विचार

सिक्किम भ्रमणको एक झल्को

सन्तुलित र दिगो विकासको लागि सिक्किम (मोडेल)

कृष्णप्रसाद भण्डारी |
फागुन ९, २०७८ सोमबार ११:४३ बजे

राष्ट्रिय विकासको सपना साकार पार्न वा गराउन बाधा पुर्‍याउने तत्वहरु नेपालमा कसरी सक्रिय रहन्छन् भन्ने यथार्थ सिक्किमले गरेको अतुलनीय उदाहरणहरु यहाँ प्रस्तुत गर्न गइरहेको छु । भूराजनीतिक चरित्रको आधारमा नेपाल र सिक्किम एकै कोटीमा पर्दछन् । क्षेत्रफलको हिसाबले नेपालभन्दा सिक्किम निकै सानो छ । तर सिक्किमले गरेका दिगो विकासका कार्यक्रमहरु धेरै ठूलो सन्देशमूलक छ । भूगोल र जनसंख्याको अनुपातमा नेपालसँग तुलना हुन सक्दैन । थोरै जनसंख्या र सानो भूभागबाट गतिलो सन्देश दिन सकेको छ सिक्किमले । सिङ्गो देशको बर्बादी बुझ्नका लागि अन्त जान पर्दैन, नेपाल हेरे पुग्छ । सिङ्गो राज्यको अतुलनीय दिगो व्यवस्थापनमा सिक्किम उदाहरण नै मान्नुपर्छ । सिक्किमको समृद्धि सरल, सस्तो, दीगो, असल गुणले भरिएको छ । सिक्किमलाई पर्यावरणीय राज्य भन्दा पनि हुन्छ । 

सिक्किमले गरेको नमूना कार्यक्रमहरुमध्ये सन्तुलित पर्यावरणीय विकास मान्न सकिन्छ । सिक्किमले आफ्नो राज्यलाई प्राङ्गारिक राज्य (अर्गानिक स्टेट) लागू गरिसकेको छ । दीगो कृषि उत्पादन र पर्या–पर्यटन (ईको टुरिजम) सिक्किमको प्रमुख विशेषता रहेको छ । भारतको पश्चिम बंगालका आन्तरिक पर्यटकलाई बढी लक्षित गरिएको तातो धापबाट उत्रेर उत्तरी सिक्किमको चिसो राज्यमा आउने पर्यटकहरु खचाखच देखिन्छन् । प्राय होटल २४ सै घण्टा बुकिङ हुन्छ । आश्चर्य त के लाग्यो भने प्राय होटल रेष्टरेन्टहरुमा एयर कन्डिसन, पंखा भित्तामा देखिएन । तातो क्षेत्रबाट चिसो क्षेत्रमा आउने पर्यटकलाई आवश्यक नठानिएको र जलवायु सन्तुलनको लागि एयर कन्डिसन हानिकारक हुन सक्छ भन्ने मान्यता रहेको छ । 


 पश्चिम बंगाल राज्यको सिलिगुडी हुँदै पश्चिम उत्तरतर्फ लाग्दा टिष्टा नदीको समानान्तर हुँदै सिक्किमको राजधानी गान्तोक पुग्न सकिन्छ । सिक्किमको प्रमुख प्राकृतिक स्रोतमध्ये टिष्टा नदी र केही साना सहायक नदीहरु छन् । टिष्टाको उद्गमस्थल भने कञ्चनजङ्घा हिमालबाट बहने रानीखोला नदी र चीनको नाका नाथुलापास पर्छन् । सिक्किमले टिष्टा नदीलाई थुनेर एउटै नदीमा जलाशय आयोजनाको विकास गरिरहेको छ । नदीलाई प्राकृतिक रुपमा बहने गरी दिगो जलविद्युत विकास भइरहेको छ । खोला नदीमा कुनै दोहन र उत्खनन् देखिँदैन । खोलाको ढुङ्गा, बालुवा उत्खनन् नहोस् भनेर नदी सतह क्षेत्रभित्र निषेधित गर्न बुद्धमार्गी बुद्धिष्ट झण्डा गाडेको पनि देखियो । जलविद्युत आयोजना निर्माण हुँदै गर्दा पर्यावरणीय सन्तुलनलाई असर नहुने गरी निर्माण कार्यहरु भइरहेको छ । टिष्टा नदीको चरित्र अनुसार पानीको चक्रमा असर नहुने गरी यथास्थानबाट नदी बगिरहेको देख्न सकिन्छ । नदीलाई डाइभर्सन गर्न विचार पुर्‍याइएको छ । जलथलको विविधता संरक्षणमा सिक्किम धेरै चनाखो भइरहेको छ । जसले जलवायु मुद्दालाई उच्च ध्यान दिएर विकास आयोजना लागू गरिरहेको छ । 

सिक्किममा विभिन्न जनजातिहरुका भाषा भए पनि नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ । विभिन्न वर्ग र जातजातिहरुको अनौठो जातीय सहिष्णुता अर्को नमूनायुक्त विशेषता भएको छ ।  । प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन नेपालको भन्दा ४ गुणा बढी छ । नेपालको प्रतिव्यक्ति वार्षिक उत्पादन ११ सय डलर छ । सिक्किमको ४४०० ले वृद्धि भइरहेको छ । 

भ्रमणको उद्देश्य 
यात्रा भनेकै नयाँ कुरा सिक्ने र अनुभव साटासाट गर्ने माध्यम पनि हो । सिक्किम घुम्न भन्दा बुझ्न मन थियो । तर छोटो समयले गर्दा धेरै स्थानमा पुग्न नसके पनि सिक्किमले गरेको अनुकरणीय नमूना दीगो विकासलाई नेपालले अनुसरण गर्न सकोस् भन्ने मेरो आशय हो । विशेष गरी सिक्किमले जलविद्युतमा गरेको एउटै खोलामा जलाशय आयोजनाहरु निर्माण गरेर नमूना देखाइरहेको छ । नेपालको पूर्वी ताप्लेजुङ जिल्ला उत्तरी सिमानाबाट सिक्किम र दार्जिलिङ नजिक पर्छ । दक्षिण झपाको काँकडभिट्टासँग जोडिएको पानीट्याङ्की, सिलिगुडीलाई एशियन हाई वेबाट जोडिन पुगेको छ । जसको कारणले गर्दा नेपालको विद्युत सिलिगुडी, पश्चिम बङ्गाल, कलकत्ता हुँदै बङ्गलादेशसम्म पावर पूलबाट विद्युत विस्तार गरी व्यापारको नयाँ ढोका खोल्न सकिन्छ । सिलिगुडी भारत र नेपालका लागि राजनीतिक अनि आर्थिक दृष्टिकोणले अति नै महत्वपूर्ण ठाउँ हो । अमेरिकी सरकारको दक्षिण एसिया क्षेत्रीय पहल÷ऊर्जा (सारी–ई) ले बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स र नेपालमा क्षेत्रीय विद्युत व्यापार विस्तार गर्न अध्ययन गरेको थियो । जसमा सिलिगडीलाई विद्युत व्यापारको केन्द्रीय हव बनाउने उद्देश्य थियो । त्यसैगरी अमेरिकाले भारतको कलकत्तामा उदीयमान पूर्वको नारा दिएर बृहत अन्तर्राष्ट्रिय सम्मेलन पनि भएको थियो । 

यसै भ्रमणको प्रसंगमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) सँग पनि भेटघाट गर्ने कार्यक्रम थियो । तर उहाँको बुबा स्व. कालुसिङ तामाङको ९३ वर्षको उमेरमा ९ फेब्रुअरी २०२२ मा सेरोङमा निधन भएको खबर आयो । म लगायत श्रीमती राधादेवी भण्डारीले स्व. कालुसिंङको अन्त्येष्टि समारोहमा उपस्थित जनाउन शोकसभा कार्यक्रममा भाग लिन पुगियो । मुख्यमन्त्री तामाङ (गोले) सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष हुन् । शोकसभामा मुख्यमन्त्री गोलेले श्रद्धाञ्जलीको लागि धन्यवाद दिनुभएको थियो । श्रीमती राधादेवी भण्डारीले लेखेको उपन्यास खुला कैदीको लोकार्पण गर्ने कार्यक्रम स्थगित भयो । शोकसभामा नविनरत्न शाक्य, पेमा छिरिङ भुटिया, राधादेवी भण्डारीले श्रद्धाञ्जली अर्पण गरेका थिए । 
(भण्डारी निजी जलविद्युत प्रवर्धक हुन्)


Author

थप समाचार
x