विचार

टिप्पणी

गगन र विश्वप्रकाशले प्राप्त गरेकाे सत्ता कसको हितमा प्रयोग गर्लान् ?

पुरानो सत्ता स्वार्थको दलदलमा भासिए भने राजनीतिको फोहोर सफा गर्न सक्दैनन्

पुष्पराज आचार्य |
पुस ९, २०७८ शुक्रवार १६:३० बजे

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछिको केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते बस्दैछ । पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै नयाँ अनुहारहरू निर्वाचित भएका छन् । निर्वाचितमध्ये सबैभन्दा ठूलो आकर्षण महामन्त्रीमा निर्वाचित दुई युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माप्रति आम रूपमा ठूलो आकर्षण छ । 
गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई साँच्चिकै रूपान्तरण गर्लान् कि नेपाली माटो सुहाउँदो नेता भएर निस्कने हुन् भन्ने चासो, चिन्ता र सरोकार राख्नेहरू प्रशस्त छन् । नेपाली कांग्रेसभित्र मात्र होइन, कांग्रेसको महाधिवेशनलाई नियाली रहेका सबैलाई निर्वाचनको यो परिणाम त्यत्तिकै सुखद लागेको छ । जति सुखद गगन र विश्वप्रकाशलाई लागेको छ । 

महामन्त्री निर्वाचित भएपछि दुवैले एकअर्कासँग सहकार्य गर्ने, परिपूरक भएर काम गर्दै साझा उद्देश्य र गन्तव्यतर्फ लम्किने बताएका छन् । विश्वप्रकाश शर्माको शब्दमा त ‘दुई महामन्त्री हल बाँधेर पार्टीको सुधारको काममा अघि बढ्ने’ भन्ने छ । 


गुटको पर्खाल तोडेर नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले सुविचारित मत दिए भन्ने टिप्पणी सुन्न पाइन्छ । अब गगन र विश्वप्रकाशको सम्बन्ध कसरी अघि बढ्ला ? पार्टीभित्रको खेमा–खेमाको राजनीतिमा उनीहरू कता–कता र कसरी उभिएलान् । एकले अर्कोलाई प्रतिस्पर्धी ठानेर एकले अर्कोलाई उछिन्ने खेलमा लाग्लान् कि नलाग्लान् ? महाधिवेशनको परिणाम सार्वजनिक भएपछि हरेक महाधिवेशन प्रतिनिधिको अन्तर्मनमा कहींकतै यो प्रश्नले डेरा जमाएको छ । 

विद्यार्थी राजनीतिबाट उदाएका समकालीन युवा नेताहरू पार्टीमा पनि सँगसँगै अघि बढे । विश्वप्रकाश शर्माले यसअघि पार्टीको प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका छन् भने पदाधिकारीका रूपमा गगन थापा शनिबार पहिलो कार्यसमिति बैठकमा जाँदैछन् । १३औं र १४औं महाधिवेशनको बीचमा पार्टीभित्र स्वीकार्यता बढाउन गगन थापाले धेरै ठूलो मेहनत गरेका रहेछन् भन्ने उनले प्राप्त गरेको मतले पनि प्रष्ट हुन्छ । 

गगन र विश्वप्रकाशले राजनीति सुधार गर्ने र युवालाई देशमै भविष्य निर्माण गर्न सक्ने बनाउने जुन नारा दिएर पार्टीको सत्तामा उक्लिएका छन् । उनीहरूले ढिलो नगरी पार्टीको सत्ता (शक्ति)लाई उक्त समूहको आकांक्षा पूरा गर्नेगरी उनीहरूको हितमा प्रयोग गर्नुपर्छ । 

पार्टीको स्थायी सत्ताले गगन र विश्वप्रकाश दुवैलाई रोक्न खोजेकै हो तर केही लागेन । उनीहरू ढुंगाको काप फोरेर उम्रेका पिपलजस्ता भए । 

गगन र विश्वप्रकाशको अग्निपरीक्षा शुरु भैसकेको छ । दुवैले त्यसको बोध गरेको देखिन्छ । गगन थापाले ‘अब एक दिन पनि थाक्ने र चुक्ने सुविधा छैन’ भनिसकेका छन् । कतिपयले भन्छन्, ‘विश्वप्रकाश विनयशील छन्, गगन आक्रामक ।’ तर यथार्थमा त दुवै उत्तिकै आक्रामक छन्, उत्तिकै विनयशील छन् । 

सभापति शेरबहादुर देउवाले आफ्नो टिममा समावेश नगरेपछि प्रकाशमान सिंहको समूहमा रहेर महामन्त्रीको उम्मेदवार बन्न पनि त आक्रामक स्वभाव चाहिन्छ । विषयवस्तुको प्रस्तुतीकरण कसैले कोमल र मधुर स्वरमा गर्ला, कसैले सीधा वा ठेट हिसाबले गर्ला; त्यसमा विनयशीलता र आक्रामकताको हिसाबकिताब हुँदैन ।
अहिले नै गगन र विश्वप्रकाशको सम्बन्ध कस्तो होला भनेर प्रक्षेपण गर्न सकिने आधारहरू भने प्रष्ट छन् । दुवैमा पार्टीको नेतृत्वमा अघि बढ्ने महत्वाकांक्षा छ । दुवै विद्यार्थी राजनीतिबाट उदाएका लोकप्रिय र आशालाग्दा नेता हुन् । अगाडि एकले अर्काको प्रशंशा गर्न चुक्दैनन् ।

दुवैले रूपान्तरण र पार्टीभित्रको सुधारलाई साझा मुद्दा बनाएका छन् । यो साझा मुद्दामा उनीहरूले सहकार्य गर्ने पर्याप्त गुञ्जायस छन् । गन्तव्य एउटै भएपनि त्यहाँसम्म जाने बाटो, अपनाउने तरिका, सहयात्रीहरू फरक हुन सक्छन् । गन्तव्य एउटै हुँदाहुँदै पनि उनीहरूभित्रको प्रतिस्पर्धा र व्यक्तित्वको टकराव त्यहाँनिर प्रकट हुनसक्छ । यद्यपि, नहुन पनि सक्छ । 

दुवै समकालीन भएकाले उनीहरूले विषयवस्तुलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने शैलीमा पनि समान धारणा बनाउन सक्छन् । दुवै राम्रो संवादकला भएका नेताहरू हुन् । यसले उनीहरूलाई जुनसुकै विषयमा सुलह खोज्न सहयोगी हुन्छ । 

नेपाली कांग्रेसजस्तो आफ्नो राजनीतिक भविष्य खोज्न पनि गुट निर्माण गर्ने, नेताहरूलाई गुट निर्माण गर्न उक्साउने अनि कुनै मुद्दामा प्रकट हुने विचार र दृष्टिकोणका आधारमा भन्दा पनि राजनीतिक लाभका लागि स्थायी प्रकृतिका गुट निर्माण हुने चरित्र बोकेको पार्टीमा दुई महामन्त्रीको चाहनाका बाबजुद पनि सहकार्य गर्न कठिन हुने परिस्थिति उत्पन्न हुन्छ । विभिन्न स्वार्थ समूहलाई संरक्षण गर्नेहरूले पनि उनीहरूलाई पक्कै अलग्याउने प्रयास गर्नेछन् किनकी दुई महामन्त्री एकढिक्का हुँदा गुटगत शक्ति सन्तुलन खलबलिन सक्ने विश्लेषण छ । 

परिवर्तन हुन नचाहाने पार्टीको पुरानो सत्ताको स्वार्थको दलदलमा भासिए भने उनीहरूले राजनीतिको फोहोर सफा गर्न सक्दैनन् । अनि त्यही दुर्गन्धित पोखरीका दुई पौडीबाज (स्वीमर) साबित हुनेछन् । 

यी सबै चुनौतीहरूलाई चिर्दै अगाडि बढेको खण्डमा मात्र दुवै नेताले आफूलाई प्रमाणित गर्नेछन् । राजनीतिक जीवनको उत्कर्षतर्फ अघि बढ्दै गर्दा औसत नेता हुने कि साँच्चै असाधरण नेतृत्व क्षमता भएका रूपान्तरणकारी/परिणाम दिने नेता बन्ने भन्ने रोजाई गगन थापा र विश्वप्रकाश शर्माकै हो । उनीहरूले सहकार्य गर्दा दुवैको राजनीतिक उचाइ सम्भव हुनसक्छ । उनीहरूमा फुटले परिवर्तनका आकांक्षीहरूको भावनामा ठेस पुग्नेछ र सबै ‘उस्तै’ भन्ने व्याख्या (भाष्य)लाई थप बल पुग्नेछ । 

गगन र विश्वप्रकाशले राजनीति सुधार गर्ने र युवालाई देशमै भविष्य निर्माण गर्न सक्ने बनाउने जुन नारा दिएर पार्टीको सत्तामा उक्लिएका छन् । उनीहरूले ढिलो नगरी पार्टीको सत्ता (शक्ति)लाई उक्त समूहको आकांक्षा पूरा गर्नेगरी उनीहरूको हितमा प्रयोग गर्नुपर्छ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x