विचार

विज्ञ विचार

‘ओमिक्रोन भेरियन्ट’बारे तथ्य कम, अनुमान बढी

डेल्टाभन्दा ओमिक्रोन कमजोर छ वा कडा छ ?

डा.शेरबहादुर पुन |
मंसिर १५, २०७८ बुधवार ८:० बजे

दक्षिण अफ्रिकामा ‘ओमिक्रोन भेरियन्ट’ देखिएपछि नेपालमा पनि त्यसको त्रास बढ्न थालेको छ । यसलाई लिएर विभिन्न किसिमका शंका, उपशंका र अफ्वाहहरू फैलिरहेका छन् । ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ मा राखेको छ । तर, यसबारे भने धेरै तथ्य बाहिर आइसकेको छैन । 

अहिले यत्तिकै अनुमानको भरमा केही भन्न सकिँदैन । अनुसन्धानबाट आएका तथ्यको आधारमा मात्र भन्न सकिन्छ । अहिलेको अवस्थामा ओमिक्रोनलाई लिएर तथ्य कम छ, अनुमान धेरै गरिएको छ । 


ओमिक्रोन भेरियन्टको स्पाइक जीनमा अत्यधिक म्युटेसन देखिएको बताइएको छ । म्युटेसन बढी हुँदा एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने क्षमता पनि बढी हुन्छ । म्युटेसन हुँदैमा घातक हुन्छ भन्ने हुँदैन । ओमिक्रोन कति घातक छ भन्ने अहिलेसम्म एकिन भइसकेको छैन । विश्वमै अहिले यो चासोको विषय बनेको छ । यस्ता खालका अनुमान ‘डेल्टा भेरियन्ट’मा पनि गरिएको थियो । त्यसैले पनि अहिले ओमिक्रोन डेल्टाभन्दा कमजोर छ वा कडा छ भनेर भन्न सकिने अवस्था छैन । 

हाल उपलब्ध अधिकांश खोप कोभिडको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन् । अहिले खोपको प्रभावकारीतालाई लिएर पनि थुप्रै द्धिविधा र अनुमानहरू उत्पन्न भएका छन् । खोपले कामै नगर्ने हो कि भनेर धेरै शंका, उपशंकाहरू उठिरहेका छन् । तर, सत्य, तथ्य कुरा बाहिर आएको छैन । यी सबै प्रश्नको जवाफ पाउन केही समय पर्खनुपर्ने देखिन्छ । यसको मतलब केही नगरी बस्ने अवस्था भने छैन । किनभने कमजोर भए त ठिकै छ । गम्भीर देखियो भने समस्या हुन्छ । पूर्व तयारीमा चुक्दा विगतमा पनि हामीले ठूलो मुल्य चुकाइसकेका छौँ । 

नेपालमा मुख्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल-भारत खुला सीमानाबाट ओमिक्रोन भित्रिने सम्भावना बढी छ । विगतमा पनि यी दुई ठाउँबाट कोभिड भित्रिएको थियो । भारतमा फैलिन सुरू भयो भने नेपाललाई त्यसबाट रोक्न गाह्रो छ । त्यसैले सरकार र जनता दुबैले आफ्नो तर्फबाट गर्ने जति पूर्व तयारी गर्‍यो उति सुरक्षित हुने सम्भावना रहन्छ ।

ओमिक्रोन २६ नोभेम्बरमा बल्ल पुष्टि भएको हो । त्योभन्दा अगाडि धेरै मानिसहरू संसार घुमिसके । त्यसैले, यो नेपाल भित्रिएको छैन भन्ने अवस्था छैन । त्यसको लागि परीक्षण थाल्नुपर्छ । अहिले पनि संक्रमितको संख्या शुन्य भइसकेको छैन । तर, जमघट र जनस्वास्थ्यको मापदण्ड घट्दो छ, जोखिम बढ्दो छ । सबैले खोप लगाउन पाएको अवस्था पनि छैन । पहिला कोभिड नभएका र खोप नलगाएकालाई बढी जोखिम छ । 

कोभिडलाई चटक्कै बिर्सिहाल्ने बेला आएको छैन । सावधानी अपनाउनेबाहेक अर्को विकल्प छैन । किनभने, धेरै पहिला खोप लगाएकाको एन्टिबडी खस्किसक्यो । तर, पनि पहिलो प्राथमिकता एउटा पनि खोप नलगाएकालाई दिनुपर्छ । अबको भेरियन्टले कुन समूहलाई बढी प्रभावित पार्छ, उनीहरूलाई लक्षित गरेर खोप लगाउनुपर्छ । जसले गर्दा त्यो समूहलाई बचाउँन सकिन्छ । (सरुवा रोग विशेषज्ञ डा. पुनसँग गरिएको कुराकानीमा आधारित ।)


Author

थप समाचार
x