विचार

हामी कति भ्रममा छौँ : भृकुटी-भाष्य मात्र हेरौँ न

गोविन्द न्यौपाने |
कात्तिक १२, २०७७ १५:३० बजे

आलोचनाको आधार               
भृकृटी ऐतिहासिक पात्र हुन् वा मिथकीय, यस विषयमा विद्वान्हरूबीच बहस छ । पञ्‍चायती शासकद्वारा राष्ट्रियताको देवत्वकरण गरिएकी भृकुटीलाई जनमानसमा यसरी भिजाइएको छ कि मानौँ उनी राष्ट्रको मानक आधार नै हुन् ।  वस्तुतः भृकृटीको ऐतिहासिकताबारे लिच्छविकालीन अभिलेखहरूमा कुनै पनि संकेत पाइँदैन । तिब्बती स्रोतहरूले व्याख्या गरेको आधारमा भृकृटीलाई राष्ट्रियताको मानक मानिनु कत्तिको वैज्ञानिक छ ? यो बहसको विषय छ । पञ्चायती शासकले राष्ट्रियताको भाष्य निर्माण गर्ने क्रममा भृकुटीलाई राष्ट्रियताको देवत्वकरण गरिएको हो भन्‍ने आलोचकहरूको तर्क छ ।
 
राष्ट्रियताको काल्पनिकीमा भृकृटीको विभूति गाएर देशभक्तिको आत्मरतिमा रमाउनेहरूप्रति पनि आलोचकहरूले प्रश्‍न उठान गरेका छन (युग पाठक, माङ्गेना, २०७४, पृष्ठ : ८८) तर विभूति घोषणा सम्बन्धी कुनै पनि कार्यविधि, नियमावली र नेपालको संविधान २०७२ को कुनै पनि अनुसूचीमा समेत उल्लेख नभएको तथ्य र तर्कका आधारमा भृकुटीको भाष्यमाथि प्राज्ञिक बहस गर्नु जरुरी छ । 

अंशुबर्माकी छोरी भनी पढी–पढाइएकी भृकृटीको इतिहासमाथि आलोचनात्मक प्रश्न गर्ने हो या गलत इतिहासको भारी विद्यार्थीको काँधमा लाद्‍ने ? आजको कठोर प्रश्‍न हो । विद्यालय तहमा पढ्ने लाखौँ विद्यार्थीलाई भृकृटी अशुबर्माकी छोरी भनी पढाउनु नै गलत इतिहासको रटान हो भने अर्कातिर लोक सेवा परीक्षाको तयारी गर्ने लाखौँ विद्यार्थीले समेत गलत इतिहासको पुनरावृत्ति गरिरहेको देख्दा भविष्यमा देशको प्रशासन हाँक्ने सरकारी कर्मचारीको इतिहासप्रतिको आलोचनात्मक चेतमाथि प्रश्‍न उठाउन सकिन्छ ।
 
प्रश्‍न त विद्यालय-विश्‍वविद्यालय र लोक सेवाको पाठ्यक्रम तयार पार्ने र पाठ्यपुस्तक लेख्‍नेहरूले कसरी गलत इतिहासको पुनरावृत्ति गरिरहेका छन् र त्यसको भ्रम चिर्ने दायित्व कसको हो भन्नेमा केन्द्रित छ । इतिहास शासकहरूको विभूतिगाथा मात्र हो या जनताको संघर्षको देन हो भन्ने तथ्य नबुझ्दासम्म आफ्नो निहित स्वार्थका लागि अमूर्त पात्रहरूलाई विभूतिकरण गर्ने प्रवृत्ति रहिरहन्छ, जुन देशका लागि घातक पनि हुन्छ ।


ADVERTISEMENT

इतिहासको कसीमा भृकुटी

लिच्छविकालका अभिलेखहरूमा भृकुटी सम्बन्धी आजसम्म कुनै पनि संकेत देखापरेको छैन । आफ्ना वंशज र वीरताको गुणगान गाउने राजाहरूको आफ्ना अभिलेखमा पारिवारिक सन्दर्भको व्याख्या गरेको संकेत पाइन्छ । मानदेवको शकसंवत ३८६ को चाँगुको अभिलेखमा मानदेवको तीन पुस्ताको व्याख्या छ (धनव्रज वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०, पृष्ठ : १४-३०) । यस्तै, जयदेव द्वितीयको संवत् १५७ को पशुपति अभिलेखमा लिच्छविकालीन राजाहरूको वंशावली वर्णन गरिएको छ (ऐजन, पृष्ठ : ५५२-५६२) तर यस अभिलेखमा लिच्छविकालका चर्चित राजा अंशुबर्माको किन उल्लेख भएन, त्यो बहसको विषय हो । अंशुबर्मा लिच्छवि वंशको उत्तराधिकारी नभएकाले यस अभिलेखमा उनको नाम उल्लेख नभएको इतिहासकारहरूको तर्क छ । 

अंशुबर्माको नाम उल्लेख नभएको यस अभिलेखमा भृकुटीको प्रसंग नआउनु स्वाभाविक नै मान्‍न सकिन्छ । तर अंशुबर्मा सत्तामा छँदा उनले जारी गरेका अभिलेखहरूमा कहीँकतै पनि उनकी छोरी भनिएकी भृकुटीको नाम उल्लेख नपाइँदा भृकुटी अंशुबर्माकी छोरी थिइनन् कि भन्‍ने तर्क गर्न सकिन्छ । यसकारण नेपालको इतिहास लेखनमा एकाधिकार जमाएको संशोधन मण्डलले आफ्नो कुनै पनि प्रकाशनमा भृकृटीको विषयमा एक शब्द खर्च गरेको पाइँदैन । नेपालका पुरातात्विक एवं अभिलेख्य स्रोतहरूमा भृकुटीको प्रंसग नपरेको तर्कमा मीनबहादुर शाक्य पनि सहमत छन् (मीनबहादुर शाक्य, द प्रिन्सेस भृकृटीदेवी, इश्वी १९९७, पृष्ठ : ३) । तर उनले तिब्बत र भुटानमा संकलनमा रहेका ग्रन्थहरूको आधारमा तयार गरिएको भृकृटीसम्बन्धी पुस्तकमा भृकुटीबारे प्रमाणित निष्कर्ष दिन सकेका छैनन् (ऐजन, पृष्ठ ८६–९०) ।

भृकुटीको विषयमा सर्वप्रथम उल्लेख गर्ने विदेशी विद्वान् सिल्भा लेभी हुन् । उनले पनि तिब्बती तथा चिनियाँ स्रोतका आधारमा अंशुबर्माकी छोरी भृकुटीको तिब्बती राजा श्रोङचोङ गम्पोसँग विवाह भएको उल्लेख गरेको छन् (सिल्भा लेभी, ली. नेपाल, अनु, इश्वी २००५, पृष्ठ : ९९ ) । सिल्भा लेभीको पुस्तकलाई आधार मानेर कतिपय इतिहासकारहरूले अंशुबर्मा र श्रोङचोङगम्पो दुवै समकालीन भएकाले अंशुबर्माले आफ्नी छोरी भृकृटी श्रोङचोङगम्पोसँग विवाह गरिदिएका हुन् भन्ने तर्क गरेका छन् (ढुण्डीराज भण्डारी, नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास, २०४६, पृष्ठ : ६७) । सिल्भा लेभी र ढुण्डीराज भण्डारीको यस तर्कलाई अर्का इतिहासकार डिल्लीरमण रेग्मीले अस्वीकार गरेका छन (डिल्लीरमण रेग्मी, एन्सियन्ट नेपाल, इस्वी १९६५, पृष्ठ : २१५—२१६) । एक पञ्चायती इतिहासकारले भृकुटी र श्रोङचोङगम्पोबीच विवाह भएको र भृकुटीले तिब्बतमा बौध्दधर्मको प्रचार गरी नेपाल-तिब्बतबीच सांस्कृतिक सम्बन्ध कायम भएको चर्चा गरेका छन् (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रूपरेखा पृष्ठ : ९९) । तर यस सम्बन्धबारे प्रामाणिक आधार दिइएको छैन । लिच्छवि इतिहासमै विद्यावारिधि गरेका विद्वान्ले समेत भृकुटीलाई अंशुबर्माकी छोरी मानेका छन् (हितनारायण झा, द लिच्छवि, इस्वी १९६५, पृष्ठ : १५९) तिब्बतीहरूको बढ्दो शक्तिसँग डराई वैवाहिक सम्बन्धलाई कूटनीतिक सम्बन्ध बनाउन अंशुबर्मा सफल भएको झाजीको प्रतितर्क छ ।

दर्जनौँ इतिहासकारहरूले प्रशस्तै खण्डन गरेको विषय विद्यालयको पाठ्यक्रममा किन छिर्दैन ? गलत इतिहास पढाउनु–बुझाउनुको अर्थ के हो ? 

अर्का विद्वान् काशीप्रसाद जयसवालले पनि भृकुटी र श्रोङचोङगम्पो बीचको वैवाहिक सम्बन्धलाई अतार्किक मानेका छन् (जर्नल अफ बिहार एन्ड ओरिसा रिसर्च सोसायटी, भोल्युम २२, पेज १०२) । तर संशोधन मण्डलका पूर्वसदस्य ज्ञानमणि नेपालले भृकुटी उदयदेवकी छोरी हुन सक्ने सम्भाव्यता देखाएका छन् । यद्यपि उनले तिब्बती आधारलाई नै बढी जोड दिएर नेपाल–तिब्बत सम्बन्धबारे केलाएका छन (ज्ञानमणि नेपाल, नेपाल–भोट सम्बन्धका केही सांस्कृतिक पक्ष २०४५, पृष्ठ : १९) । इस्वी ६१८ तिर तिब्बत-नेपालबीच व्यापारिक मार्ग खुलेको भन्ने सिल्भा लेभीको तर्कलाई जोड दिँदै जगदीशचन्द्र रेग्मीले पनि तिब्बत-नेपालबीच वैवाहिक सम्बन्ध हुनसक्ने संकेत गरेका छन् (जगदीशचन्द्र रेग्मी, प्राचीन नेपालको राजनीतिक इतिहास, २०३४, पृष्ठ : १४६) । 


तिब्बती श्रुतिलाई जोड दिँदै इतिहासकार बाबुराम आचार्यले भृकुटीलाई अंशुबर्माकी छोरी मानेका छन् (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, २०७०, पृष्ठ : २४-२८) र तर श्रोङचोङगम्पो र अंशुबर्मा बीचको राजनीतिक घटनाक्रमलाई केलाउँदा भृकुटी अंशुबर्माकी छोरी हुन नसक्ने उत्तिकै बलियो आधार छ । इतिहासकार सूर्यविक्रम ज्ञवालीले पनि सिल्भा लेभीले प्रस्तुत गरेको तिब्बती वंशावलीलाई नै आधार मान्दै अंशुबर्माकी छोरी भृकृटीको श्रोङचोङगम्पोसँग विवाह भएको तर्क अघि सारेका छन् (सूर्यविक्रम ज्ञवाली, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, २०१९, पृष्ठ : ११-१२) । 

तर श्रोङचोङगम्पोले नेपालमाथि आधिपत्य कायम गरेपछि अंशुबर्माले आफ्नी छोरी भृकुटी तिब्बती शासक श्रोङचोङगम्पोसँग विवाह सम्बन्ध कायम गरी नेपालको स्वतन्त्रता बचाएको भन्‍ने सूर्यविक्रम ज्ञावलीको तर्क अप्रामाणिक छ । अर्का विदेशी इतिहासकारले तिब्बतमा बौद्धधर्मको विस्तार अभियानलाई आधार बनाएर भृकुटी-श्रोङचोङगम्पोबीच विवाह भएको बताएका छन् (पर्सिभल ल्यान्डन, नेपाल, भाग १, इस्वी १९२८, पृष्ठ २८-२९) । तर अरू कुनै प्रामाणिक स्रोत दिन नसकेकाले ल्यान्डनको तर्क पनि कमजोर देखिन्छ । यद्यपि अंशुबर्माको समयमा नेपालमा बौध्दधर्मको राम्रो विकास भएका प्रमाण छन् (हेर्नुहोस्, लिच्छविकालका अभिलेख) । कतिपय इतिहारकारले भृकुटीलाई उदयदेवकी छोरी र नरेन्द्रदेवकी बहिनी भनेका छन् (खड्गमान श्रेष्ठ, हिस्ट्री अफ बुद्धिजम इन नेपाल विथ स्पेसल रिफ्रेन्स टु बज्रयान बुध्दिजम २०६५, पृष्ठ : १६५) । तर नरेन्द्रदेवका अभिलेखहरूमा भृकुटीसम्बन्धी कुनै संकेत नपरे तापनि उनका बुबा उदयदेवको पालामा राजनीतिक उथलपुथल भएको संकेत पाइन्छ । तिब्बती स्रोतले पनि उदयदेव तिब्बतमा राजनीतिक शरण लिन गएको संकेत गरेको देखिन्छ । अर्का एकजना इतिहासकारले त भृकुटी अंशुबर्माकी छोरी हुनै नसक्ने तर्क गरेका छन् (भुवनलाल प्रधान, नेपालको इतिहास र संस्कृतिका केही पक्ष , २०५५, पृष्ठ १) ।

तत्कालीन ऐतिहासिक प्रसंग हेर्दा प्रधानको यो तर्क वस्तुसत्यको नजिक देखिए तापनि अन्तिम निष्कर्ष भने हुन सक्तैन । इतिहासकार इमानसिंह चेम्जोङले भृकुटीबारे केही तर्क अगाडि सारेका छन्, जुन इतिहासप्रतिको कमजोर बुझाइ देखिन्छ । उनले इस्वी ४६४ देखि नै लिच्छवि शासन व्यवस्था सुरु भएको अभिलेख्य प्रमाणलाई बिर्सेर इस्वी ६४० सम्म किरात शासन चलेको तर्क गरेका छन्, जसलाई इतिहासप्रतिको भद्दा मजाक, बेइमानी अथवा अज्ञानता भन्‍न सकिन्छ । उनले भृकुटी अंशुबर्माकी छोरी थिइन् जसको विवाह हंसुदेवसँग भएको थियो भनी एक ठाउँमा लेखेका छन् (चेम्जोङ, हिस्ट्री अफ किरात पिपुल्स, पृष्ठ : ९१) । तर अर्को प्रसंगमा आफ्नो पूर्वमतलाई खण्डन गर्दै हंसुदेवको अर्को नाम अंशुबर्मा भएको जसको विवाह भृकुटीसँग भएको उल्लेख गरेका छन् (ऐजन, पृष्ठ : १००) । उनको पूर्वतर्कलाई आधार मान्दा अंशुबर्माले आफ्नै छोरीसँग विवाह गरेको देखिन्छ, जुन हुनै नसक्ने तर्क हो । उनको यस तर्कको खण्डन आलोचकहरूले गरेका छन् (सौरभ, असहमति, २०७१, पृष्ठ : १७० ) ।

शिल्पी थियटरमा ‘भृकुटी’ नाटकको एक दृश्य

माथि उल्लिखित विद्वान्हरूले तत्कालीन राजनीतिक परिस्थिति, तिब्बती वंशावली र चिनियाँ यात्रीहरूको यात्रा वृत्तान्तका आधारमा भृकुटीको विषयमा व्याख्या गरे तापनि आधिकारिक, प्रामाणिक र पुरातात्विक प्रमाण दिन सकेका छैनन् । पुरातात्विक र अभिलेख्य प्रमाणका अभावमा मिथकीय पात्रलाई ऐतिहासिक पात्र पनि भन्‍न सकिँदैन । तर अभिलेख्य प्रमाण प्राप्त नहुँदासम्म मिथकीय पात्रलाई अस्वीकार गर्न पनि सकिँदैन ।

तिब्बती तथा चिनियाँ आधार

तिब्बती वंशावली तथा चिनियाँ यात्रीहरूको यात्रा विवरणका आधारमा सिल्भा लेभीले भृकुटी-श्रोङचोङगम्पो बीचको वैवाहिक सम्बन्धको परिचर्चा गरेका छन् । सिल्भा लेभीले सहारा लिएको उक्त आधारहरूलाई प्रामाणिक रूपमा स्वीकार गर्न नसकिए तापनि अस्वीकार गर्न पनि सकिँदैन । त्यसकारण सत्यको निकट पुग्‍न तुलनात्मक अध्ययनको जरुरी हुन्छ । तिब्बती ग्रन्थ मणिकाबुममा नेपाली राजकुमारी भृकुटी (तिब्बती नाम ठ्रिचुङलाची) र श्रोङचोङगम्पोबीच विवाह भएको वर्णन छ (मीनबहादुर शाक्य, प्रिन्सेज भृकुटीदेवी, पृष्ठ : ४७-६१) । श्रोङचोङगम्पोका मन्त्री थोन्वी सम्भोटाले यस विवाहमा कूटनीतिक भूमिका खेलेको सोही वंशावलीमा उल्लेख छ (ज्ञानमणि नेपाल, नेपाल-भोट-चीन सम्बन्धका केही सांस्कृतिक पक्ष, २०४५, पृष्ठ : ११) । त्यस्तै लद्दाखी वंशावलीमा श्रोङचोङगम्पो र भृकुटीबीचको विवाह प्रसंगबारे विद्वान्हरूले चर्चा गरेका छन् ( डिल्लीरमण रेग्मी, एन्सियन्ट नेपाल भाग एक, १९६५, पृष्ठ : २१५-२१६) । इतिहासकार डिल्लीरमण रेग्मीले भृकुटी र श्रोङचोङगम्पोबीचको वैवाहिक सम्बन्धलाई आधारहीन र तथ्यहीन भनेका छन् (ऐजन) । तर रेग्मीले भृकुटी ल्होमानथाङ राज्यका कुनै शासककी छोरी हुन सक्ने तर्क गरेका छन् ।

लद्दाख, ल्होमानथाङ र तिब्बत (गुगे) राज्यबीच सांस्कृतिक एवम् राजनीतिक सम्बन्ध भएको ऐतिहासिक प्रमाणका आधारमा रेग्मीको तर्कमाथि थप छलफल गर्न सकिन्छ । चिनियाँ यात्री ह्वेनसाङ्ले आफ्नो यात्रा वृत्तान्तमा तत्कालीन लिच्छवि शासकहरू ( अंशुबर्मालाई अन्चु-फा-मो, नरेन्द्रदेवलाई न-लिङ-ति-पो, भृकुटीलाई ठ्रिचुङ-ला-ची, उदयदेवलाई देवल्लाह) उल्लेख गरेका छन् । उनीहरू स्वयं काठमाडौँ उपत्यकामा आएको प्रसंग त्यस वृत्तान्तमा उल्लेख छैन । तर नेपालको तराई भू-भाग लुम्बिनी कपिलवस्तुसम्म आएको प्रसंग उल्लेख गरेका छन् । उनी भारतसम्म यात्रा गरेको इतिहासकारहरूले स्वीकार गरेका छन् । भारतमा रहँदा सुनेकै भरमा उनीहरूले नेपालको विषयमा उल्लेख गरेका छन् (जगदीशचन्द्र रेग्मी, लिच्छवि इतिहास, २०५३, पृष्ठ : १२५) । चिनियाँ यात्रीहरूले लेखेकै विषयमा पनि प्रश्‍न गर्ने ठाउँ रहन्छ । चिनियाँ यात्रीहरूलाई भाषागत समस्या स्वाभाविक रहेको मान्‍न सकिन्छ । भाषिक कमजोरी भइसकेपछि उनीहरूलाई आवश्यक तथ्य संकलन गर्न पक्कै पनि समस्या भएको अनुमान गर्न सकिन्छ । यसकारण भाषिक तथा भौगोलिक जटिलताका कारण पनि उनी नेपाल नआएको हुन सक्ने बलियो सम्भावना छ ।

छलफल

अंशुबर्मा तथा श्रोङचोङगम्पोबीचको सम्बन्धमा तथ्यगत तथा तिथिगत मेल खाँदैन । इस्वी ६१९-६२० पछि लिच्छवि राजनीतिमा अंशुबर्मा देखा पर्दैनन् । उता, इस्वी ६२९ देखि श्रोङचोङगम्पोको शासन सुरु भई इस्वी ६५० सम्म उनको रजगज कायम रहेको देखिन्छ । त्यसकारण अंशुबर्माभन्दा झण्डै १० वर्षपछि शासनमा उदाएका श्रोङचोङगम्पोसँग भृकुटीको वैवाहिक सम्बन्ध हुन नसक्ने देखिन्छ । इस्वी ६३७ तिर भारत आएको ह्वेनसाङको विवरणले पनि यो विवाह सम्बन्धबारे कुनै संकेत दिँदैन । इस्वी ६४३ मा चीनका राजदूत ली.यी. पियाओ र इस्वी ६४६ मा वाङ हुएन शेको टोली नेपाल आएको सिल्भा लेभीले चर्चा गरेका छन् । पछिल्लो कालमा नेपाल आउने यी चिनियाँ यात्रीहरूले अंशुबर्माको कुनै उल्लेख नगरी नरेन्द्रदेवको विषयमा मात्र चर्चा गरेको देखिन्छ (जगदीशचन्द्र रेग्मी, लिच्छवि इतिहास, पृष्ठ : १७३ ) । यसकारण श्रोङचोङगम्पो र भृकुटी सम्बन्धबारे अझ प्रस्ट हुन अंशुबर्मापछि सत्ता प्राप्तिका लागि भएका षड्यन्त्र र राजनीतिक मुद्दाबारे छलफल गर्नु उचित हुन्छ । अंशुबर्मा आफैँमा लिच्छविवंशी थिएनन् । उनी सत्तामा आइसकेपछि शिवदेव प्रथमका छोरा उदयदेवलाई युवराज अर्थात् उत्तराधिकारी बनाएका थिए । 

इस्वी ६१९-६२० तिर अंशुबर्माको अन्त भएपछि इस्वी ६२१ तिर लिच्छवि शासनमा उदयदेव देखापर्छन् । तर उदयदेवले दुई वर्ष जति शासन गरेपछि उनी गद्दीच्युत हुन्छन् । विशेषतः उदयदेवका भाइहरू धु्रवदेव र भीमार्जुन देवले अर्को शक्ति जिष्णु गुप्त र विष्णु गुप्तसँग मिलेर उदयदेवलाई गलहत्याइन्छ । त्यसपछि नेपालको लिच्छविकालीन इतिहासमा गुप्तयुग फेरि सुरु हुन्छ । इस्वी ६२४ देखि इस्वी ६४३ सम्म लगभग २० वर्ष जति गुप्तहरूको शासनव्यवस्था कायम रहन्छ । यस बीचमा गलहत्याइएका उदयदेव आफ्नो परिवारसहित तिब्बतमा राजनीतिक शरण लिन गएको तिब्बती वंशालीहरूबाट प्रमाणित हुन्छ । अभिलेखहरूमा उदयदेवको शक्ति पतन भएको संकेत देखिए तापनि उनी तिब्बत गएको कुनै संकेत भने पाइँदैन । तर तत्कालीन राजनीतिक परिस्थिति र वंशावलीले व्यक्त गरेको कथन मिल्दोजुल्दो देखिन्छ । यसकारण इस्वी ६४१ तिर तिब्बतमा निर्वासनमै रहेको अवस्थामा उदयदेवले आफ्नी बहिनी (छोरी ?) भृकुटीको विवाह श्रोङचोङगम्पोसँग गराइदिएको हुन सक्ने केही इतिहासकारहरूको तर्क छ (भुवनलाल प्रधान, नेपालको इतिहास र संस्कृतिका केही पक्ष, पृष्ठ : ४) 

इतिहास मिथकीय पात्रलाई भर्याङ बनाएर सत्ताको बार्दली चढ्ने कूटनीतिक चालबाजी हो या अरू केही ?

तर ज्ञानमणि नेपालले भने इस्वी ६२९ मै यो विवाह सम्पन्न भएको बताएका छन् । तर इस्वी ६२९ मा शासनभार सम्हालेका श्रोङचोङगम्पोले भृकृटी (तिब्बती नाम ठ्रिचुङ लाची) सँग विवाह गरेका तर्क अमिल्दो देखिन्छ । तिब्बती वंशावलीमा भृकुटीको बुबा देवल्लाह (शिवदेव प्रथम) को उल्लेख भएको आधारमा भृकुटी अंशुबर्मा, उदयदेव वा नरेन्द्रदेवको छोरी नभई शिवदेव प्रथमकी छोरी हुन सक्ने ज्ञानमणि नेपालको तर्क छ (नेपाल–भोट–चीन सम्बन्धका केही सांस्कृतिक पक्ष, पृष्ठ : १९ ) । बुबा शिवदेव प्रथमको मृत्यु र दाजु उदयदेवको सत्ताच्युत भएपछि उनी पनि आफ्ना दाजुसँगै तिब्बतमा राजनीतिक शरण लिन गएको बेला तिब्बती राजा श्रोङचोङगम्पोसँग विवाह भएको हुन सक्छ । तर तिब्बती वंशावली मणिक बुमले भृकुटी नेपालका राजा उदयदेव (तिब्बती नाम गोचा) की छोरी बताएको छ, जसको विवाह श्रोङचोङगम्पोसँग भएको थियो (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, पृष्ठ : २८) । तिब्बती वंशावलीको आधार, लिच्छविकालको राजनीतिक परिस्थिति र नेपाल–तिब्बतबीचको सम्बन्ध तुलना गर्दा भृकुटी उदयदेवकी छोरी हुन सक्ने अर्काथरी इतिहासकारहरूको ठहर छ (मीनबहादुर शाक्य, द प्रिन्सेज भृकुटी, पृष्ठ : ४१) । तिब्बतमा लगभग २२ वर्ष लामो निर्वासनमा रही नरेन्द्रदेवले आफ्नो गुमेको लिच्छवि विरासत फिर्ता गर्न तिब्बतले नैतिक समर्थन गरेको थियो । 

यस सहयोगमा विशेषतः भृकुटी-श्रोङचोङगम्पोबीचको वैवाहिक सम्बन्धले विशेष भूमिका खेलेको मानिन्छ । तर आफ्नो गुमेको विरासत फिर्ता गर्न २२ वर्ष लामो समय लागेकाले नरेन्द्रदेवले तिब्बतीहरूबाट राजनैतिक शरणबाहेक सैन्य वा आर्थिक सहयोग पाएनन् कि भन्ने अड्कल गर्न सकिन्छ । यदि सैन्य वा आर्थिक सहयोग पाएको भए गद्दी फिर्ता गर्न लामो समय लाग्ने थिएन । आफ्नो गद्दी फिर्ता गरेपछि नरेन्द्रदेवले तिब्बतको गुन तिरेको देखिन्छ । वाङ हुएन शेको नेतृत्वमा आएको चिनियाँ टोली भारतका महाराज हर्षवर्धनको दरबारमा जाँदै गर्दा हर्षवर्धनको मृत्यु भएको हुन्छ । पछि चिनियाँ टोली दरबार पुग्दा हर्षवर्धनका मन्त्री अरुणाश्वले चिनियाँ टोलीलाई दुव्र्यवहार गरेको ताङ वृत्तान्तमा उल्लेख छ । यस घटनापछि तिब्बती सेनाको साथमा आफ्ना सात हजार घोडचढी सेनालाई पठाएर सैन्य सहयोग गरेका थिए । यस सैन्यशक्तिले अरुणाश्वलाई पक्राउ गरी चीन लिएर गएको थियो ( रेग्मी, लिच्छवि इतिहास, पृष्ठ : १७५) ।

निष्कर्ष

यात्रा वृत्तान्त, वंशावली तथा अनुश्रुतिहरू इतिहास लेखनका अप्रामाणिक आधार हुन् । अन्य पुरातात्विक तथा अभिलेख्य प्रमाण प्राप्त नहुँदासम्म यी आधारहरूलाई अस्वीकार गर्नुको विकल्प रहँदैन । तर भृकुटीको सन्दर्भमा भने यिनै आधारमा केन्द्रित रहनुको दोस्रो विकल्प छैन । नेपालमा पुरातात्विक र अभिलेख्य प्रमाण त के ? अनुश्रुति र वंशावलीमा समेत भृकुटीको कुनै प्रसंग छैन । त्यसकारण के भृकुटी मिथकीय पात्र (त्यो पनि तिब्बती वंशावली तथा अनुश्रुतिमा आधारित) मात्र हुन् त भन्ने तर्क उठाउन सकिन्छ । यसकारण नेपालमा भृकुटीको कुनै अस्तित्व थिएन भन्‍ने एकथरी इतिहासकारहरूको तर्क छ । यसर्थ नभएकी भृकुटीको भाष्य गाएर कतिन्जेल राष्ट्रियताको आलाप अलाप्‍ने हो भन्‍न प्रश्‍न आलोचकहरूले गरेका छन् (युग पाठक, माङ्गेना) । उता, लद्दाखी, भुटानी र तिब्बती वंशावली तथा अनुश्रुतिहरूमा भृकुटीको प्रसंग छ । यी वंशावलीगत आधारहरूलाई अस्वीकार गर्न पनि सकिँदैन । यसकारण तिब्बत तथा नेपाल दुवै देशमा भृकुटीलाई केन्द्र बनाई पुरातात्विक अन्वेषण एवं उत्खनन गर्ने हो भने भृकुटीको विषयमा केही संकेत प्राप्त हुन सक्ने सम्भाव्यता रहन्छ । 

भौगोलिक विकटता तथा जातिगत र भाषागत आधारमा भृकुटीको श्रोङचोङगम्पोसँग विवाह हुन सक्दैन । तर लिच्छवि राजाहरूले बौद्ध धर्मलाई पनि उत्तिकै महत्व दिएको र तिब्बतमा पनि श्रोङचोङगम्पोको उदयसँगै बौद्धधर्मको विकास हुँदै गएको सन्दर्भमा भृकुटी र श्रोङचोङगम्पोबीच विवाह हुन सक्ने अनुमान तिब्बती वंशावलीको आधारबाट गर्न सकिन्छ । बौद्ध धर्ममा जातीय विभेद नहुँदा यो विवाह सम्भव भएको मान्‍न सकिन्छ । तर अंशुबर्मा (उदयदेव पनि) हिन्दू धर्मका कट्टर हिमायती भएको हुँदा आफ्नी छोरी (?) भृकुटीको विवाह कसरी गरे भन्ने आलोचनात्मक प्रश्‍न उठाउन सकिन्छ । श्रोङचोङगम्पोको राज्यविस्तार अभियान नेपाललाई समेत खतरा हुने हुँदा वैवाहिक सम्बन्ध कायम गरी अंशुबर्माले आफ्नो देशको स्वाभिमान बचाएको भन्ने केही इतिहासकारहरूको कमजोर तर्कले भृकुटीको ऐतिहासिकतालाई प्रमाणित गर्न सक्दैन । त्यसो त शाहकालमा आएर मात्र नेपाल तिब्बतबीच युद्ध भएको प्रमाण छ । 

यसर्थ लिच्छविकालमा नेपाल तिब्बतको सम्प्रभुतामा थियो भन्ने लुसियानो पेटेक र सिल्भा लेभीको अप्रामाणिक र मिथ्या तर्कलाई खण्डन गरिएको छ (डिल्लीरमण रेग्मी, एन्सियन्ट नेपाल, अंक १, १९६५, पृष्ठ : २१७ ) । त्यसो त नेपालका सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा लगायतका इतिहासकारहरूको कुनै पनि तथ्य र तर्कले भृकुटीको अस्तित्वलाई प्रमाणित गर्न सक्दैन । यदि, नेपाली शासककी युवराज्ञी हुन्थिन भने कहीँ न कहीँ उनको नाम उल्लेख हुनुपथ्र्यो भन्ने भुवनलाल प्रधान लगायतका विद्वानहरूको प्रतिकथन जायज छ । वंशावली, लोकगाथा र अनुश्रुतिले इतिहासको आंशिक सत्यको संकेत गर्छन् । यसकारण इतिहासका वंशावलीका संकेतात्मक साक्ष्यहरूलाई प्रमाणको कसीमा घोटेर मात्र व्याख्या गर्न उचित हुन्छ । अमूर्त पात्रलाई प्रमाणित तथ्यझैँ व्याख्या गर्नु इतिहासप्रतिको उपहास हो । नभएकी भृकुटीलाई किन र कसरी राष्ट्रियकरण (विभूतिकरण) गरियो त्यो खोजको विषय छ । 

राष्ट्रकवि माधव घिमिरे अथवा अरु कुनै कविहरूले भृकुटीलाई राष्ट्रियताको गजुर लगाएको आलोचकहरूको प्रतितर्क छ । अझ महत्वपूर्ण प्रश्न त संशोधन मण्डलले भृकुटीबारे एक शब्द बोलेको छैन । तर कसले किन र के स्वार्थले भृकुटी भाष्यको विवेचना गरिरहेको छ ? त्यो खोजको विषय हो । होइन भने इतिहासकारहरूले समेत खण्डन गरेको विषयलाई किन विद्यालयका पाठ्यक्रममा भृकुटी अंशुबर्माकी छोरी भनी गलत इतिहास पढाइएको छ ? प्रश्न उठ्छ । भृकुटी तिब्बती वंशावलीमा मात्र वर्णित छिन् । नेपालमा हालसम्म प्राप्त तथ्यहरूले भृकुटीको ऐतिहासिकतामाथि प्रमाणित गर्न सकेका छैनन् भनेर पाठ्यक्रममा समावेश गर्न किन सकिँदैन भन्ने नै आलोचकहरूको प्रश्‍न हो । युग पाठकले भनेझैँ भृकुटीको विभूतिगाथा गाएर कहिलेसम्म विद्यार्थीको काँधमा गलत इतिहासको भारी बोकाउने हो ? जवाफ खोज्‍नुपरेको छ । इतिहास मिथकीय पात्रलाई भर्याङ बनाएर सत्ताको बार्दली चढ्ने कूटनीतिक चालबाजी हो या अरू केही ? पाठकलाई प्रश्न ।
 



Author

गोविन्द न्यौपाने

न्यौपाने इतिहास अध्येता हुन् ।


थप समाचार