विचार

टिप्पणी

लालची नेतालाई देउवाले किने, जनताले चिने

कार्यकर्ताले चाहेको तर निधि, प्रकाशमान, शशांक र रामचन्द्रले नचाहेको नेतृत्व परिवर्तन

अनिष भट्टराई |
मंसिर २९, २०७८ बुधबार १३:१९ बजे

काठमाडौँ– १३औं महाधिवेशनबाट निर्वाचित भएको साढे पाँच वर्षपनि नाघेपछि सभापति शेरबहादुर देउवाले महाधिवेशन गराए । उनीमाथि क्रियाशील सदस्यता नवीकरण तथा पार्टी प्रवेशका नाममा मनपरी क्रियाशील सदस्यता बाँडेको आरोप छ । वडा अधिवेशनदेखि नै क्रियाशील सदस्यता विवादले सिर्जना गरेका समस्याहरू प्रतिबिम्बित भए ।

नेपाली कांग्रेसको विधान अनुसार उक्त दलको महाधिवेशन चार–चार वर्षमा हुनुपर्ने हो । देउवाले विधान बाहिर गएर अधिवेशन डेढ वर्ष धकेले । पार्टी र सरकार दुवैको सत्तामा रहेका देउवा अत्यन्त सहज स्थितिमा देखिन्छन् । यद्यपि उनले महामन्त्री शशांक कोइरालादेखि वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आश्वासन दिन भ्याए । कृष्ण सिटौलासँग लेनदेन गरे । यति सबै गरेर पनि देउवाले १४औं महाधिवेशनमा सभापति पदमा जम्मा ४८.२४ प्रतिशत मात्र मत ल्याए । अर्थात् ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिले देउवालाई दोहोर्‍याएर नेतृत्व दिनुहुँदैन भन्ने पक्षमा मतदान गरे । 


स्थानीय तहबाट चुनिएर आएका नेता तथा कार्यकर्ताले नेतृत्व परिवर्तनका लागि स्पष्ट संकेत दिदाँदिदैं पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले त्यो वेगलाई छेक्ने काम गरे । त्यस्तै, देउवाबाट पार्टी चल्दैन भनेर पार्टीको नेतृत्व लिने आकांक्षा राखेका विमलेन्द्र निधि, प्रकाशमान सिंहले अन्तिममा बोली फेरे ।

उनीहरूले कार्यकर्ताको आवाजलाई नसुनेर पुनः आफ्नै निजी स्वार्थ र नैतिकतालाई लोकलाजको पनि ख्याल नगरी बन्धक बनाइदिए । अब उनीहरूले निर्वाचनमा जनताको अघि कसरी अनुहार देखाउँछन् त्यो प्रश्नको घेरामा छ । प्रकाशमान सिंहले फेसबुकमा जनतासँग अन्तक्र्रिया नै नहुनेगरी कमेन्ट गर्न नमिल्ने बनाएर देउवालाई बधाई दिनुले उनी आफ्नो आलोचनासँग आत्तिएको देखिन्छ । 

कहिल्यै सरकारमा नबसेका, पार्टीमा पनि पदाधिकारी समेत नरहेर केन्द्रीय सदस्यमात्र रहेका शेखर कोइरालाको पक्षमा जसरी अभिमत जाहेर भयो, सभापति निर्वाचित भएका देउवाले त्यसलाई कदर गर्नुपर्छ र पार्टीमा परिवर्तन पक्षधरको आवाज मुखरित हुनेगरी काम गर्नुपर्छ । न कि लालची नेताहरू शशांक, सिटौला, रामचद्र वा प्रकाशमान र निधिको ।

नेपाली कांग्रेसको सभापति भनेको संस्था पनि हो । त्यहाँ नेतृत्वलाई दोहोर्‍याउने कि परिवर्तन गर्ने भन्नेमा मतदाताहरूले परिवर्तनको पक्षमा आवाज दिए । तर निधि, प्रकाशमानले त्यसलाई सुन्न र बुझ्न सकेनन् । शेखरले एकपटकमात्र सभापति बन्ने प्रतिवद्धता गरेका थिए । उनी आफू सभापति भएपनि शक्ति बाँडफाँडका लागि प्रधानमन्त्री अरुलाई बनाउन तयार रहेको बताउँदै आएका थिए । तर प्रकाशमान र निधिले त्यो अवसरलाई गुमाएर उनलाई आफूभन्दा कनिष्ठ नेता भन्ने आत्मस्लाघाबाट घेरिएर ५२ प्रतिशत मतको अपमान गरे । 

नेपाली कांग्रेसमा कोइरालाहरूको वरिपरी रहेका रामचन्द्र पौडेलले सभामुख, मन्त्री, पार्टीको कार्यवहाक सभापति भैसकेका थिए । उनले १३औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेर पराजित भएका थिए । देउवाले पार्टी बिगारे, भ्रातृ संगठन भताभुङ्ग पारे भनेर आलोचना गरिरहने पौडेल पार्टी सुधार्न नेतृत्व फेर्ने मौकामा भने देउवाको पक्षमा मौन सम्मति लक्षणम् शैलीमा प्रस्तुत भए ।  शशांक कोइराला त स्वयं बीपी कोइरालाका छोरा हुन् । सुशील कोइरालापछि कोइरालाहरूबाट बाहिरिएको नेपाली कांग्रेसको सत्ता आफ्नो पारिवारिक विरासतमा फर्काउन शशांक कोइरालामा रूचि देखिएन । पहिलो चरणको निर्वाचनमा लोकलाजले मौन बसेका उनी दोस्रो चरणमा देउवाको पक्षमा खुलेर लागे । 

कहिल्यै सरकारमा नबसेका, पार्टीमा पनि पदाधिकारी समेत नरहेर केन्द्रीय सदस्यमात्र रहेका शेखर कोइरालाको पक्षमा जसरी अभिमत जाहेर भयो, सभापति निर्वाचित भएका देउवाले त्यसलाई कदर गर्नुपर्छ र पार्टीमा परिवर्तन पक्षधरको आवाज मुखरित हुनेगरी काम गर्नुपर्छ । न कि लालची नेताहरू शशांक, सिटौला, रामचद्र वा प्रकाशमान र निधिको । यसले नै देउवालाई ‘सुधारिएको देउवा’ बनाउनेछ । यसपछि विधानतः पनि देउवा नेतृत्वमा आउन पाउँदैनन् । उनले पार्टीमा दोस्रो कार्यकालको नेतृत्वको लागि पाएको अवसरलाई आफ्नो कदलाई उचाई दिन प्रयोग गर्नुपर्छ । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x