विचार

पञ्‍चायतविरुद्ध प्रजातन्त्रको बिगुल फुकेको दिन : आर्काइभबाट

चाक्सीबारीमा छिमेकी पाहुनाको शुभकामना, कम्युनिस्टसँग सहकार्य

बालकृष्ण खाण |
माघ ५, २०७८ १०:४७ बजे

निर्दलीय पञ्चायती व्यवस्थाको समाप्ती र बहुदलीय प्रजातन्त्र पुनःस्थापना निम्ति नेपाली कांग्रेसले आन्दोलन गर्ने निष्कर्ष निकालिसकेको थियो । त्यही आन्दोलनको औपचारिक घोषणा गर्न कांग्रेसको राष्ट्रिय सम्मेलनले प्रस्ताव पारित गर्ने र आन्दोलनको माहौल बनाउने उद्देश्यसहित देशभरका नेता/कार्यकर्ता काठमाडौँमा भेला भएका थिए, २०४६ माघ ५ मा ।

त्यतिखेर कांग्रेसले ७५ जिल्लामा कार्यसमिति बनाइसकेको थियो । पार्टीका सभापति, पदाधिकारीहरूलाई बोलाइएको थियो । त्यतिखेर राष्ट्रिय सम्मेलन गर्न स्थान कहीँ पनि प्राप्त भएन । सर्वोच्‍च नेता गणेशमान सिंहकै निवास चाक्सीबारीको आँगन प्रयोग गर्ने निधो भयो । त्यो आँगन सफा गरी सम्मेलन स्थल बनाइयो । त्यो ठाउँमा पनि सम्मेलन गर्न दिइन्‍छ कि दिइन्‍न भन्‍ने आशंकाबीच हामीले मञ्च बनायौँ ।


त्यो सम्मेलनमा नेपाली कांग्रेस मात्र होइन कि विदेशी पाहुनाका अतिरिक्त नेपालका कम्युनिस्ट पार्टीका नेताहरू मनमोहन अधिकारी, साहना प्रधान लगायतको पनि उपस्थिति थियो । त्यतिखेर प्रजातान्त्रिक आन्दोलन सहयोग गर्ने उद्देश्यबाटै भारतबाट चन्द्रशेखर, हरिकिशन सिंह सुरजित, डा. सुब्रह्म्रण्यम स्वामी, एमजे अकबर लगायतका नेताहरूको उपस्थिति थियो ।

त्यो सम्मेलनले हामीलाई ज्यादै उत्साहित गरेको थियो । त्यो सम्मेलन कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा भएको थियो । जसमा सर्वोच्‍च नेता गणेशमान सिंह, महिला संघका अध्यक्ष मंगलादेवी सिंह, विद्यार्थीहरूको तर्फबाट नेपाल विद्यार्थी संघको अध्यक्षको हैसियतमा मैले बोलेको थिएँ । कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी र साहना प्रधानले बोल्नुभएको थियो ।

त्यो सम्मेलनको मूलभूत प्रतिबध्दता थियो, निर्दलीय पञ्चायती व्यवस्थालाई फाल्छौँ । त्यसपछि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापनाको प्रतिबध्दता थियो । विदेशबाट आएका नेता र विदेशीहरूको शुभकामनामा पनि नेपालमा प्रजातन्त्र बहालीमा कसैलै रोक्न र छेक्न सक्दैन भन्‍ने थियो । प्रजातन्त्र प्राप्तिलाई कसैले छेक्ने दुस्साहस गर्‍यो भने त्यो असफल हुन्‍छ भन्‍ने थियो ।

आन्दोलनले आँधी-बेहारी ल्याउनेछ । प्रजातन्त्रका निम्ति हामी जुनसुकै मूल्य पनि चुकाउन तयार छौं । हामी टाउकोमा कफन बाँधेर उत्रन्‍छौँ भन्‍ने दृढता व्यक्त भयो । त्यसले नै आन्दोलनमा उत्रन आमनागरिकलाई उत्साह थपेको हो । कांग्रेसको त्यो तीन दिने सम्मेलनले आन्दोलन जसरी पनि सफल हुन्‍छ भन्‍ने बल दियो । त्यतिखेर कार्यकर्तामा पनि ज्यादै हौसला थियो र बलिदानीको भावना पनि थियो ।

गणेशमानको गर्जन : यो आन्दोलन कुनै पनि हालतमा रोकिनेवाला छैन । अबको बिहानी प्रजातन्त्रको बिहानी हुनेछ ।

त्यसअतिरिक्त कम्युनिस्टहरूसँग सहकार्य गर्ने निधो लिएको पनि त्यो पहिलो घटना थियो । २०३६ को जनमत संग्रहमा कांग्रेसले कम्युनिस्टहरूसँग सहकार्य नगर्ने नीति लिएको थियो । त्यतिखेर कांग्रेसले आफ्‍नो शैली र आफ्‍नै ढंगबाट बहुदल पक्षको प्रचार गर्नेछ र बहुदलको पक्षमा रहेका कम्युनिस्ट घटकहरूले पनि आफ्‍नै शैलीमा अघि बढ्‍नुस् भनेको थियो । बरु आपसी सहयोग जुटाइदिने, उनका ठूला नेता जिल्लामा जाँदा सहयोग गरेको थियो । त्यतिखेर मोर्चा बनाउँदै कार्यगत एकता वा संयुक्त आन्दोलन गर्ने नीति कांग्रेसको थिएन ।

२०४६ मा गणेशमान सिंहकै पहलमा नेपाल कम्युनिस्ट पार्टीका नेता र वामविचारका बुध्दिजीवीहरूसँग लामै छलफल भयो । त्यतिखेर राधाकृष्ण मैनाली जेलबाट छुट्नुभएको थियो र उहाँले सबैसँग संवाद गर्नुभएको थियो । गणेशमानसिंहको निवासमा उतिखेर भूमिगत रहेका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूका र भूमिगत नरहेका नेताहरूसँग संवाद भयो । उनीहरूलाई भनियो कि संयुक्त आन्दोलनका निम्ति पहिला तपाईंहरू वाममोर्चा बनाउनुस् ।

त्यसपछि कांग्रेस र वाममोर्चाबीच संयुक्त तालमेल गरी आन्दोलनमा उत्रने तय भयो । उनीहरूबीच साहना प्रधानको नेतृत्वमा वाममोर्चा बन्यो । कांग्रेस कार्यवाहक सभापति भट्टराई र वाममोर्चा संयोजक प्रधानबीचको सहमतिमा संयुक्त आह्वानपत्र जारी भयो । त्यसपछि आन्दोलन अघि बढेको हो ।

कांग्रेस-कम्युनिस्टबीच एक ढिक्का हुँदै पञ्चायतविरुध्द संयुक्त रूपमा होमिएको चाहिँ त्यो पहिलो चोटि थियो । नत्र भने कांग्रेसले कम्युनिस्टसँग त्यसरी संयुक्त सहकार्य गरेको थिएन । म नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष थिएँ । त्यो सम्मेलनको सुरक्षाको जिम्मा नेविसंघले लिएको थियो । मञ्च निर्माणमा पनि नेविसंघ नै लाग्‍नुपर्ने थियो । त्यो मञ्चको सुरक्षाका निम्ति चाक्सीबारीमै सुतेका थियौँ । हामी जस्तोसुकै स्थितिको सामना गर्नुपरे पनि जुनसुकै मूल्य चुकाउन पनि तयार थियौँ ।

त्यो सम्मेलन हुनुअघि स्कुलमा दसैँ बिदा सुरु हुँदै थियो । विद्यार्थीहरू घर जाँदै थिए । कांग्रेसको जमलस्थित पार्टी कार्यालयको छतमा नेपाल विद्यार्थी संघले दसैँ शुभकामना कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ विद्यार्थी नेताहरू उपस्थित थिए ।

गणेशमानजीले त्यहीँ भन्‍नुभएको थियो, ‘नेपालमा प्रजातन्त्र प्राप्तिको ठूलो आन्दोलन हुँदै छ । त्यो आन्दोलनमा पूर्ण र दृढ ढंगले सहभागी हुन सकौँ । आन्दोलन र देशले बलिदान माग्यो भने म बलिदान गर्न तयार छु भन्‍ने आशीर्वाद मागेर आउनुहोला । हामी पूर्ण प्रतिबध्दतासाथ आन्दोलनमा जाँदै छौँ, यो आन्दोलन कुनै पनि हालतमा रोकिनेवाला छैन । अबको बिहानी प्रजातन्त्रको बिहानी हुनेछ ।’ त्यतिखेर गणेशमान र किसुनजीको प्रतिबध्दता जसरी पनि आन्दोलन सफल पार्ने भन्‍ने थियो ।

चाक्सीबारीमा भएको कांग्रेसको त्यो राष्ट्रिय सम्मेलनले आन्दोलनको माहौल ह्वात्तै बढायो । त्यो सम्मेलनले मनबाट डर र भय हटाउने साहस दियो । जमिमान बसेका जनतालाई कसैले पनि केही गर्न सक्दैन । जो शासनमा उडिरहेका छन्, उनीहरू नै खस्‍ने हुन् । प्रजातन्त्रको उज्यालो हावालाई कसैले पनि छेक्न सक्नेछैन भन्‍ने खालका अत्यन्त जोसिला भाषणबाट हरेकलाई उत्साहित तुल्याएको थियो ।

त्यो सम्मेलनमा आन्दोलन हाम्रो एक मात्र गन्तव्य हो । आन्दोलनले आँधी-बेहरी ल्याउँछ । त्यसले निर्दलीय पञ्चायत ढाल्छ र प्रजातन्त्रको बिहानी आउँछ भन्‍ने उत्साहित माहौल दियो ।

(२०४६ को आन्दोलनको बिगुल फुक्‍ने नेपाली कांग्रेस राष्ट्रिय सम्मेलनका एक वक्ता हुन् खाँड । उनी त्यतिबेला नेपाल विद्यार्थी संघका अध्यक्ष थिए । २०४६ माघ ५-७ सम्मेलन सन्दर्भमा कांग्रेस नेता खाँडको स्मरण ।)



Author

बालकृष्ण खाण

खाण नेपाली कांग्रेसका नेता हुन् ।


थप समाचार
ad
x