विचार

चाइना जर्नल

चीनमा दसैँको रौनक खोज्दै

अजय अलौकिक |
असोज ३०, २०७८ ९:११ बजे

चिनियाँ लत्ताकपडा, फलफूललगायत अरू सामग्री, तिब्बती भेडा च्याङ्ग्रा अनि भारतीय रङ, अक्षता र अरू विविध उपभोग्य सामग्री सँगसँगै विदेशबाट फर्केका लाहुरेको तामझामबाट देशभित्र यस पटक पनि बडा दसैँको चहलपहल निकै बढेको देखिन्छ । गत वर्ष, कोभिड-१९ महामारीको पहिलो लहरलगत्तै आएको दसैँ पनि चेतावनीको बावजुद यसरी नै मनाएका थिए । यद्यपि, यस पटक दोस्रो लहरले पुर्‍याएको क्षतिबाट कतिपय परिवारको दसैँ निरस रहने छ । साथसाथै, अहिले तेस्रो लहरको अनुमान पनि गरिएको छ । शङ्का पनि बढेको छ र लापरवाही पनि त्यतिकै बढेको छ ।  

हुन त दसैँ तिहारको समापन सँगसँगै तेस्रो लहर आउन पनि सक्छ । भनिन्छ नि, दसैँले दशा छोडेर जान्छ । तथापि हर्ड इम्युनिटी प्रकार उन्मुख नेपाली समाजमा अर्को लहर नदेखिन पनि सक्छ । हाल विश्वमा पनि खोप लगायत विविध कारणले यो भाइरसको प्रभावमा कमी आइरहेको बुझिन्छ । तर, भविष्य कसले देखेको छ र ? फेरि नयाँ स्वरूपमा पो आइहाल्छ कि ? चिन्ता नै यही हो ।


यस्तै चिन्ताले कतिपय मानिसको पारिवारिक पुनःमिलन हुनसकेको छैन । कुनै देशको नियम कडा छ त, कतै आवतजावतको कुनै सम्भावना समेत छैन । विश्व परिस्थिति अझै जोखिमपूर्ण भएकोले धेरै देशहरूमा आवागमन खुला छैन र खुला भएका देशहरूमा पनि क्वारेन्टाइनको झमेला छ । हाल चीनमा पनि आवतजावत सजिलो छैन साथै चिनियाँ नागरिकलाई पनि सकेसम्म बाह्य देशको भ्रमण नगर्न अपिल नै गरेको छ ।

यसबाहेक, चीन फर्कनेहरूले पनि कडाइका साथ १४ प्लस ७ दिनको क्वारेन्टाइन पालना गर्नुपर्ने हुन्छ । यसो नगर्दा धेरै चिनियाँ सहरहरू ऊहान भइसक्थ्यो या अमेरिकाको जस्तै हालत हुने थियो । यही कडिकडाउ, नियम पालना, अनुशासित जनता र क्षमताबान नेता र सरकारको कारण नै चीनले कोभिड-१९ महामारी र यसका ‘आफ्टरसक्स’ लाई सजिलैसँग नियन्त्रणमा लिन सफल भएको छ । यसै कारण चिनियाँ जनजीवन सहज बनेको छ । परिणाम स्वरूप हालसालै चिनियाँहरूले उल्लासपूर्वक आफ्नो राष्ट्रिय दिवस मनाएका छन् ।

नयाँ चीन स्थापनाको दिन अक्टुबर १ तारिखलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । यो सँगसँगै चीनमा सात दिनको बिदा दिने प्रचलन रहँदैआएको छ जसलाई सुनौलो सप्ताह पनि भनिन्छ । यस समयमा पर्यटनीय क्षेत्रमा धूमधामका साथ घुइँचो लाग्ने गर्दछ । हरेक वर्ष आन्तरिक पर्यटन बजारमा यो अवधिले नयाँ रेकर्ड बनाउँदैआएको पनि छ ।

प्राय: यसै सुनौलो सप्ताहको अवधिमा दसैँका मुख्य दिनहरू पनि पर्ने गर्दछन् । जसबाट हिन्दु धर्मावलम्बी तथा दसैँ पर्व मनाउनेहरूलाई एउटा रमझमको वातावरण मिल्ने गरेको छ । अन्यथा, परदेशमा दसैँ क्यालेण्डरमा आउने गर्छ । पछिल्लो समयमा, फेसबुकको भित्ताबीच पनि नेपाली चाडबाड मनाउने गरिन्छ । तर यस पटक अक्टुबरको पहिलो सातामा दसैँ परेन । यसकारण, यस पटक चीनमा दसैँ खल्लो रूपमा बित्न पनि सक्छ । तापनि व्यक्ति व्यक्तिबीच फरक हुनसक्छ । यद्यपि, खाने मुखलाई जुङ्गाले छेक्दैन भने झैँ खानपिन र जमघट गर्नलाई के को आलटाल ? खानपिन र मोजमस्ती चाहनेकालागि जुनसुकै दिन हुनसक्छ, दसैँ ।

हाल, चीनमा घरेलु रूपमा भाइरस सङ्क्रमित शुन्य छ तर दैनिक रूपमा विदेशबाट आएकाहरूमा सङ्क्रमण देखी नै रहेको छ । यो क्वारेन्टाइन तथा निरन्तर रूपमा गरिने न्यूक्लिक एसिड परीक्षण र कतै सङ्क्रमित भेट्टाएपछि त्यसको ट्रेसिङसँगै चालिने काम कारवाहीले नै चीनले महामारीलाई आफ्नो पकडमा लिएको हो । यस्तो सफल परिणाम प्राप्त हुनुमा चिनियाँ नेताको दूरदर्शिता, चिनियाँ विज्ञको सही विश्लेषणसँगै अनुशासित चिनियाँ जनताको साथले अहम् भूमिका खेलेको छ । सन् २०२० को वसन्त चाड त्रासदी अवस्थामा बिताएका चिनियाँले त्यसपछिका चाडहरू र सन् २०२१ को वसन्त चाड उल्लासपूर्ण रूपले मनाउन पाएका थिए ।

यो चिनियाँ वसन्त चाड विश्वभरि नै प्रसिद्ध छ र पछिल्लो समयमा चिनियाँबाहेकले पनि मनाउन थालेका छन् । साथै चिनियाँ वसन्त चाडलाई नेपाली महान चाड दसैँसँग तुलना पनि गर्नसकिन्छ । यी दुवै चाडको अन्तर्य वर्ष दिनसम्म टाढा रहेकाहरूको पारिवारिक मिलन नै हो । योसँगै खानपिन, आफन्तजन् भेटघाट, नयाँ कपडा, नयाँ सरसामानको किनमेल, मनोरञ्जन, पर्यटन यहीँ नै हो । यो चाडमा ठूलाबडाबाट आशिष थाप्ने, यसै गरी ठूलाले सानालाई रातो खाममा पैसा राखेर दिने र आफन्तको घर जाने गरिन्छ जुन नेपालीको दसैँको चलनसँग मिल्दोजुल्दो रहेको छ । यसै गरी, यस चाडको बेला चिनियाँ सहरहरू पनि दसैँको काठमाण्डु र अन्य सहरजस्तै शून्य हुन्छन् । यस चाडको अवधिमा सडक बजारको चमकदमक साथै सहरको शून्यताले दसैँको सम्झना ताजा बनाइदिन्छ ।

वसन्त चाड आरम्भको बीस दिन अघिदेखि नै घर फर्किने मानिसहरूको बस तथा रेल स्टेसनमा घुइँचो लागेको देख्नसकिन्छ । वसन्त चाड अघि र पछि गरी समग्रमा पैँतालिस दिनको समयमा हुने चिनियाँहरूको आवातजावतलाई विश्वकै सबैभन्दा ठूलो मानव सागरको लहर भन्ने पनि गरिन्छ । यो वसन्त चाडमा नेपालका विभिन्न जनजातिले ल्होछारलगायतका पर्वहरू मनाउँछन् ।

साधारण अर्थमा प्राचिन चिनियाँ नव वर्ष मनाइरहेकै बेला नेपालको विभिन्न भूभागमा पनि नव वर्षोत्सव मनाइरहेको हुन्छ । यसरी वसन्त चाडको अवसरमा दसैँ सम्झन पुग्ने नेपाली हिन्दुहरू बडा दसैँको अवसरमा भने न्यास्रो लाग्ने गरेको बताउँछन् । यस कुरामा यता जीविकोपार्जन गर्दैआएकाहरू एक मत छन् ।

दसैँलगायतका चाड तथा बेलाबखतमा हुने भलाकुसारीमा दसैँको बेला नेपालको सम्झना एकदम बाक्लिने बताउँछन् । दसैँको अवसर पारेर आमा, बुवालाई निम्त्याउनेहरू पनि केही फिक्का महसूस भएको बताउँछन् । पाका मानिसहरू मात्रै होइन, युवापुस्ताहरू पनि यतै कतै मन्दिर भए दसैँको पूर्ण फिल आउने थियो कि यसै भन्छन् । बलि र नैवेद्य चाहिएन, नवरात्री पनि होइन, यसो नजिकै मन्दिर भएको भए एक प्रकारले तरङ्गित हुने थियो भन्ने लाग्छ, बेइजिङमा बस्दैआएका नेपालीहरू यसो पनि भन्छन् ।

यद्यपि दसैँ तिहार या अरू कुनै चाडका लागि आवश्यक सामग्रीहरू केही यतै पाइन्छ त केही उतैबाट ल्याएकै हुन्छ, परदेशमा नयाँ नयाँ साथीभाइसँग मित्रता गाढा बसेकै हुन्छ । तापनि चाडको बेलामा घरदेशको वातावरण भने पटक्कै हुन्न । दसैँ मद्यपान, जुवातास र मनोरञ्जन मात्रै होइन । यसले शास्त्रीय, धार्मिक, आध्यात्मिक, सांस्कृतिक महत्व पनि बोकेको छ । यही कुरा चीनमा रहेका नेपालीमा खट्किने गरेको हो ।

हाल विश्वका धेरै भूभागहरूमा नेपालीको उपस्थिति बाक्लो भइदिँदा त्यहाँ स्थापित नेपाली समाजले परम्परालाई पछ्याउँदै चाडबाड मनाउने गरेको पाइन्छ । नेपाली समाजको निर्माण र संस्कृतिको राम्रो प्रवर्द्धन भइरहेको छ । यता विशाल चीनमा भने यो सम्भव छैन । एक त देश विशाल छ, सहरको सङ्ख्या मात्रै ६ सयभन्दा बढी छन् र विभिन्न पेशामा आबद्ध नेपाली तथा व्यापारी र विद्यार्थीहरूको सङ्ख्या कम छ त्यसमाथि छरिएर रहेका छन् । कम र छरेर रहेका नेपालीका कारण दसैँको रौनक घरघरमा सीमित छ । यस हिसाबमा चीनको कुनै सहरमा मात्र हिन्दू मठ मन्दिर र शक्तिपीठ भएर पनि पुग्दैन तापनि यसले दसैँको अवसरमा रौनक भने थप्ने थियो, सायद ।

सर्वविदितै छ, विशाल चीनमा बौद्ध मन्दिरहरू धेरै छन् । त्यस माथि राष्ट्रिय विभूति अरनिकोलगायत अरू नेपाली कलाकारले बनाएका बौद्ध मन्दिर र चैत्यहरू पनि धेरै छन् । धेरै चिनियाँ सहरहरूमा गौतम बुद्धको अस्तु रहेका मन्दिरहरू पनि छन् । तर बुद्ध जन्मेको देशका अधिकाँश नेपालीहरू हिन्दु धर्म मान्दछन् । चीनमा प्राचीन कालमा बौद्ध र पछि इस्लाम धर्मको विकास भएको पाइन्छ । तापनि चीनको फुच्येन प्रान्तको छ्वानचौ सहरमा हिन्दू मन्दिर रहेको छ ।

यो पङ्क्तिकार केही वर्ष अगाडि त्यस सहरको भ्रमण क्रममा हिन्दू मन्दिर पुगेको थियो । समुद्री तटवर्तीय सहरमा केही सय वर्षअघि दक्षिण भारतीयको बसोबास रहेबाट सो मन्दिर निर्माण भएको बुझिन्छ । विशाल चीनमा खोजीनिती गर्ने हो भने हिन्दू धर्म र नेपालसँग जोडिएका धेरै कुराहरू भेट्टाउन सकिने छ ।

इतिहासको उत्खनन् होइन दसैँको रमझममै फर्कौँ । जो जो जता जता भए पनि जसोतसो चाडबाड मनाउनु पर्छ । रीतिरिवाज, परम्परा मानव सम्यताको जीवित इतिहास हो । विदेशी भूमिमा चाडबाडसम्बन्धित गतिविधिले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ । यो देशको अभौतिक अमूर्त सम्पदा हो । देश देशबीच एकआपसमा मित्रताको सेतु हो ।

पाँच हजार वर्ष लामो इतिहास बोकेको चीनले आफ्नो परम्परा र रीतिरिवाजलाई जीवन्त बनाउँदै विश्वभरि प्रसार गरिरहेको छ । साथै ५६ जातजातिका संस्कृतिको संरक्षण तथा जगेर्नामा ठूलो धनराशी खर्चिँदै आएको पनि छ । विभिन्न सभ्यताहरूबीच सुमधुर सहअस्तित्वका लागि तथा विश्व शान्ति र मानव समुदायको प्रगतिका लागि सभ्यताबीचको आदानप्रदान आवश्यक पनि छ ।

अन्तमा, आफ्नो संस्कृति तथा चाडपर्वको जगेर्ना गर्नुपर्छ, परदेश वा घरदेश जता भए पनि मनाउनुपर्छ । तर वर्तमान अवस्थामा दसैँ तिहारसँगै कोभिड-१९ को त्रास अझै छ । सचेत र सतर्क भएर बिना तडकभडक आफ्नो गच्छे अनुसार दसैँ मनाउनु होला । बडा दसैँको अवसरमा सुस्वास्थ्य तथा दीर्घायुको शुभकामनासहित तपाईँ भित्र रहेको असुरमाथि विजय प्राप्त होस् ।



Author

थप समाचार