विचार

‘सरकार’ सार्वजनिक यातायात चढ्दैन

मधुसूदन सुवेदी |
माघ ३, २०७८ सोमबार १०:७ बजे

लोकतान्त्रिक राज्यको ध्यान स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातको विकास र व्यवस्थापनमा हुनुपर्छ । विगत केही वर्षयता नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र नाफामूलक उद्योगका रूपमा फस्टाएका छन् । सार्वजनिक यातायातमा राज्यले ध्यान नदिँदा साना गाडीको व्यापार फस्टाएको छ भने सडक दुर्घटना दिन प्रतिदिन बढ्दै छन् । सवारी साधनको चापले गर्दा घन्टौँसम्म जाममा पर्ने समस्याले काठमाडौँ उपत्यकाको अवस्था अस्तव्यस्त भइरहन्छ । एम्बुलेन्स तथा दमकलले हैरानी भोग्‍नुपर्छ ।

अव्यवस्थित सार्वजनिक यातायात 
राजनैतिक पार्टीहरूका कार्यक्रममा सडक बन्द गर्दै जिन्दावाद र मुर्दावाद गर्ने तथा विभिन्‍न निहुँमा चक्काजाम जस्ता आन्दोलनले यातायात क्षेत्रले थप समस्या भोग्नुपरेको छ । अझ स्पष्ट रूपमा भन्‍नुपर्दा नेपालमा स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातको क्षेत्रमा राजनीतिकरूपमा संरक्षित बिचौलियाहरूको सिन्डिकेट नै छ । 


काठमाडौँ उपत्यकामा मोनोरेल, लुम्बिनी-काठमाडौँ रेल, तिब्बत-काठमाडौँ-पोखरा-बेनी तथा मेचीदेखि महाकालीसम्ममा रेल चढेर यात्रा गर्ने र नेपालबाट हिन्द महासागरमा पानीजहाज चलाउने कल्पना गर्नु अन्यथा हैन तर आजको वास्तविकता र भोगाइ फरक छ । त्यो भोगाइ सुरक्षादस्ता अघि-पछि राख्दै सुरक्षित रूपमा आफ्नो वा सरकारी स्तरबाट प्राप्त कारमा हिँड्नेलाई थाहा हुँदैन । सार्वजनिक यातायातको प्रयोग गर्ने व्यक्तिहरू अपहेलित भइरहेको अवस्था छ ।

कार्यालय समयमा बस, मिनीबस वा टेम्पोको प्रयोग गर्नेलाई यसको पीडा थाहा हुन्छ । सार्वजनिक यातायातको प्रयोग गरी स्कुल र कलेजमा जाने विद्यार्थीहरूका भोगाइ, बिरामी लिएर अस्पताल जानेहरूको अनुभव होस् वा अपांगता भएका व्यक्तिहरूको कहालीलाग्दो दैनिकी बनाएका भुक्तभोगीका पीडा सुन्‍नु र यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक छ । साइकल लेनको बारेमा नीति निर्माणमा बस्नेहरूका लागि चासो तथा महत्वको विषय नै हँुदैन । व्यबस्थित सार्वजनिक यातायात तथा साइकलको प्रयोगले प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

कोभिड-१९, सार्वजनिक यातायात र हाम्रो दैनिकी 
कोभिड-१९ को संक्रमणबाट बच्‍न मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ ।

कोरोनाबाट बच्‍न सधैँ घरभित्र बसेर पुग्दैन, सकिँदैन र बस्‍नु पनि हुँदैन । हाम्रा दैनिकीहरू चल्नुपर्छ र मानिसहरूले सचेत ढंगले आआफ्ना काम गर्ने वातावरण बनाउनुको विकल्प छैन । त्यसैले कोरोनको समयमा हाम्रा व्यक्तिगत उत्तरदायित्वहरू झन बढेका छन् । सावधानी र सुरक्षाकवच अपनाएर कोरोना संक्रमणबाट जोगिएर र अरुलाई पनि जोगाएर दैनिकी चलाउनु पर्नेछ । सुधारसहितको सार्वजनिक यातायात प्रयोग गर्नुको विकल्प छैन ।

सार्वजनिक यातायातको व्यवस्थापनमा स्थानीय सरकार 
कोरोनाको ग्राफ उकालो लागेको छ । स्वास्थ्यकर्मीहरू संक्रमित भइरहेका छन् । दैनिकी चलाउनु छ । यो कठिन घडीमा समी सबै सचेत हुनु जरुरी छ । हामीमध्ये धेरैको आफ्नै कार वा मोटरसाइकल छैन र हिडेर आफ्नो कार्यक्षेत्रमा पुग्न पनि नसकिने हुँदा कोरोनाको समयमा सार्वजनिक यातायातको प्रयोग गर्नेलाई सबैभन्दा चिन्तित बनाएको छ । आफ्नै कार वा मोटरसाइकलको मात्र प्रयोग गर्नु उत्तम विकल्प हो भन्‍ने ज्ञान धेरै मानिसहरूलाई छ तर ज्ञानले मात्र सुविधाको प्रयोग गर्न सकिँदैन । सुविधाका लागि धेरैलाई आर्थिक अवस्था, सीपगत क्षमता र उमेरले साथ दिँदैन ।

हाम्रो दैनिक अवस्था सामान्य बन्‍न अझै लामो समय लाग्न सक्ने भएकाले लामो समयसम्म यात्रुवाहक सवारी साधनलाई परम्परागत ढंगले चलाउँदा कोरोनाको संक्रमण बढ्ने सम्भावना निकै बढी हुन्छ । कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्नेबारे हामीले आआफ्नै लकडाउन संहिता बनाएर अघि बढ्नुबाहेक अन्य विकल्प छैन । सुरक्षाकर्मी वा ट्राफिक प्रहरी देख्दा सार्वजनिक यातायातको नियम मानिदिने तर आँखा छलेर नियम मिच्‍ने गलत कार्यले अन्तमा हानि-नोक्सानी हुने हामीलाई नै हो ।

प्रत्येक दिन, यात्रुहरूको एक ठूलो संख्याले झ्याल, ह्यान्डलहरू, ढोका र अन्य स्थान छुन्छन् । जब हामी यी सतहहरूलाई छुन्छौं, भाइरसको वाहक बन्‍न सक्छौं र यस रोगबाट ग्रस्त हुन सक्छौं ।

सार्वजनिक यातायातमार्फत कोरोनाको संक्रमण समुदायमा फैलिरहेको छ र यसलाई व्यवस्थित गर्न ढिला भइसकेको छ । सार्वजनिक यातायातका साधनहरूलाई सुरक्षित र सुनिश्चित गर्न मापदण्ड तथा निर्देशिका जारी गरे पनि कार्यान्वयन पक्ष निकै कमजोर छ । स्थानीय सरकारले निर्देशिकाको कार्यान्वयन पक्षमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ । 

जोखिममुक्त बनाउने उपाय
नेपालमा सार्वजनिक यातायात नै आम मानिसहरूको आवागमनको एकमात्र साधन भएको हुनाले ती साधनहरूमा धेरै जनाबीच सम्पर्क हुन्छ । एकजना मात्रै संक्रमित छ भने अन्य धेरैमा सर्ने सम्भावना अधिक रहन्छ । तसर्थ सार्वजनिक यातायात क्षेत्रले अन्य क्षेत्रको भन्दा धेरै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने हुन्छ । सुरक्षित रूपमा सञ्चालन गर्न भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्छ ।

दिनदिनै ठूलो जनसंख्याले प्रयोग गर्ने हुँदा सार्वजनिक यातायातका साधनहरू बस, माइक्रोबस, टेम्पो तथा ट्याक्सी पर्याप्त मात्रामा सरसफाइ गरिएका हुँदैनन् र प्रकोपको समयमा सुरक्षित छैनन् । अस्पतालले सञ्चालन गरेका बस, जीप तथा एम्बुलेन्स पनि सुरक्षित छन् कि छैनन् यसै भन्‍न सकिने अवस्था छैन । यातायातका साधनहरूले सरसफाइ, यससँग सम्बन्धित कर्मचारीलाई तालिम, यात्रुले गर्नुपर्ने र चालक तथा सहचालकले पालन गर्नुपर्ने निर्देशिका सार्वजनिक गरी कार्यान्वयन गर्न ढिला भइसकेको छ । यातायात सेवामा संलग्न कर्मचारीलाई कोरोना भाइरसबाट सुरक्षित राखी यात्रुहरूलाई यात्राको समयमा भौतिक दूरीसहितको सुरक्षित यात्राको प्रत्याभूति गराउनुपर्ने हुन्छ । यस्तो निर्देशिकामा हवाइ यातायातका लागि पनि कडाइका साथ लागू गर्न आवश्यक छ । 

सुरक्षित दूरी कायम गर्नु महत्वपूर्ण छ । यस्तो अवस्थामा सबैले सावधानी अपनाउनुपर्ने हुन्छ । हाम्रा वरिपरिका अन्य व्यक्तिको कारणले हामी जोखिममा पर्न सक्छौं । हामी बिरामी व्यक्तिहरूको सम्पर्कमा आउन सक्छौं, जसले हामीलाई संक्रमित गर्न सक्दछ । हाम्रो कारणले हाम्रो परिवारका व्यक्तिहरू जोखिममा पर्नु हुन्छ ।

यात्रुवाहक सार्वजनिक सवारीमा यात्रु राख्दा हालका बसहरूमा भएको सिट व्यवस्थाले सुरक्षित हुन सकिँदैन । ३५ देखि ४० जनासम्म यात्रु सिट भएको बसमा २०-२२ जनामात्र बस्न मिल्ने सिटको व्यवस्था गर्नुपर्ने हुन्छ । यात्रु घटाएर सवारी सञ्चालन गर्दा व्यवसायीलाई लागतमै नोक्सान हुने भएकाले राज्यले सहयोग गर्नुपर्छ । यस विषयमा सम्बन्धित सबै सरोकारवालाहरूसँग छलफल हुनुपर्छ ।

मास्कको प्रयोगले सामाजिक दूरीको आवश्यकतालाई प्रतिस्थापन गर्दैन । आफ्नो अनुहारलाई आफ्नो हातले छुनबाट जोगिन र कीटाणुहरूबाट बच्‍न सार्वजनिक सवारीमा मास्कको प्रयोग अनिवार्य हुने व्यवस्था गर्नुपर्छ । यात्रुलाई सवारी साधनमा चढ्ने बेला लाइनमा राख्ने र ढोकाछेउमा स्यानिटाइजर लिन सकिने गरी व्यवस्था मिलाउनुपर्छ ।

प्रत्येक दिन, यात्रुहरूको एक ठूलो संख्याले झ्याल, ह्यान्डलहरू, ढोका र अन्य स्थान छुन्छन् । जब हामी यी सतहहरूलाई छुन्छौं, भाइरसको वाहक बन्‍न सक्छौं र यस रोगबाट ग्रस्त हुन सक्छौं । संक्रमण नियन्त्रणका लागि हरेक यातायातका साधन नियमितरूपमा सरसफाइ गर्ने, धुने, यात्रुको सम्पर्कमा आउन सक्ने सतहमा नियमित संक्रमणरहित बनाउने कार्यलाई अनिवार्य गरिनुपर्छ । त्यसका लागि आवश्यक पर्ने केमिकल तथा प्रविधिका लागि सरकारले सहयोग गर्नुपर्छ । हवाई यातायातमा समेत यस विषयलाई महत्वका साथ लागू गर्नुपर्छ ।

अन्तमा,
हामी कोरोना भाइरसको उपस्थितिलाई अस्वीकार गर्न सक्दैनौँ । अब कोरोनासँगै बाँच्‍नुको विकल्प पनि छैन । भौतिक दूरी कायम गर्दै दैनिक तथा अत्यावश्यक कार्यहरू सहज ढङ्गले गर्ने वातावरण बनाउनु पर्नेछ । आमनागरिकले आवतजावतका लागि अत्यधिक प्रयोग गर्ने साधन सार्वजनिक यातायातका हो । आवतजावतका क्रममा मानिसहरूसँग भौतिक सम्पर्क बढी हुँदा भाइरस संक्रमणको जोखिम बढी सार्वजनिक यातायात क्षेत्रमा हुन्छ ।

संक्रमणको जोखिम बढी हुने भए पनि मानव जीवनलाई चलायमान बनाउनका लागि यातायात क्षेत्र जनस्वास्थ्यका मापदण्डको पालना गर्दै सञ्चालन गर्नुपर्ने हुन्छ । तसर्थ सार्वजनिक यातायात क्षेत्रलाई महत्वपूर्ण रूपमा हेरिनु अत्यन्त जरुरी छ । सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि अहिलेको अवस्थामा सेवा प्रदायकहरूले मात्र गर्नसक्ने अवस्था छैन । राज्यसत्तामा बस्नेहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । ‘सरकार’लाई सार्वजनिक यातायात चढ्नुपर्दैन, उसले चासो लिने छाँटकाँट छैन, तर प्रश्न त गर्नैपर्छ ।

सुवेदीका अन्य लेखहरू


Author

मधुसूदन सुवेदी

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।


थप समाचार
x