विचार

नेपाल सन्दर्भबाट रवीन्द्र मिश्रलाई नमस्कार !

विमल आचार्य |
पुस ६, २०७८ मंगलबार १८:६ बजे

हाल विवेकशील साझा पार्टीको नेतृत्वमा रहेका रवीन्द्र मिश्र राजनीतिमा आउनुअघि धेरैको आदर्श पत्रकार थिए । पत्रकारका रूपमा दलका नेताहरूलाई उनले गर्ने तीखा प्रश्नको प्रतिध्वनि रेडियो तरंगमा अझै छँदै नै छ । दलहरूको विचार र व्यवहार, कथनी र करनीमा स्पष्ट देखिने बिब्ल्याँटोलाई लिएर उनी घनघोर प्रश्न गर्थे । नेताहरूका जवाफभन्दा बढी नाजवाफ सुन्नलायक हुन्थ्यो ।

सल्यानमा साँझको पौने ९ पनि मध्यरातमा बज्थ्यो । स्वावाँ गर्दै कतै टाढाबाट आएको ‘सर्टवेभ १९, २५ र ३१ मिटरब्यान्डमा बीबीसी नेपाली सेवा’ भन्ने आवाज नबुझी-नबुझी पनि मेरो प्रिय हुन थालेको थियो । त्यो शनिबार अंग्रेजी सिकाउँथ्यो । बिहीबार पोस्टबक्स नम्बर ६७२ मा प्राप्त विषय-विविध चिठीका जवाफ दिन्थ्यो ।


९ कक्षामा पढ्दा मैले त्यही ‘पत्रमञ्जुषा’का लागि ‘भुटानी शरणार्थी समस्या भनेको के हो ? कृपया हाँसीहाँसी जवाफ दिनुभए आभारी हुने थिएँ’ लेखेर पठाएको थिएँ । एकदिन लन्डनबाट मेरो नाउँ-ठाउँ बज्यो । आफ्नो नाउँ बजेको खुसीमा मैले जवाफ केही पनि सुनिनँ, सम्झिइनँ । आवाज रेकर्ड गर्ने सुविधा हुँदो हो त पहिलोपल्ट आफ्नो नाउँ छापिएको पत्रिका जसरी त्यो म सधैँ बोक्दो हुँ, हजारचोटि सुन्दो-सुनाउँदो हुँ ।

मैले त्यतिबेलाको आफैँलाई अहिले ढाँट्न हुन्न- म रवीन्द्र मिश्रको फ्यान नै थिएँ । ‘नेपाल सन्दर्भबाट रवीन्द्र मिश्रको नमस्कार’, ‘सबभन्दा पहिला मैले उनलाई सोधेको थिएँ’, ‘उनी थिए नेपाल सरकारका गृहमन्त्री कमल थापा’ उनका यस्ता लवजको म मिमिक्री गर्न सक्छु, अहिले पनि । मेरो मिमिक्री सुनेर साथीहरू ममा हावा भर्छन्- ठ्याक्कै मिश्र ! 

मणि राणा, खगेन्द्र नेपालीसहित रेडियोमा सुनिरहने उनै रवीन्द्र मिश्रलाई मैले एकदिन ठूलोबुवाको घरमा पत्रिकामा देखेँ । लेख नबुझे पनि मैले त्यो पढेँ । कालो ज्याकेट र चस्मा लगाएको उनको हँसिलो फोटो, मलाई अहिले पनि सम्झना छ । त्यतिबेला म सात कक्षामा पढ्थेँ । ‘नेपाल’, ‘हिमाल’, ‘मूल्यांकन’, ‘नवयुग’ पत्रिका हुन्थे, ठूलोबुवासँग । ती मागेर पढ्न आफूलाई डर लाग्थ्यो, ठूलोबुवाले पनि ‘ल यी पढ्’ भनेर कहिल्यै कुनै पत्रिका-किताब दिनुभएन । उहाँको घर गएका बेला चोरीचोरी पढिन्थ्यो । 

ती पत्रिकालाई म्यागेजिन भन्दारान्, पछि थाहा पाएँ । उनको स्तम्भको नाउँ चाहिँ ‘भूमध्यरेखा’ मलाई सम्झना थियो । पछि कुनै अंकमा डा. बाबुराम भट्टराईले मिश्रलाई जवाफी लेख लेखेका थिए, त्यो पनि नबुझी नबुझी मैले पढेथेँ । मिश्रलाई ‘विदेशमा भागेको भ्यागुताले हामीलाई उपदेश दिन्छ’ टाइपमा केही भनेका थिए जस्तो लाग्छ । आफू सशस्त्र युद्धको स्थान-समयमा हुर्किरहेको र बाबुरामबारे धेरै किस्सा सुनेको हुँदा पनि मलाई त्यो लेखप्रति आकर्षण भएको हुनुपर्छ । 

उनले अरु पार्टी फोहोरको डंगुर भइसकेको हुँदा तिनको दुर्गन्ध छोप्न आफूहरूले अगरबत्ती बाल्नुपर्ने तर्क गर्थे । सुसंस्कृत, सभ्य वैकल्पिक राजनीतिको उपदेशक होइन, उदाहरण बन्छौँ भन्थे ।

त्रि-चन्द्रमा स्नातक पहिलो वर्षको परीक्षा दिन पहिलोपटक काठमाडौँ आएको र यतै बसेको अवस्थामा ‘साझा सवाल’को सुरुवातको कुनै अंकमा घरपतिको टिभीमा मैले मिश्रलाई पहिलोपटक बोलिरहेको देखेँ । स्वरको त फ्यान थिएँ, बड्डा बडो ह्यान्सम नि लाग्यो । 

सल्यानमा हुँदाको ‘रातको पौने नौ’ काठमाडौँमा मलाई ‘साँझको पौने नौ’ भयो । राति अबेरसम्म अफिसमै काम गर्ने गरी पत्रकारिताको जागिरमा आएपछि बीबीसी सधैँ सुनिरहन पाइएन । तर, बुधबारको ‘नेपाल सन्दर्भ’ भने मैले अफिसमा पनि छुटाइनँ । मोबाइलमा इएरफोन घुसारेर म अफिसमा बीबीसी सुन्थेँ । आफूलाई मन परेको कार्यक्रम म लाउड स्पिकर गरेर सुन्थेँ, साथीहरू पनि सुनून् भन्ने अव्यक्त चाहनामा, अनि कति साथीहरू मलाई जिस्काउँथे पनि । 

अर्काे एउटा कुरा, पत्रकारितामा ‘जागिरे हुनु’अघि म मार्टिन चौतारीमा काम गर्थें । त्यहाँ सहकर्मी अंकलाल चलाउनेजीसँग मेरो मित्रता भयो । ती जी पछि मेरो प्रिय भाइ भए र छन् । भाइ त मैले बीबीसीमै नाउँ-निबन्ध सुनेका डोल्पाका उनै भाइ रहेछन् । घरभन्दा टाढा हेडसरकै डेरामा काम गर्दै-पढ्दै एसएलसी तयारी गरिरहेका बेला उनले ‘मैले सोचेजस्तो हुने भए’ शीर्षकमा निबन्ध लेखेर हुलाकबाट बीबीसीमा पठाएका थिए । उनी उत्कृष्ट पाँचमा परे । पुरस्कार जिते । पुरस्कार लिन ‘काठमाडौँ आउने कि नेपालगन्ज’ भनेर सोधेपछि कहिल्यै गाडी नदेखेका उनलाई नेपालगन्ज नै अति भयो- उनले नेपालगन्ज छाने । अंकलालको कुरा यत्तिमै सकिँदैन । रवीन्द्र मिश्रकै कारण अंक काठमाडौँ आएर पढ्न पाए । मिश्रले दिदी मन्जु मिश्रलाई भनेर निःशुल्क पढ्ने व्यवस्था मिलाइदिए । 

अहिले अंक समाजशास्त्री तथा अनुसन्धाता भएका छन् । उनले आफ्ना भाइहरूलाई काठमाडौँमा राखेर पढाइरहेका छन्  । राजनीतिमा आएपछिका मिश्रको थेगो ‘परिवर्तन हाम्रै जीवनकालमा’ जस्तै भएको छ, अंकको जीवन । पत्रकारका रूपमा मन परेका मिश्रको भावुक पाटाहरू सुनेपछि मलाई उनी राजनीतिमा आइसकेपछि पनि ‘आधारभूत रूपमै’ खराब नलागेकै हो । मिश्रहरूले राजनीति गर्दा समाजलाई केही घाटा छैन, बरु उनीहरूका प्रश्न-पहलले पुराना पार्टीलाई सुध्रिन मद्दत नै गर्ला, मलाई यस्तै लाग्थ्यो । 

जनआन्दोलन २०६२-०६३ मा सक्रिय भाग लिएको म जब मनुज चौधरी उनी नै हुन् भन्ने थाहा पाएँ, उनीप्रतिको विश्वासको एक इँटा झर्‍याे । उनी ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भनेर लेख्थे । यस्तै लेखिएको टिसर्ट लगाउँथे । कहिले गीता छोएर शपथ खान्थे । कहिले भ्रष्टाचार गर्नु ‘आमाको मासु खानु बराबर’ भनेर बीभत्स किरिया खान्थे ।

श्रापदेखि किरियासम्मका उनका यस्ता पछिल्ला अभिव्यक्तिलाई मैले आलोचनात्मक रूपमा हेर्न थालिसकेको थिएँ । किनकि मार्टिन चौतारीले मलाई हर चिजको अर्काे पाटो पनि सोच्न-सोध्न सिकायो । तर, पनि उनी कमी-कमजोरीसहितका आत्ममुग्ध मनुवा भए पनि आधारभूत रूपमै खराब होलान् भन्ने चाहिँ लागेन । 

पार्टी राजनीतिमा प्रवेश गर्नुअघि मिश्र कांग्रेसका नेता गगन थापादेखि एमालेका नेता रवीन्द्र अधिकारी (हाल दिवंगत) सम्मका युवा नेतालाई पार्टी छाड्न आग्रह गर्थे । पुराना पार्टीबाट पार नलाग्ने, ती सडिगलिसकेको हुँदा त्यहाँ कुनै सुधार नहुने भन्दै सबै दलका राम्रा युवा मिलेर नयाँ पार्टी खोलौँ भन्थे । उनले स्वर्णिम वाग्ले, लीलामणि पौडेलहरूसँग मिलेर कान्तिपुरमा छापेको लेखबाट म आंशिक आशावादी पनि भएँ । उनले अरु पार्टी फोहोरको डंगुर भइसकेको हुँदा तिनको दुर्गन्ध छोप्न आफूहरूले अगरबत्ती बाल्नुपर्ने तर्क गर्थे । सुसंस्कृत, सभ्य वैकल्पिक राजनीतिको उपदेशक होइन, उदाहरण बन्छौँ भन्थे ।

यसरी नै उनी अघिल्लो चुनावमा काठमाडौँ–१ बाट संघीय संसद्को उम्मेदवार बने । सधैँ मुस्कान छरेर मीठो बोल्ने उनका कुरा पत्याउनेको संख्या बाक्लो थियो भन्ने प्रमाण उनले पाएको मतले पनि देखाउँछ । पत्रकार प्रतीक प्रधानले त टीकाराम यात्रीसँगको एक संवादमा ‘प्रकाशमान सिंहको हार हुने, रवीन्द्र मिश्रले चुनाव जित्ने’ भविष्यवाणी नै गरेका थिए । हुन पनि कुनै ठूलो संगठन नभएको पार्टीले प्रकाशमान सिंहलाई जसरी अत्याएको थियो, त्यो हेर्नलायक अवश्यै थियो । 

मिश्रले साझा पार्टी खोल्नुभन्दा पहिल्यै मिलन पाण्डे, रन्जु दर्शना, पुकार बमहरू उज्ज्वल थापा (यही वर्ष दिवंगत) को अगुवाइमा ‘विवेकशील  नेपाली’ भन्दै-बन्‍दै सडकमा थिए । उनीहरूले परम्परागत राजनीतिमा आफूहरू आदर्श विकल्प हुने भन्दै केही सकारात्मक र सृजनशील पहल थालेका थिए । त्यतिबेला नेपाल बन्द गरेर आम नागरिकलाई यातना दिने चलन बाक्लै थियो । जुन दलले आम नागरिकलाई जति बढी यातना दिन्छ, ऊ सरकारसँग वार्ताका लागि, सत्ताका लागि बढी योग्य हुन्थ्यो । आमनागरिकलाई यातना दिएर योग्यता बढाउने नेपाली राजनीतिको भाष्य बुझिनसक्नु थियो र छ ।

‘यहाँ सुशासन, सुसंस्कृति, समृद्धि, अनुशासन, संविधानवाद’ पाइन्छ भन्दै पसल खोलेका मूल प्रोप्राइटर मिश्रले जब ‘विचारभन्दा देश माथि’ भन्दै २०६२/६३ भन्दा पछाडि फर्किनुपर्ने विचार पेस गरे, त्यसले पार्टी छिन्नभिन्नको अवस्थामा पुग्यो । 


२०६२/६३ को परिवर्तनपछि पनि दलहरू नसुध्रिएको देखेर आमनागरिक दिक्क हुँदै थिए । त्यही दिक्दारीको परिणामस्वरूप विवेकशील युवाहरूले आफैँ केही गर्न सकिन्छ कि भन्दै सक्रिय हुन थाले । राजनीति फोहोरी खेल हो भन्दै टकटकिनु अथवा बर्बराउनुको साटो उनीहरूले अरु दलले गरेको फोहोर उठाउन थाले । कमल थापाको पार्टीले भृकुटीमण्डप भेलामा गरेको फोहोर पछि उनीहरूले उठाए । बागमती सफाइ अभियानमा लागे । चिकित्सा आन्दोलनका अगुवा डा. गोविन्द केसीलाई साथ दिए । लोकमान सिंहलाई हटाउन जागे । माइतीघर मण्डलमा जनचासोका विषयमा प्रदर्शन गरे । प्रदर्शन गर्दा उनीहरूले सकेसम्म अरुलाई अवरोध नहुने गरी गरे । 

विवेकशीलहरू अरु दललाई पनि लाज हुने गरी ससाना काममा सक्रिय हुँदै थिए । यस्तै कामले उनीहरूले काठमाडौँ महानगरपालिकामा मेयरको चुनावमा रन्जु दर्शनालाई उठाएर साझाका किशोर थापाभन्दा बढी समर्थन पाए । नामका ती ‘किशोर’भन्दा मेरो सहानुभूति जहिल्यै उमेरले किशोरप्रति हुन्छ, रन्जुलाई शुभकामना थियो । किनकि रन्जुको पुस्ताले उमेरले नै यो देशमा बढी समय बिताउनु छ, देश कस्तो बनाउने भन्ने चिन्ता झन् युवाहरूलाई बढी हुनुपर्छ र हुन्छ पनि । 

पछि रवीन्द्र मिश्रको साझा र तिनै युवाहरूको विवेकशील पार्टीबीच एकता भयो । तर, साझा पार्टीले विवेकशीलका उम्मेदवारलाई मेयरमा आलाकाँचा भनेपछि साझाप्रति मेरो युवा आक्रोश बढेको थियो । बासीतासीहरूको बाहुल्य भएको पार्टीमा झर्झराउँदा युवाहरू लुसुक्क छाता ओढ्न पुगेको दृश्य सुरुदेखि नै निको लागेको थिएन । 

तर, पुराना दलहरूको कार्यशैलीबाट वाक्कदिक्कप्याक्क भएका केही विश्लेषकहरू पनि भावुक भए, ठीक छ नि त भनेर समर्थन गरे । मुमाराम खनाल, केशव दाहालहरूदेखि सरोज धिताल, अजयभद्र खनाल, सूर्यराज आचार्य, दिनेश प्रसाईंहरूसम्मले खुलेरै साथ दिए । तर, परिणाम हात लाग्यो- अहिलेको बाझाबाझको टुटफुटको गएगुज्रेको दुर्गन्धित स्थिति । 

‘यहाँ सुशासन, सुसंस्कृति, समृद्धि, अनुशासन, संविधानवाद’ पाइन्छ भन्दै पसल खोलेका मूल प्रोप्राइटर मिश्रले जब ‘विचारभन्दा देश माथि’ भन्दै २०६२/६३ भन्दा पछाडि फर्किनुपर्ने विचार पेस गरे, त्यसले पार्टी छिन्नभिन्नको अवस्थामा पुग्यो । 

रवीन्द्र मिश्र, जो पहिला भारत, चीन, अमेरिका, युरोप, सिंगापुरको उदाहरण दिँदै ‘विकासका लागि कुनै व्यवस्था बाधक नभएको’ तर्क गर्थे । नीतिभन्दा नियत नै बाधक भएको बताउँथे । तर, अहिले उनी सबै दोष व्यवस्थालाई दिँदै छन् । 

ठीक छ, पहिला पनि हाम्रो घर (नेपाल) चुहिने नै थियो, थोत्रै थियो । घरमा सीमित ठूलाठालुको मात्र हालिमुहाली थियो । सशस्त्र द्वन्द्व, जनआन्दोलन नामको बाढीले त्यो घर भत्कियो । आजभन्‍दा १३ वर्षअघि ठडिएको घर पनि चुहिने नै भएको छ । तर, अब पछिल्लोे घर पनि चुहिने भएपछि पहिलाकै उही चुहिने घर, जसको नामोनिसाना मेटिइसक्यो, त्यही चुुहिने घर चाहियो भनेर कति रुने ? देशका सबैजसो नागरिकले बनाएको यही घरलाई टालटुल, रंगरोगन गरे हुन्न ? फेरि चिन्ता त, घरको भौतिकीभन्दा बढी घरभित्रका आमसदस्यको खुसी बढाउनेतिर हुनुपर्ने होइन ? घरभित्रका मुलीहरू जो सधैँ ननइस्युलाई इस्‍यु बनाउँछन्, आगो ओकलिरहन्छन्, नयाँ सदस्य त्यो आगोमा घिउ थप्न चाहिएको होइन, पानी हाल्न चाहिएको हो । 

राजनीति फोहोरी खेल हो भन्ने उमेरका पुस्तालाई घरमा बोलाएर मिश्र राजनीति फोहोरी खेल नै हो भन्ने खेल बहादुरीसाथ देखाइरहेछन् । बहकिने उमेरका पुस्तालाई प्रौढ मिश्र आफैँ पो झनै बढी बहकिएर अनावश्यक धारतिर बगाउन खोजिरहेछन् । 

सात दशकपछि, हजारौँको शहादतीपछि, अर्बाैं रूपैयाँको खर्चपछि दोस्रो पटक निर्वाचन भएर बल्लतल्ल तयार भएको पहिलो जनप्रतिनिधिमूलक संविधानलाई टेकेर नै अघि बढ्छु भन्ने उनी त्यही निर्धाे संविधान नकुल्ची देश बन्दै बन्दैन भन्दैछन् । अब त उनी धर्म जस्तो नितान्त व्यक्तिगत (नितान्त व्यक्तिगत उनको स्तम्भ थियो) विषयलाई राजनीतिमा प्रवेश गराउने मनसुवामा देखिएका छन् । 

धर्म यति ज्वलनशील पदार्थ हो, जसमा अलिकति सावधानी नअपनाउने, विवेक नपुर्‍याउने हो भने त्यो परालको आगोजस्तो होइन, भुसको आगो जस्तो धुवाँइरहन्छ । त्यो आगोबाट पिल्सिने र पोलिने त आम सर्वसाधारण नै हुन्, मिश्र जस्ताका लागि त विश्वको जुनै सहरको ढोका सधैँ खुल्लै नै छ । (धर्मको राजनीति कतिसम्म घातक हुन्छ भन्नेबारे यसपालिको ‘हिमाल मासिक’को मूल थिम छ, त्यहाँ २० जनाभन्दा धेरै बौद्धिकका पठनीय लेख–रिपोर्ट छन्, पढ्न सिफारिस ।) 

विदेशमा राजनीतिशास्त्र पढेका, विदेशमा पत्रकारिता गरेका उनकै शब्दमा ‘दुईचार अक्षर चिनेका-देशदुनियाँ बुझेका’ मिश्रले राजनीतिमा थर-वंश-धर्मको अनौचित्यबारे नबुझेको भने पटक्कै होइन । उनी जस्ता राजनीतिशास्त्री, कूटनीतिशास्त्रीलाई हामी जस्ताले सम्झाउने धृष्टता गर्नु बेकार पनि हो । सम्झाउनुपर्ने त अब उनको विचार सुनेर बहकिनेहरूलाई हो । विगत बिर्सने, चाँडै भावुक हुने, कमजोर आइक्यु भएका निर्दाेष नेपालीको थाप्लोमा टेकी मिश्र आफ्नो दुनो सोझ्याउने उपक्रममा छन् । उनलाई आगो बालेर, घृणा फैलाएर जसरी भए पनि सत्तामा पुग्नु छ, अनि पत्रकारिता छाड्नुको पीडा कम गर्नु छ, राजनीतिमा लागेर के पाइस् त भनेर खिज्याउनेलाई सांसदको लोगो देखाउनु छ । 

माओवादीले अघि सारेको जातीय राज्यको विरोधमा हजारौँ शब्द खर्च गरेका पत्रकार हुन्, मिश्र । माओवादी नेतालाई स्टुडियोमा बोलाएर 'तपाईं जनजाति कि नेपाली ?’ भनेर र्‍याखर्‍याख्ती पारेको सुन्ने मेरा यिनै कान हुन् । नेताहरूले मन नलागी नलागी सानो स्वरमा ‘म नेपाली’ भनेर जवाफ दिएपछि उनले झन् ठूलो स्वरमा ‘उसो भए किन जातीय पहिचानको, जातीय अग्राधिकारको कुरा गरेको ?’ भनेर सोध्थे । हिजो त्यसरी जातीय पहिचानको विरोध गर्ने उनै पूर्वपत्रकारको अपूर्व रूप अहिले देख्न पाइएको छ । उनी जात जस्तै उस्तै भावनात्मक विषय लिएर धर्म विशेषको वकालत गरिरहेका छन् । 

सीके लालजस्ता लेखकलाई स्टुडियोमा बोलाएर ‘तपाईं पहिला मधेसी कि नेपाली’ भनेर झुरेस्‍ट प्रश्न सोध्ने मिश्रलाई अहिले कसले ‘तपाईं पहिला हिन्दू कि नेपाली’ भनेर सोध्ने ? के मिश्रले कमल थापालाई ‘तपाईं हिन्दू कि नेपाली ?’ भनेर सोधेका थिए ? थिएनन् भने उनी पत्रकार हुँदादेखि नै जातीय-क्षेत्रीय पहिचानको विरोधी र धार्मिक राज्यको समर्थक रहेछन् भन्नैपर्ने हुन्छ । 

राज्य जात, धर्म, थर-वंश (राजतन्त्र), लिंग, वर्ण, गोत्र निरपेक्ष हुनुपर्छ । सबै फूलले बगैँचा मेरो पनि हो, माली कसैको खास मान्छे होइन भन्ने महसुस गर्नुपर्छ । बीपी कोइराला, पुष्पलालले उहिल्यै बुझेको, मदन भण्डारीले ०४७ को संविधानमा नोट अफ डिसेन्टअन्तर्गत धर्मनिरपेक्षता वकालत गरेको, राजनीतिशास्त्रको यति सामान्य कुरा आज फेरि फेरि सतहमा आउनु दुःखलाग्दो कुरो हो । देशलाई अगाडि लान्छु भन्नेले आज पछाडि फर्काउँछु भन्नु लोभवाद मात्र हो, भलोवाद होइन । (‘लोभ’ उल्टोबाट पढ्दा मात्र ‘भलो’ हुन्छ ।) 

मिश्रको थेगो नै थियो- नेताहरूले चेतना होइन, उत्तेजना बढाइरहेका छन् । यो अहिले सबैभन्दा बढी कसैमा लागू हुन्छ भने उनमै लागू हुन्छ ।

उनको अर्काे थेगो थियो- यो देश बिगारेको दुईचार अक्षर पढेकाहरुले हो । मिश्रले सक्थे भने, त्रिचन्द्र कलेज खोल्ने चन्द्रशमशेरलाई नखोल्ने सुझाउँथे । वादविवाद-संवाद, आलोचना-समालोचना, प्रश्नबाट तर्सिने मान्छे लोकतन्त्रवादी हुनै सक्दैन, त्यो तानाशाह हो । 

मिश्रको मत छ- जनमत संग्रह गरौँ । विवेक र न्याय जस्ता कुरा पनि जनमतलाई दिऊँ भन्नु कस्तो तर्क हो ? अदालतमा उपस्थितिका आधारमा बहुुमत जुटाएर न्यायाधीशले फैसला लेख्ने ? १९९७ सालमा जनमत संग्रह मागेका भएर चार जना सहिद नै हुनुपर्दैनथ्यो होला । 

राजनीति रकमी बनेको छ । दलमा दलाली अब कुनै अनौठो कुरा भएन । शोषकहरू नै शासक भइरहेका छन् । तर, तपाईं ती दलहरूलाई शिर ठाडो पारेर प्रश्नै गर्न नसक्ने राजनीति गरिरहनुभएको छ । 

 

सय वर्षअघि सती प्रथाका लागि चन्द्रशमशेरले पनि जनमत संग्रह गराएका भए ? सती अन्त्य हुन्थ्यो ? केपी शर्मा ओली रामभक्त, पुष्पकमल दाहाल भैँसीपूजक, माधव नेपाल होली वाइन सेवक भए पनि कम्युनिस्ट पार्टीले पुष्‍पलाल-मदन-मार्क्सवाद र कांग्रेसले बीपीलाई सिद्धान्तमा राखेकै छन् । कांग्रेस-कम्युनिस्ट पार्टीभित्र फरक मत जस्तो सुनिए पनि तिनले धार्मिक राज्य माग्लान्, त्यति तलसम्म गिर्लान् भन्ने मलाई लाग्दैन । हिन्दू धर्म माग्ने राप्रपाले पछिल्ला चुनावमा जति मत पायो, एक हिसाबले जनमत संग्रह त्यही हो । हिन्दू राज्यको मागले हाल थ्रेसहोल्ड पनि पार नगरेको त्यही ३ प्रतिशत मत पनि पाएको छैन, यही हो नतिजा ।  

मिश्र सर, यो राजतन्त्र होइन, फरक मत मज्जाले माग्न पाइन्छ । तर, फरक मत राखेकैमा मलाई आक्रमण भयो भन्ने तहमा तपाईं पराजित कमल थापा जसरी रुवाबासी पनि गरिरहनुभएको छ । रुन पनि पाइन्छ, आलोचनालाई आक्रमणका रूपमा लिन पनि पाइन्छ तर हाल तपाईंको सोच टिठलाग्दो छ । 

२०१९ सालअघि नेपाल हिन्दू राष्ट्र थिएन, पछि मात्र संविधानमा यो छिराइयो । अनि पञ्चायतमा हिन्दू राज्य भएपछि यहाँ सबै धर्मावलम्बीलाई बराबर थियो भन्ने यहाँको तर्कमा अज्ञान छताछुल्ल भएको छ । पञ्चायतमा नेवार बौद्ध भिक्षुहरूलाई ‘भोटे धर्मी’ भनेर देश निकाला गरिएको थियो । एकै भिक्षु दुई-दुई पल्टसम्म देशनिकालामा पर्ने, जेल सजाय पाउने फेहरिस्त पढ्नुहोला । पञ्चायतको उत्तरार्द्धमा राजा वीरेन्द्रले १४० जना हिन्दूइतर आस्थाका थुनुवालाई मुक्त गरेका थिए, तिनको दोष हिन्दू नहुनु मात्र थियो । 

मिश्रज्यू, यहाँले भनेको सही हो- नेपालमा सबै धर्म मिलेर बसेका छन्, किन चाहियो धर्मनिरपेक्ष ? मिलेर बसेकैले थप मिलिरहन यो चाहिएको हो । के तपाईं ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल’ राष्ट्रगानलाई पनि संशोधन गर्न चाहिरहनुभएको छ ? एक धर्मको कुरा गरेपछि ‘बहुल धर्म’ कसरी विशाल भइरहन्छन् ? के राज्यमा अल्पसंख्यकले सधैँ अत्तालिएर बसिरहने ? उनीहरूले यो राज्य कसैको होइन वा यो राज्य सबैको हो भन्ने अनुभूति गर्न नपाउने ? अनुभूति अंकमा देखिँदैन तर यो अर्थपूर्ण कुरो हो ।

संयुक्त राष्ट्र संघले आजभन्दा ४० वर्षअघि नै सन् १९८१ मा धर्म तथा आस्थामा आधारित सबै किसिमका भेदभाव तथा असहिष्णुता उन्मूलनको पैरवी किन गर्‍याे होला ? मानव अधिकारको विश्वव्यापी घोषणापत्रले पौने शताब्दीअघि नै व्यक्तिको भावनात्मक पक्षमा राज्यको निरपेक्षता किन भन्यो होला ? मिलेर बसेको राज्यमा धार्मिक अतिवादको आगो बालेर तपाईं नेपाललाई धार्मिक-द्वन्द्वग्रस्त मुलुकको ढड्डामा चढाउन चाहनुहुन्छ ? धर्म निरपेक्षता हिन्दू धर्मविरोधी मत हुँदै होइन । यो क्रिश्चियानिटीको पक्षधर मत पनि होइन । जोरजर्बजस्ती, प्रलोभनमा पारी धर्म परिवर्तन गराउने कार्य जति अधार्मिक हो, जातीय-वर्गीय आधारमा विभेदको खाडल बढाइरहने कार्य पनि उत्तिकै अधार्मिक हो । 

पार्टी नै नबनिसकेको, बामे सरिरहेको समूहले पुराना पार्टीको टुटफुट, आरोप-प्रत्यारोप-गालीगलौज बिर्साइदिएको छ । अब उहाँहरूले कम्युनिस्ट नेताले जस्तो ‘गद्दार फलानो’ भनेर पुस्तक निकाल्न मात्र बाँकी छ ।  

राज्य बहुसंख्यक समूहको मात्र हित गर्ने हुनु हुँदैन । राज्य सबैको बराबर हुनुपर्छ । तर, अब यसो होइन, राज्य अल्पसंख्यकको पक्षमा हुनुपर्छ । अल्पसंख्यकको पक्षमा हुनुपर्छ भनेको राज्य हिन्दूबाहेक अरु धर्मको प्रवर्द्धक हुनुपर्छ भनेको होइन । आर्थिक-सामाजिक सूचकमा पछि पारिएका समूहको हितमा राज्य लाग्नुपर्छ, सामाजिक न्याय र विवेक भनेको यही हो । अल्पसंख्यक आफैँमा सीमान्तीकृत हुन्छ । उसको स्वर दबिएको वा मसिनो हुन्छ । राजनीतिको ध्येय समानताभन्दा माथि अब समता हुनुपर्छ । 

राज्यका बहुसंख्यकले यही चाहन्छन् भन्दै चाहेको मात्र बोल्ने तपाईं कसरी नेता ? भिडको पछि लाग्ने कि आफूलाई 'विवेकशील' भनाउने तपाईंले विवेक पनि देखाउने ? तपाईंकै शब्दमा यो देशमा उही मःमप्रेमी मतदाता नै धेरै छन्, अब ‘मःम राज्य’ घोषणा गर्ने ? तपाईंकै शब्दमा यो देशमा भ्रष्टहरू बहुसंख्यक छन्, अब यो देशलाई ‘भ्रष्ट राज्य’ घोषणा गर्ने ? क्षत्री-बाहुन-ठकुरीको बाहुल्य भएको गाउँमा मूर्ति चोरी भयो अनि मन्दिरभित्र छिर्नै नपाउने कुनै गरिब वा दलित समुदायको कसैलाई भिडले चोर भन्यो, अब ठूलाे भिडले भन्यो भनेर उसैलाई कारबाही गर्ने कि ‘दुई चार अक्षर पढेको, देश दुनियाँ घुमेको’ तपाईंले दिमागको बत्ती बाल्ने ? 

विज्ञान र प्रविधिले तीव्र फड्को मारिरहेको आजको युगका सहस्र समस्या अस्तिको बासीत्यासी सडेगलेको चेतनाबाट समाधान हुँदैन । तपाईं ‘विचारभन्दा माथि देश’ भनेर विदेशमा जोखिमपूर्ण रोजगारी गरिरहेका नेपाली युवाहरूको गरिबीलाई जिस्काइरहनुभएको छ । ‘म देश माथि’ भनिरहेछु, तिमीहरू देश तल ठानेर बाहिरिने ? तपाईंको नाराले यसै भनिरहेको छ । 

अहिलेको राजनीतिले आम नागरिकलाई निराशा बाँडिरहेको छ । मानिसहरूले खोजेको आशाको राजनीति हो । अहिले कोभिडले रोजगारी-उद्यम खोसिएको छ । बचत छैन । महँगी बढेको छ । अब तपाईं राजा ल्याए, धर्म ल्याए, संघीयता खारेज गरे तिमीहरुले रोजगारी पाउँछौँ, महँगी कम हुन्छ भनिरहनुभएको छ ? केका लागि हो यो सब नाटक ? (नाटककारप्रति क्षमायाचना) 

जात र लिंगको जरोमा अपराध, बलात्कार, विभेदका घटना बढेका बढ्यै छन्, तपाईं चुप हुनुहुन्छ । अझ जातव्यवस्थालाई मूल टेको दिने व्यवस्था चाहियो भन्दै हुनुहुन्छ । देशमा भ्रष्टाचारका काण्ड छ्यालब्याल छन्, तपाईं आफ्नो ‘सुशासन पसल’मा कोही ग्राहक आएनन् भनेर विरक्तिएर ‘भ्रष्ट विचारको पसल’ चलाउन खोजिरहनुभएको छ । 

राजनीति रकमी बनेको छ । दलमा दलाली अब कुनै अनौठो कुरा भएन । शोषकहरू नै शासक भइरहेका छन् । तर, तपाईं ती दलहरूलाई शिर ठाडो पारेर प्रश्नै गर्न नसक्ने राजनीति गरिरहनुभएको छ । 

दलहरु भकाभक महाधिवेशन गरिरहेका छन्, तपाईं चाहिँ महाधिवेशनसँग तर्केर टिके राजनीति गर्दै दलभित्र टिकिरहन खोजिरहनुभएको छ । आफ्नो दलभित्र आन्तरिक लोकतन्त्र, फरक मत निषेध गर्नलाई त माओवादी पार्टी छँदै छ, तपाईं किन चाहियो ? फरक मत किन भनेको भने तपाईंको पार्टी छोड्ने गन्यमान्यको लिस्ट हेर्नुस् त, कति लामो छ । धर्म र थर माग्न त राजेन्द्र लिङ्देनको पार्टी छँदै छ, तपाईं किन चाहियो ? संघीयता खारेज गर्न त चित्रबहादुर केसीहरु छँदै छन्, तपाईंकाे तराजु किन चाहियो ? व्यवस्था परिवर्तनका ननइस्युमा झैंझगडा गर्नलाई त विप्लवहरु छँदै छन्, तपाईं किन चाहियो ? 

पार्टीभित्र कारबाही, स्पष्टीकरण, पदखोसुवा, भूमिका परिवर्तन, वरिष्ठताजस्ता झुरेस्ट कदमले समाचारमा छाइरहन त ओली-भीम रावल, केही मधेसकेन्द्रित पार्टी छँदै छन्, तपाईं किन चाहियो ? नागरिकको जनजीविकाका जटिल विषयमा मौन रहन त कांग्रेस छँदै छ, तपाईं किन चाहियो ? इगोलाई सैद्धान्तीकरण गर्न त माधव नेपालहरू छँदै छन्, रवीन्द्र मिश्र-मिलन पाण्डेहरू किन चाहियो ?

पार्टी नै नबनिसकेको, बामे सरिरहेको समूहले पुराना पार्टीको टुटफुट, आरोप-प्रत्यारोप-गालीगलौज बिर्साइदिएको छ । अब उहाँहरूले कम्युनिस्ट नेताले जस्तो ‘गद्दार फलानो’ भनेर पुस्तक निकाल्न मात्र बाँकी छ ।  

नेपाल सन्दर्भबाट रवीन्द्र मिश्रलाई नमस्कार ! 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x