विचार

टिप्पणी

केपी शर्मा ओली : भारदारी सभामात्र रूचाउने ‘लोकतान्त्रिक नेता’

पुष्पराज आचार्य |
असोज १५, २०७८ शुक्रवार १४:० बजे

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र सर्वसम्मत हुने भएपछि मंसीरमा एमालेको दशौं महाधिवेशन हुने भएको छ । महाधिवेशनमा जानुअघि एमालेको विधान महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुँदैछ । 

२०७१ असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनमा प्रतिस्पर्धी माधवकुमार नेपालको भन्दा ४४ मत बढी (कुल १,०४७ मत) प्राप्त गरेका ओलीलाई यो महाधिवेशनमा चुनौती दिन कोही मैदानमा खडा हुने सम्भावना न्यून छ । ७० वर्षको उमेर हदका कारण एमालेको महाधिवेशन चाँडै गराउने उनी पुगेका छन् । शायद माधव कुमार नेपाल या पार्टीभित्र मजबुत प्रतिपक्षी भएको भए ओलीले त्यस्तो जबर्दस्त समूहलाई साथमा लिएर महाधिवेशन गराउने थिएनन्, तर अहिले पार्टीको नेतृत्व लिन कोही अघि बढ्ने सम्भावना लगभग शून्य छ भन्दा हुन्छ । 


पार्टीभित्र अनुदार चरित्रका ओली राष्ट्रिय राजनीतिमा पनि त्यत्तिकै अनुदार छन् । आलोचना त टाढाको कुरा बहस विमर्श र छलफलमा पनि उनलाई सर्वथा अरुचि छ । लोकतन्त्रमा दलका नेता जवाफदेही र जिम्मेवार हुनुपर्नेमा मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको एमालेका अध्यक्ष ओलीको शब्दकोषमा जवाफदेहीता भन्ने शब्द छैन । उनी आफू सबैभन्दा माथि र पार्टीमा अन्यलाई बफादार कार्यकर्ता ठान्छन्, उनी चाकडी र चाप्लुसी रूचाउँछन् । अगाडि पछाडि सवारी साधनका लावालस्कर, जयगान, शान शौकत अरुका लागि लज्जा हुनसक्छन् । कम्युनिष्ट नेता भएपनि ओलीका लागि भने यो गर्व हो, उनी यस्तै रूचाउँछन् । अनि उनलाई मनपराउनेले र चाकडी गर्न चाहानेले यस्तै गरिदिन्छन् । 

आफू अनुकुल नभए पार्टी बैठकमात्र होइन, संसदलाई समेत चल्न नदिने रवैया ओलीले अपनाउँदै आएका छन् । आफ्नो अनुकुल नहुने भएपछि उनले विगतमा दुई पटक प्रतिनिधि सभा विघटन गरे ।

विधान महाधिवेशनमा सहभागी हुँदै गर्दा उनी सातदोबाटोदेखि गोदावरीसम्म अगाडि–पछाडि सवारी साधनको लावालस्कर सहित गए । यस्तो रवैया उनले प्रधानमन्त्री पद गुमाएर सरकारी निवास बालुवाटारबाट आफ्नो निवासमा फर्कंदा पनि देखाएका थिए । आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरेको सनराइज सम्मेलन केन्द्रको भव्य सभाहलमा देशभरबाट आएका पाँच हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दैछन् ।

ओलीले पार्टीभित्र आलोचना, बहस, विमर्श नगर्ने रवैयाका कारणले ओलीको अध्यक्षतामा माओवादीसमेत एकता भएर बनेको ठूलो कम्युनिष्ट पार्टी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र होइन, एमाले समेत विभाजन भयो । आफू अनुकुल नभए पार्टी बैठकमात्र होइन, संसदलाई समेत चल्न नदिने रवैया ओलीले अपनाउँदै आएका छन् । आफ्नो अनुकुल नहुने भएपछि उनले विगतमा दुई पटक प्रतिनिधि सभा विघटन गरे । यसले पार्टीमात्र होइन, ओली संसदलाई समेत भारदारी सभा बनाउन चाहान्छन् । राष्ट्रिय राजनीतिमा पनि उनी सर्वमान्य बन्ने आकांक्षा र अहंले उनलाई सर्वदलीय बैठकमा जान पनि रोकिरहेको छ । उनी संसदको गतिरोध अन्त्य गर्न तयार देखिदैंनन् । नेपालको मात्र होइन, कुनै समयका उनका सहयात्री पुष्पकमल दाहालको भनाइमा त ओली आफूलाई विश्वका शक्ति राष्ट्रका नेताहरूकै दाँजोमा राख्छन् ।

विधान महाधिवेशनको प्रारम्भमा एमालेका सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले ओलीलाई खुसी पार्दै केही नेताहरूको महत्वाकांक्षा र अवसरवादको प्रयोगका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भङ्ग भएको भनेर कटाक्ष गरे । त्यसो त ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत उनको आफ्नै प्रशस्ति समावेश छ । 

एमाले अध्यक्ष ओलीलाई मन नपर्ने कुरा कसैले उठाउने हिम्मत गर्दैनन्; गरेपनि ओलीले त्यसलाई सहजै बेवास्ता गरिदिन्छन् । 

यस्तो भारदारी सभामात्र रूचाउने पार्टीको बैठकमा छलफल नगर्ने र आलोचकलाई नसहने ओलीले आफूलाई लोकतान्त्रिक नेताको रटान लगाउन भने छाड्दैनन् । तर उनी साँच्चिकै लोकतान्त्रिक भइदिएको भए उनी अहिलेसम्मकै ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष र पाँच वर्ष सरकारको नेतृत्व गर्ने थिए कि !


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x