विचार

बाजुराकी सप्पा नेपालीले भोकको जल समाधि लिएको थाहै नपाउने तपाईं कसरी ठूलो मान्छे ?

एलबी विश्वकर्मा |
माघ ५, २०७८ १८:१७ बजे

पश्चिम पहाडमा हरेक वर्ष रुख र भीरबाट लडेर दर्जनौं नागरिक अकालमै ज्यान फाल्छन् । परिवर्तित वर्तमान समयमा पनि झाडापखला लाग्दा जीवनजल र सिटामोल नपाएरसमेत उनीहरू मर्छन् । अझ अलि पहिले झाडा पखाला, हैजा, आउँ, बिफर, ठेउला र दादुरा जस्ता रोगले ग्रस्त भएर गाउँ नै रित्तो हुन्थ्यो रे । हरेक वर्ष जन्मिएका आधाभन्दा बढी बालबालिका बचाउनै कठिन हुन्थ्यो । यो अवस्था अहिले पनि पूर्णरूपमा उल्टिसकेको छैन । तर केही हदसम्म परिवर्तन देखिन्छ ।
 
पश्चिमका ग्रामीण क्षेत्रहरूमा अझै पनि यातायात सुविधा छैन । सबैतिर फोन नेटवर्क छैन । अधिकांश स्थानमा सडक छन, तर दीर्घकालीन सडक नहुँदा मान्छेहरू अकालमै ज्यान खेर फालिरहेका छन् । हरेक वर्ष ५० प्रतिशत मातृशिशु समयमा उपचार नपाएर ज्यान गुमाउँछन् । पिठ्यँु, डोको अनि स्टेचरमा मान्छे बोक्नुपर्ने बाध्यता हटेको छैन ।

अभाव यहाँको निम्नवित्तीय समाजको साझा रोग हो । यो रोगको निवारणका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापानको सपना उनीहरू देख्दैनन् । दुबई, कतार र मलेसिया पुग्न पुँजी छैन । यसैले सस्तो र अदक्ष श्रम बेच्न भारत पस्छन् । उनीहरूलाई थाह छ, यत्ति गरियो भने कम्तीमा भोकै पर्नुपर्दैन÷मर्नुपर्दैन् । देशमै बसेर इलम गर्छु परिवार पाल्छु भन्नेहरू त शून्यप्रायः नै छन् ।


किनकि यहाँ बजार छैन । इलम चल्दैन । बाहिर ढुवानी गरेर उत्पादन पठाउन सडक सञ्जाल र सवारीको व्यवस्था छैन । तर त्यसमध्येमा पनि केही व्यक्तिहरूले यो दुस्साहस गरेकै छन् । उनीहरू पनि एक खेप भारत पुग्छन् । आर्थिक संकट पूर्ति गर्ने भारत स्वास्थ्य संकट पर्दा पनि काम लाग्छ । तर आफ्नै करमा निर्माण भएर सञ्चालनमा आइरहेका सरकारी अस्पतालहरू बेकार बनिदिन्छन् ।

गत वर्ष मंसिर ४ गते दैलेखका विशाल विक घर निर्माणका लागि दारभाँटा जोरजाममा लागेका थिए । काठ र ढुङ्गाको काम सक्काएपछि घर निर्माण थाल्ने उनको तयारी थियो । सोही अनुरूप रुख काट्न जंगल पसेका विशाल सोही दिनदेखि आछ्यानबाट उठ्न सकेका छैनन् । घरको भित्ताका लागि काटिएको रुखले किचेपछि उनी मरेतुल्य अवस्थामा छन् । 

७० वर्षीय वृद्ध बुवा रेखदेखमा खटिएका छन् । भारतलगायत नेपालका आधा दर्जन अस्पताल चहार्दा पनि घाउसमेत निको हुन सकेको छैन । तर उनको बाँच्ने आशा भने मरेको छैन । 

सबै अस्पतालहरू चहार्ने क्रममा घरजग्गा, खेतीपाती सबै बेचिसके । २८ वर्षीय विशाल क्रमशः ७, ४ र २ वर्षीय तीन सन्तानका बाबु हुन् । काठमाडौं साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचाररत विशाललाई कोल्टे फेर्न पनि वृद्ध बुवाको हात चाहिन्छ । आर्थिक अभावले उपचार गर्न नसक्ने स्थितिमा छन् उनी । उता, दैलेख उनको परिवार अर्कैको घरमा सहारा लिएर बसेका छन् । उनीहरूलाई खान माना, लगाउन नाना छैन । श्रीमतीले दिनभरि काम गर्छन् । त्यहीँबाट आएको दुईचार पैसाले पेट पालिरहेका छन् । उनको यो अवस्थाले सिङ्गो परिवार नै भावविह्वल छ । सबै सपनाहरू तितरवितर छन् ।

केही वर्ष पहिले सिभिल इन्जिनियरिङमा प्रिडिम्लोमा गरेका विशालले आरसीआई डब्ल्युमा नाम निकालेका थिए । गाउँकै विद्यालयबाट कक्षा ११ मा पनि पढ्दै थिए । जागीरका लागि चाँडै जानुपर्ने भएकाले उनी घर बनाएर निस्किने तरखरमा थिए । परिवारलाई छानो छाइदिएपछि आफूलाई आनन्दै हुन्छ भन्ने उनलाई लागेको थियो । तर सोचे जस्तो भएन । यी दुई वर्षमा उनले भारतको लखनउ, पोखरा हुँदै काठमाडौंसम्मका अस्पतालमा उपचार गराई सकेका छन् ।

उनले सुरुवातमा कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित कालागाउँ क्षेत्रीय हस्पिटलमा उपचार गराए । त्यहाँ खासै सुधार भएन । यसपछि उनी अछामको बयलपाटा अस्पताल पुगे । त्यहाँ पनि स्वास्थ्यमा सुधार आएन । काठमाडौं वा नेपालगञ्ज लैजान प्रस्ताव दिइयो । अनि उनलाई भारतको लखनउ पुर्‍याइयो । केही समयको उपचारपछि अलिक सञ्चो भयो । उनी घर फर्किए । फेरि लकडाउनकै समयमा समस्या बल्झियो । उनलाई पोखराको आइएनएफ हस्पिटल पुर्‍याइयो । त्यहाँबाट काठमाडौं लैजान सुझाव आयो । हाल उनी साँखुमा उपचाररत अवस्थामा छन् । तर आर्थिक अभावले थलिएका विशाललाई खान बस्न नै सकस परिरहेको छ ।

बाहिर घाम खान, वातावरण हेर्न मन लाग्छ, वृद्ध बुवा उठाएर लैजान्छन् । दिसापिसाब समेत उनैले सोहोर्छन् । यतिबेला उनी वृद्ध बुवाको अनुहार हेर्छन्- निराश आँखा र चाउरिएका गाला देख्छन् अनि आफैँलाई दुत्कार्छन् । विडम्बना, उनको यो अवस्था कुनै पनि पत्रकारका समाचारको स्रोत बन्न सकेको छैन । दैलेख र सुर्खेतबाट निस्किने पत्रिका र अनलाइनहरूले चालै पाएका छैनन् ।

तर यस्तो स्थितिबाट एकजना विशाल मात्र होइन् । सिङ्गो कर्णाली गुज्रिनुपरेको जिल्ला सदरमुकाम, प्रदेश मुकाम र संघीय सत्ताको आगनमा उभिएका पत्रकारले देख्दैनन्, न देख्छन, वडा अध्यक्ष, नेता, सांसद अनि सरकारहरूले । विशाल माथिल्लो पहाडका कर्मठ श्रमजीवी युवा हुन् । दैलेखको सदरमुकामदेखि दिनभरको यात्रा गरेपछि पुगिन्छ, उनी जन्मिएको गाउँ आठबिसकोट–५, पिपलकोट ।

यहाँका नागरिकलाई समाजवाद चाहिएको छैन । समाजवादी नारा पनि चाहिएको छैन । चाहिएको छ त केवल एक चिज, त्यो हो अभावको निवारण । उनीहरूका धेरै ठूला अपेक्षा छैनन् । धेरै ठूलो सपना छैनन् । बिरामी पर्दा जग्गा जमिन नै बेच्नुपर्ने स्थिति नआओस् । उपचार नपाएर अकालमै ज्यान नजाओस् । फेरि सरकारले भन्ला, ‘हामीले हरेक स्थानीय तहमा पाँचसय शैय्याको अस्पताल निर्माणको तयारी गरिसकेका छौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले एसीजडित बालुवाटारको सरकारी निवासबाटै ती अस्पतालको उद्घाटनसमेत गरिसकेका छन् ।’ तर अस्पताल बन्न सकेका छैनन् । ती अस्पतालको अवस्था के छ ? सरकारलाई मतलब छैन ।

यहाँको अभावलाई सम्बोधन गरेर मन्त्रालयका राता किताब लेख्ने, तारे होटेलमा डिनरसहितका रंगीन बहस चलाउने तर भुइँमा ओर्लेर जनताको आवश्यकतासँग कहिल्यै एकाकार नहुने सत्ताले यहाँको पीडा बुझेका छैनन् ।

ग्रामीण भेगमा हुर्किएका अनि यहीँको माटोमा खारिएका आमाका कथा समावेश गरिएको कवि विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ निबन्ध संग्रहको चर्चा छ, बजारमा । यस्तै-यस्तै कविता लेख्ने आहुति, राजु स्याङतान, केवल विनाबीहरू चर्चामा छन् । तर उनीहरूका कवितामा समावेश पात्रहरू चर्चामा छैनन् । आफ्नै थातथलोमै बसेर सानोतिनो उद्यम गर्ने पुँजीसम्म नभएका र कमाइ खाने अति कम मात्र जमिनको स्वामित्व भएका विशालहरू मात्रै बस्छन्, यहाँ अब । धनीमानीहरू सहर पसिसके । यहाँ बस्नेहरू रोग र शोकले वर्षौंसम्म ग्रस्त छन् । कतिपय मान्छेहरू वर्षै वर्षसम्म थलिएर मर्न बाध्य छन् । क्यान्सर, टिबी, कुष्ठरोग केही मात्रै भए पनि शोक र सुर्ताले बढी मर्छन् ।

सहरमा बसेर हामी लेखिरहेका छौं, ‘हाम्रो युगमा कोरोना व्याधि आयो । खोप पनि तुरुन्तै आयो । अनि धेरैको ज्यान यो प्राणघातक रोगबाट जोगियो । यो युगमा चिकित्सा विज्ञानको धेरै नै विकास भएको छ । हामी स्वास्थ्यको स्वर्णिम युगमा छौँ ।’ तर सुदूरका ग्रामीण बस्तीलाई थाह छैन, ‘चिकित्सा शब्दको अर्थ के हो ?’

काठमाडौंका प्रगतिशील लेखक र कविहरू कविता लेख्छन्, ‘मान्छे मार्नु किमार्थ न्यायसंगत होइन । विश्वयुद्ध, जनयुद्ध, जनआन्दोलन र धार्मिक युद्ध यी सबै युद्धमा मान्छेलाई मर्नका लागि उक्साउनु फगत हो ।’ उनीहरूको कलम यत्तिमा थामिँदैन । फेरि थप्छन्, ‘माओवादी युद्ध, २०६२÷०६३ को जनआन्दोलन, मधेस आन्दोलन, कैलाली टिकापुरको प्रतिरोध आदिका नाममा मान्छे मार्नु पनि गलत थियो ।’

अब भनिदिनुस् लेखकज्यू, कविज्यू, ‘आर्थिक अभावकै कारण गुमनाम मृत्युवरण गरिरहेका विशालहरूका कथा तपाईंका कलमले कहिले लेख्ने ? भोकमरीकै कारण बाजुराकी सप्पा नेपालीले तीन छोरी, एक छोरासहित खोलामा हेलिनु कहाँको मानवता हो ?’ तपार्इंका कलमले यी कथा पनि समावेश गरोस् ।  र, अन्तमा हत्केलामाथि जीवन राखेर बाँचिरहेका नागरिकहरूको थोरै चर्चा होस् । उनीहरूले छटपटाउँदै गुमनाम मृत्युवरण गर्न नपरोेस् । उनीहरू मरेको सत्ताले पनि देखोस्, सुनोस् ।



Author

थप समाचार
ad
x