विचार

टिप्पणी

भारत भ्रमणबाट सेनापति शर्माको सन्देश

चन्द्रशेखर अधिकारी |
कात्तिक ३०, २०७८ मगलवार १७:४० बजे

काठमाडौँ - प्रधान सेनापति प्रभुराम शर्माको शुक्रबार सम्पन्न औपचारिक भारत भ्रमणलाई नेपाली सेनाले दुई मुलुकबीचको सम्बन्ध नजिक ल्याउन र एक अर्कामा थप स्पष्ट हुन सबल र उत्कृष्ट रहेको भन्दै आन्तरिक समीक्षा गरेको छ । मानार्थ उपाधि लिने–दिने यो प्रचलनलाई एउटा परम्परागत थितिका रूपमा लिइएको भए पनि यो भ्रमणले सैन्य सम्बन्ध मात्र होइन, मुलुककै सम्बन्ध उत्कृष्ट पार्न मद्दत गर्ने निष्कर्ष नेपाली सेनाको छ । पछिल्लो समय नेपाली सेनालाई भारतले रणनीतिक महत्वको मुलुकमा रहेको सेनाको दृष्टिबाट समेत नियालिरहेको छ । जसले गर्दा यहाँ सैन्य प्रतिस्पर्धा बढ्ने आँकलन पनि उनीहरूमा छ ।  

नेपाल र भारतबीच पछिल्लो समय देखापरेको सम्बन्ध खासै ‘लिक’मा छैन । हुन त नेपाल र भारतको सम्बन्ध केही समय राम्रो भएजस्तो हुन्छ अनि पुनः बिग्रने गर्छ । जे जे भनिए पनि केही समययता नेपाल-भारत सम्बन्ध बिग्रिएकै छ । भारतले प्रधान सेनापति शर्मालाई पदभार ग्रहण गरेको दुई महिनामा नै नयाँ दिल्लीमा बोलाएर मानार्थ दिएर उच्च राजनीतिक भेटघाटमा सक्रिय बनाउनु आफैँमा सम्बन्ध सुधारको संकेत हो । यस्ता भ्रमणलाई परम्परागत रूपमा मात्र लिने होइन, समय अनुकूल मुलुक हितमा उपयोग गर्न सरकार चुक्न हुँदैन । यसपटक सरकार नचुकेको देखिएको छ । 


नेपाल र चीनसँगको सम्बन्धलाई समेत ध्यानमा राखेर भारतले नेपाली सेनालाई सधैँ महत्व दिने गर्छ नै, यो कतै छिपेको छैन । साढे पाँच दशक अघिसम्म चीनको सीमामा नै नेपालतर्फ रहेर भारतीय सेनाको पोस्ट नै राखेको भारतले त्यतिको चासो दिनु स्वाभाविक नै हो । नेपालसँग भारत पछिल्लो समय चिढिएको र सम्बन्ध बिगँ्रदै गएको भनिरहँदा त्यसलाई जवाफ दिने हेतुले यो भ्रमण छिटो भएको सन्देश नयाँ दिल्लीले दिइरहेको छ । 

अनि भारतले प्रधान सेनापतिलाई नयाँ दिल्लीमा दिएको महत्व र अन्य व्यस्तताको बाबजुद भएका राजनीतिक छलफल पनि मुलुकका लागि महत्वपूर्ण मान्न सकिन्छ । यो भ्रमणले नेपाल र भारतको सम्बन्ध र सहकार्य अघि बढ्ने र तत्काल उच्च राजनीतिक भ्रमण हुने आधार पनि तय गरेको बुझाइ परराष्ट्र अधिकारीको छ । मानार्थ जनरलको पद्वी लिनका लागि प्रधान सेनापति शर्मा भारत गएका भए पनि सरकारको राजनीतिक सन्देश पनि उनले बोकेका थिए । 

भारतको औपचारिक भ्रमणमा गएका प्रधान सेनापति शर्मा प्रफुल्ल मुद्रामा शुक्रबार स्वदेश फर्किए । उनको भ्रमणबारे ठूलै समीक्षा हुन नपाए पनि ‘कोर’ टिममा भएको समीक्षामा भ्रमण अति नै उपयोगी र मुलुकहितका लागि एउटा इँट्टा थप्ने काम भएको बुझाइ सेनाको छ । उनले चार दिने भ्रमणका क्रममा राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह मात्रै लगाएनन्, प्रभावशाली राजनीतिक र रणनीतिक व्यक्तिहरूसँग लामो भेटघाट नै गरे । 

यसरी भेट्नेमा रक्षामन्त्री राजनाथ सिंह, विदेशमत्री एस जयशंकर, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल र प्रधानसेनापतिका आफ्ना समकक्षी एम एम नरवणेसँग मात्र होइन तीन सेनाका प्रमुख विपिन रावतसँग समेत उनले दुई पक्षीय र बहुपक्षीय विषयमा छलफल गरे । सेनालाई दिने सहयोगदेखि दुईपक्षीय अन्य सहयोग र सहकार्यका विषयमा छलफल भयो । उनले कोर्स गरेको कलेजको सम्मान अर्को पाटो छँदै छ । दिल्लीमा मात्र सीमित भएको भए पनि राजनीतिक भेटघाटले यो भ्रमणलाई भारतको तर्फबाट नै निकै महत्व दिएको देखिन्छ । भारतीय मिडियाले पनि प्रधानसेनापतिको भ्रमणलाई सम्बन्ध सुधारको एक मानकका रूपमा नै प्रस्तुत गरेको छ । 

भारतमाथि सधैँ उठ्ने प्रश्न हो, ऊ छिमेकसँग किन नजिकिन सकिरहेको छैन ? तर त्यो प्रश्न उठिरहँदा कसरी टाढा र कसरी नजिक भन्ने गहिराइमा पुग्ने मानक पनि छैन । किनकि केही महिना नजिक हुन्छ केही महिना टाढिन्छ । यस प्रकारको सम्बन्ध र व्यवहार भारतको यस क्षेत्रमा नै छ । अहिलेको तामझाम, महत्व र छलफल नियाल्दा नेपाल-भारत सम्बन्ध निकै नजिक देखिन्छ । विपिन रावतको नेपाल भ्रमण हुने चर्चा होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी होस्, सबै विषयलाई केलाउँदा पनि यो भ्रमण उपयोगी र त्यसका लागि मार्गप्रशस्त गराउने खुड्किलाका रूपमा लिन सकिन्छ । 

भारत नेपालसँग टाढिन यसको जनस्तरको सम्बन्धले पनि दिँदैन । यो भ्रमण अन्य नियमित भ्रमणभन्दा उपल्लो नै देखिएको छ । हुनत यस भ्रमण अघि नेपाल र भारतबीच १४ सुरक्षा बैठक बैंग्लोरमा भएको थियो । त्यहाँ उठेका विषयको निदानका उपाय खोज्ने काम यो भ्रमणमा भएको छ । यसपछि हुने उच्चस्तरको भ्रमणले त्यस्ता असहजता चिर्ने आँकलन पनि भइरहेको छ ।

भारत र चीन तथा भारत–पाकिस्तानबीच देखिएको तनाव र यस क्षेत्रमा भएको सैनिकीकरणको परिवेशमा प्रधान सेनापति शर्माले पाएको महत्व आफैँमा अर्थपूर्ण छ । 

 

 

भारत र नेपालबीच रहेको सैन्य सम्बन्धलाई थप सुदृढ तुल्याउन यो भ्रमण उपयोगी भएको देखिन्छ । बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा भारतले आफूलाई यस क्षेत्रको नेताका रूपमा प्रस्तुत गरिरहँदा आफ्ना छिमेकलाई दिनुपर्ने सम्मान र साथमा भारत चुक्न हुँदैन । क्षेत्रीय सुरक्षा वातावरण खलबलिएको छ । अफगानिस्तानको विषयमा अलमलिएको भारतले नेपालका सेनापतिलाई ध्यान दिनु अर्थपूर्ण रुपमा लिनुपर्छ । नेपालभित्रको राजनीतिक अवस्था पनि निकै तरल छ । अहिले एउटा अंगमा गम्भीर चोट लागेको छ । रामशाहपथमा दिनहुँ कालोकोटको नारा जुलस र धर्ना छ । त्यो सबै बुझेको नयाँ दिल्लीले उनलाई भारतमा बोलाएर पक्कै मानार्थ मात्र दिएको छैन, सन्देश पनि दिएर पठाएको छ । उनी पनि राष्ट्रपति र रक्षामन्त्रीका सन्देश बोकेरै गएका थिए । 

यो भ्रमणलाई परम्परागत भ्रमणको कोटीमा मात्र राख्न नमिल्ने धारणा सेनाभित्रै छ । भारत र चीन तथा भारत–पाकिस्तानबीच देखिएको तनाव र यस क्षेत्रमा भएको सैनिकीकरणको परिवेशमा प्रधान सेनापति शर्माले पाएको महत्व आफैँमा अर्थपूर्ण छ । नेपाल–चीन सम्बन्ध भारतविरुद्ध उपयोग हुन्छ कि भन्ने पुरानो मानसिकतामा डुबेको भारतले सैन्य सम्बन्धमार्फत राजनीतिक सम्बन्धलाई थप विश्वासमा लिने कोणमा पुगेको देखिन्छ । यो भ्रमणले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पनि योगदान पुग्नेछ भन्ने अपेक्षा राखिएको छ । त्यस अलवा शान्ति सेनामा क्षेत्रीय उपस्थिति जनाउने जस्ता कार्यबारे पनि छलफल भएको छ । 

प्रधान सेनापति शर्माको भ्रमण यहाँभन्दा भारतमा बढी बहस भएको छ । भारतीय पत्रिकाले पनि यस विषयमा निकै लेखेका छन् । नेपाललाई भारतले चिढ्याउन नहुने विषय भारतीय नेतृत्व वर्गमा समेत बढ्दो छ । यसले पनि स्पष्ट हुन्छ, भूराजनीतिक सन्दर्भमा भारतले नेपाली सेनालाई बढी महत्व दिएको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आएदेखि नै भारतसँग सम्बन्ध गाढा बनाउने प्रयासमा थिए । त्यसमा नेपाली पक्षबाट जति पहल भएको थियो, त्यहीअनुरूपको पहल भारतबाट पनि भएको संकेत यो भ्रमणले दिन्छ । 

नेपाली सेना नेपालको मात्र होइन, विश्व राजनीतिमा कहीँ कतै संलग्न छैन । तर अन्तर्राष्ट्रिय सुरक्षाका सन्दर्भमा सेना नै निर्णायक शक्ति रहेको हुनाले नेपाली सेनासँग भारतको सम्बन्ध अत्यन्त राम्रो भएको सन्देश पनि यो भ्रमणबाट गएको छ । सैन्य प्रमुख र राजनीतिबीच भएका सबै संवाद बाहिर नआएको अवस्थामा अधिक कुरा उनीहरूले दिएको विज्ञप्ति र भावभंगीबाट पनि स्पष्ट हुन सक्छौँ । हुन पनि भारतले दुई पक्षीय सुरक्षा बैठक बैंग्लोरमा राखेर नै नेपाल र भारतको सेनाबीचको सहकार्य र मित्र भावलाई अघि बढाउने प्रयास गरिसकेको थियो । 

भारतीय स्थल सेनाध्यक्ष नरवणे २०७७ कात्तिकमा नेपाल आएका थिए । उनको सम्मान रथीका हैसियतमा शर्माले गरेका थिए । अहिले उनै शर्मालाई नरवणेले निमन्त्रणा दिएर सम्मान र दुईपक्षीय वार्तासमेत गरेनन् अन्य भेटघाटसमेत मिलाउने काम गरे । शर्मा यस अर्थमा पनि भाग्यमानी प्रधानसेनापति हुन सम्मान नेपाल र भारतका सेना प्रमुखलाई एक-अर्काे मुलुकको मानार्थ महारथी मान्ने प्रचलन अनुरूप विभूषित हुने शर्मा १६औँ प्रधानसेनापति हुन् भने नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित हुने स्थल सेनाध्यक्ष नरवणे २२औँ हुन् । नेपाल-भारत सीमा मात्र अनौठो होइन, यस्ता सहकार्य धेरै सुन्दै कूटनीतिमा अचम्म लाग्ने प्रकारका छन् ।
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x