आफ्नै शिशु संविधान हत्या गर्ने कसरी अभिभावक ?
नेपालको राजनीतिको दृश्य देखेर एउटा काथ्य वर्तमान अवस्थामा उल्लेख गर्नै पर्छ । त्यो के हो भने एक जना किसान र कुखुराको चल्लाको कथा । कुखुराका चल्ला किसानले पालेको थियो । चल्लाको वजन कम थियो । प्रत्येक दिन बिहानै किसान आउँथ्यो र चल्लालाई दाना खुवाउथ्यो । केही मधुर गीत गुनगुनाएर जान्थ्यो ।
अरू जो त्यहाँ थिए चल्लालाई सम्झाउने कोसिस गर्थे । एक दिन यो किसानले तिम्रो हत्या गर्छ । चल्ला उनीहरूको सल्लाह सुनेर पनि नसुनेको झै गर्थ्यो । चल्ला खाने र आफ्नो वजन बढाउनमा तल्लिन थिए । त्यो दिन आयो जब किसानलाई महसुस भयो चल्लाको वजन बढ्यो र अब काटेर बिक्री गरियो भने बजारले राम्रै प्रतिफल दिन्छ । र काटेर बिक्री गरेर राम्रै मूल्य असुल गर्यो । किसान आफ्नो व्यापार अगाडि बढायो । किसान खुसी र सुखी भयो ।
किसानको खुसी र सुखीको लागि चल्लाले ज्यान गुमाउनु पर्यो । माथि उल्लेख गरिएको काथ्यको भाव गहिरिएर बुझ्नुपर्छ । नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो । सबैभन्दा पुरानो पार्टी हो । र सबैभन्दा लोकतान्त्रिक पार्टी पनि दाबी गर्छ । यो यस्तो पार्टी हो जसको नेतृत्वमा नेपालको सबै राजनीतिक परिवर्तन सम्भव भएको हो ।
बीपी कोइराला, गणेशमान सिंहहरूको त्यो बेलाको संघर्षलाई गहिरिएर हेर्ने हो र बुझ्ने हो भने उहाँहरूको उद्देश्य लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जननिर्वाचित सरकार थियो । बीपीको सरकार लोकतान्त्रिक थियो । सरकार सञ्चालनमा कुनै समस्या थिएन । महेन्द्रको महत्वाकांक्षाले त्यो सरकारलाई सफल हुन दिएन । महेन्द्रको त्यो कदमको राप र ताप दशकौंसम्म कायम थियो । अन्ततः संवैधानिक राजतन्त्रलाई नै समाप्त गरिदियो ।
नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । समयको चक्र न हो । राजतन्त्र समाप्त मात्रै गरेन पूर्ण लोकतन्त्रको परिकल्पना पनि कांग्रेसकै नेतृत्वले गरेको थियो । गिरिजाप्रसादले २०६२/०६३ को आन्दोलनको बेला भन्ने गर्थे अर्को पुस्ताले लोकतन्त्रका लागि अब आन्दोलन गर्नु पर्दैन । हामी देशलाई पूर्ण लोकतान्त्रिक बनाउँछौ । जहाँ सबैको अधिकार सुनिश्चित हुन्छ । संविधान र कानुनभन्दा माथि कोही पनि हुँदैन ।
दम्भी प्रधानमन्त्रीलाई नियन्त्रण र सन्तुलनमा राख्न सक्ने प्रतिपक्षी दल कांग्रेस संविधानको व्याख्या गर्ने जिम्मेवारी अदालतको विश्वासमा छाडेर लेनदेन, भागबन्डाको खेलमा व्यस्त छ ।
पहिलो संविधानसभाको निर्वाचन भयो । चार थान कम्युनिस्ट प्रधानमन्त्री देशले पायो । तर एक थान संविधान पाउन सकेन । देशको अर्बौ नोक्सानी भयो । संविधानसभा नै विघटन गरियो ।
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको नेतृत्वमा कांग्रेस पहिलो दल बन्यो । कोइरालाकै नेतृत्वमा सरकार गठन भयो । प्रतिकूल अवस्थाका बाबजुद संविधान निर्माणको आधार तयार गरे । बहुचर्चित चारबुँदे मार्फत दलहरूलाई सहमतिमा ल्याए । त्यो चारबुँदे सहमति नै संविधान निर्माणको आधार बन्यो । संविधान निर्माण भयो । नेपाली जनताको ७० वर्षदेखिको सपना साकार भयो ।
देशभित्रै संविधानप्रति केही असन्तुष्टि देखियो । त्यो असन्तुष्टि संविधानको मूल मर्ममाथि थिएन । केही विभेदकारी प्रावधान माथि थियो । त्यो असहमतिहरू अहिले पनि कायम छ । संविधान गतिशील दस्तावेज हो । दुई तिहाइ बहुमत प्राप्त दलले आगामी दिनमा संशोधन गर्ला वा गर्दै जाने हो । त्यसको लागि पनि सर्वप्रथम संविधान बचाउनु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो संविधानको हत्या गर्न सबै अस्त्र प्रयोग गरिसकेका छन् । प्रधानमन्त्री ‘मै राज्य हुँ’ भन्ने दम्भका साथ अगाडि बढेका छन् ।
संविधानले परिकल्पना नगरेको र उल्लेख नै नभएको प्रावधान प्रयोग गरेर संसद् विघटन गरिएको छ । दम्भी प्रधानमन्त्रीलाई नियन्त्रण र सन्तुलनमा राख्न सक्ने प्रतिपक्षी दल कांग्रेस संविधानको व्याख्या गर्ने जिम्मेवारी अदालतको विश्वासमा छाडेर लेनदेन, भागबन्डाको खेलमा व्यस्त छ । केन्द्रीय समितिको बैठकमा संविधानको रक्षाभन्दा पनि निर्वाचन केन्द्रित बहसमा जोड दिएको छ ।
एकातर्फ प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै वक्तव्य जारी गर्छ । अर्कोतर्फ त्यही असंवैधानिक कदमअन्तर्गत हुने निर्वाचनको पक्षमा धारणाहरू सम्प्रेषित गर्छ । चुनाव त पञ्चायतले पनि गराउथ्यो । प्रिय कांग्रेस, तपाईंहरू चुनावमा जानुस्, सत्ता प्राप्त गर्नुस् शुभकामना छ । तर आफ्नो गौरवशाली इतिहासलाई भुल्ने दललाई भविष्यले माफ गर्दैन । भावी पुस्ताले क्षमा गर्दैन ।
२०५९ सालमा शेरबहादुर देउवाको सरकारले संसद् विघटनको प्रस्ताव गरेका थिए । तत्कालीन राजाले मन्त्रिपरिषद्को सिफारिसबमोजिम संसद् विघटन गरे । निर्वाचनको मिति पनि तोकिदिए । शेरबहादुर देउवाले निर्धारित मितिमा निर्वाचन गराउन नसकेर होइन कि ज्ञानेन्द्रको षड्यन्त्रको सिकार हुन पुगे । उल्टै असक्षम भनेर अपदस्थ गरिदिए ।
तानाशाहहरूले गर्ने नै षड्यन्त्र हो । यस्तो किसिमको षड्यन्त्रलाई चिर्न नसक्ने दल वा दलका प्रमुखलाई भविष्यले माफ गर्दैन । कांग्रेस लोकतान्त्रिक पार्टी हो । १३औँ महाधिवेशनमा शेरबहादुर देउवा कार्यकर्ताबाटै निर्वाचित भएर सभापति भएका हुन् । अवश्य पनि १२औं महाधिवेशनमा उनी पराजित पनि तिनै कार्यकर्ताको मतबाट भएका थिए । शेरबहादुर देउवा फेरि इतिहास बनाउनबाट चुक्दैछन् । ज्ञानेन्द्रको चंगुलमा फँसेको जस्तै फँस्दै गएको आभास हुँदैछ ।
प्रिय कांग्रेस, तपाईंहरू चुनावमा जानुस्, सत्ता प्राप्त गर्नुस् शुभकामना छ । तर आफ्नो गौरवशाली इतिहासलाई भुल्ने दललाई भविष्यले माफ गर्दैन । भावी पुस्ताले क्षमा गर्दैन ।
केपी ओलीले संविधानलाई च्यात्ने कुचेष्टा विरुध्द आन्दोलनको आँधीबेहरी उठाउनु पर्थ्यो । कार्यकर्ताहरूलाई संविधानको रक्षा गर्न अपिल गर्नु पर्थ्यो । त्यो कहीँ कतै देखिएन । निर्वाचनको तयारीको सन्देश दिँदै निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम घोषणा गरेर कांग्रेस संविधानवादमा विश्वास गर्छ भन्ने आम नागरिकमा दर्शाउन सक्नु पर्थ्यो । तर सत्तावादमा भरोसा देखाउँदै छ ।
कांग्रेस आफ्नो इतिहास र गरिमा जोगाउनबाट चुक्दै छ । यस्तो खालको सरकारले गराउने निर्वाचनको निष्पक्षताको प्रश्न त छँदै छ । भोलि निर्वाचन निष्पक्ष हुन सकेन भने कांग्रेसले प्रश्न गर्ने नैतिकता पनि गुमाउँछ । किसानले चल्लालाई दाना खुवाए जस्तै भागबन्डा खुवाउँदैमा प्रधानमन्त्रीलाई विश्वास गर्नु अर्को भूल हुनेछ । आफ्नो योजनाअनुसार प्रधानमन्त्रीले कांग्रेसलाई प्रयोग गर्ने कोसिस गर्दैछन् ।
आन्दोलनको एजेन्डा बोकेर कार्यकर्तामाझ जानुपर्छ । अभिव्यक्ति दिने वरिष्ठ नेता माथि व्यक्तिगत स्तरमा झरेर टीका-टिप्पणी गर्दै छ । कांग्रेसको आन्दोलनको एजेन्डाबाट प्रधानमन्त्री अत्तालिएका छन । यति पनि कांग्रेस नेतृत्वले बुझ्न सकेन । कांग्रेसले आफ्नो इतिहास, लोकतान्त्रिक चरित्र र आन्दोलनकारी छवि कायम राख्नु पर्छ । आगामी दिनमा लोकतान्त्रिक दलको दाबी पुष्टि गर्नका लागि पनि संविधान बचाउनतर्फ अग्रसर हुनुपर्छ । होइन भने कांग्रेस दुब्लाएको छ, प्रधानमन्त्रीले दाना खुवाउँदै छन् । चल्लाकै हालतमा पुर्याउने सम्भावना पनि उत्तिकै छ ।
०००
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया