नेपाली भाषाको पहिचान र अस्तित्वको प्रश्न
‘तिम्रा ‘बा’ कहिले आउँछन् नानी ?’
‘बा’ भनेको के हो हजुरामा ?’ करिब पाँच वर्षकी नानीले उल्टै हजुरआमातर्फ प्रश्न हुत्ताइन् ।
‘हरे ! तिम्रो ‘ड्याडी’ भन्नुभएको के, हजुरामाले ।’ नजिकै बसेकी दिदीले स्पष्ट पारिदिनुभयो । नजिकै बसेको म छक्क परिरहेथेँ; नानीले ‘बा’ शब्दको अर्थ नबुझेकामा ।
उसो त यो एउटा प्रतिनिधिमूलक दृष्टान्त मात्रै हो । हिजोआजका अधिकांश केटाकेटीले बाजे-बज्यै, बा-आमा, काका-काकीभन्दा ग्रान्डफादर-मदर, ड्याड-मम, अंकल-आन्टी उच्चारण गर्छन् । उनीहरू नास्ता हैन, ब्रेक फास्ट खान्छन् । भात हैन, राइस खान्छन् । स्याउ, सुन्तला, केरा हैन, एप्पल, ओरेन्ज, बनाना खान्छन् ।
गणितीय अंक र संख्याको त कुरै नगरौं उनीहरू नेपालीमा जवाफ दिन जान्दै जान्दैनन् । नपत्याए एकपटक आफ्ना नानीबाबूलाई नेपालीमा कुनै गणितीय अंक सोध्नु भए हुन्छ । केही दिन पहिले मेरा सहकर्मीले आफ्नो आठ वर्षे पुत्रलाई मोबाइलको अन्तिम अंक ‘अन्ठाउन्न’ टिप्न भनेछन्, तर पुत्रले ’अठ्ठत्तर’ टिपेको कुरा हाँस्दै सुनाएका थिए ।
बालकमन निर्मल र चञ्चल हुन्छ । मनमा अनेकौं कौतूहलताले बास गरेका हुन्छन् । नयाँ नयाँ कुरा जान्ने चौंचौंले हैरान गरेको हुन्छ । परिणामस्वरूप कलिलो मस्तिष्कमा पारिवारिक र शैक्षिक वातावरणले प्रभाव पार्छ । अहिलेको वातावरणले नै बालबालिकालाई नेपालीभन्दा अंग्रेजीतर्फ धकेल्छ, तब कसरी बालबालिकालाई मात्रै दोष दिने ? दिनप्रतिदिन आफ्ना छोराछोरीले नेपाली भन्दा टुटेफुटे अंग्रेजी ओकलेकामा गर्वबोध गर्ने अभिभावकको संख्या बढ्दै गएको छ ।
उनीहरू अंग्रेजी बोल्नुलाई नै शैक्षिक गुणस्तर ठान्न थालिसके । विद्यालय परिसरमा नेपाली विषयबाहेक अन्य विषयमा नेपाली बोल्न मनाही गरेर अभिभावकको अंग्रेजीप्रतिको झुकावलाई धेरै निजी विद्यालय र केही सामुदायिक विद्यालयले झन्- झन् बढावा दिन थालेका छन् । मानौं, अंग्रेजी पढाएपछि शिक्षा गुणस्तरीय भैहाल्छ ।
स्मरण रहोस्, पंक्तिकारको आशय अंग्रेजी भाषाको विरोध गर्ने होइन । भूमण्डलीकरणको युगमा सबै भाषाको आआफ्नो ठाउँमा महत्त्व छ । अध्ययन अनुसन्धानका लागि एउटा भाषा मात्रै पर्याप्त हुँदैन । भाषिक दक्षताले उच्च शिक्षा र अवसरका ढोकाहरू खोलिदिन्छ । निश्चय पनि, अंग्रेजी एक अत्यावश्यक अन्तर्राष्ट्रिय सम्पर्क भाषा हो । यो ६७ सार्वभौम र २७ गैरसार्वभौम मुलुकको राष्ट्रभाषा हो । उसो त मातृभाषीअनुसार अंग्रेजी तेस्रो स्थानमा पर्छ । जबकि संसारमा म्यान्डरिन चिनियाँ र स्पेनी भाषा क्रमशः प्रथम र दोस्रो स्थानमा पर्छन् ।
क्रमशः हिन्दी, अरबी, बंगाली, पोर्चुगली भाषाको स्थान छ । करिब पाँऔं शताब्दीतिर इङ्ल्यान्डमा उत्पन्न भएको अंग्रेजी भाषा सधैं अन्तर्राष्ट्रिय भाषा रहिरहन्छ भनेर यकिन ठोकुवा गर्न सकिन्न । विश्वमा ६ हजार बढी भाषा अस्तित्वमा छन् । संस्कृत भाषालाई संसारको सबैभन्दा पुराना भाषा मानिन्छ, जसलाई ‘देवभाषा’ पनि भनिन्छ । युरोपियन भाषा संस्कृत भाषाबाटै प्रेरित भएको पाइन्छ, जहाँका अधिकांश विश्वविद्यालय र शैक्षिक संस्थामा संस्कृत भाषा अध्ययन, अध्यापन गरिन्छ, गराइन्छ ।
यो लेख लेखिरहँदा मलाई एउटा घटनाले पछ्याइरहेछ । उक्त सन्दर्भ यहाँ उल्लेख गर्नु प्रासंगिक नै होला । प्रसंग केही वर्ष पहिलेको हो । काठमाडौं-सुर्खेत यात्रा गर्ने क्रममा एकजना नेपाली युवती र मेरो सिटसँगै पर्यो । शारीरिक संरचनामा निकै सुन्दर र चञ्चल देखिने उनी, उमेरले त्यस्तै १७, १८, १९ की हुँदी हुन् । ‘एक्सक्युज मी, क्यान आई ह्याब अ बोटल अफ वाटर, प्लिज ?’ करिब एक घन्टाको मौनता तोड्दै उनले मेरो हातको बोतलतर्फ इंगित गर्दै अभिव्यक्त गरेका शब्द यिनै हुन् ।
उनको प्यासले हाम्रो अघोषित मौन व्रत तोडिदियो । हामीबीच बेलाबेला छोटाछोटा कुरा हुन्थे । उनी भने अंग्रेजी मिश्रित नेपाली ओकल्थिन्, म भने विशुद्ध नेपालीमै जवाफ फर्काउँथें । उनको अभिव्यक्ति सुन्दा लाग्थ्यो- अंग्रेजी मिश्रित नेपाली बोल्ने नव संस्कृति नेपाली समाजमा झांगिँदै छ । परिस्थिति अनुरूप आफूलाई परिवर्तन गर्दै अघि बढी उचित हो । तर परिवर्तनको नाउँमा आफ्नो भाषा, धर्म, दर्शनलाई वेवास्ता गर्नुपर्छ र ? समाजिक सञ्जाल होस् या त प्रत्यक्ष संवाद नै किन नहोस् अधिकांश मानिसले आफ्नो भाषाप्रति गरेको हेलचेक्य्राइँ देख्दा अफसोस लाग्छ ।
अंग्रेजी भाषाको प्रभाव १७ औं शताब्दीबाट सुरु भएको बेलायती साम्राज्यको उपनिवेशवादसँगै फैलिएको पाइन्छ । दोस्रो विश्व युद्धपछि उपनिवेशवादबाट मुक्त पाएका एसियाली, अफ्रिकी देशहरूले पाश्चात्य शिक्षा पद्धति अंगाले । पश्चिमा कला, साहित्य, संगीत, इतिहास, भाषा, धर्म, दर्शन, उत्पादित ज्ञान र वस्तुलाई आफ्नै मौलिक भाषामा अनुवाद गरे । आफ्नै भाषालाई पठनपाठनको माध्यम बनाए । सभ्यताको शिखरतिर लम्किरहेका युरोपेली मुलुकहरू र भर्खरै नेतृत्वमा आएको सर्वशक्तिमान अंग्रेजी भाषी राष्ट्र अमेरिकाको कानुनी प्रणाली र आर्थिक नीति बुझेर केहीले आफ्नो शासन पद्धति पनि बसाले ।
नेपालमा खासगरी २००७ सालको प्रजातन्त्र स्थापनापछि पश्चिमा समाज र संस्कृतिको प्रभाव बढ्यो । भर्खरै उपनिवेशवादबाट मुक्त पाएको छिमेकी मुलुक भारतसँगको तीव्र आवगमनले पनि यसलाई बढावा दियो । पश्चिमीकरण नै आधुनिकता हो भन्ने भ्रममा हामीले पश्चिमा लवाइखुवाइ, कला, साहित्य, संगीत, धर्म, दर्शन र शिक्षा प्रणालीको अनुसरण गर्यौं । अझैं गर्दैछौं ।
असल विचारलाई स्वागत गर्नु पनि पर्छ । तर, के आधुनिकता भनेकै पश्चिमीकरण हो ? यसको जवाफ समाजशास्त्रहरूले नै देलान् । मेरो बुझाइमा, आधुनिकता भनेको समयको गतिअनुरूप आफ्नो समाजिक र सांस्कृतिक पक्षको नवीनतम् विकास हो, जसले परिवार, समाज र राष्ट्रलाई नौलोपनको अनुभूति दिलाउँदै सभ्यतातिर डोर्याउँछ ।
अहिले अधिकांश विषयको शिक्षण अंग्रेजीमै गराइन्छ । हुँदाहुँदै ‘सामाजिक’ विषय जुन प्रत्यक्षतः समाज, संस्कृति र राज्यव्यवस्था सँग जोडिन्छ त्यसलाई समेत अंग्रेजीमा अनुवाद गरी शिक्षण गराउनु विडम्बनाको कुरा हो । फलतः प्रत्येक वर्षको माध्यमिक तहको अन्तिम परीक्षामा तुलनात्मक हिसाबले समाजिक विषयमा विद्यार्थीले न्यून अंक प्राप्त गर्छन् ।
नेपालीमा अन्तक्रिया, छलफल, बहसमार्फत अध्ययन गर्ने व्यावहारिक विषयमा विद्यार्थीलाई अंग्रेजीमा कण्ठ गर्न लगाउँदा उसले विषवबस्तुबारे पर्याप्त ज्ञान पाउँदैन । तब उसले कसरी आफ्नो समाज, संस्कृति, राज्यव्यवस्थाबारे बुझ्छ ? अनि नबुझी उसले कसरी दायित्वबोध गर्छ ? यतिमात्रै होइन, सामुदायिक विद्यालयको तुलनामा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरू नेपाली विषयमा समेत एकदमै कमजोर देखिएका छन् । उनीहरूको नेपाली शब्दभण्डार सीमित छ ।
धेरै युरोपका विकसित देशको प्रमुख भाषा अंग्रेजी होइन । उनीहरूको शिक्षा प्रणालीको माध्यम आफ्नै भाषा हो । नेदरल्यान्ड, स्वीडेन, स्पेन, डेनमार्क, जर्मन, पोल्यान्ड, पोर्तुगल जस्ता गैर अंग्रेजी मातृभाषी देशहरू अंग्रेजी भाषा क्षमताको मूल्यांकनमा अग्रणी रहँदै आएका छन् । ग्लोबल इन्नोभेसन इन्डेक्सअनुसार नयाँनयाँ कुराको खोज, अनुसन्धान गर्ने देशहरूको सूचीमा माथिल्लो स्थान ओगट्न सफल भएका स्विजरल्याल्ड, स्वीडेन, दक्षिण कोरिया, सिंगापुर, डेनमार्क, जापान, इजरायल, जर्मन जस्ता देशहरूको पनि प्रमुख भाषा अंग्रेजी होइन ।
स्पष्ट भयो, अंग्रेजी भाषा क्षमता वृद्धि गर्न र खोज, अनुसन्धानका क्षेत्रमा अगाडि हुन अंग्रेजी भाषा नै शिक्षण माध्यम हुनुपर्दैन । बरु राज्यले अंग्रेजी भाषामा दक्ष हुन विद्यार्थीलाई प्रोत्साहन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू स्थापना गर्नुपर्छ । खोज, अनुसन्धानका लागि बाह्य लगानीकर्ता र वैज्ञानिकलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्छ साथै देशले यस्ता क्षेत्रमा कुल गार्हस्थ उत्पादनको केही प्रतिशत लगानी गर्नुपर्छ । विडम्बना, हामी भने अंग्रेजीलाई नै साध्य ठानिरहेका छौं ।
भाषा शब्दको विस्तार हो । अर्थपूर्ण शब्दहरूको सम्मिलन वाक्यको विस्तृत रूप । भाषा मानव जातिको सम्पत्ति हो । भाषाकै सेतुमा टेकेर मानव सभ्यता आजको युगसम्म आइपुगेको हो । भाषाको अनुपस्थितिमा हामीले ज्ञान, संस्कार, संस्कृति अनुभूति, अनुभव, कल्पना र सिर्जनालाई स्पष्ट अभिव्यक्त र ग्रहण गर्न असमर्थ हुन्छौं । उसो त केही हदसम्म मुखमुद्रा र शरीरको हाउभाउ, चित्र र रेखांकनबाट, संकेत र इसाराबाट पनि केही नबोली भावना व्यक्त गर्न सकिन्छ तर यी सबैको सीमा छ ।
नेपाल बहुसांस्कृतिक मुलुक हो । करिबकरिब १२५ जातजाति र भाषा आयोगको प्रतिवेदन अनुसार १३१ भाषाको साझा फूलबारी हो नेपाल । यस्तो विविधतायुक्त समाजको महत्त्व हामीले कहिले बुझ्ने ? समाजको बनोट आफ्नो देशको इतिहास, मानव सभ्यता जस्ता आयामबारे शिक्षा प्रदान गर्ने अधिकांश स्कुल, कलेज, विश्वविद्यालयहरू भष्ट्रचार र राजनीतिकरणको केन्द्र बन्नु दुःखद पक्ष हो ।
शिक्षा नै विकासको मेरुदण्ड हो, जसले मानिसमा अन्तर्निहित ज्ञानलाई विज्ञानमा रूपान्तरण गर्छ । हाम्रो शिक्षा, शिक्षा नीति चाहिँ व्यावहारिकभन्दा बढी सैद्धान्तिक जस्तो लाग्छ । अनि लाग्छ, हाम्रो शैक्षिक संस्थाले त्यस्तो जनशक्ति उत्पादन गरिरहेछ ,जो आफ्नो भन्दा पाश्चात्य देशहरूको इतिहास ,भाषा, कमाइ, लुवाइखुवाइ, बसाइँमा बढी आक्रर्षित होस् । लेखको आरम्भमै सानी नानी जस्तै ‘बा’ शब्दको शाब्दिक अर्थ नबुझ्नेहरूको संख्या दिनानुदिन बढ्दै गए हाम्रो अस्तित्व के होला ? भाषा नै पहिचान हो । पहिचान नै अस्तित्वको सार्थकता हो । पहिचानबिनाको अस्तित्व पनि के अस्तित्व ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया