विचार

पुस्तक अंश

बानेश्वरको पीपलको बोट

श्रीहरि अर्याल |
मंसिर १६, २०७८ बिहिवार ८:१ बजे

अहिलेको पुरानो बानेश्वर चोकदेखि शङ्खमूलतर्फ जाने-आउने मूल सडक (देवकोटा सडक) को बीचमा रहेको प्रसिद्ध पीपलको बोट (रूख) सम्भवतः बानेश्वरको सबैभन्दा पुरानो जीवित वृक्ष हुनुपर्छ- नयाँसडकको ऐतिहासिक पीपलको बोट जस्तै । १९५० सालपछि बानेश्वरको त्यसै क्षेत्रमा बस्न थालेका लामिछाने परिवारका वंशजका  दामोदरराज र डा. जनार्दनराज उक्त पीपलको बोट २०० वर्षअघिदेखि त्यहाँ भएको हुनुपर्छ भनेर अनुमान गर्दछन् ।

बानेश्वरका दुई वडाको सिमानालाई छुट्याउने बाटोको बीचमा यो पीपलको बोट भएकोले सवारी साधन चलाउँदा त्यसलाई दायाँ वा बायाँ पारेर आवतजावत गर्नुपर्ने हुन्छ । बेलाबेलामा हुने सडक–विस्तारको क्रममा मूल सडकको चौडाइ केही फराकिलो त भएको छ तर त्यसैको परिणामस्वरूप ऐतिहासिक पीपलको बोटको साबिकको चौतारोको गोलाई अहिले घट्न गएको छ । प्रत्येक शनिश्चरबार, बिहानको झिसमिसेमा उक्त सानो चौतारोको बीचमा रहेको विशाल पीपलको बोटमा जल चढाई पूजा गर्नेहरूको भीड नै लाग्छ ।


बानेश्वर पीपलबोट भनेपछि त्यसलाई नदेख्ने शायदै कोही होला ! अहिले बानेश्वर महादेवस्थानको नाम लिँदा मानिसहरू अलमलिन सक्छन्, तर बानेश्वरको पीपलको बोट भनेपछि त्यसको नाम प्रायः सबैले सुने, बुझेका हुन्छन् । पचास वर्षअघि बानेश्वर छोडेर बाहिरिएको कोही मानिस बानेश्वर फर्की आएमा बानेश्वरको पीपलको बोट र महादेवस्थान देखेपछि उसले बानेश्वरलाई चिन्न सक्छ । 

यी बाहेक साबिक भौतिक संरचनाको आधारमा जोकोहीले बानेश्वरको पहिचान ठम्याउन नसक्ने भइसकेको छ । हिन्दू सभ्यतामा पीपलको बोटको महात्म्य धेरै ठूलो छ । त्यसैले बानेश्वरमा मात्र होइन मुलुकको प्रत्येक भागमा पीपलको चौतारो बनाउने धार्मिक प्रचलन नै छ । हिन्दू धर्ममा पीपलको माहात्म्य धेरै ठूलो भएकोले त्यसको पूजा गर्ने, वर–पीपल रोप्ने, सार्वजनिक स्थानमा तिनका लागि चौतारा बनाउने संस्कृति प्राचीन कालदेखि चलिआएको छ ।

पीपलको बोट भएको स्थान पहिले डरलाग्दो ठाउँ मानिन्थ्यो रे ! त्यताका केही बूढा ! पुराना मानिसहरूले बताएअनुसार त्यस ठाउँमा अनेक किसिमका भूतहरू आउने गर्थे रे ! नीलेन्द्रविक्रमको लागि दरबार बन्नुअघि पीपलको बोट पूर्वतर्फको निजी जग्गामा जोडिएको थियो । 

शङ्खमूलदेखि उत्तरतिरको ट्याक खुलाएको समयमा बाटो सोझ्याउँदै लैजाँदा पीपलको बोटलाई सडकको बीचमा पारेर त्यसमा चौतारो बनाउन लगाएका रहेछन्, जुद्धशमशेरले । वि.सं. १९९६–९७ सालतिर बनाइएको नीलेन्द्रविक्रमको दरबारसहितको कम्पाउण्ड अहिले त्यहाँ बाँकी छैन ।

(श्रीहरि अर्यालको पुस्तक ‘बानेश्वरको सेरोफेरो : अध्यात्म, समाज, संस्कृति’बाट ।)
 


Author

श्रीहरि अर्याल

अर्याल वरिष्ठ अधिवक्ता हुन् ।


थप समाचार
x