अनागरिक
चरम सुनसान अनि अन्धकारमय रातमा मेरो बिछ्यौनामा आएर थपक्क बस्छ, धुमिल आकृति । म ठम्याउन खोज्छु, अहँ सक्दिनँ । उठेर बोल्न खोज्छु, आवाज नै फुर्दैन । छटपटाउन खोज्छु, सक्दिनँ ।
कसैले मलाई ओछ्यानमै कसेर बाँधेको जस्तो महसुस हुन्छ । ऊ मलाई एकोहोरो टोल्हाएर हेरिरहन्छ । अँध्यारो कालरात्रिमा गहिरो मौनता छाउँछ । केही समयको मौनता अनि हेराहेरपछि ऊ बोल्छ, ‘चिन्नु भएन, म झपट ।’ आवाजले चिनेँ तर अनुहार अझै स्पष्ट थिएन । बिस्तारै आकृतिले स्पष्ट रूप लिँदै जान्छ ।
पुक्क गाला । सेता दन्तलहरी । रातो किरमिरे टिसर्ट । कालो पाइन्ट । यत्ति आकलन गर्न सकियो । तर ‘म के सोधौँ ? के बोलौँ ? को स्थितिमा पुगेँ ।’
मसँग कुनै प्रश्न थिएनन् । उसले बोलाउँलाझैँ लागिरह्यो । तर ऊ पनि बोल्दैन, पहिले बोलिरहन्थ्यो । मुसुमुसु मुस्कुराउँथ्यो । तर त्यो मुस्कुराएन् । सधैँ बिँडी पिउँदै गल्लीहरू चहाथ्र्यो । टिसर्टको खल्तीमा बिँडीको बण्डल पनि देखिँदैन । लामो समयपछि हेराहेरपछि ऊ जबर्जस्ती मुस्कुरायो । हेर्दाहेर्दै ओठहरू पिलपिलाउन थाल्यो । आँखाबाट बरर आँसु खसाल्यो । पुनः टोल्हायो ।
यी सब दृश्य देखेपछि मलाई बोल्नैपर्ने बाध्यता आइलाग्यो । के भयो ? किन रोएको ?
उसले लामो श्वास तान्यो, अनि बोल्छ थाल्यो- भन्नु मात्रको देश हो यो नेपाल ! यहाँ दैनन्दिन कष्टकर जीवनयापन गर्नेहरूको जीवन छैन । तीन करोड बढी सहस्र भुइँमान्छे छन्, उनीहरू तर आम्दानी छैन् । पेट पूजाको रणनीतिमा अल्झिएका अथक अनुहार छन्, दुई छाक पुग्ने माड छैन । बाल एवं वृद्ध जनका मनमा विश्राम र मनोरञ्जनको शतत् चाहना छ । मरेर पनि भारत कुर्नैपर्ने बाध्यतामा उनीहरू छन् । देशमा अवसर छ, भाषणहरूमा । अवसर मानौँ अदृश्य चरीको नाम हो । अथवा यो पशुपतिको भगवान् हो, अलाप, अमूल्य अनि दुर्लभ । र, यो हर दृष्टिले अभागग्रस्त देशको म अभागी अनागरिक ।
उसको बेतोड बोलीले म अवाक् भएँ । यसरी विरक्तिएको यसअघि देखेको थिइनँ ।
ऊ एकोहोरो बोल्न थाल्यो– मेरो कथा आज नयाँ औतारमा प्रकट भएको छ । हिजोको मानव म आत्मा बनेको छु । मैले हिँडेघुमेका सडक, गल्ली र गल्छी बिराना भएका छन् । अब मसँग सपनाहरू छैनन् । तृषित आशाहरू छैनन् । म तृप्त छु । तर प्रश्नहरू धेरै छन्, मनमा । सपना पूरा गर्न आखिर सपना बन्ने गरी बिलाउनु पर्ने चाहिँ कहिलेसम्म ? सीमान्तका आँसुमाथिको राजनीति कहिलेसम्म ? तपाईं हामी काठमाडौं राज्यका नागरिक कहिले बन्ने ?
तपाईं ख्याल गर्नुहोस् त । नागरिक हुनका लागि काठमाडौं वा आसपासको बस्तीमा जन्म लिनुपर्छ । सुदूरपश्चिममा जन्मिने अनि भारतमा डण्डा बजाउनेहरू नागरिक होइनन् । भोक र भोजनको रणनीतिमा फसेका उनीहरू न खाने ठेगान, न बस्ने प्रबन्ध । भाषाको ज्ञान, काम गर्न सीप वा ठाउँको जानकारी नहुँदा नहुँदै पनि अखण्ड कष्ट खपेर भारत भाँसिन बाध्य छन् । तर दरबारले दबाएको चित्कार शीतल निवासले त सुन्ला कि ? भन्ने आश गर्दै भोट हाल्न आफ्नै खर्चमा स्वदेश फर्किन्छन् । असल प्रतिनिधि पठाए, गणतान्त्रिक शासनको केन्द्र काठमाडौंसम्म सुदूरको चित्कार सुनाउलान् नि ! तर उनीहरूको आशा सधैँ निराशामा परिणत भयो ।
हुनत वल्लो घरमा चिल्लाएको पल्लो घरका आफन्त त सुन्दैनन् । सत्ताले क–कसका पीडा सुनिदेओस् ?
‘बुझिनँ ?’ जवाफ फर्काएँ, ‘तपाईं बुझ्नुहुन्न ।’ सटीक झटारो हान्यो ।
अछामका झपट टमट्टा केही वर्ष पहिले भारतमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यो रात अंग्रेजी नयाँ वर्ष पहिलो रात थियो । बाह्य वातावरण दीपावली जस्तै थियो । पटाकाको चर्को आवाज कानमा गुन्जिरहेको थियो । म गेटमा उभिएर इएरफोनमा गाना सुन्दै थिएँ । भरत र झपट दुई जना हातमा तरकारी बोकेर आएका थिए । भरतले एक बोत्तल देशी दारु हातमा बोकेको थियो । उसको दिउँसो मात्रै ड्युटी हुने भएकाले नयाँ वर्षलाई स्वागत गर्न ऊ तम्तयार थियो ।
हामी एकछिन गेटमै उभिएर गफियौं । तर झपटको नौकरीमा ठूलो पार्टीको आयोजना गरिएकाले ऊ हतार–हतार निस्किहाल्यो । अनि पछिपछि भरत पनि गयो ।
नयाँ वर्ष भएकाले होला, मिठाई बोकेर मलाई थमाउनेहरू पनि धेरै थिए । उनीहरू सबै खुसी थिए । तर मलाई घरको याद व्यापक आइरहेको थियो । मैले आमा अनि साथीहरू सम्झिरहेको थिएँ । त्यो साँझका यी दृश्य सम्झिएँ । तर उसले कराएको र मैले नसुनेको भने याद भएन ।
‘त्यस दिन मैले चिल्लाएको साँच्चै नसुन्नु भएको हो ?’ उसले फेरि सोध्यो, ‘बोल्दाइन किन छव त ?’
‘मैले सुनिनँ । तमीलाई थाह छ, बाहिर चर्को आवाजमा म्युजिक चलाइएको थिए । पटाकाको उस्तै चर्को थियो । त्यसमाथि टाइट ड्युटी हुनाले निद्रा नपरोस् भन्ने चाहनाले म इअरफोनमा चर्को म्युजिक सुनिरहेको थिएँ । मैले प्रश्न गरेँ, ‘के भएको थियो, त्यस रात ?’
उसको आँखाबाट बर्बर आँसु खस्यो । अनि बिस्तारै अलप भयो । म झसंग निद्राबाट ब्युँझिएँ । छामछुम पारेँ । मोबाइल खोजेँ । रातीको २ बजेको रहेछ । बत्ती बालेर यताउता हेरेँ भाइहरू सुतेका छन् । बाहिर कुकुर भुकेको आवाज मात्र सुनिन्छ ।
फेरि निदाउन खोजेँ । फिटिक्कै निद्रा परेन । उसको अनुहारमात्रै आँखामा नाचिरह्यो । जुन अनुहार बिर्सिन मैले मुम्बई छाडेको थिएँ ।
केही वर्ष पहिले
पत्रकारितामा अभ्यस्त भइसकेको म नेपालमै पत्रकारिताबाहेक अन्य जागिर गर्न असमर्थ थिएँ । तर पत्रकारितामा टिक्न कठिन भइरहेको थियो । अनलाइन पत्रिकाको युगआरम्भ भएको थियो । सबैलाई चासो थियो । तर चलाउने कसरी आइडिया थिएन, सायद । मैले त्यस्तै केही पत्रिकामा काम गर्ने अवसर पाएँ । उनीहरू समयमा पैसा पनि नदिने । यसकारण मलाई काठमाडौँमा पत्रकारितामा टिक्न हम्मेहम्मे पर्यो । एकदिन यी सबै समस्या बुवालाई सुनाएँ । उहाँले मुम्बई बोलाउनु भयो । अनि म काठमाडौंबाट धनगढी हुँदै मुम्बई जाने भएँ ।
सुदूरपश्चिमका अधिकांश मान्छे मुम्बई जान्छन् । यसकारण त त्यहाँका गल्ली–गल्लीमा बालकदेखि वृद्धसम्म काम गरिरहेका व्यक्तिहरू भेटिन्छन् । उनीहरू तीन चरणमा घर फर्किन्छन, एक समूह दसैँ अगावै । अर्को दीपावलीपछि अनि अन्तिम असारको समयमा । दीपावलीको बोनर लिएस एक समूह फर्किएपछि साउनमा खेतीपातीका लागि गाउँ फर्किएकाहरू पुनः भारत जान्छन् ।
म बालपनमा जागिरका लागि भारत जाँदा भनेजस्तो भएन । अनि पटक–पटक नेपाल-भारत गर्नुपरेको थियो । अन्तमा म दिक्दार भएर अनेरास्ववियुको राजनीतिमा जोडिनुका साथै पत्रकारिता गर्न थालेको थिएँ । यसमा पनि असफल भएँ । अनि यसपटक म सधैँका लागि जागीरे हुन मुम्बई जाँदै थिएँ । उता, बुवाले चारकोप सेक्टर आठस्थित चाइनिज होटलमा जागिर खोजिदिनुभएको थियो । तर मलाई होटलमा काम गर्नु थिएन । सेक्युरिटी गार्डको काम गर्ने र बिहानको समयमा गाडी धुने काम खोजिरहेको थिएँ । एकदिन झपटले नै मेरा लागि नोकरी खोजिदिए । त्यो बिल्डिङ उनकै नौकरीको बाजुमा रहेछ ।
मासिक आठहजार तलब । बाह्र मोटरबाइक, सातवटा गाडी धुने काम पाइयो । सबै जोरजाम गरेर एघार हजार तलब भयो । त्यहाँ बस्नका लागि पनि सुविधा थियो । मलाई गजब लाग्यो । एरिया पनि सफासुग्घर थियो । तरकारीको समस्या थिएन् । बिल्डिङ अगाडी मार्केट लाग्थ्यो । उनीहरूले हरेक दिन फ्रि तरकारी दिन्थे । बदलामा मैले महानगरको गाडी आउँदा सबै तरकारीभित्र राख्न दिन्थेँ । झपट एक वर्षका लागि नेपाल फर्किने भएकाले उसले धुने डेढ सयवटा गाडी पनि मलाई दिने भनेको थियो । ऊ सरसामान जोरजाममा लागेको थियो । तीनजना केटाकेटीका लागि मीठामीठा खानेकुरा अनि लत्ताकपडा जोरजाम गर्दै थियो । चार वर्षपछि घर फर्किन लागेकाले ऊ उत्साही थियो । तेस्रो सन्तानलाई उसले हेर्न पनि पाएको थिएन । उसका लागि साइज आकलन गरेर कपडा किनेको थियो ।
श्रीमतीलाई सिन्दुर, चुरा, पोतेको जोरजाम पनि गरिसकेको थियो । घर फर्किनका लागि आठ तारिखको टिकट पनि काटिसकेको थियो । उनको नोकरी किन्न कालिकोटका एकजना गोर्खाली तयार थिए । नयाँ वर्षको पहिलो रात थियो । बाह्र बजे नयाँ वर्ष आराम्भ हुनेभएकाले सबै सेठहरू सेलिब्रेट गर्ने तरखरमा जुटेका थिए । नोकरी टाइट थियो । अरु दिन जस्तो त्यसदिन हाम्रो कुराकानी भएन ।
रातैभरि नयाँ वर्षको स्वागत भयो । नाचगान चल्यो । गाडीहरूको आवतजावत चलिरह्यो । गेट खोल्दै बन्द गर्दैमा रात बित्यो । आँखा झिमिक्कै गर्न पनि पाइएन । बिहान ६ बजेपछि ड्युटी समय सकियो । त्यस दिन गाडी धुन गइनँ म, सिधै छतमा सुत्न गएँ ।
बाह्र बजे निद्रा खुल्यो । पारिलो घाम लागिरहेको थियो । पसिनाले शरीर निथ्रुक्क भिजेको थियो । मोबाइल समाएँ । बुबाले थुप्रै मिस्कल गर्नुभएको रहेछ । अरु साथीहरूका मिस्कल पनि थिए । यति मिस्कल देखेपछि हतारहतार बुवालाई फोन गरेँ ।
हेलो
हलो, ड्याडी दर्शन ।
काँ, छै त यार । तेरो फोन पनि उठ्दैन ।
म छतमा सुतेको छु, ड्याडी । मोबाइल साइलेन्ट थियो । थाह भएन ।
ए, तल आइजा । ञाँ फप्या मरिगयो ।
ह, हजुर ।
झप्या मर्यो । तल आ । सबै जम्मा भएका छन् ।
तल सडकभरि मान्छेहरूको भीड छ । भारतीय राजनीतिक दलसँग निकट एक नेपाली प्रहरीसँग कुरा गरिरहेका थिए । मैले रविलाई सोधेँ— कसरी भयो, यो सब ?
आक्सा घुम्न जाने प्लान थियो । अंकलसँग अलिकति मागौं कि भनेर छकालै म ञाँ आएको थिएँ । अंकललाई देखिनँ । क्याबिन र खोलीमा खोज्दा पनि उहाँलाई देखिनँ । फोन रे उठेन । गाडी धुने ठाउँ गएँ, त्यहाँ कोही थिएन । छतमा गएँ । फोन लगाएँ । मोबाइल बज्यो, फोन उठेन । अनि झ्यालबाट हेर्दा अंकल झुण्डिएका थिए ।
उनी झुण्डिएको कोठा जम्मा तीन फिट अग्लो थियो । तर झपटको पाँच फिटभन्दा अग्ला थिए । झुण्डिएको ठाउँमा खुट्टा भुइँमा पछारिएका थिए । रातो नाइलनको डोरीमा ऊ झुण्डिएको थियो । त्यो डोरी भैँसी बाँध्नका लागि भनेर किनेर ल्याएको हो । शवको प्रकृति हेर्दा आत्महत्या जस्तो थिएन ।
शंकास्पद कुरा त के भने ऊ झुण्डिएकै ठाउँमा अघिल्लो रात सेठहरूले पार्टी गरेका थिए । त्यो पार्टी राति २ बजेसम्म चलेको छनक मैले पनि पाएका थिएँ । तर पोस्टमार्टम रिपोर्टअनुसार उसको मृत्यु साढे दुई बजे भएको थियो ।
अघिल्लो साँझ हाँसीखुसी नै देखेको मान्छे एकाएक झुण्डिएर आत्महत्या गरेको कुरा मैले पत्याउन सकिनँ । केही कुराहरू प्रहरीलाई बताऊँझैँ लागेको थियो । तर सबैले कुनै प्रतिक्रिया नदिन सुझाव दिए ।
उनीहरूले उल्टै मलाई नै मुम्बई पुलिसले फसाउने बताए । त्यसको एकसाता अघि अछाम भानाकोटका अर्का युवक पनि शंकास्पद अवस्थामा मृत भेटिएका थिए । तर खासै खोजीनीति गरिएन् ।
भारतमा बस्ने नेपालीहरू प्रहरीसँग धेरै नै डराउँछन् । विनाकारण फासउँछ भन्ने डर मान्छन् । यसकारण त कसैले ठग्यो वा ठूलै अन्याय गरे पनि उनीहरू प्रहरीकहाँ जाँदैनन् ।
०००
मुत्युपछि उसले मलाई सुत्न दिँदैन थियो । साँझ आँखा झिमिक्क पा¥यो कि ऊ मेरोअघि टक्रक्क उभिन्थ्यो । र, क्याबिनको झ्यालबाट पहिले झैं चिहाउँथ्यो । तर बोल्दैन थियो । मैले जागीर फेरेँ । त्यहाँ पनि उसलाई उसैगरी देख्न थालेँ ।
विभिन्न समयमा भारत यात्राका क्रममा नेपाली कामदारका दुःख, उनीहरूमाथिको श्रमशोषण, विभेद, दमन सबै देखेँ । तर नेपाली राजदूतावास भारत छ भन्ने भान पनि उनीहरूले गर्न पाएका छैनन् । म उनीहरूलाई हेर्छ, अनि अर्ध उन्मेषमा बिउँझिन खोजिरहेको चेतनाको व्यष्टिभित्र प्रश्नको अविर्भाव पाउँछु ।
आफैँले आफैँलाई जबर्जस्ती प्रश्नको घेरामा उभ्याउँछु । तर झपटले सोधेका प्रश्नको उत्तर भने मसंग छैन । बरु, प्रश्नहरू छन्, मसंग । म यहाँ को हुँ, नागरिक कि अनागरिक ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया