विचार

महाधिवेशन : कांग्रेसलाई कसरी बुझ्ने ?

राजाराम बर्तौला |
पुस ११, २०७८ १७:३६ बजे

फाइल फोटो

यो ‘हिलटेकदेखि हाइटेकसम्म’ झुक्किएर लेखेको हैन है । हुन त सिधा लेखेको भए हुनुपर्ने थियो, ‘हाइटेकदेखि हिलटेकसम्म,’ तर भइदियो, ‘हिलटेकदेखि हाइटेकसम्म’ । यो चाहिँ अलिकति आकांक्षित प्रतिफलको उद्देश्य राखेर लेखियो । खैर, अहिले त नेपाली कांग्रेसको अधिवेशन सकिइसकेको छ । त्यसैगरी ठूलो भनेको नेकपा (एमाले) र राप्रपाको समेत महाधिवेशन सम्पन्न भइसकेका छन् । 

२०७८ को जाडोलाई राजनीतिक दलहरूको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनहरूले न्यानो बनाउने कसरत गरेका छन् । समाचारपत्रका पृष्ठहरू, टेलिभिजनका पर्दाहरू र रेडियोका स्पिकरहरू यिनै राजनीतिक दलहरूका समाचारहरूले रंगिएका छन् । बृहत् समाजलाई एक किसिमले तरंगित नै गरेको मान्नुपर्दछ । कतिपयले यो अवसरलाई राजनीतिक जागरणको समय पनि भने भनी कतिपयले चाहिँ संगठनको ओभरहलिङ, डेन्टिङपेन्टिङसहित नयाँ रूपरंगमा नयाँ ऊर्जासहित सारभूतरूपमा रूपान्तरणको अवसरमा समेत लिएको देखियो । आशावादीहरूले यसलाई अवसरका रूपमा लिए पनि यथास्थितिवादीहरूले भने यसलाई कर्मकाण्डको रूपमा मात्रै लिएको पनि देखियो । 


महाधिवेशनमा नयाँ विचारमाथि विहंगम छलफल हुने र राजनीतिक अन्यौलको समयलाई नयाँ सिर्जनसिल विचार, कार्यनीति र कार्यदिशाले राजनीतिक दलहरूलाई मात्र नभएर समग्र समाजलाई नै गतिमान गराउला भन्ने अपेक्षा गर्ने आम मतदाता तथा शुभेच्छुकहरूका लागि यो महोत्सव फगत एउटा खेर गएको अवसर सिद्ध हुन पुग्यो भन्दा अत्युक्ति हुनेछैन । कतिपयलाई त यो एउटा रंगीन तामझामसहित नाट्यशालामा गरिएको एउटा प्रहसन जस्तो पनि लागेको हुन सक्छ । 
 
दशकौँदेखि शीर्ष तहको नेतृत्वमा रहेका, समय, परिस्थिति र उपादेयताले समेत सान्दर्भिकता गुमाउँदै गएका र निजहरूको स्थानमा नयाँ परिवर्तनको अपेक्षा गरिएकामा त्यसको मनोवाञ्छित असर परेको देखिएन । पद, पैसा, निष्ठा र प्रतिष्ठासँग टाँस्सिएर बस्नुभन्दा ‘वरको भाँडो पर सार्न त के सिन्कोसमेत भाँच्न नसक्ने’ अवस्थामा पुगेका वृद्ध नेताहरूबाट संगठनलाई हाँक्ने आवश्यक ऊर्जा, जोस, वैचारिक एवं कार्यगत जाँगर र हौसला नदेखिनु स्वाभाविकै हो । तिलस्मी जादुमयी कथाहरू सुन्न अभ्यस्त हामी पुनः विगतका इतिहासले छोडेको धरोहर र तिनीहरूले सिर्जना गरेका कथाहरू सुन्न अभिशप्त भएका छौँ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएको नेतृत्व परिवर्तनले केही आश्वस्त भएका हामी आम मतदाता परिवर्तनकामी पुराना ऐतिहासिक विरासत बोकेका राजनीतिक दलहरूको नेतृत्व पुरानै उमेरले सत्तरी कटेका नेताहरूको काँधमा जानु भनेको राजनीतिको दुष्चक्र घुमिफिरी उही सत्ताका प्रपञ्चमा शक्तिलाई केन्द्रमा राख्ने, जनमुखी नभई दलमुखी, स्वार्थप्रेरित, खेलाडीको हातमा गएको अवस्था रह्यो ।

यही सेरोफेरोमा रहेर यो आलेख तयार गर्दा अलिक फरक आयामबाट हेर्ने प्रयास गरिएको छ । हुन त सकारात्मकताभन्दा नकारात्मक विचारले तरंगित गर्दछ । त्यसैले यसले प्राथमिकता पाएको हुन्छ । त्यस्तो किन पनि भने नकारात्मक विचारको प्रसारण भेलोसिटी वा प्रवाह शक्ति उच्च हुन्छ । सकारात्मताले भन्दा नकारात्मक विचारले मनलाई छिट्टै उत्तेजित र उद्वेलित बनाउँछ । यो लेखमा यही तत्वको कमी रहनेछ । यद्यपि, भनिन्छ नि, ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ त्यसैगरी विकसित घटनाक्रमलाई पनि आशावादी भएर हेर्दा नेपाली राजनीतिले सही दिशा लिन संघर्ष गरिरहेको प्रतीत हुन्छ ।

नारायणीको बगरदेख टुकुचाको किनारसम्म

‘नारायणीको बगरदेख टुकुचाको किनारसम्म’ भनेर कतिले व्यंग्यवाण प्रहार गरे पनि वा खिसिट्युरी गरे पनि टुकुचाको किनारले लोकतन्त्रको संस्थागत विकास गर्न र समावेशिताको मर्मलाई सही अभ्यासद्वारा आत्मसात् गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न नेपाली कांग्रेसको यो महाअधिवेशन सफल भएको छ । 

जतिसुकै तामझाम गरेर आफूलाई आधुनिक र प्रविधिसँग सापेक्षता राख्ने चलायमान शीघ्रगामी शक्ति हुँ भनेर गर्व गर्दै भोटिङ मेसिनको प्रयोगलाई नै उपलब्धि मान्दै आत्ममुग्धतामा रमाएर नेपाली कांग्रेसलाई लक्षित ‘हाइटेकदेखि हिलटेकसम्म’ भन्दै नाक बंग्याउँदै गरेको पनि देखियो । 

यस अर्थमा हेर्दा प्रचारको शैली र आम मतदाताहरूसम्म सूचना सम्प्रेषण गर्ने सवालमा वाम शक्तिको अगाडि लोकतान्त्रिक शक्ति हुँ भनेर गर्व गर्ने नेपाली कांग्रेस फिक्का देखिने मात्र हैन कि व्यवस्थापकीय प्रबन्धमा पनि कमजोर देखिन्छ । नेपाली कांग्रेसले यी कुराहरू नेपालका वाम शक्तिहरूबाट सिकेर ग्रहण गर्न आवश्यक देखिन्छ । तर सिकेको वा सिक्ने प्रयत्नसम्म पनि गरेको देखिँदैन ।

‘हिलटेक’ नै सही तर जसरी नेपाली कांग्रेसले आफ्नो महाधिवेशन सफलतासाथ सम्पन्न गरेको छ, त्यसले प्रस्ट रूपमा तीनवटा सन्देश प्रवाह गर्न समर्थ भएको छ, जसको प्रभाव नेपाली राजनीतिमा कलान्तरसम्म पर्ने निश्चित देखिन्छ । एउटा पुरानो र आममतदाताले विश्वास गरेको लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल भएको कारणले यसले लिने निर्णयहरू र असल अभ्यास अरू राजनीतिक दलहरूका लागि पनि मार्ग निर्देशक बन्न पुग्दछ । 

१. पुस्तान्तरण क्रमागत हुन्छ  

राजनीतिक नेतृत्वमा पुस्तान्तरणको बहस लामो समयदेखि चल्दै आएको छ । यो लेखक स्वयं पनि युवापुस्तामा नेतृत्व हस्तान्तरणको पक्षमा छ । पुस्तान्तरणले संगठनलाई अरू बढी संगठित, सुदृढ र ऊर्जा प्रदान गर्दछ भन्ने मान्यता हो । नयाँ व्यवस्थापकीय सिद्धान्तहरूले पनि संगठनको नेतृत्व लिने व्यक्तिले संगठनको उद्देश्य प्राप्तिमा थप योगदान दिन नसकेको अवस्थामा स्थान खालि गरेर अर्को ऊर्जावान र योग्य व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न पर्दछ ।

युरोपेली लोकतन्त्रहरूमा दलको अध्यक्षको नेतृत्वमा निर्वाचनमा पराजय भएको अवस्थामा तत्काल त्यसको जवाफदेहिता लिएर नेतृत्व छोड्ने अभ्यास रहेको छ । हामीकहाँ भने ‘अरू एक पटक,’ ‘पहिल्यैकै अवस्थामा पुगेर मात्र विश्राम लिने’ भन्ने जस्ता शब्दाडम्बरले छोपेर राजनीतिक नेतृत्व नछोड्ने चलन नै छ । अझै भनौँ भने चिन्ताको कुरो हैन, यहाँ नेताले चितामा पुगेपछि मात्र नेतृत्व छा्ेड्छ । 

नेतृत्व परिवर्तन हुनुपर्दछ भन्ने जनअपेक्षा थियो । संगठनलाई बढी जुझारु, संगठित, जनमतको अपेक्षा बुझ्न सक्ने, विचार, विकास र प्रविधिलाई बुझ्न सक्ने, तीक्ष्ण, प्रखर र सक्षम युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्दछ भन्ने सवाललाई सैद्धान्तिकरूपमा स्वीकार गरिरएको पाइए पनि व्यावहारिक रूपमा युवा नेतृत्वलाई पूरा विश्वास गर्न चाहेको देखिएन । त्यो कांग्रेसको मात्र होइन अरू सबै राजनीतिक दलहरूको पनि यस्तै स्थिति रह्यो । 

तर त्यो अपेक्षित सफलता नभए पनि आंशिक सफलता भने रह्यो । साथै एउटा सन्देश पनि । त्यो के भने शिखर नेतृत्वले आफूअन्तर्गतको युवा नेतृत्वलाई राजनीतिक गुण–दोषहरूमा परिस्कृत र परिमार्जित गर्दै क्रमागतरूपमा हस्तान्तरण प्रक्रिया सुरु गरेको आभास दिन यो अधिवेशन सफल भएको छ । अर्थात् नेतृत्वको हस्तान्तरण उमेरको नापजोख हैन कि राजनीतिक सुझबुझ, क्षमता र केही हदसम्म विरासतको आधारमा हुनेछ भन्ने सन्देश बुझ्न कठिन रहेन । 

२. वैचारिक बहस महत्वपूर्ण हो  

आम कार्यकर्ताहरूले के भन्छन् भन्दा पनि जनमत चाहन्छ कि यी ठूला राजनीतिक दलहरूले विगतको कार्यसम्पादनको निष्पक्षरूपमा, सफलता तथा असफलताका लागि आत्मालोचनासहित, कार्यसम्पादनको समीक्षा गरुन्, कमी-कमजोरीहरू केलाऊन् र अग्रगामी सोचसहित नयाँ विचार, र कार्यक्रमसहित प्रस्तुत होऊन् । 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘सामाजिक लोकतन्त्र’को वैचारिक बहस चलाएर दललाई नयाँ ऊर्जा दिन खोजेको आभास हुन्छ । साथै यस किसिमको वैचारिक बहस आम मतदाताको चाहनाभित्रको विषय हुनाले त्यसको पृष्ठपोषण गरिनु पर्दछ । स्वस्थ बहसले स्वस्थ नतिजा नै दिने हुन्छ । राजनीतिक दललाई जीवन्तता दिने भनेको वैचारिक बहसले हो । कार्यकर्ताहरूको आकर्षण पनि सैद्धान्तिक र वैचारिक प्रस्टता हो साथै र राजनीतिक निष्ठा । यस किसिमको वैचारिक बहस राजनीतिक दलहरूका लागि जीवनदायिनी सिरप हो, शक्ति हो । 

 राजनीतिक दलहरूले विगतको कार्यसम्पादनको निष्पक्ष रूपमा, सफलता तथा असफलताका लागि आत्मालोचनासहित, कार्यसम्पादनको समीक्षा गरुन्, कमी–कमजोरीहरू केलाऊन् र अग्रगामी सोचसहित नयाँ विचार, र कार्यक्रमसहित प्रस्तुत होऊन् । 

 

सम्भवतः नेपाली कांग्रेसभित्र यसलाई थप विस्तार गरिनेछ । विचारको प्रवाहले राजनीति प्रवाह गर्दछ । यसैको सिको गरेर भए पनि अरू राजनीतिक दलहरू पनि वैचारिक विमर्शमा आकर्षित हुनेछन् साथै वाद र संवादलाई निरन्तरता दिनेछन् भन्ने अपेक्षा गरौँ । 

विचारको बहसले विषयको संश्लेषणात्मक प्रस्तुति हुने र सामाजिक विकासका लागि स्वतः विचार आफैँ अभियन्ताका रूपमा गमनशील हुने भएकाले एउटै संगठनभित्र पनि वैचारिक मतमतान्तरले आपसी गुट सिर्जना हुन सक्ने सम्भावना पनि रहन्छ । यद्यपि, वैचारिक प्रतिस्पर्धा सामाजिक उन्नयनका लागि पोषणतत्वको काम गर्ने भएको हुँदा यस किसिमको स्वस्थ अभ्यास स्तुत्य हुन्छ नै । 

३. समावेशी लोकतन्त्रको अभ्यास 

जसले आफूलाई जति नै ठूलो लोकतन्त्रको हिमायती हुँ भन्ने जसरी प्रस्तुत गरे पनि नेपालको संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्रको अभ्यास गर्ने पहिलो राजनीतिक दल बनेको छ नेपाली कांग्रेस । नेपाली कांग्रेसको यो १४ औँ महाधिवेशन यही समावेशी अभ्यासका लागि स्मरण गरिनेछ पछिसम्म ।

समावेशिताको सूचीमा रहेका सवै क्लस्टरलाई विधिवत्रूपमा प्रतिनिधित्वका लागि आधार तयार गरेर र लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन गर्दै निर्वाचनको माध्यमद्वारा नेतृत्व चयन गर्नु चानचुने कुरा हैन । राजनीतिक दलहरूको कार्यसम्पादनमा यो एउटा दूरगामी प्रभाव पार्ने ऐतिहासिक कदम हो भन्ने लाग्छ । सम्भवतः यस किसिमको दलभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासले आगामी राष्ट्रिय निर्वाचनमा समेत असर पार्नेछ भन्ने लाग्छ । 

नेपाली कांग्रेसले महाधिवेशन गर्ने भएपछि नेतृत्व चयनमा संगठनको तल्लो तह वडा एकाइदेखि निर्वाचन गर्दै केन्द्रसम्म आउँदा लाखौँ कार्यकर्ताहरू परिचालन गरेको छ । केन्द्रमा पनि लोकतान्त्रिक विधिद्वारा नै निर्वाचन गरिन्छ भन्ने पहिले नै थाहा थियो । समय छँदै निर्वाचन आयोगसँग पुराना प्रयोगमा नरहेका मतपत्र हाल्ने बाकस मागेको भए अवश्य दिने थियो । मर्मत गरेर त्यसैलाई प्रयोग गरेको भए ‘हाइटेक र हिलटेक’को कुरा सुन्नुपर्ने थिएन । 

जे भए पनि यसैलाई पनि सकारात्मक रूपमा लिँदा हुन्छ । हिलटेकलाई पनि मतपत्र राख्ने बाकसका रूपमा प्रयोग गर्न सकिने रहेछ र आगामी निर्वाचनमा यस्तो बाकस नेपालमै बनाउन सकिने रहेछ । यो बहुउपयोगी र बहुगुणी रहेछ भन्ने बुझ्नुपर्‍यो । अर्थात् समस्यालाई पहाड (हिल) का रूपमा लिन भएन । बरु, समाधानका रूपमा लिन प¥यो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ‘हिलटेक’बाट सुरु भए पनि युवा नेतृत्वले यसलाई ‘हाइटेक’सम्म पुर्‍याउनेछन् भन्ने विश्वास गरौँ । 


     



Author

थप समाचार
ad
x