विचार

पचपन्‍न वर्षपछि पूरा भएको सपना

‘डनतन्त्र’मा बाइडनको शपथले शासकहरूको अलोकतान्त्रिक पथमा रातो बत्ती !

विश्‍वलाई लोकरिझ्याइँबाट पुनः लोकतान्त्रिक शासनशैलीतिर अघि बढाउने विश्‍वास बहुमत अमेरिकीको छ ।

चन्द्रशेखर अधिकारी |
माघ ७, २०७७ बुधबार २१:० बजे

‘एक दिन म अमेरिकाको राष्ट्रपति बन्‍नेछु,’ जो बाइडनले ५५ वर्षअघि यसो भनेका थिए । अर्धशतक लामो सपना पछ्याउँदै तेस्रो प्रयासमा आज उनी आफ्नो लक्ष्य चुम्दैछन् । सन् १९६६ मा विवाह गर्ने क्रममा नेलियाकी आमाले ‘के काम गर्छौ’ भन्दै जिज्ञासा राख्दा उनले ‘म एक दिन यो मुलुकको राष्ट्रपति बन्‍नेछु’ भनेका थिए । उनले नेलियाकै अघिल्तिर उक्त वाक्य भनेका थिए । तर आज पदासीन हुँदा उनको साथमा नेलियाको स्मरण र सन्तानमात्र छन् ।

संसारकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश मानिने अमेरिकामा पाका राष्ट्रपतिका रूपमा अबको केही बेरमा ह्वाइटहाउस पस्‍नेछन्, उनी । कडा सुरक्षासाथ डीसीमा शपथग्रहणको तयारी भइरहेको छ । ७८ वर्ष पार गरिसकेका उनी अमेरिकाको ४६औं राष्ट्रपति एक महिना अघि नै तय भएका हुन् । यद्यपि अमेरिकाको परम्पराअनुसार आज नै उनले शपथ लिन लागेका हुन् ।


अमेरिकाको लोकतान्त्रिक इतिहासमा धब्बा लगाउँदै घर फिर्न अनाकानी गरेका डोनाल्ड ट्रम्पलाई बिदाइ गर्दै उनी ह्वाइटहाउस प्रवेश गर्न लागेका हुन् । ट्रेनमा नै आएर शपथ लिने तयारी गरेका उनी असुरक्षाका कारण पुरानै परम्परागत शैलीमा नै आउने भए । कोभिड-१९ र सुरक्षाका कारण पहिलेभन्दा थोरै व्यक्ति ह्वाइटहाउसको विशेष समारोहमा उपस्थित हुनेछन् ।

ह्वाइटहाउस प्रवेश गरेपछि उनले लिने पहिलो निर्णयको पर्खाइमा विश्‍व छ । ट्रम्पले लिएका कैँयन् नीति उनले उल्ट्याउने छन् भन्‍ने आशा विश्‍वलाई छ । तर, कुन तवरबाट उनले ती नीतिबारे आफ्नो धारणा राख्छन् भन्‍ने कौतूहल बिस्तारै मेटिँदा छन्, आजदेखि । विश्‍वको आँखा यतिबेला अमेरिकी सञ्‍चार माध्यममा नै छ । बारक ओबामाको दुई कार्यकाल (आठ वर्ष)का सारथि अर्थात् तत्कालीन उपराष्ट्रपति बाइडन अमेरिकी नीति, चाल र आफ्नो जिम्मेवारीमा स्पष्ट छन् ।

हिम्मत नहारी अघि बढ्दा ट्रम्प जस्ता सत्तालोलुपलाई पछि पार्दै उनी तेस्रो पटक महाशक्ति मुलुकको नेतृत्वमा पुगेका हुन् । सन् १९८७ र २००८ मा बाइडनले डेमोक्र्याट पार्टीबाट उम्मेद्वारी दिएका थिए । उनले आफ्नै दलभित्र समर्थन जुटाउन सकेनन् । बाराक ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपति रहेका उनी अमेरिकाको सदनमा साढे तीन दशकदेखि सांसद छन् ।

ट्रम्पले लिएका कैँयन् नीति उनले उल्ट्याउने छन् भन्‍ने आशा विश्‍वलाई छ । तर, कुन तवरबाट उनले ती नीतिबारे आफ्नो धारणा राख्छन् भन्‍ने कौतूहल बिस्तारै मेटिँदा छन्, आजदेखि ।

जीवनमा अनेक हण्डर खाएका बाइडनको पहिलो विवाह सन् १९६६ मा नेलियासँग भए पनि ६ वर्षमै दाम्पत्य जीवनमा वज्रपात आइलाग्यो । उनको जीवनमा कालो बादल मडारियो । नेलियाको साथ पाए अमेरिकी राष्ट्रपति बन्छु भनेका बाइडनले प्रिय श्रीमती र छोरी नाओमीलाई कार दुर्घटनामा गुमाउनु पर्‍यो । उक्त कार दुर्घटनामा उनका दुई छोरा बो र हन्टर पनि थिए । तर, छोराहरू संयोगले बाँचे । छोरा हुर्काउन लागेका बाइडनले पछि  सन् १९७७ मा बिहे गरे तर पनि उनको खुसी पुनः सन् २०१५ मा आएर चुँडियो । त्यसको कारण थियो, ब्रेन क्यान्सरबाट छोरा बोको निधन ।

प्राध्यापन पेसामा रहेकी जिल ट्रेसी जयाकब्ससँग उनले विवाह गरे । अझै उनले अध्यापनलाई निरन्तरता दिएकी छन् । सन् १९७५ मा पहिलो भेटपछि लगातार बाइडनको जोडबलमा यो विवाह सम्भव भएको थियो । फिलाडेल्फियाको सेरेन्टनमा बाल्यकाल बिताएका उनको परिवार डेलावेयरको विलमिंगटनमा बसाइ सरेपछि उनको त्यो सहर आफ्नै बन्यो । तर, उनको बाल्यकाल त्यहाँ साथीहरूसँग खासै जमेन । १० वर्षसम्म आफ्नो थर उच्चारण गर्न नसक्दा उनलाई साथीहरूले ‘बाइ-बाइ’ भन्दै गिज्याउँथे । त्यसमा उनी हाँसिरहन्थे । साथीको मजाक सम्झने उनको सरल स्वभावबारे अमेरिकी सञ्‍चार माध्यमले लेखेका छन् ।  

फुटबलका कुशल खेलाडी रहेकाले उनलाई साथीहरूले साथमा भने लैजान्थे । जसले उनलाई असहज परिस्थितिसँग लड्न सिकाएको पनि थियो । हुन पनि मैदानमा गोल गर्न बल प्राप्त गर्न जति संघर्ष गर्नुपर्छ त्यसलाई गोलपोस्टमा पुर्‍याउन पनि उत्तिकै सहकार्य र मेहनत आवश्यक हुने उनले पटक पटक भनेका छन् । उनले यही सहकार्यको नीतिलाई लिएर विश्‍वमा अमेरिकी साख कसरी अघि बढाउलान् भन्‍ने धेरैको चासो छ ।

कानुनमा डिग्री होल्डर उनलाई भियतनामविरुद्धको युद्धमा फौजी रणनीतिक ड्राफ्टका नेतृत्वकर्ताका रूपमा समावेश गरे पनि उनी त्यहाँ जान परेन । यसरी राष्ट्रका लागि लड्ने योद्धा हुन समेत पछि नपरेका व्यक्ति विश्‍वमा साख गिर्दै गएको अमेरिकालाई माथि उठाउने नेतृत्वको परीक्षामा छन् । शीत युद्धपछि माथि उठेको अमेरिकालाई कटा टक्कर दिँदै आएको चीनसँग उनले कुन नीति अख्तियार गर्छन्, त्यसमा धेरै कुरा निर्भर हुने बताइन थालेको छ । विश्‍व राजनीतिक परिवेश फरक हुँदै गर्दा अमेरिकी नीतिमा केही सुधारको खाँचो रहेको औंल्याइएको छ ।

जीवनमा अनेकन् मौका आउँछन् । मौकामा जब व्यक्तिले निजी हित र लोकप्रियतालाई जोड दिन्छ, कुनै दिन झुक्नुपर्छ । व्यक्ति झुक्दा केही भएन तर मुलुक झुक्दा असहज हुन्छ ।

त्यसलाई बाइडनले कसरी स्वीकार-साक्षात्कार गर्छन्, त्यो अहिलेको चुनौती हो । हुन पनि बाइडनले पटक पटक भन्‍ने गरेका छन्, ‘जीवनमा अनेकन् मौका आउँछन् । मौकामा जब व्यक्तिले निजी हित र लोकप्रियतालाई जोड दिन्छ, कुनै दिन झुक्नुपर्छ । व्यक्ति झुक्दा केही भएन तर मुलुक झुक्दा असहज हुन्छ । त्यसैले हामी सिद्धान्तमा अडिग र प्रतिबद्ध हुनुपर्छ । त्यसलाई अन्य कुराभन्दा माथि राख्नुपर्छ, म त्यही गर्छु ।’

परिवारसँग रम्दा घरमा कुकुरसँग खेल्न मन पराउने उनी आइसक्रिमका पारखी पनि हुन् । उनले जीवनको सुरुवात घरबाट हुन्छ भन्दै अनुशासन त्यहीँ सिक्ने कुरा हो भन्दै आइरहेका छन् । उनले जीवनमा श्रीमती नै आफ्नो शिक्षक रहेको बताउँदै भनेका छन्, ‘सम्मान घरबाट सुरु हुन्छ । सभ्यता पुर्खाबाट आउने र सिक्ने कुरा हो ।’

शान्त र भावुक उनले ह्वाइटहाउसमा चार वर्षअघि आँसु झारेका थिए । ओबामाले ह्वाइट हाउस छाड्दै गर्दा दिएको सम्मानमा उनले ओबामा शब्दमा भावुक बनेको अमेरिकीहरू स्मरण गर्दैछन् । ‘बाइडन अमेरिकी इतिहासका उत्कृष्ट उपराष्ट्रपति र साहसिक व्यक्ति हुन् । उहाँको बुझाइ र क्षमता सबै प्रशंसायोग्य छ,’ ओबामाले बाइडन प्रेसिडेन्ट मेडलबाट सम्मानित गर्दै गर्दा भनेका हुन् । उनको वाक्य सुन्‍नेबित्तिकै बाइडनले हर्षको आँसु खसाल्दै भनेका थिए, ‘तपाईंप्रति म सधैँ ऋणी छु । यहाँले मेरो क्षमताभन्दा पनि बढी इज्जत दिनुभयो । र, मुस्किलका क्षणमा टुट्नबाट जोगाउनुभयो ।’

उनै ओबामाको साथ र जनताको अगाध मायाले बाइडन चार वर्षपछि ओबामाकै स्थानमा पुगेका छन् । उनले अब केही बेरमा राष्ट्रपतिको शपथ लिनेछन् । अनि विश्‍वलाई लोकरिझ्याइँबाट पुनः लोकतान्त्रिक शासनशैलीतिर अघि बढाउने विश्‍वास बहुमत अमेरिकीको छ । विश्‍वमा अतिवाद हाबी भइरहेका कारण पनि बाइडनको आगमनले एक पटक राहत मिलेको देखिन्छ । तर, यसलाई अनुभवी बाइडन पुनः विश्‍वमा एकपटक अमेरिकीलाई अघि बढाउने आशा जनतामा छ । उनले यसलाई सुरुवात भन्दै पुनः अघि बढ्ने संकेत यसअघि नै दिइसहेका छन् । परिपक्‍व  र अनुभवी नेताको हातमा अमेरिकालाई थमाएर जनताले केही राहत महसुस गरिरहँदा विश्‍व कता जाने हो त्यो हेर्न भने बाँकी नै छ । शुभकामना बाइडनलाई । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x