विचार

किराँत राज्यको दसैँ

चिरञ्‍जीवी मास्के |
कात्तिक ६, २०७८ १७:१० बजे

धेरैले प्रतीक्षा गरेको दसैँ पनि सकियो । एक महिना अघिदेखि चर्चा पाएको दसैँैको माहौल एक हप्ता मै शान्त र सुनसान ! त्यसो त दसैँको माहौल नै नभएको कहाँ हो र ! चहलपहल, भीडभाड, रामरमाइलो नै थियो दसैँमा । तर ओजिलो रौनक देखिएन ।संस्कार संस्कृतिमा देखिएको नविनता र सभ्यतामा देखिएको भद्दापनले हामीलाई गिज्जाई रहेजस्तो । 

दसैँैकै आसपास ऐतिहासिक थलो किराँतिछाप पुगेको थिएँ । केही ज्येष्ठ सदस्यसँगको भलाकुसारीमा थाहा भयो, किराँतिछाप कुनै समयको चल्तीको बस्ति रहेछ । किराँतिछापकै बाटो हुँदै नेपाल र भोटबीचको व्यापार चल्ने गथ्र्यो । सायद सातौ शताब्दीतिरको सिल्करोड किराँतिछापको पृष्ठभूमिबाटै भोटसम्म तन्किएको थियो । 


भोटमा नुन लगायतका सामान लिन जाने बटुवा हुन् या सगरमाथा चढ्न जाने विदेशी, सबैको मुख्य विश्रामस्थल थियो किराँतिछाप । एक ज्येष्ठ सदस्यले बताएअनुसार उसबेला बाटोको दायाँ बायाँ पसलको लस्कर हुन्थ्यो । नौ सयभन्दा बढी बटुवा किराँतिछापमा एकैपटक बास बसेको तथ्यलाई अहिले पनि किस्सा बनाएर सुनाउँछन् किराँतिछापका पाकाहरू । उहाँहरूको मुखबाट यस्ता तथ्य सुन्दा मोहित भएको थिएँ म । बटुवाको चहलपहल हुँदाको त्यो दसैँ कति हार्दिकतापूर्ण र रसमय हुन्थ्यो होला ! 

उहिलेको दसैँ स्मृतिमा दुरुस्त राखेका जर्वसिंह श्रेष्ठ भन्दै थिए– टीकाटालोको लागि दौडधुप र मौलो पूजाको आकर्षण औधी रमाइलो हुन्थ्यो । पौराणिक संस्कारको अलौकिक नमुना देखिन्थ्यो दसैँमा । श्रेष्ठका अनुसार किराँत राजा पछि अस्तित्वमा आएका कुँवरहरूको दसैँै पनि कम रोमाञ्चक हुन्थेन । दसैँैको नौ दिन नौमति बाजा बजाएर रमाइलो गर्ने अनि  नाचगान गरेर सबैको घरमा बलि पूजा । 

तर अब त विस्तार विस्तार इतिहासका ती तथ्यहरू दन्त्य कथाको कोटीबाट समेत बाहिरिँदै गएका छन् । जर्वसिंह श्रेष्ठले किराँतिछापमा मौलो पूजा धुमधामसँग गर्ने र त्यसका लागि विशेष काठको व्वयवस्था हुने हामीलाई बताए । उनले आजभोलि मौलो पूजा गर्ने प्रचलन हराएका भए पनि मौलो पूजा गर्ने बडेमाको काठ देखाए । तर केही स्थानीय भने त्यसलाई मौलो नमान्ने रैछन् । ‘त्यहाँ पोखरी थियो र भैंसी बाध्न पोखरीको बीचमा किलो गाडियो, त्यसैलाई एकथरीले मौले भनेका हुन्,’ कुराकानीका क्रममा एक जना स्थानीयले तर्क गरे । 

पत्रकार जीवन लामा र म जर्वसिंह श्रेष्ठसँग गफिरहँदा उनको मुस्कान, हाउभाउ र किंवदन्ति सुनाउँदा देखिएको मुहारको चमकले नै अनुमान गरिरहेका थियौँ किराँतिछापको यो किंवदन्ति कति महत्वपूर्ण छ । ‘बाबा’ भन्दै गफिने जर्वसिंहको शैली पनि कम्ता मजाको थिएन । उनले सुनाएको कतिपय किंवदन्ति बनाओटी हो भन्ने जान्दा जान्दै पनि पत्याइदिऊँ झैँ लाग्ने । 

स्वस्थानी कथामा उल्लेख भएअनुसार महादेवले पार्वतीलाई छल्नको लागि किराँतेश्वरको रुप धारण गरी वन विहार गरेको ठाउँ मानिन्छ किराँतिछापलाई । महादेवले सतिदेवीलाई विवाह गरेर खरको भित्ता च्यातेर कैलाशको दर्शन गराएको ठाउँ देउलाङ्गेश्वर, शिव– पार्वतीको प्रतीक गौरीशङ्कर हिमाल जस्ता कुराहरू दोलखामै भएकोले पनि अनुमान तथ्यको नजिक छन् भन्ने विश्वास गर्न सकिन्छ ।
 
किराँतिछाप भन्दा केहीमाथि बूढा भिमसेन मन्दिर भएको आसपास किराँत राजाको दरबार (धर्मघर) थियो भन्ने कुराले पनि महादेवले किराँतेश्वरको रुपमा वन विहार गरेको  स्थान किराँतिछाप नै हो भन्ने कुरालाई बल पुर्याउँछ । किराँतिछापको नामकरणको किंवदन्ति पनि रोचक छ । विभिन्न प्रयोजनले किराँतिछाप हुँदै आवतजावत गर्ने बटुवाहरूले किराँत राजालाई भेट्न चाहेको खण्डमा त्यही मौलो सँगै बस्ने किराँत राजाका सेनाले भेट्ने अनुमतिसहितको कागजातमा छाप लगाइदिन्थे रे । त्यसैले यो ठाउँको नाम नै किराँतिछाप रहन गयो । अर्को थरीको भनाइमा किराँत भाषामा राज्यलाई छाप भनिन्थ्यो । किराँतहरूले राज्य गरेकोले यो ठाउँ किराँतिछाप भयो । यो ठाउँमा १३ औं १४ औ शताब्दितिर किराँतहरूले राज्य गरेको किंवदन्ति छ । 

अहिले खासै चल्तीमा छैन किराँतिछाप । एउटा प्रहरी चौकी, केही घरहरू र केही पसलहरू । किराँतिछापको पहिचान यतिमै सीमित छ अहिले । आक्कल झुक्कल किराँतिछापबाट चर्नावती खोला हुँदै मागा र काटाकुटीको लागि उकालो लाग्ने केही बटुवा मात्र फेला पर्छन् । केटाकेटी उमेरमा सडकमा फिँजाइएको दोकान र स्वदेशी तथा विदेशी बटुवाको चाँपमा हराउँछु भन्दै दाउराको फेर बटारेर घरतिर दौडने किराँतिछापको जेष्ठ नागरिक जर्वसिंह बा अहिले सुनसान बजार छेउको घरमा मानिसको चहलपहल देख्ने तिर्सनामा उङ्दै बसेका हुन्छन् रे । 

किराँतिछापको बारेमा बुझ्न पत्रकार आएका छन् भन्दै छिमेकीले भन्दा जर्वसिंहको अनुहारमा नौ मुजासहित नौथरी तर्कना आएथे होलान । हामीलाई देखेर जब उनी मन्द मुस्कानसहित गफिन थाले समयले नेटो काटेको उनलाई पत्तै भएनछ । गफ सकेर उठ्ने बेला भन्दै थिए – ओ हो ! समय त घर्कीसकेछ । 

जर्वसिंह बाको कुराले जीवन र म पनि कम्ता मोहित भएका थिएनौँ । हामीसँगै पुगेका मजदुर नेता महेन्द्रजी किराँतिछाप बजारको सडकमा हाई काट्दै फेरो लाइरहेको हामीलाई थाहै भएन । यो पटकको किराँतिछाप भ्रमणले अर्को एउटा तथ्य भेटियो । बूढा भीमसेन र चरिकोट चरिघ्याङबीचको साइनो । चरिघ्याङ गुम्बासँगै एउटा ठूलो रुखमुनि भिमेश्वरको आकृति कोरिएको शिला रहेको छ ।

 त्यस्तै शिला बूढा भिमसेन मन्दिरमा पनि देखिन्छ । चरिघ्याङको शिला सातौ शताब्दितिर दोलखाका राजा हायहायले राज्यमा असिना रोक्न ल्याएको लामालाई चरिघ्याङमा बस्न पठाउँदा पूजा गर्नु भनी सँगै दिएर पठाएको भन्ने किंवदन्ति पाइन्छ । उक्त किंवदन्तिलाई पछ्याउने हो भने किराँतिछापमा किराँतहरूको राज्य १३ औ १४ औँभन्दा अघि सातौ शताब्दि तिरै अस्तित्वमा थियो भन्ने आधारसमेत भेटिन्छ ।

पौराणिक किंवदन्तिसँग जोडिएको किराँतिछापको दसैँैमा म साँस्कृतिक परम्परा र आधुनिक प्रविधिको मिश्रण खोजिरहेको थिएँ । तर त्यो कसरी सम्भव हुन्थ्यो र ! पौराणिक संस्कार किराँतिछापको बासिन्दाको सम्झनामा त धुमिल हँुदै थियो भने त्यसको अवशेष अहिले खोज्नु सुनको हात्तिको खोजे बराबर थियो । 

किराँतिछाप किराँत राजाको राज्य भएर मात्र महत्वपूर्ण हैन । थामी र राई जातिको इतिहास पनि किराँतिछापसँग जोडिएर अघि बढेको छ । किराँतिछापबाट नाम्दुतिर लागेकाहरू राई र सुष्पाको राङराङथलीतिर लागेकाहरू थामी भएको किंवदन्ति अध्येताहरूको लागि महत्वपूर्ण छ । तर यसको तथ्यगत खोजी चाँडो हुनु जरुरी छ । नत्र यो तथ्य पौराणिक दन्त्यकथा मात्र बन्ने निश्चित छ । किनभने तथ्यगत किंवदन्ति जान्ने पाका अब थोरै मात्र छन् । उनीहरूले आफ्ना पुर्खाबाट सुनेको किंवदन्ति हुबहु नयाँ पुस्तामा सम्प्रेषण हुन सकेन भने त्यो अधकल्चो पौराणिक कथा बन्ने छ र भोलिको पुस्ताले एउटा सत्य नामसँग जोडिएको असत्य दन्त्यकथा मात्र सुन्ने छन् । 

दसैँैको माहौलमा हेलिँदै किराँतिछाप पुगेका हामी पत्रकार भन्ने थाहा पाएपछि केही स्थानीयले गुनासो पनि गर्नुभयो । उहाँहरूको गुनासो रहेछ, दैनिक ज्यालादारीमा काम गर्दा सरकारी दर रेटअनुसार पारिश्रमिक नपाउनु । कतिसम्म भने सरकारी काम गर्दा पनि सरकारले तोके बमोजिमको पारिश्रमिक नपाउने ।

हामीले यो कुरा उठाउने मुखले आश्वासन त दियौँ तर मनमनै भने किराँतिछापको ऐतिहासिक तथ्यलाई उजागर गर्दै त्यसको पौराणीक महत्वलाई जोगाउन सक्यौँ भने के किराँतिछापका बासिन्दालाई दैनिक ज्यालादारीमा काम गर्नु पर्ने अवस्था रहन्छ र भन्ने कल्पना गर्यौँ ।

किनकि स्वदेशी तथा विदेशी अध्यताहरूको चहलपहलले किराँतिछापमा नयाँ अवसर र रोजगारी सिर्जना गर्नेथियो । किराँतहरूको दरबार, धरमघरमा रहेको किराँतहरूको धर्मघर, ऐतिहासिक र अनुकरणीय संस्कार संस्कृति, भाषा तथा लिपीहरू जे जति र जुन अवस्थामा रहेको छ त्यसको संरक्षण र प्रर्वद्धन गर्ने भने त्यसैले किराँतिछापलाई साँस्कृतिक पर्यटकीय गन्तव्य बनाउने थियो ।  यतातिर कसको ध्यान जाला ?
     
   
 



Author

थप समाचार