हिजोका सर्वहारा केपी आज आँगनमा दुई-चार सय जयजयकार गर्ने मानिस हुनैपर्ने भए
केपी ओली जेलमा बसुन्जेल राष्ट्रभक्त युवा थिए । महाकाली सन्धिसम्म उनको यो छवि चम्किरह्यो । त्यसपछि भने क्रमशः उनको छविमा दाग देखिन थाल्यो । महाकाली सन्धिकै सेरोफेरोदेखि उनको सम्बन्ध बाह्य शक्तिसँग स्थापित भएको हो । अहिलेका केपी र संघर्षका दिनका केपीबीच अतुलनीय बदलाव देखिन्छ । उहिलेका केपीमा देशप्रेम थियो । पार्टीप्रेम थियो । साथीप्रेम थियो । निःस्वार्थी थिए । प्रस्ट वक्ता थिए ।
राजनीतिमा आबद्ध भएको सुरुवाती चरणदेखि नै केपी शारीरिक रूपमा धेरै क्रियाशील नभए पनि चिन्तनगत रूपमा निश्छल र ऊर्जाशील थिए । तर, अहिलेका केपीले विगतका दुःखका दिन सितिमिती सम्झन छोडेका छन् । बरु बाल्यकालदेखि नै सम्पन्नतामा हुर्केको कथा सुनाउन कसिन्छन् ।
अहिलेका केपी र संघर्षका दिनका केपीबीच अतुलनीय बदलाव देखिन्छ ।
केपी बदलिएको देख्दा म जेल बस्दाकै एउटा घटना सम्झन्छु । हामी सेन्ट्रल जेलमै छँदा चौकीदार थिए, करवीर थापा । भोजपुरतिरका करवीर श्रीमती मारेको मुद्दामा जेल परेका थिए । दुःख र गरिबीले पिल्सिएका युवा थिए, करवीर । उनी चौकीदार भएपछि ७/८ सय बन्दीहरूको सागसब्जी, मासु र रासनमा बजार नियन्त्रण गर्न सक्ने भए । अर्थात्, कैदीलाई चाहिने सामानको आपूर्तिकर्ता भए, करवीर ।
यसपछि बन्दीहरूको खानेकुराको मात्रामा तलमाथि पारेर उनले ठूलै रकम कमाए । बन्दीहरूको चर्को शोषण उनको पेसाजस्तै बन्यो । हाम्रै सामुन्ने अरूले फालेको ठुटो र जुठो बिंडी मागेर खाने करवीर रुपैयाँ कुम्ल्याएपछि भन्न थाले, “बाले घरमा याक चुरोट किन्न पठाउँदा पठाउँदै त्यही पिउने बानी बस्यो । अहिले नि याकबाहेक अरू तान्नै मन लाग्दैन ।’
उहिलेका केपीमा देशप्रेम थियो । पार्टीप्रेम थियो । साथीप्रेम थियो । निःस्वार्थी थिए । प्रस्ट वक्ता थिए ।
समय बदलिँदै गएपछि केही मानिसहरुमा आफ्नो अतीत पनि बदलिएको भान पर्दोरहेछ । त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा दुई चार सय जयजयकार गर्ने मानिसहरु भएनन् भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् । आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ ।
केपीको सुन्दरता के भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसँग च्याप्छन् । प्रधानमन्त्री बनेपछि उनले देश विकास र समृद्धिको सपना देखाइदिएका छन् । सपना पूरा भएको दिन नेपालीले अवश्य केपीलाई सम्झने छन् ।
(राधाकृष्ण मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’बाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया