यहाँ प्रधानमन्त्रीलाई मन्त्री फेर्नेसमेत स्वतन्त्रता छैन !
मुलुकमा जनताले दिएको दुई तिहाई बहुमत अहिले अचम्म परिरहेछ ! आफ्नो मेलो छाडेर भाग्ने, जोत्नै लागे पनि राँओटो बिराउने र बतुराउने अनि अर्काले जोत्न लागेको टारमा पुगेर इमानदार हलीसँग बसेर भुसाहा (कक्कड) खाँदै घन्टौँ गफ गरेर जोत्न नदिने । अनि आफ्नो टारमा पुगेर खेतै जोतिनस् भन्दै उफ्रने प्रवृत्ति देखेर बिचरो दुई तिहाई रनभुल्ल परिरहेछ !
अझै आफ्ना पालामा वर्षौँ वर्षसम्म अनौ हातमा लिएर कत्ति पनि मेलो नसार्नेहरूलाई खेतले नै केही समय आराम गर्न र अर्कालाई पालो दिन भनी सत्ताको अनौ अर्काको हातमा थमाइ सकेपछि पनि पालो पर्खन नसकी बिचैमा अनौ खोस्ने प्रवृत्ति देखेर पनि खेत दिक्क मान्दो हो ! नयाँ हली जो अनौ हातमा लिएर सिङ्गो मुलुकको दुई तिहाइको हाराहारी खेत जोतिरहेछन् । उनलाई आफ्ना पालामा राम्ररी बाझो पनि मार्न नसक्नेले ‘कि यसो गर्नुपर्छ’ र ‘कि त्यसो गर्नु पर्छ’ भन्दै सिकाएको र ‘नत्र छोड’ भन्दै निहुँ खोजेको देख्दा त खेत पनि कति खितखित हाँस्दो हो !
हुन त, नयाँ हलीले पुराना हलीदेवको थानमा नियुक्तीका नैवेद्य र धूपधजा चढाउनु पर्ने भए चढाउनाका साथै अलिकति मानमनितो बढाए पनि ती देवहरूको पुर्पुरो बारैमासे त्यतिविधि तात्तैनथ्यो होला ! खेत जोत्तै गर्दा उनीहरूसँग बिच्चबिच्चमा बात मार्दै गरेको भए मन थन्क्याउने ठाउँ हुन्थ्यो होला ! अनौ समात्न नपाए पनि बाउसे गर्न र कोदाली र कुटो समात्न पाएको भए बितन्डाको बनमारा झाङगिदैनथ्यो होला ! पहिले-पहिले खुब चारो खाएर डकारेका र त्यही चारो सम्झँदै हकान्निएका, कुण्ठाको दमले घ्यारघ्यार गरिरहेका तत्तत् गुँड र बथानका बचेराहरू पनि फेसबुक बोट र सामजिक सञ्जालका हाँगामा बसेर कानै टट्टाउने गरी च्यारच्यार पो गर्दैनथे कि !
एउटै खेतका मोही भएर पनि खेतैलाई प्लटिङ गरुला झै गरी कित्ताकाट गर्दै सँधियारका अगाडि भकुराभकुर गरुँला झै गरी कोकोहोलो मच्चाउने गृहकार्य त चुनावमा जनताले दिएको जस्तो त लाग्दैन ! नेकपामा एकजना सुकिलामुकिला प्रवक्ता हुनुहुन्छ । उहाँका गतिविधि हेर्दा के लाग्छ भने उहाँलाई आफ्नो मेलो के हो भन्ने पटक्कै थाहा छैन जस्तो छ ! उहाँ प्रवक्ताको हलो समातेर जोतिरहनुहुन्छ । तर जोत्नुपर्ने बारीमा होइन कि मेलो छाडेर लडखडाउँदै भिरतिर हान्निनुहुन्छ !
पार्टीको प्रवक्ताले आफ्नै पार्टीको सरकारको विरुध्द मिडियामा बान्ता गर्दै हिंड्ने र तथानाम वक्तव्य दिँदै हिड्ने उहाँको बानी देख्दा के लाग्छ भने कि त पार्टीले उहाँलाई सरकारका कामको विरोध गर्ने अख्तियारीसहित नियुक्ती दिएको हुनुपर्छ कि त उहाँ उक्त पदको गरिमा पचाउन नसकेर झुसिलो डकार डकार्दै अजीर्ण बमन गरिरहनु भएको छ !
एउटै खेतका मोही भएर पनि खेतैलाई प्लटिङ गरुला झै गरी कित्ताकाट गर्दै सँधियारका अगाडि भकुराभकुर गरुँला झै गरी कोकोहोलो मच्चाउने गृहकार्य त चुनावमा जनताले दिएको जस्तो त लाग्दैन !
त्यसैले उहाँलाई कि मेलो सोझ्याएर जोत्न भनौँ नत्र प्रवक्ताको अनौ छाड्न भनौँ ! हुन त, उहाँ यस्तो चमत्कारी व्यक्तित्व हुनुहुन्छ । सरकारको तलब भत्ता नलिएर र दसैँ खर्चसमेत नलिएर त्यागको चरम नमुना देखाइरहनु भएको छ भने अर्कातिर करोडौँको गाडी, अलिशान बङगला, राजसी रहनसहन, भव्य र उदात्त जीवनशैली सहित ऐश्वर्यको आनन्द लिइरहनु भएको छ !
तर यो ऐश्वर्य र त्यस्तो भव्यताको स्रोत के हो, महिना दिनमै हुने लाखौ खर्चपानीको जोहो गरिदिने महान् क्रान्तिकारी, सदाचारी, समाजवादी, नैतिकवान् र महान् व्यक्तित्व को रहेछ भन्ने जान्न पाए र त्यसरी नै जिउन सकिने मुहान पत्तो लागे नेकपाका अरू सांसदलाई पनि त्यो जाबो खान पनि धौधौ पर्ने तलब त्याग गर्न, त्यागी हुन र जनताका आँखामा बडो दानवीर हुन अभूतपूर्व प्रेरणा मिल्थ्यो की !
अर्कातिर यो संविधान बनाउन सत्र हजारको रगत जो बग्यो, घाइते, अपाङ्ग र घरबारबिहीनको हिसाबै नगरौँ । विद्रोहमा आफ्ना छोरा, छोरी र बुहारी लागेका हुँदा तिनले पद पाउँदा त्यसलाई परिवारवाद भन्नु तल्लो तहको सोचाइ हो भन्दै एक टेलिभिजन अन्तर्वार्तामा कार्यकारी अध्यक्षज्यूको वाणी प्रस्फुटन भएछ !
त्यत्रो विद्रोहमा होमिएर रगत बगाउने त्यतिविधि कार्यकर्तामध्ये यहाँको रगतको नाताले चाहिँ पानी बिना बाँच्नै नसक्ने माछा झैँ पदबिना जिउनै नसक्ने परिस्थिति रहनुलाई यहाँले निकै उपल्लो स्तरको सोचाइ ठान्नु भएछ ! के त्यत्रो सत्र हजारको बलिदान त्यो तपाईकै सेरोफेरो र घर धुरीभित्रका मोटामोटी सत्रजना वा सत्ताइसजना वा सैतीसजना जतिलाई धर्तीमै स्वर्गको अमरावती अवतरित गर्न र त्यसमै चरम सुखसयल गर्नका लागि मात्रै भएको विद्रोह हो कि क्या हो ! कि संविधानलाई मार्सी धान सम्झेर कुटीकुटी खान निकै मजा आइरहेको हुँदा यहाँहरूले सबै भुसुक्क बिर्सेको हो ?
हैन, कामरेड घरभेटीनाथ खुमलटारानन्द, कामरेड कोटेश्वरानन्द, कामरेड डल्लेश्वरानन्द, कामरेड हात्तीवनानन्दहरू विधि र पध्दतिको मन्त्र जाप गर्दागर्दै समयको ढोका घर्किँदै गइरहेको किन बुझ्नुहुन्न कुन्नि ! आफ्ना ठूला दुःखले आर्ज्याको आफ्नो पार्टी जोगाउन, बलियो बनाउन र आम कार्यकर्ताको भावना बुझ्न उहाँहरू किन सक्नुहुन्न !
पाँच वर्षका लागि पाञ्चायन देवताका केन्द्र भागमा बालकोटेश्वर महादेवलाई चुनावका प्राणप्रतिष्ठामार्फत् राखिसकेको र त्यसपछिको चुनावी प्राणप्रतिष्ठामा जसलाई जनताले केन्द्रमा राख्छन् । उसैले अर्को पाँच वर्ष उक्त केन्द्रस्थानमा आसन ग्रहण गर्न पाउने पध्दति विरुध्दको विधि र पध्दतिको तान्त्रिक विधिका पछाडि ज्यानै फालेर लाग्नाको कारण खै के हो कुन्नि !
कामरेड घरभेटीनाथ खुमलटारानन्द, कामरेड कोटेश्वरानन्द, कामरेड डल्लेश्वरानन्द, कामरेड हात्तीवनानन्दहरू विधि र पध्दतिको मन्त्र जाप गर्दागर्दै समयको ढोका घर्किँदै गइरहेको किन बुझ्नुहुन्न कुन्नि ! आफ्ना ठूला दुःखले आर्ज्याको आफ्नो पार्टी जोगाउन, बलियो बनाउन र आम कार्यकर्ताको भावना बुझ्न उहाँहरू किन सक्नुहुन्न !
कहिले के त कहिले केका बारेमा हल्ला मच्चाउँदै सरकारलाई थच्चाउन कस्सिनु भएका केही सचिवालयानन्दहरूको गनगनले पनि कानै पो टट्टाउन लागिसक्यो ! पार्टी एकीकरणका काम दश दिन भित्र पूरा गर्ने भनेर स्थायी समितिले दिएको निर्देशनतर्फ कार्यकारी अध्यक्षको ध्यान केन्द्रित नहुँदा कसैले प्रश्न नगर्ने तर पार्टीका अग्ला भनिएका नेताज्यूहरू सबै सरकारका पछाडि भित्तो भएर लिच्चड तालले लाग्ने कार्य के कति उपयुक्त हो ?
कार्यकारी अधिकार परिभाषित भएन भनेर परिभाषित गरेर लिएपछि त्यो कार्यकारी अधिकार पार्टीका पेन्डिङ रहेका कार्य सम्पन्न गर्न लिइएको हो कि प्रधानमन्त्रीकै विरुध्दमा प्रयोग गर्ने दुराशयले मागिएको हो ? के यो कार्यकारी अधिकार ‘जसको टाउकोमा हात राख्छु त्यसको भस्म होस् भन्ने वरदान महादेवसँग लिएर महादेवकै टाउकामा हात राखेर भस्म पार्न खोज्ने भस्मासुरी प्रवृत्ति’ को नवसंस्करण हो ?
कार्यकारी कामरेडलाई कार्यविहीन (अनुभव गर्नुभएका) कामरेडको गणित जोड्दा बहुमत (बुहारीमत समेत) आफ्नो पक्षमा छ भन्दैमा सरकारविरुध्द नानाथरी हप्तै पिच्छे नयाँनयाँ फन्डा फुराउँदै सरकारका विरुध्द विषवमन गर्न लाज लाग्दैन ?
प्रधानमन्त्रीज्यू ! तपाईका हात खुट्टा बाँधेर हिडेन भनेर आरोप लगाउने काम अति नै भो ! प्रधानमन्त्रीले जाबो एउटा मन्त्री बनाउन नपाउने यो गणतन्त्र हो कि घाँडोतन्त्र ! यो गणतन्त्र असफल बनाउन को-को लागिपरेका छन् ! लोकतन्त्रमा प्रधानमन्त्रीलाई संविधान अनुसार चल्न वाधा पुर्याइ सचिवालयको दास बनाएर आ-आफ्ना कुत्सित स्वार्थ पूरा गर्न खोज्नेहरूलाई ठेगान लाउने कुनै औषधि छ भने प्रयोग गर्नुस् !
दुई तिहाइको सरकारलाई बिचरो साबित गर्न तम्सेको छिचरो प्रवृत्तिको भन्डाफोर गर्नुस् ! होइन भने बहुमतको धाक दिनेहरूलाई बहुमतको आडमा कारवाही गर्न चुनौती दिनुस् ! तर राजीनामा चाहिँ नदिनुस् ! जनताले त्यत्रो बहुमत तपाईको मुख हेरेर दिएका हुन् ! राजीनामा दिनु भो भने घोर अपराध हुनेछ !
संसदीय दलमा फेस गर्नुस् ! प्रतनिधि सभा सदस्यहरूले गत चुनावमा आफ्नो विजयका पछाडि कसको देन थियो भन्ने बिर्सेछन् र तपाईलाई मत दिएनछन् भने हाँसी हाँसी बिदा हुनुस् ! रहर लाग्दा भनिएका नेताहरूले लाजलाग्दा गाईजात्रा कति देखाउँदा रहेछन् ! देखाउन दिनुस् ! अब कति दिनसम्म दुई तिहाईको सरकारको घाँटी अठ्याउने गरी लगाइने सधैभरिको घुर्की कतिसम्म सहने ?
र अन्त्यमा प्रवक्ताले आफ्नो सुर्को जोत्नुस् वा खन्नुस् बेसुरमा नबोल्नुस् ! कार्यकारीज्यू नेकपाको विशाल बाँझो र झार उम्रेको खेतमा गोरु नार्नुस् ! जो जो जे जे जिम्मेवारीमा हुनुहुन्छ, जुनजुन जिम्मेबारीको बारी जोत्नु पर्नेछ, वरिष्ठ नेताज्यूहरूले त्यो त्यो बारी जोत्नुस् ! सरकारको प्रमुखले जोतिरहेको खेतमा बाउसे र रोपाहार राख्ने काममा हस्तक्षेप गर्नुस् ! अनि जबर्जस्ती हलो अड्काएर गोरु चुट्ने काम नगर्नुस् !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया