विचार

निरञ्‍जनगोविन्द वैद्य र पुस्तक

नीरज लवजू |
मंसिर ६, २०७८ १३:१ बजे

स्कुले विद्यार्थी छँदा हाम्रो एउटा संगठन थियो- विद्यार्थी हित समिति । त्यो समितिको एउटा सानो पुस्तकालय पनि थियो । पुस्तकालय त के भनूँ र- साना-ठूला गरी एक सयवटा जति पुस्तकको सङ्ग्रह थियो । तीमध्ये कति पुस्तक हामीमध्येकै साथीहरूले राखेका थिए भने केही हामीले समितिको कोषबाट किनेका थियौँ । अधिकांश पुस्तक चिनियाँ क्रान्तिकारी साहित्यका नेपाली वा अङ्ग्रेजी अनुवाद थिए ।

नेपाली अनुवाद अलि कम थिए । प्रायश: अङ्ग्रेजी पुस्तक थिए । पुस्तक किन्‍न हामी काठमाडौँको कमलादीस्थित निरञ्‍जनगोविन्द वैद्यको घरमै पुग्थ्यौँ । पहिला उहाँको पुस्तक पसल भोटाहिटीमा थियो भन्‍ने अग्रजहरूका संस्मरण सुने पनि हामीले थाहा पाउँदासम्म वैद्यले आफ्नै घरको एउटा कोठामा पुस्तक थुपार्नुभएको थियो । ज्येष्ठ उमेरका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक निरञ्‍जनगोविन्द वैद्य आफैँ आएर पुस्तक राखिएको कोठा खोल्नुहुन्थ्यो । पुस्तकका र्‍याकले छेलिएर झन्डै अँध्यारो बनेको कोठामा हामी पुस्तक छान्थ्यौँ ।


हामी सकेसम्म आकारमा बाक्लो पुस्तक छान्थ्यौँ । त्यसो गर्नु पछाडि त्यतिबेला दुईवटा मनोविज्ञानले काम गरेको जस्तो लाग्छ : पहिलो, हामीलाई बाक्लो पुस्तक किनेर साथीहरूबीच ‘पढैया’ देखाउनु थियो र दोस्रो बाक्ला बाक्ला पुस्तक पनि निकै सस्तो मूल्यमा पाइने भएकाले हामीले ती बाक्ला पुस्तक छानेको हुनुपर्छ ।

पातलो कायाका निरञ्‍जनगोविन्द वैद्य छेलिएका वा चाङमा तल परेका अनेक थरी पुस्तक निकालेर हामीलाई देखाउनुहुन्थ्यो । पुस्तकको आवरणमा जम्मा भएको धुलो झार्दै उहाँ कतिबेला पुस्तकसँग सम्बन्धित स्मरण पनि सुनाउनुहुन्थ्यो । त्यही क्रममा एक दिन उहाँले भियतनामी कथा सङ्ग्रह ‘आइभोरी कोम्ब’ पढ्न सिफारिस गर्दै आफ्नो भियतनाम भ्रमणको कुरा सुनाउनुभएको थियो । भियतनामी साहित्यको नाममा ‘न्युगेन भान त्रोएको जीवनी’ र ‘अजम्बरी गाउँ’बाहेक केही नपढेका हामीलाई ‘आइभोरी कोम्ब’ हात लाग्दा नयाँ खजाना भेटिएको अनुभव भएको थियो । अङ्ग्रेजी भाषाको अल्पज्ञानले त्यत्तिबेलै त त्यो कथा सङ्ग्रह पढ्न सकिएन । तर, केही वर्षअघि पढ्दा त्यसका कथाहरूले दिमागमा अमिट खालको छाप पारेको छ । विशेषत: भियतनाम युद्धका कुरा सुन्दा वा पढ्दा ती कथामा वर्णित दृश्य आँखाअघि झलझली घुम्‍न थाल्छन् । 

सुरु सुरुमा पुस्तकको मोटाइले आकर्षित गरे पनि समयान्तरमा हामीलाई पुस्तकको मोटाइभन्दा लेखक र विषयवस्तुले आकर्षित गर्न थाल्यो । चीनको विदेशी भाषा प्रकाशन गृहले प्रकाशित गरेका माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्से तुङका क्लासिकहरू त्यहीँबाट किन्यौँ । अब हामीले समितिको कोषबाट पुस्तकालयलाई र आफूले सञ्चय गरेको पैसाले आफ्नै लागि पनि पुस्तक किन्‍न थाल्यौँ । 

मेरा समकालीन साथीहरूमध्ये अधिकांशका घरमा अहिले पनि सानो आकारकै भए पनि पुस्तकको संकलन देख्छु ।

त्यत्तिबेला किनेका पुस्तकमध्ये अझै पनि कति पुस्तकहरू पढिन आफ्नो पालो कुरेर बसेका छन् । कति पुस्तकमा भने रातो मसीले सिन्दुर लगाइसकेको छु । प्रजग कोरियाका नेता किम इल सङका तस्बिर र प्योङयाङका विभिन्‍न ठाउँका तस्बिर सम्मिलित बाक्ला पुस्तकहरू बाहेक वैद्यको पुस्तक भण्डारमा त्यत्तिबेला कोरियाली साहित्य भने त्यत्ति देखेनौँ । 

वैद्यको निधन पछि पनि कहिलेकाहीँ वैद्य निवास पुग्दा उहाँका छोरा शिशिर वैद्यले त्यो कोठा खोल्नुहुन्थ्यो । शिशिर दाइ हामीलाई पुस्तक मात्र बेच्नुहुन्‍नथ्यो, बरु हामीसँग गफ पनि गर्नुहुन्थ्यो । उहाँ आफैँ पत्रपत्रिकामा लेखिरहनुहुन्छ । सम्भवत: परिवारका लागि कोठा नपुगेर हुनुपर्छ, पछि पछाडिको घरको एउटा कोठामा पुस्तक थुपारियो । हामी पुस्तक किन्‍न जाँदा शिशिर दाइ वैद्य बाजत्तिकै खुसी हुनुहुन्थ्यो र हामीलाई पुस्तकमा अङ्कित मूल्य (जो समयान्तरमा निकै सस्तो भइसकेको थियो) मा बेच्नुहुन्थ्यो ।

जसोतसो जम्मा गरेको हजार रुपैयाँको पनि हामी झोलाभरि पुस्तक बोकेर फर्किन्थ्यौँ । त्यसरी वैद्य बाको घरबाट किनेका पुस्तकहरू कोठामा चिटिक्क सजाउन पाउँदा गौरव लाग्छ । मेरा समकालीन साथीहरूमध्ये अधिकांशका घरमा अहिले पनि सानो आकारकै भए पनि पुस्तकको संकलन देख्छु । विभिन्‍न जिल्लामा पुस्तकालय खोल्न साथीहरूले सल्लाह माग्दा हामीले त्यहीँबाट पनि उपयोगी पुस्तक सस्तो मूल्यमा किनेर दियौँ ।

पछि हुँदो, त्यहाँ नेपाली भाषाका पुस्तक त्यत्ति थिएन । अङ्ग्रेजी भाषामा पुस्तक मात्र थिए । तै, हिजोआजका विद्यार्थीहरू अङ्ग्रेजीमा पढ्न पनि सिपालु भएकाले ती पुस्तक पनि निकै उपयोगी भएका छन् । वैद्यको घरबाट सस्तो मोलमा पुस्तक किनेर काठमाडौँकै केही किताब पसलेहरूले तेब्बर मूल्यमा पुस्तक बेचेको पनि हामीले देख्यौँ ।

भक्तपुरको खौमा (मास्टर जगतसुन्दर मल्लको प्रतिमाअघि) मा एउटा सानो पसलको कबलमा एक जना बूढो मान्छे गलबन्दी लगाएर पुस्तक बेचिरहेका हुन्थे । पुस्तक र पत्रपत्रिकाका रासबीच उनी एउटा बाक्लो चकटीमा बसेका हुन्थे । पसलबाहिर कोही न कोही मान्छे पत्रिका पढिरहेको हुन्थ्यो । नेपालभाषाका पत्रिका पनि बेचिने भएकाले त्यहाँ साँझपख भाषा आन्दोलनमा लागेका मानिसहरू पनि चिया खाँदै गफिरहेका हुन्थे । तर, हाम्रो मूल चासो भने त्यहाँ भएका विभिन्‍न प्रगतिशील विदेशी पुस्तकमा थियो । निरञ्‍जनगोविन्द वैद्यको भण्डारमा जस्तै त्यहाँ पनि चिनियाँ साहित्यका अनुवादहरू पाइन्थ्यो । अनि प्रगतिशील नेपाली पुस्तक पनि ।  

पुस्तक पसलका साहुको नाम जनप्रसाद मित्र भएको हामीले पछि मात्र थाहा पायौँ । एक दिन उनले माओ त्से तुङको ‘जनताको सेवा गर’, ‘पहाड पन्छाउने मूर्ख बूढो मान्छे’को नेपालभाषाको अनुवाद देखाउँदै भने, “लौ यो पनि पढ ।’ त्यसको अनुवादक उनै थिए- जनप्रसाद मित्र । 

सुरु सुरुमा उनले हामीलाई सशंयको आँखाले हेरेको अनुभव हुन्थ्यो किनभने हामी उमेरले साना भए पनि उनीसँग भएका बाक्ला बाक्ला गम्भीर विषयका पुस्तक माग्थ्यौँ । हामी पसलको नियमित ग्राहक बनेपछि भने उनी हामीसँग खुल्न थाले । पहिला ‘फलाना पुस्तक छ ?’ भनी सोध्दा ‘छैन’ भनी रुखो जवाफ दिने साहुजीले पछि पछि ‘घरमा फलाना फलाना पुस्तक छन्, तिमीलाई ल्याइदिऊँ ?’ भन्‍न थाले । प्रगतिशील साहित्य भण्डार नाम राखिएको त्यो पुस्तक पसलबाट हामीले विशेषत: चिनियाँ लेखकहरूका बालसाहित्यहरूको अङ्ग्रेजी अनुवाद किन्यौँ । ‘दे वेयर थ्री’, ‘सन्‍नी होलिडे’ जस्ता पुस्तकका बालकथाहरू हामीले त्यत्तिबेला नै पढ्यौँ । त्यस्ता कथाहरूले हामीलाई विभिन्‍न गतिविधि गर्न ऊर्जा प्राप्त हुन्थ्यो । 

हामी सकेसम्म आकारमा बाक्लो पुस्तक छान्थ्यौँ । त्यसो गर्नु पछाडि त्यतिबेला दुईवटा मनोविज्ञानले काम गरेको जस्तो लाग्छ : पहिलो, हामीलाई बाक्लो पुस्तक किनेर साथीहरूबीच ‘पढैया’ देखाउनु थियो र दोस्रो बाक्ला बाक्ला पुस्तक पनि निकै सस्तो मूल्यमा पाइने भएकाले हामीले ती बाक्ला पुस्तक छानेको हुनुपर्छ ।

पछि हुँदो, जनप्रसाद मित्र प्रगतिशील साहित्य भण्डारमा ग्राहक घटेको दु:खेसो सुनाउँथे । एउटा रोचक प्रसङ्ग । मित्रको पसलबाट एक पल्ट हामीले केही सय रुपैयाँको पुस्तक उठायौँ । केही सयको पुस्तक पनि धेरै नै हुन्थ्यो । पुस्तक उठाए पनि हामीसँग गोजीमा पैसा भने थिएन । त्यसैले उधारोमै किताब लाने प्रस्तावलाई मित्रले स्वीकारे पनि ।

त्यत्तिबेलासम्म हामी उनका नियमित ग्राहक बनिसकेका थियौँ । तर, आम्दानीको नाममा बुवाआमाले दिने पैसाभन्दा केही नभएको त्यो बेला केही सय रुपैयाँ जम्मा गर्न पनि धौ धौ थियो । हामीले हप्ता दिनमा पनि पैसा जम्मा गर्न सकेनौँ । खौमाको बाटो भएर हिँड्दा सुरुसुरुमा पसलतिर मित्रलाई हेर्दै मुसुक्क हाँसेर जान्थ्यौँ । निकै दिन बितिसक्दा पनि पैसा तिर्न नसक्दा हामीलाई त्यो बाटो हिँड्नै अप्ठ्यारो लाग्यो । जानैपर्ने अवस्थामा पनि मित्रको पसलअघि पुग्दा मनको ढुकढुकी बढ्थ्यो । पछि पछि हामी सकेसम्म त्यो बाटो नै हिँड्न छौड्यौं । 

मित्रले हाम्रै साथीहरू किताब किन्‍न जाँदा पैसाको कुरा उठाएका रहेछन् । एक जना साथीलाई म भन्ठानेर खुब गाली पनि गरेछन् । तर, आफूले पैसाको जोहो गर्नै सकेको थिइनँ । अन्तत: दसैंमा जसोतसो पैसा जम्मा गरेर पुस्तकको पैसा तिर्न गएँ । त्यसै त रुखो देखिने त्यो अनुहार यति लामो समय पैसा नतिर्दा अझ भयानक हुने भय मनमा लिएर गएको थिएँ । तर, उनले मलाई खासै केही भनेनन् । म एकाध केही अरू पुस्तक लिएर फर्कें । घरमा हिजोआज उनको पसलबाट किनेका ती पुस्तक देख्दा त्यो घटना सम्झिहाल्छु ।

सायद मित्र पछि बिरामी परे कि- पसलमा बस्न छोडे । पछि पछि उनका छोरा पसलमा बस्न थाले । छोरो बस्दा पनि पसल जाने क्रम चालु रहे पनि त्यहाँ जाने क्रम क्रमश: कम हुँदै गयो । बर्खी बाँधेका उनका छोरालाई देखेपछि उनको निधन भएको अनुमान गरेँ । पछि त्यहाँ पुस्तक पसल नै रहेन । हिजोआज त्यहाँ दही पसल राखिएको छ । 



Author

थप समाचार