विचार

बीपी स्मृति

६१ वर्षपछिको पुस १ : बीपीको चिठी कोइरालालाई र सबै कांग्रेसलाई

विमल आचार्य |
मंसिर २९, २०७८ बुधवार २३:४ बजे

प्रिय साथीहरू, जय नेपाल ! 

म यहाँ ४० वर्षदेखि आरामै छु । त्यहाँ तपाईंहरूलाई अलिकति आराम नभएको जस्तो लागेर यो चिठी लेख्दै छु । 


भोलि पुस १ । मेरा छोरा प्रकाश र शशांकलाई यो सब थाहा नभए पनि यहाँहरूलाई भने पक्कै थाहा छ- पुस १ मा राजाद्वारा मेरो राजनीतिक हत्या भएथ्यो । मबाट यहाँनेर ‘मेरो’ फुत्केछ, भन्छु- प्रजातन्त्रको हत्या भएथ्यो । हत्या अलि नराम्रो सुनियो, प्रजातन्त्र लुटिएको वा खोसिएको वा अपरहण गरिएको थियो भनौँ न । भोलि पुस १ स्वतन्त्रता खोसिएको दिन । 

भोलि बहुदलीय व्यवस्था खोसिएको दिन । भोलि दुई तिहाइ बहुमतको कार्यपालिका र बल्लतल्ल पाएको पहिलो व्यवस्थापिका मासिएको दिन । बोलीविरुद्ध गोली र विचारविरुद्ध बाहुबल उभिएको दिन । गाउँले, गरिब, स्वाभिमानी आम नागरिकको सरकारविरुद्ध चाकडीबाज केशवराजहरूको टेकोमा दरबारले दैत्य रुप धारण गरेको दिन ।   

तपाईंहरूलाई थाहै होला, ६१ वर्षअघि भोलि म तरुण सम्मेलनमा भाषण गरिरहेको थिएँ । म त्यहीँ थापाथलीमा थिएँ, जहाँ तपाईंहरू अहिले नजिकै हुनुहुन्छ । पाँचपाँच दिन चिसो पिएर आज कति त घरघर फर्किंदै पनि हुनुहुन्छ । यी पाँच दिन तपाईंहरूले चिसो मात्र पिउनुभयो, कसैले न विचार खुवायो, न दर्शन, न कार्यक्रम । न समीक्षा सुनेर जानुभयो, न अपेक्षा लिएर जाँदै हुनुहुन्छ । 

पुस १ आउनुको एक दिनअघि आज मलाई सपनामा ऐँठन जस्तो केही भयो । बिउँतिँदा मैले आफूलाई त्यही थापाथली वरपर पाएँ । अनि जुरुक्क उठेर म मेरा उहिल्यैदेखिका सबैभन्दा प्रिय दोस्त कलम-कापीसित आफ्ना कुरा खोल्दै रहेँ । (‘सपना’को कुरा गरेपछि यहाँहरूले पक्कै मेरो मनोवैज्ञानिक-मूल साहित्य पनि सम्झिनुभयो होला, जहाँ प्रायशः मैले सपनाको, मनको कुरा गरेको छु । होस्, यतातिर नजाऊँ अहिले ।) 

कुरा कहाँबाट सुरु गरुँ, मलाई अलि अलमल भइरहेको छ । यस्तो अलमल पहिला मलाई हुँदैनथ्यो । म सर्सती र खर्खती नै लेख्न सक्थेँ ।

म कहाँ, कस्तो परिवेशमा हुर्किएँ ? मेरो संगत र सोच कस्तो बन्दै गयो ? मेरो राजनीतिको ध्येय के थियो ? म थोरै समय गृहमन्त्री हुँदा र डेढ वर्ष मात्र प्रधानमन्त्री हुँदा मैले के गरेँ ? आज पाँच पाँच चोटि प्रधानमन्त्री भइसकेका नेताका अघि म जम्मा वर्ष दिन मात्र प्रधानमन्त्री भएको मान्छेले धेरै बोल्नुहुँदैन । म त्यतातिर जान चाहन्नँ । १२ वर्ष जेलमा, २० वर्ष निर्वासनमा बसेँ । सरकारमा रहँदारहँदै, योजना बनाउँदा बनाउँदै भोलि पुस १ गते त म महाराज महेन्द्रको आक्रमणमा परिहालेँ । 

म आज यी र यस्ता बासीतासी कुरातिर जान चाहन्नँ । मेरा छवटा उपन्यास, दुइटा कथासंग्रह प्रकाशित छन् भन्‍ने खबर मलाई भेट्न आउनुभएका, हाल सँगै रहिरहनुभएका सुवर्णजी, गणेशमानजी, शैलजा, गिरिजा, किसुनजी, भीमबहादुरजी सबैले यहाँ दिइसक्नुभएको छ । मेरा ती पुस्तक पढ्ने फुर्सद यहाँहरूलाई त पक्कै छैन, देश निर्माणमा यहाँहरूको अहोरात्र सक्रियता म बुझ्छु । तर, आत्मकथा, डायरीका रूपमा छापिएका मेराे नाम भएका केही किताब पढ्नुभएको होला भन्‍ने विश्वासमा छु । 

प्रदीप गिरिजीहरूले जम्मा गरेका विभिन्न समयका मेरा भाषण, अन्तर्वार्ता, मैले लेखेका र मलाई लेखिएका चिठीहरू यहाँहरूले पक्कै पढ्नुभएको छ भन्‍नेमा पनि म विश्वस्त छु । नपढ्नुभएको भए पनि केही छैन । तपाईंहरूलाई देश समृद्ध र देशवासी सुखी बनाउन रातदिन मेहनत गर्नुपरेको छ, सो कार्यभार सम्पन्न गरेपछि फुर्सद पाउनुभयो भने अवश्यै पढ्नुहुनेछ ।

पढाइको कुरा नगरुँ भन्दाभन्दै कुरो पढाइतिरै गयो । ‘विचारशून्य महाधिवेशन’ भनेर विचार दिइरहेका विश्लेषकका विचार थाहा पाउन पनि त ती विचार पढ्नैपर्यो । मैले चाहिँ ती विचारकहरूले आफ्नो सोसल मिडियामा सेअर गरेका लिंक खोली पढेको थिएँ । छाप्नलाई पठाउन नसके पनि मैले ती सबैजसोलाई ना-जवाफ भने लेखेको छु । 

महाधिवेशनका लागि देशैभरिबाट आउनुभएका साथीहरूमा ‘उत्साह एकता र रूपान्तरण’का लागि उमंग देखेपछि म आफू पहिले नै जन्मेकामा पछुताएँ पनि । अनि फेरि केही बेरमा आरक्षित अर्बपति नेताहरूले मेरो फोटो देखाएर ‘को हो यो बूढो’ भनेको सुनेपछि पहिल्यै जन्मेकामा खुसी पनि भएँ । मैले मनमनै सोचेँ- कारखानाका सामान्य मजदूरले थालेको पार्टीमा अहिले त्यही कारखानाका बोस आरक्षणमै भए पनि नेतृत्वमा आउन खोजिरहेछन् । यो सब देखेर मलाई धेरै खुसी लाग्यो ।  

ब्यानरमा सजिएका हामी छ पुरुषको फोटो देखाउँदै ‘यी नेताहरूको फोटोमुन्तिर क्याप्सन चाहियो, हामीले कसरी चिन्ने’ भन्‍ने सुकिला शासकीय नेता देखेपछि मलाई आफैँसँग दया लाग्यो । उहाँहरूसँग म रिसाउनुपर्ने कारण छैन । तर, तमाम सोझा जोसिला प्रतिनिधिहरूको भने खुब माया लाग्यो । उसो त मेरा मित्र निधिपुत्र निधिको कुरा सुनेपछि मलाई उनलाई मत दिने प्रतिनिधिको पनि धेरै माया लाग्यो । 

निधि र सिंहको एक मात्र नारा थियो- नेतृत्व परिवर्तन । प्रतिनिधिलाई ठाउँका ठाउँ अपमान गर्ने निधिहरूको दोषको भागीदार भने म आफैँ छु । मैले अरुका छोराछोरीको नराम्रो कुरा गर्न सुहाउँदैन । आफ्नै छोराहरूलाई मैले राम्रो संस्कार दिन सकिनँ । म मेरा छोराहरू हुर्किंदै गर्दै उनीहरूसँगै बस्‍न पाइनँ । कहिले जेल, कहिले निर्वासन, क्रान्तिमै हिँड्दैमा मलाई ठिक्क भयो । 

आज मैले मेरा छोरा-नातिनीले मलाई चिनेनन्, बुझेनन् भन्‍नु पढाउन नजान्ने शिक्षकले आफ्ना विद्यार्थीलाई दोष दिए जस्तै हो । दोष मेरै हो । म शतप्रतिशत दोष स्वीकार्छु । 

आज भन्छु, छोरा प्रकाश र शशांक ! मैले तिमीहरूलाई केही कुरा आज भन्नैपर्छ । नातिनी मनीषालाई त मैले झनै कुनै दोष दिन मिल्दैन । बिचरा उसले त मैले जस्तै नेपालमा बस्‍न नै पाइन । ऊ नेपाली राजनीतिबारे नबोलोस्, भन्ठान्छु म । आफनो बाबु प्रकाश र विजय कुमारलाई सुनेर उसले देश र राजनीतिबारे धारणा  नबनाओस्, म यसै भन्ठान्छु । राजनीति बुझ्नु नै छ भने उसले प्रदीप गिरि अंकल भेटोस्, गगन भाइ भेटोस् । तर, कलाकारितामै ऊ अझै लागोस् । मेरो शुभकामना नानु ।

मेरो छोरा प्रकाश, जो निरंकुश राजतन्त्रको टिमबाट मेरो आदर्श टिम लोकतन्त्रविरुद्ध खेल खेल्यो । नेपाली राजनीतिमा जसरी प्रकाशको सान्दर्भिकता र औचित्य सकिएथ्यो । हिजोदेखि मेरो कान्छोको पनि सम्पूर्ण सान्दर्भिकता सकिनुपर्छ । म जीवनभर निरंकुश राजतन्त्रविरुद्ध रहेँ, जेठो त्यतै लाग्यो । म राज्यको धर्म हुँदैन भन्दै धर्म निरपेक्षतातिर लागेँ- कान्छो धर्म-कर्मका कुरातिर लागेको छ । 

२१औँ शताब्दीको नेपाली कांग्रेसका लागि प्रधान शत्रु कोही रह्यो भने मेरो परिवार नै रह्यो । मेरो परिवार सिद्धान्तमा मात्र होइन, व्यवहारमै क्रान्तिकारी परिवार हो । तर, थर र धर्मको श्रेष्ठता-नीचताको अनावश्‍यक कुरा पनि यिनीहरू नै गर्दै हिँडिरहेका छन् । ४० वर्ष पहिले नै मरिसकेको मलाई यहाँ मर्नु भको छ । ४० कटेसि म रमाउन सकिरहेको छैन । 

अघिल्लो तेह्रौँ महाधिवेशनमा शशांक महामन्त्री हुनुमा उसको एउटा मात्रै विशेषता र योग्यता थियो- उसलाई देख्दा सायद तपाईं प्रतिनिधिहरूलाई साक्षात् बीपी नै देखे जस्तो लाग्यो होला । तपाईंहरूले जिताउनुभयो, यसमा तपाईंहरूको कुनै दोष छैन । तर, मेरो कान्छो आफूले पाएको त्यही एउटा बीपीपुत्रको योग्यतामा ऊ कांग्रेसी नेतामध्ये सबैभन्दा पुछारमा रहन्छ । किनकि बीपी नबुझ्ने, बीपीको अपमान गर्नेमध्येको प्रतिस्पर्धा भयो भने मेरै दुई छोरा अंग्रपंक्तिमा हुन्छन् । 

मलाई झल्याँस्स सम्झना भयो । २०३६ सालको साउन ४ मा ‘विक्ली मिरर’मा मेरो एउटा अन्तर्वार्ता छापिएको थियो, ‘नेपाललाई हिन्दू राष्ट्र भन्‍नु झेली हो’ शीर्षकमा । म मेरो कान्छुुलाई त्यो वार्ता खोजेर पढ्न निर्देशन-आदेश-आग्रह-अनुरोध-निवेदन-विन्ती सबै गर्छु । कान्छु ! किताब त तिमीसँग पक्कै छैन । प्रदीप गिरिजीसँग सम्पर्क गर्नू । भेट्न गएका बेला गिरिजीसित बीपीको समाजवाद के हो भनेर पनि सोध्नू । सोध्दा तिमी सानो हुँदैनौ है । नरिसाउनू है बाबु, म त तिमीलाई भन्दा बढी माया अहिले उनै थ्रीजी : गिरिजी, गगनजी, गोविन्द केसीजीहरूलाई पो गरिरहेको रहेछु । 
  
शशांक बाबु, मैले लेखेको छु, ‘नेपाली कांग्रेस धर्म नमान्ने पार्टी हो । विरोधीले यस कुराको निकै उपयोग गरे । धर्म नमान्ने व्यक्तिका रूपमा म नै आक्रमणको तारो भएको थिएँ । तपाईंंलाई थाहा छ, म बाहुन भएर पनि जनै लगाउँदिनँ । शिवजीको पूजाको अन्त्य गर्नका लागि मैले शिवलिङ्गलाई सङ्ग्रहालयमा राख्ने सूचना जारी गरिदिएँ ।’ 

शशांक बाबु, मनीषा नातिनी ! अर्काे एक ठाउँमा मैले भनेको छु, ‘नेपाल धर्ममा आधारित ‘धर्मतन्त्री’ राज्य हो भन्‍ने भारतमा प्रचार गरेर भारतका हिन्दूहरूलाई खुसी पार्ने प्रयत्न नेपालले गरिरहेको छ । मेरो ठम्याइमा नेपाल एउटा धर्मनिरपेक्ष राज्य हो ।’ 

म त्यही कुुरामा थप प्रकाश पार्दै (छोरा प्रकाश होइन) अहिले पनि फेरि भन्छु । राजनीतिमा धर्म मिसाउनु हुँदैन । राज्यले यो धर्म, ऊ धर्म, यो जात, ऊ जात भन्‍नु हुँदैन । धर्म व्यक्तिको निजी मामिला हो । अहिले नेपालमा जनगणना चलिरहेछ, मेरो त के सुझाव रहन्छ भने- जनगणनामा धार्मिक तथ्यांक नै लिनु जरुरी छैन । नेपाल बहुधार्मिक मुलुक हो, एकै व्यक्तिले धेरै धर्म अंगीकार गरिरहेको अवस्था छ । त्यसैले सकी नसकी धर्म बेग्ल्याउनु अधर्म कर्म हो । 

सबै धर्मको आत्मा कल्याण हो र हुनुपर्छ । मैले पहिले नै लेखेको कुरा यहाँ फेरि सम्झना भयो : ‘पछिपछि धर्ममा सामाजिक दृष्टिकोण लुप्त हुँदै गयो । त्यो शासकवर्गको हातमा शोषणको हतियार बनेर गयो र प्रतिक्रियावादको केन्द्र हुन थाल्यो । अब त्यसको प्रारम्भिक तेज रहेन । धर्मको आजको अवस्था कर्मकाण्ड र खोक्रा क्रियाकलापको बाक्लो आवरणमा रहेको प्राणहीन शवजस्तो छ, त्यसमा केवल बाहिरी आडम्बर मात्र बाँकी छ । अरु धर्महरूको पनि त्यस्तै अवस्था छ । अन्त्यमा गएर कार्ल माक्र्सले धर्मलाई अफिमसँग तुलना गर्ने अवस्था आइपुग्यो । यसमा मानिसलाई अफिमजस्तै वास्तविकताबाट भुलाएर राख्ने गुण छ ।’ 

वास्तवमा आज मलाई यस्तो कुरा गर्न मन थिएन । खासमा म आज कांग्रेस बचाउन गाउँ गाउँबाट आउनुभएका प्रतिनिधि साथीहरूलाई छाती खोलेर बधाइ भन्न उठेको हुँ । तर म अलिकति बहकिएँ । बहकिने स्वभाव मेरो त्यहाँदेखिकै हो । अझै छँदै छ । 

मैले आज आफ्नू कुरा गर्न खोजेको पटक्कै होइन । आफ्ना मात्र कुरा गर्ने आत्मकथाका किताब अहिले त्यहीँ बग्रेल्ती छन् क्यारे । तर बीपीको बाटो, बीपीको बाटो भनेर खुब चर्चा हुनेरहेछ। धर्मको बारेमा त म प्रस्ट नै थिएँ । सिद्धान्तमा मात्र हैन, व्यवहारमा पनि म त्यस्तै नै निरपेक्ष थिएँ । मैले साहित्यमा म अराजक हुँ भनेको मेरो कुुरालाई धेरै महत्व दिइयो । राजनीति र चिन्तनमा पनि म अराजक हुँ । अराजकता भनेको सडेगलेका बासी विचार र व्यवहारबाट उन्मुक्तिको प्रयास हो । 

धर्मको कुरापछि मलाई राजावादी बीपीबारे सानू कुरा गर्न मन लाग्यो, यहाँनेर । छोरा प्रकाश बाबु, इकागजमा तिम्रो एउटा वार्ता पढेँ । ठीक एक वर्ष अघि छापिएको तिम्रो वार्तामा ‘मेरो बाबुले राजा महेन्द्रको कहीँ आलोचना गर्नुभएको मैले सुनिनँ’ भनेका रहेछौ । तिम्रो वार्ता मैले यहाँ पूरा पढेँ । देखाएँ पनि । अरु त अरु राजावादी नै भएर बिदावारी भएका मेरा प्रिय मित्र अहिले मसँगै रहेका किसुनजीसमेत आफ्नो उही ठट्यौली स्वभावमा अट्टहास हाँस्नुभयो । तेरो काका गिरिजाबाबुलाई मैले त्यो वार्ता देखाएँ । ऊ भने किसुनजी जसरी हाँसेन, बरु रिसायो । भन्यो- त्यो निरंकुश राजा ज्ञानेन्द्रको समर्थकको कुरै नगर्नुस् सान्दाजु । 

मैले राजतन्त्रको विरोध गरिनँ, मेलमिलापको नीति लिएर राजासँग मिल्नुपर्छ भनेँ भनेर अहिले कतिपय 'पूर्वराजावादी' कमल थापादेखि 'नवराजावादी' रवीन्द्र मिश्रसम्म मेरो ठाउँठाउँमा सहारा लिँदा रहेछन् । बेलायतको राजतन्त्रको उदाहरण र त्यहाँको लोकतन्त्रको कुरा गर्दा रहेछन् । म एउटा प्रश्‍न सोध्छु- के नेपालका राजा बेलायतका राजपरिवार जसरी कानुनको अधीनमा बसे ? कर तिरे ?  

मैले निरंकुश राजतन्त्रको जहिल्यै विरोध गरेको छु । मलाई पहिलाकै आफ्नै कुरा फेरि सम्झना भयो, ‘राजा महेन्द्रले स्थापित गरेको त्यो तानाशाही राजतन्त्र भने मलाई कदापि पनि र कुनै अवस्थामा पनि स्वीकार्य छैन । मध्ययुगीन हुकुमी स्वेच्छाचारी राजतन्त्रप्रति मेरो विरोध छ ।’

मैले संवैधानिक राजतन्त्रको पक्षमा चाहिँ बोलेको छु । नेपालको राजसंस्था जहिल्यै निरंकुश र कानुनभन्दा माथि रहने चाहना राखेको हुँदा म भाइ गिरिजाबाबुलाई यहाँ जहिले पनि बधाइ दिइरहेछु । गिरिजालाई मैले त्यहाँ रहँदा मान्छे नै गनिनँ तर लास्टमा उसले दुइटा काम गरेर मलाई देखाइदियो- एक, उसले देशलाई थप रक्तपात हुनबाट बचाएर तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सम्झौता गर्यो, दुई, निरंकुश राजतन्त्रसँग सम्झौता गरेन । ती दुई सम्झौता गराइ र सम्झौता नगराइका कारण मैले मात्र होइन, सबै नेपालीले उसलाई सम्झना गर्छन् होला जस्तो मलाई लाग्छ । 

अहिले अनायासै अदालतमा मैले बोलेको त्यो कुरा मलाई सम्झना भयो । मैले भनेको थिएँ : ‘म राजतन्त्र पनि प्रजातान्त्रिक होस् भन्‍ने चाहन्छु । हाम्रो देशको निम्ति राजतन्त्र आवश्यक छ भनेर हामीले मानेको त्यो संस्थालाई पनि हामीले प्रजातन्त्रीकरण गर्नुपर्छ र हामीले प्रजातन्त्र पनि स्थापित गर्नुपर्छ । देश र प्रजातन्त्रको सँगसँगै विकास गर्नुपर्छ । वर्तमान पञ्चायती व्यवस्था अप्रजातान्त्रिक भएकोले नेपाली काङ्ग्रेस परिवर्तनको पक्षमा छ र म त्यसको अध्यक्ष हुँ । नेपाली काङ्ग्रेस प्रजातन्त्र स्थापना गर्न चाहन्छ ।’

प्रिय साथीहरू ! आज म त यस्ता कुुरामै अल्झिन चाहन्नथेँ । तर, साहित्यकारले मेरो पुस्तक यसरी पढ्, यसरी बुझ् भनेर पाठकलाई थर्काए जस्तो स्पष्टीकरण भने यो पक्कै होइन । बीपीको बाटो, बीपीको बाटो, बीपीको बाटो, बीपीको बाटो भन्दै सबका सब, सबभन्दा बढी त घरकै सदस्यले आ–आफ्नो कांग्रेसी–कुण्ठा, विरासतको रोटी सेकेर मेरो बेइज्जत गर्न थालेपछि म बिसे नगर्ची झैँ बयान दिन उपस्थित भएको हुँ । 

खासमा बीपीको बाटो भनेको के हो ? म भनिदिऊँ ? सुन्नुस्- म सात साल होस् वा पन्ध्र साल, सारा देश घुमेको छु । २०१६ सालमा त्यस्तो कठोर र अनुदार समयमा उसै दुई तिहाइ मत आएको होइन । कैयौँ अवरोधका बाबजुद म गाउँगाउँ पुगेँ, हिँडेँ । बीपीको बाटो भनेको त्यही बाटो हो । तपाईंहरू चुनावका बेला गाडी लिएर मात्र एक दिन गाउँ जाने अनि बीपीको बाटो, बीपीको बाटो ! बीपीको बाटो भनेको गरिबको बाटो हो, श्रमिकको बाटो हो, किसानको बाटो हो । स्वतन्त्रता र स्वाभिमानको बाटो हो । चिन्तन र वैदेशिक कूटनीतिक समझको बाटो हो ।  

मलाई लाग्थ्यो, मेरा छोराहरू मात्र काम नलाग्ने भए । तर, हिजो गणेशमानजीको छोरा, महेन्द्रनारायण निधिजीको छोरा, गिरिजाबाबुकी छोरीहरूले जे तमासा देखाए, त्यसले हामी यहाँ सँगैसँगै एकसाथ विस्मित् भयौँ । हाम्रो दुःख देखेर उनै किसुनजीले ठट्टा गरे- देख्यौ त मैले किन बिहे गरिनँ ! अनि सुशील यहाँ हामीलाई उडाउँदै भनिरहेछ- एकता र सहकार्य पनि यति पीडादायी कसरी भयो ?

नेपाली कांग्रेस क्रान्तिका लागि जन्मेको–जन्माइएको पार्टी हो । जहानियाँ शासन ढाल्न उठेको पार्टी हो । थर विशेषको प्रधानताविरुद्ध लडेको पार्टी हो । त्यसैले कांग्रेस पार्टीमा जहानको, थरको, परिवारको, विरासतको कुनै माने हुनु हुँदैन । दलको हिस्साका लागि पैसाको स्थान हुनुहुँदैन । गणेशमानजीको त्याग प्रकाशमान सिंहको पेवा होइन । अब त गणेशमानजीको त्याग प्रकाशमान बाहेकको सम्पत्ति हो । बीपीको बाटो अब प्रकाश र शशांकबाहेकको आदर्श हो । गिरिजाबाबुकी छोरीको त के कुुरा गर्नु, यसमा म रामचन्द्रझैँ मौन हुन्छु ।

मलाई थाहा छ, नेपालमा अहिले समाजवादको पसल चलाउने थुप्रै पार्टी छन् । संविधान नै 'समाजवादउन्मुख' छ रे, सुशीलले आउनेबित्तिकै सबैभन्दा पहिला सुनाएको मलाई । यो सुनेर मलाई खुसी लाग्यो । तर, शिक्षा-स्वास्थ्यमा नाफाको धन्दा चलाउनेहरू समाजवादी त के पुँजीवादी नै हुन सक्दैनन् । गरिब किसानको शोषण गर्ने, मुनाफा नबाँड्ने अर्बपतिहरू कांग्रेसी हुनै सक्दैनन् । राजनीति शोषणकाविरुद्ध हो, शोषक नै शासक भए समाज कस्तो हुन्छ ? हिजोका एमाले विनोद 'विनाशपथ' कसरी के कारण अचानक कांग्रेस नेता ?

हो, कांग्रेस रुख हो । रुख कसैको पेवा होइन । रूप सार्वजनिक सम्पत्ति हो । रुख प्राकृतिक स्रोत हो । रुख चौतारी हो । चौतारीमा बस्‍न, भारी बिसाउन कुनै शुल्क तिर्नुपदैन । चौतारीमा बस्‍न लालपुर्जा चाहिँदैन । रुखमुनि चौतारीमा बस्‍न-सुस्ताउन कुनै सर्त नचाहिएला रे, तर रुख चढ्न भने लोकतन्त्रको लय र समाजवादको सुरमा न्यूनतम प्रतिबद्धता चाहिन्छ । 

मानौँ, कांग्रेस कुनै देश हो । अनि त्यो देशको बासिन्दा हुन न्यूनतम कुनै सर्त पालना गर्नु, गराउनु पर्दैन ? कांग्रेस लगायत सबैजसो पार्टी दलाल, बिचौलियाको कब्जामा गएको, राज्यका सबै अंग बीभत्स भएको देखी-सुनी म ४० वर्षपछि फेरि यहाँ मर्नु भएको छु । 

कांग्रेस गरिब, किसान, मजदुरको हित गर्ने पार्टी हो । सधैँ सिंहदरबार र बालुवाटारमा टाँस्सिने पार्टी होइन । राजनीतिमा लाग्नु भनेको सबैभन्दा नाफाको व्यवसायमा जोडिनु होइन । देश र नागरिकका प्रति सेवा हो । पदमा रहँदा पारिश्रमिक पाउनुहुन्छ, लिनुस् तर गरिब किसानको तिरोमा अहिले जस्तो लुट, ब्रह्मलुट र लुट-लुट नमच्चाउनुस् । 

धनीमानीले राजनीति गर्नुहुन्‍न, म यसो भनिरेहको छैन । तर, कसले कति कर तिरेको छ ? कति कर छलेको छ ? के त्यो पार्टीभित्र बहस हुनुपर्ने विषय होइन ? मलाई, यहाँ हामी किसुनजीलाई लाग्छ- हामी बाँचेका भए यो महाधिवेशनका केन्द्रीय सदस्यमै पराजित हुने रहेछौँ । उम्मेदवारी दर्ताका लागि शुल्कैको तनाव हुने रहेछ । टिकटका लागि, जित्नका लागि १० करोड, २० करोड त कहाँबाट कसरी ल्याउनु ? सबैलाई आफूतिर तान्‍न किसुनजीले कतिवटा छाता र सुराही जोहो गर्नु ? 

बोल्दा बोल्दै म अलि बढी भावुक भएँ जस्तो लाग्यो । उसो त भावुक हुनु कुनै समस्या होइन । बरु भावुक नहुनु चाहिँ समस्या हो । 

वर्गीय, जातीय, लैंगिक आदि रूपमा यत्रा खाडल, ती खाडल झनै गहिरिँदो-फैलिँदो देखीदेखी मुन्टो बटार्नु कांग्रेस हुनु होइन । लोकतन्त्रका लागि लडेको पार्टीमा आन्तरिक लोकतन्त्रकैका लागि पार्टी कार्यालयमा अनशन बस्‍ने अवस्था आउनु कांग्रेसले लोकतन्त्रको लिक छोड्नु हो । निजी स्वतन्त्रतालाई सधैँ सम्मान गर्ने पार्टीमा महाधिवेशनमा समेत ह्विप जारी गर्नु स्वतन्त्रताको समाधि हो । 

मलाई फेरि आफ्नो पहिलाकै कुरा सम्झना भयो, ‘हामीले देशको गरिबी हटाउनुपर्छ भनेर मात्र पुग्दैन, देशको उन्नति भनेको के हो ? भन्‍ने पनि प्रस्टरूपमा बताउन सक्नुपर्छ । हामीले देशको गरिबी हटाउने बाटो वा उपाय पनि प्रस्ट रूपमा बताउनुपर्छ ।’

म पार्टीभित्र र बाहिर घनघोर चिन्तन होस्, बहस होस्, समालोचना होस् भन्ठान्छु । तर, यहाँ त मूल नेतृत्वले 'मलाई किन जिताउनुपर्छ भने मेरो प्रधानमन्‍त्री पद फुस्किन्छ' भनेर एक वाक्यमा भन्‍नुभयो । र, यही घोषणापत्र लिएर उहाँले चुनाव जित्‍नुभयो । पार्टी जतासुकै हराओस् तर सत्ता कहीँ नजाओस् भन्‍ने चिन्तन कांग्रेसको होइन । 

महाधिवेशनको नाराका तीन शब्द : 'उत्साह' उदासीनतामा, 'एकता' एकाधिकारमा र 'रूपान्तरण' रनभुल्लमा परिणत भएका छन् । पार्टीको विचार, दर्शन, कार्यक्रममा एक शब्द छलफल नहुने, नेतृत्वमा आएको विचार र व्यवहारको विचलनमा एक शब्द समीक्षा नहुने पार्टी अधिवेशन हो कि हाटबजार मेला ? धन्‍न ओलीको पार्टीमा जस्तो मताधिकार कुण्ठित भएन, लोकतान्त्रिक पार्टी यसैमा दंग गर्नुपर्ने अवस्था आएको छ । 

यति धेरै बोल्दा रामचन्द्रबारे किन बोलेन भन्‍नुहोला । उनी अब नाम लिन पनि लायक छैनन् । उनी मौन बसे, म पनि उनका प्रति मौन नै बसिदिन्छु । 

बारे किन बोलेन भन्‍नुहोला । उसले हाम्रो परिवारबाट कोइराला थरबाहेक विरासतमा केही पाएको छैन । पार्टीमा कहिल्यै कार्यकारी नभईकन, मन्त्री कहिल्यै नभईकन, अहिले त सांसदसमेत नभईकन, सामान्य केन्द्रीय सदस्यमात्र भएर जसरी लड्यो त्यो उसले विरासतमा पाएको हैन, विश्वासमा पाएको मत हो । आफ्ना भनिने जति सबै अर्कातिर, सत्ता र सरकार, लाभ र लोभ सबै अर्कातिर तर ऊ विभीषणसँग भीषण लडाइँ लड्यो । 

शेखरले जति मत पायो, त्यो कांग्रेस रूपान्तरणको आवाज हो । उसले स्वास्थ्यमा अपार व्यापारको विपक्षमा रहेका गोविन्द केसीको समर्थन गर्नुपर्छ । समाजवादको पहिलो एजेन्डा नै शिक्षा र स्वास्थ्यको अपार व्यापार रोक्ने हुनुपर्छ । शिक्षा र स्वास्थ्य संवेदनशील विषय हुन्, यी नाफावालेका हातमा हुँदा गरिबहरू शिक्षा र उपचारबाट वञ्चित भई मर्नुपर्ने अवस्था आइरहेको छ । शिक्षाले तहतहका नागरिक जन्माइरहेको छ । यसमा ध्यान दिनुपर्छ । 

शेरबहादुर देउवा । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सधैँ सक्रिय रहेको आफ्नै संघर्षले माथि उठेको पात्र हो । उहाँ फेरि चुनिनुभयो, उहाँलाई म हार्दिक बधाइ दिन्छु । उहाँलाई मत दिने सबैप्रति मेरो बरोबर सम्मान छ । तर, नेपाली कांग्रेसको र देशको ड्राइभिङ सिटमा अब उहाँ अझै कति बस्‍ने ? उहाँको लाइसेन्समा प्वालैप्वाल छन् । गाडी जहिले पनि दुर्घटना गराउन सक्ने हुँदा गाडीमा सवार यात्रु चनाखो हुनैपर्छ, अब । अनि उहाँले हिजो साँझ फेरि एसईई पास भएको मार्कसिट पाउनुभयो । आठवटा विषयमध्ये उहाँले गणित, अर्थशास्त्र र कूटनीतिमा पास मार्क पाउनुभएको छ भने नैतिक शिक्षा, सामाजिक शास्त्र, इतिहास र विज्ञान (मतपत्र र पेटिका) विषयमा भने शून्य प्राप्‍तांक पाउनुभएको छ ।

गगन थापा ? उनी नेपाली कांग्रेसको वर्तमान र भविष्य दुवै हुन् । उनी कहिल्यै थाक्नुहुन्‍न । लोकमा खराबको अस्तित्व छ, र त असल पात्र टाढैबाट चिनिन पाउँछ । भन्नैपर्दा राणातन्त्र, राजतन्त्र, कुलीनतन्त्र, पञ्चायत थियो र त बीपी बीपी हुन पायो । म वर्षाैं जेल बसेँ, निर्वासनमा बसेँ । गगनले सत्य, स्वतन्त्रता, लोकतन्त्रलाई कुनै पनि लोभमा नसाटून् । एउटा कुरा भनिहालूँ- अहिले किसुनजी, म, गणेशमानजी, सुवर्णजी, शैलजाजी, महेन्द्रनारायण निधिजी, भीमबहादुरजी सबै ‘गगन’मा छौँ । हो, हामी सबै यति बेला ‘गगन’मा छौँ । आशा छ, गगनमा कालो बादल लाग्ने छैन । (हाम्रो ध्येय शीर्षकमा उनले ल्याएको ६१ पृष्ठको विचारपत्र, संकल्पपत्रबारे म उनलाई चाँडै बधाइको लिखित प्रतिक्रिया पठाउनेछु ।)

अहो ! उज्यालो पो भएछ । ६१ वर्षअघि म बोल्दाबोल्दै भोलि थुनिएको थिएँ । ६१ वर्षपछि आज जति पनि, जे पनि बोल्न पाएको छु । लोकतन्त्रको सुन्दरता यही हो । सबैको जय होस् । म नेपाल र नेपालीको भविष्य उज्यालो देखिरहेछु । 

जय नेपाल 

उही तपाईंहरूको सान्दाजु, 

२०७८ पुस १ को १ दिन पहिले


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x