विचार

निराशाबीच युवा नेतृत्वले जगाएको आशा

ईश्वरीप्रसाद पोखरेल |
पुस ६, २०७८ १२:९ बजे

घटना पनि कस्तो ? २०४८ सालदेखि सत्ता, शक्ति र धनधान्यको आहालमा डुबेका, सबै राजकीय, शासकीय सुखसुविधाबाट भरिएका, पाँच पटक प्रधानमन्त्री, एक पटक कांग्रेस प्रजातान्त्रिक तथा अर्को पटक कांग्रेसकै सभापतिको भूमिका निर्वाह गरिसकेका व्यक्ति फेरि सभापति चुनिएका छन् ।

एक कर्मचारीको हैसियतमा भन्दा निवृत्त भएपछि अर्को बीस वर्षको जागिर खाइसकेका वृद्धपुस्ताले सम्मानसाथ साथ राजनीतिक विश्राम लेलान् भन्‍ने कल्पना थियो । तर आमराजनीतिक कार्यकर्तालाई निराश तुल्याउँदै आफैँ प्रमुख माहुते नभएमा प्रजातन्त्र, सरकार र पार्टी नाश हुन्छ भन्‍ने अडानमा अर्का समान हैसियतको चाह्ना राख्‍ने लालची नेताको आजीवन प्रतिस्पर्धीको पक्षमा मौन समर्थन र पलायनता कम आश्चर्यको रहेन ।


अर्कातिर श्रद्धेय त्यागी नेताहरूको पितृत्वको आडमा नेताको पदमा आफूबाहेक अरूलाई अयोग्य ठान्‍ने ? तुच्छ संस्कारी आफन्तहरू समेतबाट साथ नपाएको सत्ता, शक्ति र सार्वजनिक पदमात्र होइन राजनीतिक पदाधिकारीको पदमा समेत कुनै हैसियत नजमाएको, कोइराला परिवारका सबै कमीकमजोरी र अपराधबाट टाढा रहेको तर कोइराला वंश तथा तिनकै घरपरिवारमा जन्मिएको नाताले सत्ता र शक्तिका पक्षधरहरूबाट अपहेलना गरी परित्यक्त शेखर कोइरालाको कांग्रेस पार्टीको अध्यक्षमा भिड्ने साहसले देश दुनियाँ थर्किएको तथा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको साथ र उच्च मूल्यांकनबाट अत्तालिएको पाइँदा भीम रावल र घनश्याम भुसाल बन्‍ने हुन् कि भन्‍ने चर्चा सुनिन्थ्यो ।

महाधिवेशनका संकेत
नवनिर्वाचित राप्रपाका अध्यक्षमा राजेन्द्र लिङ्देनले कमल थापालाई बसाले । तर आफू हारेकामा कमल थापाले निवृत्त राजालाई सत्तोसराप गरे । नवनिर्वाचित अध्यक्ष लिंदेनले राजनीतिक पार्टीका नेताहरूलाई चोरको उपाधि जनताले दिने गरेको खुलासा प्रधानमन्त्रीको पार्टीको महाधिवेशनमा नै ठूलो स्वरमा गरे ? 

पूर्व प्रधानमन्त्री भएकाहरू (को को) लाई चोर भन्‍ने शब्दले धेरै पोल्यो ? लिंदेनको भाषणको प्रभावमा आफ्ना पार्टीभित्रका बुँख्याचा, दासहरूले पनि कतै नागरिक चेतनाबाट विद्रोह गर्लान् कि ? भन्‍ने त्रासले गणतन्त्रका ठूला ठूला महाराजा भएका माहुतेहरूले लिङ्देनको अपमानका शब्दले प्रतिकार गरे । लिंदेनको आफ्नो सत्य स्वीकारोत्तिलाई पनि पचाउन सकेनन् रे ? 

पीडित बनाइने कस्तो व्यवस्था ?
राजनीति तथा प्रशासनिक दैनन्दिनका कुशासनका श्रृङ्खलाहरूबाट आजित पंक्तिकारले सुशासनका लक्षण पञ्चायत, संवैधानिक राजतन्त्र, लोकतन्त्त र गणतन्त्र कतै पनि अनुभव गर्न पाएन । उल्टो जीवनभर सुशासनका प्रयासहरूमा लाग्दा प्रताडित र जिम्मेवारीबाट विहिनताको पिडा मात्र होइन, अपितु कठोर दण्डित हुनुपर्ने अपराध मनोवृत्तिका व्यक्तिहरू पुरस्कृत हुने वातावरणको दिन दुईगुणा रात चौगुणाका  दरको बढोत्तरीले मानसिक पिडा र निराशामा पूर्ण प्रवेश गराएको थियो ।

फलतः शासकीय सुधारका पक्षमा लेखिने विचार प्रवाह लेख लेख्‍न मन मर्दै जान थालेको थियो । राजनीति वा प्रशासनिक क्षेत्रमा चाकरीवाज, चम्चागिरीका शब्दावलीबाट दासभाव व्यक्ति गरी कसैलाई विश्वास र देवत्वकरण गर्नेहरूको जमात बढ्दै जाँदा नवयुवायुवतीहरूलाई समेत धेरै शंका गर्न बाध्य तथा सम्मान गर्न मनले मान्दैनथ्यो । 

मालिक र बुँख्याचाहरूको जमात छनौट ? 
मुलुकको नेतृत्व मालिक तथा कार्यकर्ता र समर्थकहरू विवेक गुमाएका बुँख्याँचाहरूको जमात हो र देशको राजनीतिक तथा प्रशासनिक नेतृत्वमा सामन्त र दास वर्गको मात्र उपस्थिति छ भन्‍ने पंक्तिकारको निचोड रह्यो । फलतः सफलतामा  पुग्न विकृति र विसंगतिका अनेकौँ भरेङ चढ्दै उच्च सफलता हासित गर्न तथा देशलाई अधोगतिमा पार्न माहिर कुनै व्यक्ति वा पदाधिकोरीको पक्षमा सहमत हुन र असहमत हुन पंक्तिकारको आत्माले कहिल्यै स्वीकार्र्दैनथ्यो । यतिसम्म निराशा तथा नेतृत्वप्रति घृणा जागेको थियो कि कोही कसैले प्राप्त गरेको पद लाभ, ओहदाका लागि बधाइ लेखेर शब्दको अपमान गर्न पंक्तिकारले छोडिसकेको थियो ।

यस्ता राजीनिक पार्टीबाट के आशा गर्ने ?
दुई दशकको मालेका एकल नेता सिपिवाद, सबै खेलमा आफ्नै सिद्धान्त र नीति पारित गर्ने राप्रपा कमल थापावाद,  म आफू बोलेपछि तीन करोड नेपालीको बोली यही हो ? मेरो लागि १८ करोड होइन सबै नेपाललाई बन्धक राखे पनि चुपचाप ताली पिट्न पर्छ भन्‍ने ओलीवादको बुख्याँचालाई राजनीति ठान्‍ने नेकपा एमाले ओलीवाद, सत्ता र शक्तिको लागि जे पनि गर्न र जसलाई पनि प्रयोग र पछार्न सक्ने ३५ वर्षदेखि एकछत्र राजनीतिक नेतृत्वका सिद्धान्तहीन प्रचण्डवादका साथै, ३० वर्षदेखि निरन्तर सत्ताको चास्नीमा डुबेका, पाँच पाँच पटक प्रधानमन्त्री र १० वर्षभन्दा बढी राजनीतिक पार्टीको शिर्षस्थ पदमा आसीन विद्यमान प्रधानमन्त्री शेरबहादुरको छत्रछायामा हुर्किएको र दासहरूले घेरिएको राजनीतिमा कसरी पश्चिमबाट सूर्योदय होला भनी कल्पना गर्नू ?

जस्तो भएपनि मान्‍नै पर्ने अनि कसरी नदिउँ बधाई ? 
पार्टीभित्र व्यक्ति पात्र होइन, उसले लिने चरित्रगत प्रवृत्ति र राजनीतिक सोच, प्रजातान्त्रिक अभ्यास र मुलुकको समृद्धिमा सुशासन, पार्दशितासहितको नेतृत्वको उच्च खोजी भइरहेको छ । रूपान्तरणको अगुवाइको प्रतिवद्धता गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, एकल नेतृत्वको निर्णयमा देशको समृद्धि देख्‍ने नेकपा एमालेका अध्यक्ष केपी ओली, ३० वर्षदेखि भोग्दै आएको तर केही नपाएको भएपनि प्रजातन्त्रको पर्यायमा परिचित नेकाका सभापति शेरबहादुर देउवा, नयाँ पुस्ता तयार नभएकोले बाध्यतामा भोलिका दिनमा पनि अध्यक्ष बनि आउन विवश हुनु हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सबै सबैलाई कार्यकालको सफलताको शुभकामना ।

कस्तो कस्तो प्रवृत्तिको राजनीति, बधाइ दिन पनि नसकिने ?
नेकपा एमालेको पार्टीभित्रको सत्ता पक्ष र इतरपक्षको इच्छाविपरित पार्टीलाई लोकतान्त्रिक अभ्यासमा लैजान मूर्खता गर्ने भीम रावल, घनश्याम भुसालहरूलाई उच्च साहसका लागि साधुवाद । जीवनभर राजाका नाममा राजनीति गर्ने र पार्टीका कार्यकर्ताले तिमी इमानदार रहेनौँ भन्दा उनै राजालाई दोष लगाएर आफ्नो छविमा आफैँ हिलो छ्याप्ने कमल थापामा सहानुभूति, आफ्ना पिताहरूको त्याग र आदर्शमा सौदाबाजी गर्ने र चेक भजाएर स्वार्थभरणमा पछाडि नपर्ने प्रकाशमान सिंह र विमलेन्द्र निधिको राजनीतिक चरित्रमा कोही कसैले हिलो नछाप्‍न आग्रह बाहेक के पो गर्न सकिन्छ र ? सुजाता र संसाकको राजनीतिको के कुरा गर्नु ? के्रन र बे्रनले जता तान्यो त्यतै हो ? कठै भन्‍नु पनि शब्दको अपमान हुन सक्छ । इमानको खडेरी र पद-पैसामा सौदावाजीकालमा मिनेन्द्र रिजालको रक्षामन्त्री त्यागको अर्थ भविष्यले निर्धारण गर्ला ? अहिले समीक्षा गर्ने बेला भएको लाग्दैन ।

अन्धकारका बीचमा चम्किँदा किरण
राजनीतिका सबै पक्षले जतासुकै निराशा र कुण्ठामा फसेको नेपालको राजनीति तथा शासकीय पक्षमा सुशासन दिने प्रतिबद्धतासाथ पार्टीभित्रका ३० वर्षदेखि सत्तापक्ष र इतरपक्षको किल्ला समाएका तथा पार्टी बाहिरसमेत सबैका लागि बाँडीचुँडीको सौदावाजीको मिलिभगतको राजनीतिक नेतृत्व गर्न सफल प्रधानमन्त्री देउवाको सभापतिको उम्मेवारीको अवस्थामा पनि २७ गते मात्र अन्तिम उम्मेदवार बनेर पनि डाक्टर शेखर कोइरालाले जुन किसिमको १८५५ मतको समर्थनमा ४१ प्रतिशत जाहेर भएको पार्टीका कार्यकर्ताहरूको नेता हुनुभएको छ । 

यथास्थितिवादी र भ्रष्टाचारी तथा वंश, पितृत्व र गुटको नेता होइन, जनताको नेता बन मत तिमीलाई प्राप्त हुन्छ भन्‍ने सन्देश मुलुुकमा प्रवाह गर्न राजनीतिक परिवर्तनका पक्षधरका लागि शेखरको मत विजयको मालाको रूपमा पर्याप्त छ भन्‍ने पंक्तिकारलाई लाग्छ । विश्वप्रकाश जस्तो शालीन र प्रतिभाशाली व्यक्तित्वलाई पर्दापछाडि धकेलेर पदविहीन भएर पनि मुलुकमा योगदान गर्न सकिन्छ भन्‍ने सिटौला प्रवृत्तिका कांग्रेसीजनले बेलैमा चिनेर गुुटउपगुट होइन, कांग्रेसको सम्पत्ति विश्वप्रकाशलाई महामन्त्री बनाउने कार्यकर्ताहरूलाई धेरै धेरै साधुवाद छ । 

गगन थापा त नेपाली कांग्रेसको खुला आकाश हुन् । गगन र विश्व प्रकाशको जोडी करोड नेपालीको आशाको ज्योति हो भन्‍ने कथनलाई यी दुवै महामन्त्रीले सत्य साबित गरुन् यही शुभकामना छ । नवनिर्वाचित उपाध्यक्ष धनराजको धनसम्पत्तिप्रतिको वितृष्णा र सुशासनका लागि सबै सार्वजनिक पदका (राजनीतिक तथा प्रशासनिक) पदाधिकारीको सम्पत्ति छानबिन गरौँ भन्‍ने जीवनभरको मुद्दाको आवाजले साकारता पाओस् । पूर्णबहादुर खड्काजी सबैमा पूर्ण र शालीन निष्कलंक व्यक्तित्व हुनु भएकाले धेरै आशा र भरोसा जागेको छ । नेपाली कांग्रेसमा होनहार प्रतिभा चन्द्र भण्डारी, मिनेन्द्र रिजाललगायतका दर्जनौँ प्रतिभाहरूको नेतृत्वको घडी अहिलेलाई पूर्णविराम लागेको छ ।

नेकपा माले, राप्रपा र नेकपा एमाले, नेपाली कांग्रेस तथा भावी दिनमा चयन भएर आउने माओवादी केन्द्र तथा मुलुकमा क्रियाशील सबै राजनीतिक पार्टीका युवाहरूले आफूहरूलाई मूर्दा दासको बुँख्याचाबाट माथि उठाएर नेपाली राजनीतिमा उत्पन्‍न हुँदै गएको निराशा र कुण्ठा, त्यसबाट सिर्जित पलायनतालाई चिर्न पूर्ण प्रयास र सार्थकता हासिल गर्नु होला भन्‍ने हार्दिक शुभकामना ।

ढिलो चाँडो नेपाली कांग्रेस पार्टीको महाधिवेशनले पूर्ण लोकतन्त्रलाई स्थापित गर्न प्रयास र सफल भएको छ । सबै महाधिवेशन प्रतिधिनिहरूलाई हार्दिक धन्यवाद, बधाइ दिँदा नेपालमा क्रियाशील अरू अरू पार्टीहरूले पनि लोकतान्त्रिक आचरण र विधि प्रक्रिया सिकून् तथा अनुकरण गरुन्, टिके अध्यक्ष र पदाधिकारी प्रथा बन्द गरुन् भन्‍ने आग्रह छ ।

उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
 



Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
ad
x