विचार

गाउँ-गाउँ पसेर शिक्षाका अंकुश टाल्दै मेधावी अंकुश

वसन्त आचार्य |
माघ २२, २०७८ शनिवार १७:४ बजे

हिमालयन जाभा हाउसमा उनका क्लासमेटहरू विदेशका रोमाञ्चक कुरामा व्यस्त थिए । उनीसँग ब्याचलर गरेका सबैको सपना साझा थियो— अस्‍ट्रेलिया जाने, युरोप जाने, अमेरिका जाने । 

उनीहरू पढाइको ‘आवरण’मा विदेश जाने सपना बुन्थे । सपना पनि कति साँघुरा थिए । केवल उनीहरू मात्रै अटाउँथे । केही अलि फराकिलो हुन्थे बाआमालाई सम्म अटाउँथे । उनलाई साँघुरो सपनामा बाँच्न मन लागेन । 


पढ्नमा सबैभन्दा अब्बल उनले भने कहिल्यै विदेशको सपना देखेनन् । एसएलसीका पूर्वाञ्चल टपर विराटनगरका अंकुश उप्रेतीको एउटै सोच थियो— गाउँगाउँमा जाने पढाउने । अनि सबैका लागि सपना बोकेर बाँच्ने । 

आफन्त, घरपरिवार सबैको सोच थियो पढ्नमा अब्बल अंकुशले जीवनमा केही गर्छ । उनीहरूले गर्छ भन्नुको अर्थ थियो— विदेश जान्छ, पैसा कमाउँछ, घर किन्छ, गाडी किन्छ । म्यानेजमेन्टको अब्बल विद्यार्थी नेपालमै कुनै राम्रो बैंकको म्यानेजर बन्छ । 

तर अंकुशको दृष्टिमा केही गर्नुको अर्थ भने नितान्त फरक थियो । शिक्षा सुधार्ने योजना बोकेर तुलसीपुर आइपुगेका अंकुशले भने, “तर म भने साइकलमा गुड्दा पनि निकै रमाउने गाउँतिर हिँडेँ ।” 

गाउँबारे सञ्चार माध्यममा आउने अनेकानेक कुराहरूले उनलाई चिमोटिरहन्थ्यो, ‘म जत्तिको युवाले काम नगरे कसले गर्छ गाउँका लागि काम ?’ उनले सोचजस्तो गाउँमा काम गर्न भने सहज थिएन । बीबीए टप गरिसकेपछि उनले गाउँमा गएर पढाउन रोजे टिच फर नेपाल । 

“खासमा म विज्ञापनको विद्यार्थी भएको र टिच फर नेपालको विज्ञापन आकर्षक भएको हुँदा मलाई आकर्षण गरेको थियो,” विज्ञापनको आवरणले मोहित बनेका अंकुशले स्वयंसेवी शिक्षकका रूपमा अध्यापन गराउनका लागि आवेदन दिए । पढाइमा अब्बल थिए, छानिए पनि । उनलाई टिच फर नेपालले धनुषाको नगराइन नगरपालिकामा पठायो । त्यहाँ अंकुशले विज्ञान विषय अध्यापन गर्ने गर्थे । 

भारतसँग सीमा जोडिएको गाउँमा मावि तहको पास हुनेबित्तिकै श्रमिक बन्न जाने लहड थियो । पढ्नमा अब्बल विद्यार्थीहरू समेत माथिल्लो तहको पढाइको सपना देख्दैनथे । अंकुशलाई निकै अब्बल सद्दाम हुस्सेन रिजबी विद्यार्थीको माया लागेर आयो । कक्षा १० पछि उनले नै परिवारलाई फोर्स गरेर माथिल्लो पढाइका लागि राजी बनाए । पढ्नमा अब्बल रिजवीले ओभरसियरमा छात्रवृत्तिमा नाम पनि निकाले । अंकुशलाई लाग्यो, “विद्यार्थीहरूले अभावले होइन अभिभावकको सोचाइले खुम्चिएका रहेछन् ।” विद्यार्थी पढाउन गएका उनी साँझ बिहान घरघर डुलेर अभिभावकसमेत पढाउन थाले । 

२ वर्ष स्वयंसेवक बनेर गाउँको स्कुलमा पढाउँदा अंकुश समाजलाई परिवर्तन गर्ने हो भने शिक्षाबाहेक विकल्प केही पनि छैन भन्ने सोचमा पुगिसकेका थिए । व्यवस्थापनका विद्यार्थी उनी शिक्षा व्यवस्थापनमा होमिए । 

“शिक्षा सुधार्ने मूल कुरा नीति हो, देशले नीति बनाउँदा हामीलाई खोज्ने कुरा भएन हामीले समूह वनाएर विभिन्न पालिकामा पुगेर काम गर्यौं” अंकुशले देशका विभिन्न एक दर्जन पालिकाको शिक्षा नीति बनाउने काम पनि गरेका छन् । उनीसँग काम गर्ने शिक्षा क्षेत्रको ठूलो समूह हुन्छ । “पालिकालाई कुनै पनि भार नपारेर हामीले काम गरिरहेका छौं” नीतिशालाका संस्थापक मध्येका अंकुशले तुलसीपुर उपमहानगरपालिकाको समग्र शिक्षा नीति बनाएर कार्यान्वयनसमेत गरिसकेका छन् । 

काम गर्नका लागि पैसाभन्दा पनि आइडिया महत्वपूर्ण हुने उनको विचार छ । “तुलसीपुरको समग्र शिक्षाको अवस्थाको बारेमा अध्ययन गर्दा हामी प्रत्येक विद्यार्थीकहाँ पुग्यौं, तर हामीले पढ्दै गरेका विद्यार्थीहरूलाई रिसर्च बारेमा सिकाउँदै विनाबजेट काम फत्ते गर्यौं” उनले भने । विद्यालय कलेजका अध्ययनरत विद्यार्थीहरूमार्फत विनाबजेट धेरै काम गर्न सकिने उनको विश्वास छ । “हामीकहाँ बजेट छैन भनेर सजिलै टारिदिने प्रवृत्ति छ” उनले भने । 

पढेर के गर्ने ? 

विगत आठ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर लागिरहेका अंकुश पढाइलाई आर्थिक उपार्जनसँग मात्रै हेर्ने दृष्टिकोण हाबी भएको देख्छन् । विभिन्न विकट गाउँमा पुग्दा उनले पढेर के गर्ने भन्दै सानै उमेरमा विवाह गर्ने, एसईई नदिदै पासपोर्ट बनाउने, मजदुरीका लागि भारत जाने निकै देखेका छन् ।

अझ १० सम्म पुगेका विद्यार्थीहरूलाई सामान्य गुणन र भागसमेत नआएका कैयौ अवस्थाको उनी साक्षी बनेका छन् । समाजलाई जति गहिरोसँग बुझ्दै गए उनी त्यति त्यति परिवर्तनको पक्षमा उभिँदै गए । जाने बुझेका युवाहरू विदेशमा जाने हो भने नजानेकालाई कसले बुझ्ने बनाउने ? उनलाई यही कुराले सधँै काम गर्न प्रेरितसमेत गरिरह्यो । 

 २०१५ मा स्वयंसेवक शिक्षकका रूपमा धनुषा पुगेका अंकुश दुई वर्ष जीवनको महत्वपूर्ण समय बिताएर काठमाडौँ फर्किए । उनीसँगै विभिन्न ठाउँमा पढाउन गएका साथीहरू विदेश जाने या अरु केही काम गर्ने ध्याउन्नमा लागे अंकुशले भने शिक्षा क्षेत्रलाई नै अगाडि बढाउने लक्ष्य बनाए । “समयले जीवनको सोच बदल्दै लैजाँदो रहेछ” उनले अनुभव पोखे । 

 टिच फर नेपाल हुँदै अहिले उनी नीतिशाला र चेन्जिङ स्टोरीमा काम गर्छन् । नीतिशालाले शिक्षाको नीति बनाउन पालिकाहरूलाई सहयोग गरिरहेको छ । आफ्नो कक्षामा चाहिने सिकाइभन्दा निक्कै तल रहेका प्राथमिक तहका बालबालिकाहरूको सिकाइ उपलब्धि सुधार्नका लागि चेन्जिङ स्टोरीमार्फत उनले उपचारात्मक कक्षाहरू सञ्चालन गरिरहेका छन् ।

बदलिएन सपना 

गाउँमा स्वयंसेवी रुपमा पढाउँदै हिँडेका क्लास टपर देखेर साथीहरू भन्थे “तेरो आदर्श कति दिन टिक्ने रहेछ हेराँैला” उनी कक्षामा बालविवाह गर्नुहुन्न, पढ्नुपर्दछ भनेर सिकाइरहँदा उनीभन्दा कमजोर उनका साथीहरू “Going to Sydney”, “Going to Nigara falls” पोस्ट गरिरहेका हुन्थे । साथीहरूका पोस्ट देख्दा उनलाई पनि उडूँउडूँ हुन्थ्यो ।

तर विदेशले उनलाई कुर्न सक्थ्यो, विद्यार्थीको भविष्यले भने कुर्ने कुरै भएन । उनको गाउँ र देशको सेवा गर्ने सपना बदलिएन । आजभोलि विदेश पुगेका साथीहरू मेसेज गर्छन् “इज्जत कमाएको छस्, जीवन चलाएको छस्, समाजमा राम्रो काम गरेको छस् वास्तवमा तेरो बाटो नै सही रहेछ ।” अंकुशलाई आफू हिँडेको बाटो हेरे आफैँलाई आनन्द लाग्छ । 

 शिक्षाको अवस्था निकै टिठलाग्दो 

समग्र नेपालको शिक्षाको वर्तमान अवस्था हेर्दा अंकुशलाई दिक्क लाग्छ । तथापि पछिल्लो समय भएका केही प्रयासहरूले भने उनी उत्साहित हुँदै गएका छन् । उनले गरेको अध्ययनअनुसार नेपालमा कक्षा ३ मा अध्ययनरत ३.५ प्रतिशत विद्यार्थीहरूलाई आफ्नो तहको वाक्यांश सही ढंगले पढ्न आउँछ  । कक्षा २  मा ३४ प्रतिशत र कक्षा ३ मा १९ प्रतिशत विद्यार्थीहरूले नेपालीको एउटा पनि शब्द पढ्न सक्दैन ।

यसरी नियमित विद्यालय जाँदा पनि केही कुरा सिक्न नसकेको विद्यार्थीमा पढाइप्रति वितृष्णा देखिएर बीचमैै छाड्नुपरेको केयौ उदाहरण रहेको उनले देखेका छन् । विद्यार्थीले किन कक्षामा सिक्न सकेको छैन भन्ने प्रश्नको उत्तर नखोज्दासम्म शिक्षाको अवस्था सुधारिन नसक्ने उनको ठहर छ । “हो, यही कुरालाई नीतिगत रूपमा सम्बोधन गर्नका लागि हामी लागिरहेका छौं”  

विद्यालय सुधार्नका लागि उनीसँग केही सुझाव पनि छन्:

क) विद्यालयको नेतृत्व (प्रधानाध्यापक) छनोट पारदर्शी र प्रक्रियामा आधारित भएर जोस, जाँगर तथा विद्यालय सुधारको योजना भएको व्यक्तिलाई अघि सार्नुपर्दछ । 

ख) राष्ट्रियरूपमा विद्यार्थीको सिकाइ उपलब्धी सर्वेक्षण गरी तत्काल उपचारात्मक कक्षाहरूको अभियान चलाउनुपर्दछ ।

ग) स्थानीय तहले नियमितरूपमा विद्यालय तथा कक्षा निरीक्षणको व्यवस्था गरी शिक्षकहरूलाई जिम्मेवार बनाउने । 

घ) स्रोत साधनको अभावको अवस्था र उपलब्ध स्रोतहरूको उचित प्रयोगको उद्देश्यले विद्यार्थी संख्या अत्यन्त न्यून भएका तथा व्यवस्थापन कमजोर भएका विद्यालयहरूलाई आपसमा गाभ्ने ।

ङ) राष्ट्रियस्तरमै नेपालमा शिक्षक कस्ता विद्यार्थी बन्छन् र योग्य युवाहरूलाई कसरी आकर्षित गर्ने भन्ने बहस चलाउने ।

नमुना विद्यालय सञ्चालन सपना 

अंकुशसँग नमुना विद्यालय सञ्चालन गर्ने सपना बाँकी छ । उनले सञ्चालन गर्ने विद्यालयमा देशभरबाट गरीब, आमाबुबा गुमाएका, सहारा नभएका बालबालिकाहरूलाई अन्तराष्ट्रियस्तरको शिक्षासँगै उनीहरूले पाउनुपर्ने माया र अभिभावकता प्रदान गर्ने उनको सपना छ ।

“सरकारले यो सपना पक्कै पूरा गर्न सहयोग गर्दैन मलाई थाहा छ, आफैँ केही सहयोग लिएर यो काम गर्नेछु । तर केही समय अवश्य लाग्छ’ उनले सपनाको पोको खोले । 

शिक्षा क्षेत्रका काम गरिरहेका शिशिर खनालको प्रेरणाले लागेका अंकुशले जापान, सिंगापुर र फिलिपिन्सका मञ्चहरूमा आफ्नो अनुभवसमेत बाँडिसकेका छन् । 


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
x