विचार

राजनेता बन्‍ने अवसर छ देउवालाई

डा. कृष्णप्रसाद पौडेल |
माघ ९, २०७८ आइतवार ८:३८ बजे

हेमन्त ऋतुको आगमनसँगै काठमाडौँमा जाडो अलिक बढेर जान्छ । यस वर्ष मंसिरको अन्तिम साता चिसोले कठ्याङ्ग्रिएको काठमाठडौँलाई भने नेपाली कांग्रेसको १४औं महाधिवेशनको रापले तताइरहेको थियो । त्यसमाथि नेपाली कांग्रेसको सभापतिको लागि भएको पुनः मतदानको दृष्य सारै हेर्नलायक थियो । करिव चार बिसको संघारमा रहेका लोकतन्त्रका हिमायती नेता शेरबहादुर देउवा कठ्याङ्ग्रिदो चिसो रातको परवाह नगरी दुई हात जोडेर महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्दै हुनुहुन्थ्यो । उहाँको यो कृयाकलाप समस्त लोकतन्त्र प्रेमीको लागि एउटा मागर्दर्शन जस्तै थियो भने उनको प्रजातन्त्र प्रतिको विश्वास र आस्था पनि झल्किन्थ्यो । केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने प्रावधान नेपाली कांग्रेसको विधान भएता पनि जन ईच्छाले मात्र नेता हुनुपर्छ भन्ने भावना राख्नु हुने देउवाले डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिको रुपमा १४औँ महाधिवेशनको यात्रा थालनी गर्नु भएको थियो ।

नेपाली कांग्रेसको सभापतिको लागि भएको पुनः मतदानमा ६० प्रतिशत मत प्राप्त गरी नेपाल सरकारका प्रधानमन्त्री पुनः दोस्रो कार्याकालको लागि सभापतिमा विजयी हुनु भएको थियो । सभापतिको रुपमा दोस्रो कार्यकालको पदभार सम्हालेसँगै पार्टी सभापति शेरबहादुर देउबाको सामु थुप्रै अवसर र चुनौतिहरू थुप्रिएका छन् । यो समय सत्तारोहणको गठबन्धनलाई सम्हाल्दै पार्टीभित्र देखिएको अन्तरद्वन्दलाई मिलाई आउदै गरेको तिनै तहको चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउने सुनौलो अवसर प्राप्त भएको छ । यो अवसरलाई सही मार्गमा प्रयोग गर्न सक्नुभयो भने बीपी ले युवा देउवामा देखेको क्षमताको प्रयोग त हुन्छ नै त्यो भन्दा बढी बीपीको सच्चा अनुयायी र नेपाली कांग्रेसको लागि पुस्तौ-पुस्तासम्मको लागि पथप्रदर्शक बन्ने अवसर छ अन्यथा उहाँले पाएको यो अवसरको लागि इतिहासले माफ गर्ने छैन । 


नेपाल विद्यार्थी संघका सस्थापक सदस्य र प्रथम निर्वाचित सभापति देउवा लण्डन स्कुल अफ ईकोनोमिक्सका रिसर्च फेलो समेत हुन् । २०४६ साल पश्वात भएका सम्पूर्ण संसदीय निर्वाचन र संविधान सभा निर्वाचनमा समेत गरी ६ पटक उहाँले चुनाव जित्नु भएको छ । बीपी को भनाइ “समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन” भन्ने कुरालाई आत्मसात गर्दै प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेश (कदमजम) लाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली, दलित, महिला, जनजाति, मधेसको अवधारणा ल्याएका थिए । उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् । यसले के देखाउछ भने नेपाली कांग्रेसले अङ्गिकार गरेको समावेशिताको सिद्धान्त देउवाले नै प्रतिपादन गरेका थिए । कानुनी रूपमा अधिकार पाएका यी सिमान्तकृत वर्गलाई वास्तबिक रूपमा न्याय दिलाउने खालको राज्य संरचना र संयन्त्र निर्माणको ऐतिहासिक दायित्व पनि देउवाकै काधँमा आएको छ । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामलाई हेर्ने हो भने “पुस्तान्तरण सहितको वैचारिक रुपान्तरण”को मुद्दा वडा ईकाईबाट केन्द्रीय नेतृत्चसम्म स्थापित भएको छ । यही सिद्धान्तको आधारमा महामन्त्रीमा निर्वाचित दुई महामन्त्रीमध्ये एकलाई पार्टीको नीति निर्माणको जिम्मेवारी दिई अर्कोलाई सरकारमा सामेल गराउने गरी तयार गरिनु आवश्यक छ । जसले गर्दा पार्टी संचालन र सरकारको कार्यदिशामा युवाको प्रतिनिधित्वले सारा काँग्रेमा रक्त संचारको वहाव जसरी कांग्रेसजनलाई अगाडि बढाउन सकिन्छ । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापा र विश्व प्रकाश शर्मालाई आउदै गरेको निर्वाचनको सारथिको रुपमा अगाडि बढाएर देशभरनै कांग्रेसमय वातावरण सृजना गरी त्यसको जस लिने अवसर पार्टी सभापतीलाई मिलेको छ । त्यस्तै, वर्तमान सभापतिले अर्को एक महत्वपूर्ण कार्य गर्न जरुरी छ अर्थात उत्तराधिकारी चयनको कार्य । नेतृत्वको दायित्व आफ्नो उत्तराधिकारी निर्माण समेत हो जसले भावी दिनमा आफ्नो बिचार र सिद्धान्त अबलम्बन गर्दै संगठन हाक्ने ल्याकत राखोस जीवनको उत्तरावस्थामा रहेका बृद्ध नेताले यही कार्यकालमा सही उत्तराधिकारको चयन गर्नु पर्ने बाध्यात्मक अवस्थामा रहनु भएकाले हाम्रा भन्दा नि राम्रालाई प्रसय दिनु सक्नु भएमा मात्र संगठनले गति लिनेछ । यसका लागि सही ठाउमा सही मान्छे (Right man in right place) गर्दा नै उहाँको कद उचो हुनेछ । 

नेपाल सरकारको प्रमुखको हैसियतमा सरकार संचालनको समयमा गरेका सहमतिभन्दा अलिक माथि उठेर देश, जनता र पार्टीको हितमा काम गर्ने गरी आसन्न तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत दिलाउने दिशामा पार्टी सभापतिको ध्यानाकर्षण हुन आवश्यक छ । यसको साथै संविधानको अक्षरश: पालना गर्नको लागि तीनै तहको निर्वाचन संविधानले तोकिएकै समयमा गर्न आवश्यक छ । यसो गर्न सक्नु भयो भने मात्र विगतमा उठेका उहाँको कार्यक्षमताका प्रश्नहरू सधैका लागि पखालिनेछन् । यसका साथै नेपाली कांग्रेसले भातृ संगठन, शुभेच्छुक संस्था र विभागिय कार्यदलमा रहने शक्तिलाई चुनाव जित्ने रणनितिको रूपमा प्रयोग गर्नु आवश्यक छ । जसको लागि नेपाली कांग्रेसको विधानले प्रदान गरेको अधिकारलाई प्रयोग गरी भातृ संगठन साथै नेपाली कांग्रेसका विभागलाई तुरुन्त गठन गरिनु पर्दछ । भातृ संगठनको लुतोको रूपमा रहेको टिके संस्कृतिको अन्त्य गर्न अब बिलम्ब गर्नु हुँदैन । लोकतन्त्रको हिमायति पार्टीको पार्टी सभापति र सरकार प्रमुख रहेका देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउदै स्वयं आफू ४६ वर्षमा गृहमन्त्री र ५० वर्षमा प्रधानमन्त्री भएको कुरालाई स्मरण गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई समेत पार्टी निर्माण र सरकार संचालनको राजकाज सिकाउनु उहाँको दायित्व र कर्तव्यभित्र पर्ने कुरालाई मनन गर्नु आवश्यक छ ।

आफ्नो जीवनको उत्तरार्धमा रहेका पार्टी सभापतिले राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक छ । यसको साथै जसले जनताको भावना र विचार वोल्दछ त्यसलाई नै आसन्न तिनै तहको निर्वाचनमा टिकट दिने नीति तय गरी सोही बनोजिम गर्नु आवश्यक छ । 

 छिमेकी र अन्तराष्ट्रिय जगतसँगको सम्बन्ध र सम्झौतालाई समेत मध्येनजर गरी Millennium Challenge Corporation (MCC) र Belt and Road Initiative (BRI) जस्ता अन्तर्राष्ट्रिय लगानिलाई आम नागरिकको विचमा लगि छलफल गरी कार्यान्वयन गराउने दिशातर्फ गएमा यसबाट पार्टीलाई हुने दिर्घाकालीन क्षतिलाई न्युन गर्न सकिन्छ भन्ने उदघोष स्वयं पार्टी सभापति र सरकार प्रमुखबाट आउनु आवश्यक छ । यसको साथै नेपाल सरकारले के(कस्ता विदेशी सहयोग र ऋणहरू माग्ने हो सोको लागि समेत नागरिकबाट अनुमोदन गरिनु आवश्यक छ । देशको बिकासको लागि बैदेशिक ऋणको मुख ताक्ने परम्परालाई तोडेर देशभित्रैको स्रोत र साधनको अधिकतम उपयोग गर्न गरि रणनीति ल्याईनु आवश्यक छ । बीपीले भन्नु भएको थियो “म कुनै आर्थिक विशेषज्ञ होइन, तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विाकास विकास नै होइन” यही कुरालाई मनन गर्दै समग्र देशको बिकासको खाका कोर्न अब ढिला गर्नु हुँदैन ।

नेपालको संविधान २०७२ को मौलिक हकमा व्यवस्था भए बमोजिम नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयबस्तु जस्तैः शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण नियन्त्रण हुने नीति ल्याई त्यसलाई पूर्ण रूपमा कार्यन्वयन गराउने दिशातर्फ लागेमा बीपीले देखेको समाजवादको सपना पुरा गर्ने अवसर नेपाली कांग्रेसलाई मिलेको छ भने अर्कोतर्फ युवा देउवामा बीपीले देखेको जोश, जागर र आत्मविश्वास पनि पुरा गर्ने अवसर स्वयं देउवाको सामु छ । संविधानको पूर्ण रूपमा कार्यान्वयन गरी मुलुकमा सुःसाशन कायम गरी आम नागरिकलाई यसको प्रत्याभुति गराउनु देउवाको प्रमुख जिम्मेवारी हो । देशमा रहेका सम्पूर्ण राजनैतिक दल,  विदेशी कुटनैतिक नियोग र संघ तथा संस्थाको समेत साथ र सहयोग लिएर स्वास्थ्य, शिक्षा, परराष्ट्र, सुरक्षा जस्ता राष्ट्रिय सहमतिका अति महत्वपुर्ण विषयवस्तुलाई राष्ट्रिय नीतिको रुपमा तयार गरी त्यसलाई सफल कार्यान्वयनको बाटोमा लगेमा दशकौदेखि आम नागरिकले खोजेको जनताको नेता बन्ने सुवर्ण अवसर देउवालाई मिलेको छ ।  

सुर्य पनि अस्ताउन मात्र आउछ भनेर होच्याईने सुदूरपरपश्चिमको विकट रुवाखोलामा जन्मी आफ्नै बलबुतामा ईतिहास रचेका लोकतान्त्रिक ब्यवस्थाका धरोहर सभापति देउवाले यी असल कार्यको थालनि गरिदिनु भएमा जसरी १४औ महाधिवेसनमा बीपी जत्तिकै संगठनमा साथ पाएर कद उचाल्नु भएको छ भोलिका दिनमा पनि राजनेताका रुपमा ईतिहासले सम्झिने कुरामा दुईमत हुन सक्दैन ।
(नेता नेपाली कांग्रेस तथा ज्ञान व्यवस्थापन विज्ञ)


Author

डा. कृष्णप्रसाद पौडेल

लेखक ज्ञान व्यवस्थापन विज्ञ तथा नेपाली कांग्रेसका युवा नेता हुन् ।


थप समाचार
x