विचार

महाधिवेशन प्रतिनिधिले नसुधारे कांग्रेस कसैले सुधार्दैन

विनोद सिजापती |
मंसिर २४, २०७८ शुक्रवार ८:२७ बजे

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको केन्द्रबिन्दु एजेन्डा ‘नेतृत्व पुस्ता परिवर्तन’ अर्थात् ‘पुस्तान्तरण’ थियो, केही साताअघिसम्म । नेतृत्व परिवर्तन विषयले प्राप्त गरेको वजनका कारणले गर्दा अन्य प्राथमिकताका विषय जस्तै संविधानका विषयमा देखापरेका अन्तरदलीय मत-मतान्तर, समयानुकूल दलको उद्देश्य परिमार्जन, दलीय व्यवस्थापन तथा राष्ट्रिय मुद्दाहरूप्रति दलीय धारणा आदि ओझेलमा पर्नु स्वाभाविक थियो ।

केही महिनाको अन्तरालमा हुने स्थानीय तथा प्रदेश लगायत संघीय संसद्को निर्वाचन मध्यनजर गरेर कांग्रेसले अख्तियार गर्ने संस्थागत र राष्ट्रिय नीतिहरू, योजना तथा कार्यक्रम जस्ता महत्वपूर्ण विषयहरूले महाधिवेशनमा प्रवेश पाउने सम्भावना टर्दै गएको थियो । तर पनि महाधिवेशनले ‘डेट एक्स्पाएर’ भइसकेका नेतृत्वलाई स-सम्मान बिदाइ गर्छ भन्‍ने ठूलो आशा जागेको थियो, कांग्रेसजन तथा यस दलका समर्थकहरूमा ।


चौधौँ महाधिवेशनले चयन गर्ने नेतृत्वले दलमा वर्षौंदेखि झाँगिदै गरेको विसंगति तथा विकृतिहरू हटाउनेछ । उसैले आमनागरिक र दलबीच रहेको विगतको प्रगाढ सम्बन्ध पुनःस्थापना गर्छ भन्‍ने सोच हाबी भएको थियो । संक्षिप्तमा कांग्रेसले चोला फेर्ने ढोका खुल्ने विश्वास जगाएको थियो ।    

नेपालमा कांग्रेस दलसँग आबद्ध हुनु जरुरी छैन, यस दलको समर्थक तथा शुभचिन्तक हुन । जो कोही पनि जसले व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार तथा न्यायिक राज्यप्रणालीमा आधारित लोकतान्त्रिकले मात्र आफ्नो, आफन्तको तथा समस्त देशवासीको उन्‍नति गर्छ भन्‍ने विश्वास गर्छन्, तिनका निम्ति कांग्रेसको समर्थन गर्नु अपरिहार्य छ । 

यिनै कारणहरूले गर्दा निर्धो तथा निरीह कांग्रेसको विकल्प भनेको सक्षम प्रभावकारी कांग्रेस हो भन्‍ने मान्यता राख्ने समूह कांग्रेस दललाई निर्वाचनमा मत दिने संख्याभन्दा अत्यधिक बृहत् छ, यो मुलुकमा । प्रजातन्त्रको पुनःस्थापनापछिका केही वर्षमै ‘कांग्रेस कहिले सुध्रेला ?’ भन्‍ने धारणा मौलाउन थाल्यो । दोस्रो जनआन्दोलनको सफलतापछिका वर्षहरूमा ‘कांग्रेस सुध्रिनेवाला छैन’ भनी निराश हुने जनसमूह झागिँदै गयो । दिन तोक्ने, तर मिति पर सर्ने अर्थात् हुन्छ/हुँदैन बीचको अनिश्चित वातावरणमा सम्पन्‍न हुन लागेको चौधौँ महाधिवेशनले अधेरो सुरुङको अर्को छेउमा उज्यालो किरण देखा पर्न थालेको आभास दिएको थियो । यस महाधिवेशनले कांग्रेस सुध्रने मार्गप्रशस्त गर्छ भन्‍ने आमधारणा हाबी हुँदै थियो । 

नेतृत्व परिवर्तनले महत्व पाउन धेरै कारणमध्ये एक विद्यमान नेतृत्वको अकर्मण्यता/अक्षमता नै प्रमुख हो । विगत तीन दशकदेखि सत्तामा हाबी भएका ‘शीर्षस्थ नेताहरू’को योगदानको मूल्यांकन गर्दा उनीहरूले कमाएको अकुत सम्पत्ति, आलिसान महल, भड्किलो जीवनशैली तथा आफन्तजनको उन्‍नतिबाहेक अन्य भेट्टाउन कठिन हुन्छ । भष्टाचारको फैलावट, ढिलासुस्ती, सुशासनको अभाव तथा बिचौलिया दबदबा रह्यो, कांग्रेसको शासन कालखण्ड । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कालखण्डमा धमिजा काण्डबाट सुरु भएको भ्रष्टाचार देउवाको शासनकालमा चुलियो ।

चौधौँ महाधिवेशनको सुषुप्त नारा ‘शेरबहादुर हटाऊ कांग्रेसलाई बचाऊ’ भन्‍ने रह्यो । पार्टी सभापतिलाई आँखाको कसिंगर प्रमाणित गर्ने चौतर्फी प्रयास पनि भएकै हो । यदि वास्तविकता आत्मसात् गर्ने हो भने एकल शेरबहादुर देउवाकै कारणले गर्दा कांग्रेसले वर्तमान नियति भोग्नु परेको भन्‍नु उनीमाथि अन्याय हुन्छ । हाल ‘संस्थापनइतर पक्ष’को नेतृत्व पंक्तिका देउवाका समकक्षी नेताहरूमध्ये कसले विगतमा अवसर पाएका थिएनन् र ? तिनले अन्तरदलीय सुधार निम्ति के गरे ? तिनले प्राप्त अवसरलाई उनीहरूले कसरी उपयोग गरे ? दोषको भागीदार केवल शेरबहादुर देउवा मात्र होइनन् । कांग्रेसमा हाबी भएको पार्टी कब्जा गरेर सत्तासीन हुने प्रवृत्ति हो । 

चौधौँ महाधिवेशनमा शेरबहादुर देउवाको भत्र्सना गर्ने प्रत्याशीहरूमध्ये लामो अवधिसम्म अत्यन्त महत्वपूर्ण भूमिका पाएका नेताहरूले विगतमा आफ्नो तर्फबाट कांग्रेसको साख बढाउन योगदान त गरेनन् नै । तिनले तीव्र गतिमा गिर्दो साख अर्थात् अलोकप्रियता रोक्न के/कस्तो योगदान गरे ? विडम्बना कांग्रेसजनले यो विषयमा चर्चासम्म पनि गर्न सकेका छैनन् । त्यसो त, पार्टी सभापतिको प्रत्याशीहरूमध्ये कुनैले पनि विगतका आफ्नो सहभागितामा भए/गरेका गल्तीहरूको समीक्षा गरेर सिकेको पाठको आधारमा भविष्यको मार्गचित्र प्रस्तुत गर्ने धृष्टता गरेका छैनन् । आखिर डा. शेखर कोइराला तथा कल्याण गुरुङबाहेक सबै एकै ड्याङका मुला हुन् ।

सभापतिका प्रत्याशी नेताहरू चाहे ती संस्थापन पक्षका हुन् अथवाइतर उनीहरूले वर्तमान सभापतिलाई विस्थापित गर्ने क्षमता आफूमा रहेको प्रचार-प्रसार खुबै गरे र गर्दैछन् । कुन आधारमा उनीहरूले शेरबहादुर देउवाभन्दा आफू अब्बल भएको त्यो पुष्टि गर्न भने सकेका छैनन् । शेरबहादुरलाई सत्तोसराप गर्नेले तिनले भन्दा दललाई कसरी गन्तव्य उन्मुख तुल्याउन सक्छु भन्‍ने प्रमाण प्रस्तुत गर्ने सामर्थ्य राख्नुपर्ने हो ।

प्रत्याशीहरूमध्ये कोही पिताका देनका कारणले गर्दा आफूले पार्टी सभापतिमा देउवालाई पराजय गर्ने गुड्डी हाँके । कोही विरासतको हक दाबी गर्दै दलको सबै महत्वपूर्ण पदहरू सम्हालिसकेको हुनाले पदोन्‍नतिको तर्क अघि सार्दै सभापति पदको हक दाबी गर्दैछन् । मानौँ, विरासतमा प्राप्त गरेको कांग्रेस दल एउटा निकाय हो, जहाँ समय अवधिअनुसार पूर्वनेताका सन्ततिको पदोन्‍नति हुनैपर्छ । कोही भीख माग्ने शैलीमा आफूलाई एक वर्षकै निमित्त नै किन नहोस्, सभापति बन्‍ने अवसर दिन हात फैलाउँदैछन् । 

पार्टी सभापतिको प्रत्याशीहरूमध्ये कुनैले पनि विगतका आफ्नो सहभागितामा भए/गरेका गल्तीहरूको समीक्षा गरेर सिकेको पाठको आधारमा भविष्यको मार्गचित्र प्रस्तुत गर्ने धृष्टता गरेका छैनन् । आखिर डा. शेखर कोइराला तथा कल्याण गुरुङबाहेक सबै एकै ड्याङका मुला हुन् ।

महाधिवेशनको सँघारमा आइपुग्दा प्रकाशमान सिंहले ‘एक व्यक्ति एक पद’को नीति अख्तियार गर्ने, वरिष्ठ नेता ‘रामचन्द्र दाइ’लाई राष्ट्रपति पद सुम्पने तथा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने प्रस्ताव सुनको थालीमा प्रस्तुत गरेको खबर प्रसारण भएको छ । सुन्दा नै उदेकलाग्दो यो प्रस्ताव कति भरपर्दो छ, बीपीका अनुयायीहरू सबैलाई थाहा छ । उक्त धारणाका प्रस्तावक उहाँ (बीपी) स्वयंले यस सम्बन्धमा जाहेर गर्नुभएको प्रतिबद्धतालाई पटक-पटक उल्लंघन गर्नुभएको थियो ।

उदेक लाग्ने अर्को तथ्य भनेको उधारोमा पद व्यवस्थापन (विभाजन) प्रस्ताव ‘सोम शर्मा’ र ‘सातुको घैटो’को कथा समान छ । उक्त प्रस्तावकले ‘लज्जास्पद हार’ बेहोरेको दलले कसरी आमनिर्वाचनमा अत्यधिक बहुमत प्राप्त गर्न सक्छ ? जस्तो विषयलाई अनादेखा गर्छ । यदि वास्तविकतालाई आत्मसात् गर्ने नै हो भने ‘पद व्यवस्थापन’का नाममा सत्ता साझेदारीकै कारणले गर्दा मुलुकमा अत्यधिक विकृति तथा विसंगतिहरू मौलाएको हो ।

निरन्तर सञ्चालन हुँदै गरेको ‘संस्थापनइतर पक्ष गुट’ बैठकहरूले शेरबहादुर देउवाको शक्ति आँकलन गर्न सहज तुल्याएको छ । तिनलाई हल्लाउन संस्थापनइतर पक्षलाई एकल उम्मेदवार चयन गर्नु अनिवार्य ठहर भएको छ । आखिर शेरबहादुर पार्टीका निम्ति घातक हुँदाहँुदै पनि किन शक्तिशाली भए ? यो अनुसन्धानको विषय बन्‍न पुगेको छ । 

संस्थापनइतर पक्षबीच सहमति भएर शेरबहादुरसँग प्रतिस्पर्धा गर्ने एकल उमेदवार हुने सम्भावना छैन । उमेदवारहरू महाधिवेशन प्रतिनिधिहरूबीच उपस्थित भएर मत माग्न किन हिचकिचाइराखेका छन् ? विडम्बना, संस्थापनइतर पक्ष यति संकीर्ण देखिएको छ कि उसका प्रत्यासीहरू संस्थापन पक्षकै पार्टी अध्यक्षलाई चुनौती दिने उम्मेदवारहरू (विमलेन्द्र निधि तथा गोपालमान श्रेष्ठ) सँग संवाद गरेर उनीहरूलाई आफ्नो पक्षमा पर्ने पहल गर्नसमेत तयार छैनन् । महाधिवेशन प्रतिनिधिहरूको गुटगत झुकाव तथा प्रवृतिको आँकलन गर्ने पर्यवेक्षकहरू पार्टी सभापतिको पल्ला भारी अर्थात् बहुमतले तिनी पुनः निर्वाचित हुने सम्भावना दिन-परदिन सबल हुँदै गरेको देख्न थालेका छन् । यदि पार्टी सभापति लोकप्रिय छन् भने तिनलाई विस्थापित गर्न किन मरिमेट्नु ?

कांग्रेसजनको स्मरणमा ताजै हुनुपर्छ कि उनीहरूको पार्टी सभापतिको नेतृत्वको २०७४ को निर्वाचनहरू सम्पन्‍न भएका थिए । उक्त निर्वाचन परिणामलाई ‘लज्जास्पद हार’को संज्ञा दिने गरिन्छ । सभापतिले स्थापित लोकतान्त्रिक संस्कारलाई लत्याएर उक्त हारको नैतिक जिम्मेवारी लिँदै पदत्याग गर्नुको बदलामा अझ संसदीय दल नेतासमेतको पदभार सम्हाले । विगत चार वर्षको अवधिमा कांग्रेस दल सुदृढीकरण दिशातर्फ पार्टी सभापतिको ध्यान जान सकेको छैन । ओलीसँग के कस्ता समझदारी तिनले गरे, व्यक्तिगत वा पारिवारिक कारणका निमित्त त्यो जगजाहेर छ । तैपनि तिनको दलमा वर्चश्व कायम हुनुको व्याख्या कसरी गर्ने ? 

यदि कांग्रेस नेतृत्वलाई तथा कांग्रेसजनलाई दलप्रति मोह भएको भए १४ औँ महाधिवेशनमा पार्टी सभापति पदको प्रतिस्पर्धा डा. शेखर कोइराला र कल्याण गुरुङबीच हुने थियो । अन्य, उमेदवारहरूले विश्राम लिने थिए, जवाफदेहिता र उत्तरदायित्वको कारणले गर्दा । अन्यथा, पनि उनीहरूले उमेर र स्वास्थ्यको कारण देखाएर राजनीतिक जीवनबाट सन्यास लिने थिए । त्यस्तो परिस्थितिमा नयाँ विचार, दूरगामी सोच, ऊर्जा, क्षमता र दक्षताले महत्व पाउने थियो । यो अधिवेशनले अन्ततोगत्व जनमानसमा ‘कांग्रेस सुध्रिँदैन’ भन्‍ने सन्देश प्रवाह नै गर्ने निश्चित छ । आशावादीहरूका निम्ति कुनै दिन कांग्रेस सध्रिनेछ भनी प्रतीक्षा गर्नु अनिवार्य हुने देखिन्छ ।  


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
x