विचार

महामारी, थियटर र बबाल कुरा

चे शंकर |
असोज १५, २०७८ शुक्रबार १३:५३ बजे

आज, मुसलधारे पानी परिरहेको छ । झ्यालहरू खुल्लै छन् । भिजेको जमिनको बास्ना, गार्डेनको फूलहरूको सुगन्ध र चिसोपना सजिलै मेरो कोठामा छिरिरहेको छ । म, काठमाडौँको एउटा सिमेन्टेड घरको फ्ल्याटमा छु तर मेरो सम्झना मेरो गाउँको पुरानो घर र मस्तिष्क यसरी पानी परेपछि बज्ने जस्ताको छाना र ढुंगाको छाना हुँदै झर्ने बाछिटाहरूमा हराइरहेको छ । मैले बिताएको झरीको प्रेम, ट्रेक र रेन वाकमा पनि । 

हिजो साँझ, म कौसी थिएटरमा थिए । यसरी पानी परेको थिएन । जमिनभन्दा थिएटर केही तला माथि छ तर पनि म हराइरहेको थिएँ । मेरो बालापन र हिजोसम्म बाँचेको समयमा । सुदामको अभिनयमा, सुदामले खेलेको पात्रको जीवन्ततामा । हामी यस्सै पनि (सुदाम र म) भेट्दा छोटो समयका लागि भेट्दैनौँ । घन्टाँै घण्टा गफिनु, शान्त बस्नु र कहिलेकाहीँ हाकाहाकी नै भेट्न मन नभएको कुरा ढुक्कले भन्‍नु । यस्तै यस्तै थुप्रै सम्बन्ध नाटक हेरुन्जेल मेरो दिमागमा चलिरह्यो । सम्बन्ध मात्रै होइन, मभित्रको डर, खुसी र फरक फरक समयमा नाच्ने चाहना र भावनाहरूमा पनि । 


नाटक ‘हरेक बबाल कुरा’को हिजो शुक्रबार पहिलो चरणको मञ्चनको अन्तिम दिन थियो । म अस्वस्थ थिएँ सुरुको केही दिन, केही दिन आफैँ हराइदिएँ । हराउनुको मज्जा बेग्लै छ । अनि फेरि कति कुरा पो समेट्नु जीवनमा, भो जस्तो लाग्‍ने । यो लाग्‍नु पनि अजीबको कुरा हुँदो रहेछ । लाग्‍नु, हराउनु र फेरि भेटिनु । सायद यही होला, जीवनको लय । उस्तादले गाएको गीत र सिकारु मान्छेले गाउन कोसिस गर्दै गरेको पलको संगीतको लय जस्तै । हरेक कुरा हरेक मान्छेलाई बबाल लाग्छ, जब उसले आत्मानुभूति गर्छ, होला ! 

म नाटक हेर्न अन्य दर्शकसँगै लहरमा थिए । सुदामले केही दर्शकहरूलाई उसको पात्रको बबाल कुरा लेखिएको कार्ड दियो । मेरो हातमा एउटा जोगीको चित्र भएको ७७७७७७७ नम्बरको कार्ड थियो । कार्डमा लेखिएको थियो, ‘सबै कुरा छाडेर जोगी भएर हिडौँ जस्तो ।’  

केही दिन हराउनु, बेहोसीमा । आफूलाई मन पर्ने फिल्म हेरेर रुनु । जंगल वाकमा एक्लै निक्सनु र आफूलाई मन पर्ने मान्छेहरूसँग बसेर कफी पिउनु या ह्विस्की । यी कुराहरू मलाई मेडिटेसन जस्तै लाग्छन् । म यो इम्प्रेसनसँगै गएको थिएँ थिएटर । मेरो मन हलुङ्गो थियो । सबै कुराको डिट्याचमेन्टसँगै म त्यो कुर्सीमा बसेको थिएँ । सुदामले दिएको कार्डले म भित्रको मलाई चिसो पारिरहेको थियो । हिमाल नजिक पुग्दा जस्तो ।

मेरो हातमा भएको कार्ड र मेरो मनमा चलिरहेको कुरा यसरी मिलेको थियो कि, कसरी भन्‍ने । मेरो दिमाग विचारहीन भएको थियो । लागिरहेको थियो, म कुनै स्पेसमा छु तर जब सुदामले अभिनय गरिरहेको पात्रले आफू सात वर्षको हुँदा देखी आफूले तयार पारेको ‘बबाल कुरा’हरूको स्मृतिसँग जति अनेस्ट र खुला भएर दर्शकसँग कुरा गर्न थाल्छ, पात्रको अभिनय र दर्शकसँगको इम्पल्सिभ सम्बन्धले एकै चोटि स्पेसबाट तल झर्दिन्छ सबै जनालाई । मलाई जस्तै । 

तल के हो त ? 
तल भनेको हाम्रो रियालिटी । हामी सबैको आआफ्नै कथा छ । हुर्काइ छ । सिकाइ र बुझाइ पनि फरक छ । के भने नि हामी सबै पृथ्वीमा बस्छौँ अनि कता न कता, एक अर्कासँग ठोकिन्छौँ । चिनेको मान्छेलाई त चिन्छौँ नै, कहिल्यै नभेटेको, नदेखेको मान्छेको कुरा सुनेर, पढेर पनि हराइदिन्छौँ । हामीले बोल्ने भाषा उनीहरूको विचार निर्देशित हुन्छ, जानेर नजानेर । 

नाटकमा पात्रले आफ्नो बुबा र ममीको सम्बन्धले गर्दा आफूमा सृजित भावनाहरूको हरेक दिन एउटा एउटा लिस्ट बनाउँछ । त्यही हो, बबाल कुरा । हरेक बबाल कुराहरू यसरी हामीसँग जोडिएर आउँछ नि, हामी आफैँलाई पत्तो हुन्‍न र हामी हराइदिन्छौँ । हराउने मात्रै होइन पात्रले आफ्नो उमेर र लिस्ट भन्दै गर्दा हामी आफ्नो-आफ्नो उमेर, हाम्रो वरिपरिको परिवेश र सामाजिक-पारिवारिक मनोविज्ञानसम्म पुग्छौँ । 

कला जति व्यक्तिगतरूपमा प्रस्तुत गरिन्छ, त्यसले दर्शकमा पार्ने प्रभाव पनि त्यति नै गहिरो र आफ्नो लाग्ने हुन्छ भन्‍ने कुरा त हामी सबैले ‘बबाल कुरा’ हेरेपछि अनुभूत गर्छौं नै ।

कथा त हामी नाटक हेरिसकेपछि थाहा पाइहाल्छौँ नै । नाटकको पात्रले जसरी आफ्नो प्रिय साथी कुकी गुमाएको कुरा भन्दै गर्दा मेरो दिमागमा ह्याचिको, मोटु र पुन्टे चलमलाइरहेको थियो । अस्ति भर्खर हामीले खोलाको किनारमा लगेर गाडेको बिरालोको याद आइरहेको थियो । मान्छेसँगको सम्बन्ध भन्दा पनि गहिरो भएर जसरी जनावरसँगको सम्बन्ध मनमा बस्छ, मलाई लाग्छ हरेक मान्छेले आफूलाई बबाल ठान्छ भित्रैदेखि । उसले आफूलाई खुसी ठान्छ । आफू हुनुको अर्थ नाटकमा बज्ने संगीतको सरलता जस्तै सुमधुर र सृजनात्मक हुन्छ । 

हामीभन्दा सामाजिक मान्यता, सांस्कृतिक संस्कृति, पारिवारिक बुझाइ, राजनीति निक्कै पछाडि छ । हामीलाई आफू हुनुको बोध यसै हुँदैन अनि हामी आफैँभित्र चल्ने कुराहरू, सम्बन्ध, रोजगारी र अन्य थुप्रै कुराले थिचिन्छौँ । हामी आफ्ना कुराहरू खुलेर भन्‍न डराउँछौँ । तर हामीले सृजना गरेको डरले हामीलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छ र निल्छ एकदिन । नाटकले हामीलाई आफ्नो कुरा भन्‍न । आफ्नो डिप्रेसन, एन्जाइटी, सफरिङ, खुसी या कुनै पनि विषयमा खुलेर भन्‍न कुरा गरिरहन प्रेरित गर्छ र सानो सानो कुराहरूमा खुसी भेट्न अंकमाल गर्छ । 

नाटकमा मलाई सुदाम ‘अल दि ब्राइट प्लेसेस’को पात्र ‘फिन्च’ जस्तो लागिरहेको थियो तर अन्त्यमा यो उल्टियो । फिन्चले फिल्मको अन्त्यमा आफैँलाई अन्त्य गर्छ तर यहाँ नाटकले भने किन हामीले जीवनलाई संगीतझैँ एउटा उत्सवका रूपमा लिनुपर्छ भनेर इम्पल्सिभ तरिकाले जीवनलाई सुन्दर तरिकाले हेर्ने, जटिलता र हरेक भावनाहरूलाई नितान्त रियालिटीमा बसेर हेर्न उत्प्रेरित गर्छ । तल बसेर हेर्न प्रेम सिञ्चित गर्छ ।

अफसोच हाम्रो पात्रले भने अन्त्यमा आफ्नो आमालाई गुमाउँछ । आमालाई बाँच्ने प्रेरणा दिन पात्रले सुरु गरेको बबाल कुराको लेखनीले पात्रलाई आफैँभित्र खोज्न, समाज र जीवनको भिन्‍न-भिन्‍न आयामहरूलाई बुझ्ने एउटा यात्रामा आफूलाई भेट्छ ।  

नाटक र हाम्रो सम्बन्ध 
कलाले हाम्रो आत्मालाई जहिल्यै पनि सिञ्चित गर्छ । हामी बसेको ठाउँ र आफूलाई प्रगतिशील र चेतनशील हुन प्रेरित गर्छ । कला कहिल्यै पनि स्थिर हुँदैन । नाटक कलाको एउटा थोपा हो । अभिव्यक्तिको एउटा आधार हो तर नाटकलाई हामीले प्रतीकात्मक रूपमा समुद्र जस्तो पनि भन्‍न सक्छौँ । जसरी समुद्र बन्‍न हरेक नदी-नालाले यात्रा गर्छ । नाटक बन्‍न पनि कलाका सबै माध्यम जोडिनु पर्दछ । जोडिन्छ नै । त्यसैले नाटक कलाको अन्य माध्यमभन्दा जीवित र सुन्दर हुन्छ । 

नाटकलाई हामीले जसरी हेरे पनि मेरो विचारमा नाटक भनेको हामीले बाँचेको समय, हामीले अनुभूति गरेको हाम्रो भावनाको आधारमा आफूलाई अभिव्यक्त गर्नु हो । अभिव्यक्त गर्ने शैली फरक-फरक हुन्छन् नै । कला जति व्यक्तिगतरूपमा प्रस्तुत गरिन्छ, त्यसले दर्शकमा पार्ने प्रभाव पनि त्यति नै गहिरो र आफ्नो लाग्ने हुन्छ भन्‍ने कुरा त हामी सबैले ‘बबाल कुरा’ हेरेपछि अनुभूत गर्छौं नै । 

अहिले हामीले नेपालीमा लेखिएका समय सापेक्ष नाटकहरू कमै मात्र भेट्छौँ । नाटकले हाम्रो मौलिकता त्यति गहिरोसँग भेटिरहेको छैन । सायद हामीले किन नाटक गर्छौं, हामी किन यो क्षेत्रमा छौँ, हाम्रो कलाको भाषा र रङ के हो भनेर आका (आकांक्षा कार्कीलाई म आका भन्छु), सुदाम र धेरै राम्रो काम गरिरहेका साथीहरूसँग सिक्नु, छलफल गर्नु जरुरी छ जस्तो मलाई लाग्छ । 

आकासँगको आशा 
आका अर्थात् कौसी । आका अर्थात् इन्स्पिरेसन । आकालाई यो नाटक बनाएकामा धन्यवाद । धेरै धेरै धन्यवाद । जसरी तिम्रो बबाल कुराहरूको लिस्टमा एउटा बबाल कुरा सिर्जना गर्नु हो । मेरो बबाल कुराको लिस्टमा तिमीले सृजना गरेको हरेक कुरा हेर्नु । म मात्रै होइन, हाम्रो जेनेरेसनमा हामी थिएटर गर्ने सबैलाई यस्तै लाग्छ । धेरै माया । 

(नाटक ‘हरेक बबाल कुरा’ कौसी थिएटरमा आज असोज १५ देखि २० गतेसम्म शनिबार दिउँसो २ बजे र अन्य दिन साँझ साढे ५ बजे पुनः मञ्चन हुँदै छ । ‘हरेक बबाल कुरा’ नाटककार Duncan Macmillan को Every Brilliant Thing को नेपाली अनुवाद हो ।) 


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x