रको अनुसन्धान अन्तरिक्षसित परस्पर सम्बन्ध रहेकोले चीनको उपलब्धि विश्वका लागि महत्त्वपूर्ण रहने छ ।

 



Author

थप समाचार