विचार

मुस्लिम मुलुकसँगको संघर्षमा माक्रोन

घरेलु राजनीतिक खपत या धर्म निरपेक्षताप्रतिको वफादारिता

प्याट्रिक विनटुर |
कात्तिक १२, २०७७ बुधबार १७:४८ बजे

पाँच वर्ष अगाडि फ्रेन्च म्यागजिन चार्ली हेब्डोले प्रोफेट मोहम्मद सम्बन्धी कार्टुन छाप्दा मुस्लिम मुलुकहरुमा व्यापक विरोध भयो । त्यतिमात्र होइन, चार्ली हेब्डोकै कार्यालयमा पनि आक्रमण भयो । पाँच वर्षपछि पनि त्यही कार्टुनले अन्तर्राष्ट्रिय राजनीतिमा हलचल मचाउने अपेक्षा कसले गरेको थियो होला र ? तर भयो, त्यस्तै । 

अक्टोबर ६ मा पेरिसकै एक स्कूलमा सामुएल पार्टे नाम गरेका अध्यापकले चार्ली हेब्ड़ोले प्रोफेट मोहम्मदमाथि बनाएको कार्टुन आफ्नो कक्षामा देखाए । त्यो घटनाले उनको ज्यान नै लियो । अनि फ्रान्सलाई फेरि एक पटक मुस्लिम मुलुकहरुसँग आमने–सामने गरायो ।  पार्टेले सायदै सोचेका थिए होला कि कक्षा कोठामा देखाइएको कार्टुनले सभ्यताबीचको सानो द्वन्द नै खडा गरिदिन्छ भनेर ।


पार्टेको हत्या चेचेन पृष्ठभूमिका एक रसियन किशोरले गरेको भनियो । जसले पूरा फ्रान्सलाई स्तब्ध बनायो । फ्रान्समा लामो समयदेखि धर्म निरपेक्षताबारे बहस हुँदै आएको छ । पार्टेको हत्यापछि राष्ट्रपति इम्मानुएल माक्रोनको प्रतिक्रिया के हुन्छ भन्ने चासो थियो । उनले भनिदिए इस्लामिस्टहरुले फ्रान्सको भविष्य निर्धारण गर्न सक्ने छैन ।

त्यसपछिका दिनमा फ्रान्स र मुस्लिम देशहरुबीच वाकयुध्दकै अवस्था खडा भएको छ । टर्कीका राष्ट्रपति रेजेप तायिप एर्डोगनले माक्रोनलाई मानसिक बिरामीसम्म भन्न भ्याए । सानादेखि रियादसम्म माक्रोनलाई इस्लामको दुश्मनका रुपमा चित्रित गरियो । त्यसका साथै मुस्लिम मुलुकहरुमा फ्रान्समा बनेका कुनै पनि बस्तु नकिन्न उर्दी जारी गरिएको छ । यहीबीचमा खाडीका कतिपय फ्रेन्च रेस्टुरेन्टहरुले फ्रान्समा बनेका बस्तुहरुको प्रयोग गर्न छाडेको खबर पनि आएको छ ।

फ्रान्स कोभिड–१९ (कोरोना भाइरस) ले आक्रान्त बनिरहेको बेला माक्रोनले मुस्लिम मुलुकहरुसँगको द्वन्द्वबाट पछि हट्ने अनुमान गरिएको थियो, तर उनले त्यसो गरेको देखिएन । बरु उल्टै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन गरी मुस्लिम ‘अतिवाद’विरुध्द कडा कदम उठाउन आग्रह गरे । अध्यापक पार्टेको हत्यामा चेचेन युवा संलग्न भएको देखिएपछि पुटिनसँगको उनको टेलिफोन वार्ता अनपेक्षित थिएन । आतंकवादविरुध्द लड्न रुसको बलियो भूमिका माक्रोनले यसअघि पनि खोज्दै आएका थिए ।  कतिपयले माक्रोनले पुटिनलाई मुस्लिम अतिवादका बारेमा लेक्चर दिन खोजेको पनि भने । अनि कतिपयले फ्रान्स र रुस मुस्लिम अतिवादका विरुध्दमा मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

जे जस्तो विश्लेषण गरिए पनि माक्रोनले मुस्लिम अतिवाद विरुध्दको लडाईलाई छाड्ने देखिंदैन । किनभने उनको यो लडाई आसन्न घरेलु चुनावसँग पनि कुनै न कुनै रुपले जोडिएकै छ । सन् २०२० को अप्रिलमा फ्रान्समा राष्ट्रपतिय चुनाव हुँदैछ । फ्रान्सको रक्षा नीति तथा घरेलु सुरक्षा नीतिलाई थप बलियो बनाउनुपर्छ भन्ने धारणा बोक्ने सेन्टर राइट र फार राइट पार्टीहरुले माक्रोनलाई बलियो चुनौती दिँदै आएका छन । र पार्टीहरु बीचको प्रतिस्पर्धा चुनावसम्ममा झन् बलियो बनेर जाने देखिन्छ । जसले गर्दा माक्रोन सहज अवस्थामा पक्कै छैनन् । पछिल्लो समयमा माक्रोनको राष्ट्रपतिका रुपमा लोकप्रियता घट्दो छ ।

मुस्लिम अतिवाद र योसँग जोडिएर आउने आतंकवादविरुद्ध गम्भीर भएर माक्रोनले विश्व नेतृत्वलाइ संदेश पनि दिन खोजेका छन् । कसैले पनि यी मुद्दाहरुमा तठस्थ बस्छु भनेर हुँदैन । आ–आफ्नो ठाउँबाट कदम उठाउनै पर्छ ।

माक्रोनले चालेका कदमहरुले उनलाई मुस्लिम देशहरुमा नकारात्मक पात्र बनाउला । तर घरेलु राजनीतिमा भने उनलाई घाटा पुर्‍याउने छैन । तर उनले मुस्लिम अतिवादीविरुद्ध चाल्ने कदम भने घरेलु राजनीतिक खपतका लागि मात्र भने होइन । उनी राष्ट्रपति भएर आउनुअघि नै धर्म निरपेक्षताबारे गम्भीर धारणा राख्ने नेताका रुपमा परिचित थिए । राष्ट्रपति भएपछिको उनको विदेश नीतिमा पनि मुस्लिम अतिवादी र धर्म निरपेक्षता सम्बन्धी बहसलाई महत्वपूर्ण स्थान दिएका छन् । टर्की, नाटो, रुस र खाडी क्षेत्रसँगको सम्बन्धमा पनि उनले यिनै मुद्दाहरु उठाएका छन् ।

मुस्लिम अतिवाद र योसँग जोडिएर आउने आतंकवादविरुद्ध गम्भीर भएर माक्रोनले विश्व नेतृत्वलाइ संदेश पनि दिन खोजेका छन् । कसैले पनि यी मुद्दाहरुमा तठस्थ बस्छु भनेर हुँदैन । आ–आफ्नो ठाउँबाट कदम उठाउनै पर्छ । त्यसो त, अक्टोबर २ को सम्बोधनमा माक्रोनले मुस्लिम आतिवादमाथि आफ्नो धारणा राखेका थिए । उनको मुस्लिम धर्ममाथि धारणा कतिपय रुढिवादी मुस्लिमहरुलाई चित्त बुझ्ने खालको थिएन । उनले फ्रान्सको धर्म निरपेक्षतामा मुस्लिमलाई कसरी समाहित गराउने भनेर आफ्नो तर्क प्रस्तुत गर्दै इमाम र मस्जिदलाई अनुगमन गर्ने तरिका पनि प्रस्ताव गरेका थिए ।

उनले सम्बोधन गर्ने क्रममा प्रयोग गरेको एउटा वाक्यले टर्कीलाइ क्रुद्ध बनायो । त्यो वाक्य थियो, ‘इस्लाम धर्मले विश्वभर नै संकटको सामना गर्दैछ ।’ उनको यो भनाइ मुस्लिम जिहाद, साउदीको वाहाविजम र आतिवाद नै मानिने सलाफिजमले मुस्लिम देशहरुमा जरा गाड्दै गएको परिपेक्षमा थियो । माक्रोनले भनेका थिए, ‘हामी राजनीतिक इस्लाममा विश्वास गर्दैनौँ ।’

उनले इस्लामिक अलगावाद माथि पनि कडा टिप्पणी गरेका थिए । ‘इस्लामिक अलगावाद एक राजनीतिक–धार्मिक योजना हो जसको मुख्य उद्देश्य फ्रान्स जस्ता मुलुकमा एउटा अलग समाजको निर्माण गर्दै ती मुलुकका राष्ट्रिय नीतिविरुद्ध इस्लाम धर्म मान्ने मानिसहरुलाई उचाल्नु हो । मुस्लिम बच्चाहरुलाई स्कूलबाट निकाल्नु, समाजमा अरुसँग घुलमिल हुन नदिनु, अरु धर्म मान्नेहरुको संगतबाट बन्चित गर्ने जस्ता कार्य इस्लामिक अलगाबाद अनुरुपकै हुन् । जुन हाम्रो फ्रान्सको राष्ट्रिय नीति र कानुनविरुद्ध छ,’ उनको सम्बोधनमा फ्रान्सले एउटा मुलुकका हिसावमा कसैलाई पनि धर्मका नाम विभेद नगर्ने बताएका थिए । 

यस्ता किसिमका जटिल अनि गम्भीर भाषण विदेशमा बङ्गाएर आममानिसमा प्रस्तुत गरिने सम्भावना हुन्छ नै । अझ माक्रोनले इस्लाममाथि राखेको टिप्पणीलाई फरक अर्थ नदिने त कुरै भएन । त्यो पनि टर्की जस्तो देशमा । जहाँ धर्मको बुइ चढेर राष्ट्रपति एर्डोगनले आफ्नो प्रभाव बलियो बनाउँदै गएका छन् । अर्को रोचक तथ्य छ जसलाई फ्रान्स र टर्कीबीचको सम्बन्ध केलाउँदा भुल्नु हुदैन । फ्रान्सका मस्जिदमा आधा भन्दा धेरै इमामहरु टर्कीमूलका छन् ।

फ्रान्स र टर्कीबीच पछिल्ला दिनमा सम्बन्ध चिसिदै जानुमा अन्य कारण पनि छन् । यी दुई मुलुक धेरै अन्तर्राष्ट्रिय मुद्दामा फरक कित्तामा उभिएका छन् । सिरिया, लिबिया, नाटो, मेडिटेरियनमा ग्यास खोजी र पछिल्लो समयमा अर्मेनिया र अजरबैजानबीचको युद्ध, यी सबै मुद्दामा फ्रान्स र टर्की विपरित ध्रुवमा उभिएका छन् । टर्कीका राष्ट्रपति एर्डोगन सुन्नी इस्लामलाई पुनउद्दार गर्दै यसको राजनीतिकरणमा लागेका हुन् कि भन्ने शंका फ्रान्सले गरिरहेको छ । एर्डोगन आफूलाई मुस्लिम विश्वको नेताका रुपमा उभ्याउन प्रयासरत छन् । यसलाई ठूलो मुस्लिम जनसंख्या भएको फ्रान्सले गम्भीरतापूर्वक नलिने कुरै भएन ।

फ्रान्सले पश्चिम एसियामा टर्कीको गतिविधिमाथि प्रश्न उठाउँदै आएको छ । टर्कीले सिरियामा कुर्दिश मिलिसियामाथि आक्रमण गर्दै आएको छ । कुर्दिश मिलिसिया फ्रान्सका लागि आइएसआइएस विरुद्धको लडाईमा सहयात्री हुन् । लिबियामा फ्रान्सले संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारलाई मान्यता दिएको छ भने टर्कीले खलिफा हफ्तारले चलाउने सरकारलाई ।

मेडीटेरियनको मुद्दामा फ्रान्सले ग्रिसलाइ समर्थन गरेको छ भने अर्मेनियालाई अजरबैजानसँगको युद्दमा । तर, यूरोपमा माक्रोनले ‘फ्रान्स फ्रस्ट’ भन्ने नीति अघि सारिरहेको र यसले यूरोपियन युनियनसँग सम्बद्ध मुलुकहरुको भलाइ नगर्ने तर्क अघि सार्नेको कमी छैन ।

संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त लिबिया सरकारको टर्कीसँगको तनावपूर्ण सम्बन्धले फ्रान्स र टर्कीलाइ आमनेसामनेमा ल्याएको छ । त्यस्तै माक्रोनको नाटो माथिको टिप्पणीले पनि फ्रान्स र टर्कीबीचको सम्बन्ध बिगारेकै छ । माक्रोनले भनेका थिए, ‘टर्कीले भनेको बाटोमा नाटो हिंड्दा यूरोपको रक्षा नीतिलाई नै असर पुर्‍याउनेछ ।’

मेडीटेरियनको मुद्दामा फ्रान्सले ग्रिसलाइ समर्थन गरेको छ भने अर्मेनियालाई अजरबैजानसँगको युद्दमा । तर, यूरोपमा माक्रोनले ‘फ्रान्स फ्रस्ट’ भन्ने नीति अघि सारिरहेको र यसले यूरोपियन युनियनसँग सम्बद्ध मुलुकहरुको भलाइ नगर्ने तर्क अघि सार्नेको कमी छैन ।

‘फ्रान्स आफैं पानि कतिपय मुद्दाहरुमा आफ्ना साथी मुलुकहरुको समर्थन खोज्न जरुरी ठान्दैन । उनीहरुसँग राय माग्दैन । लिबियाका बिषयमा पनि फ्रान्सले आफ्ना अलाईहरुसँग छलफल गर्न जरुरी ठानेको छैन । उसले त्यहाँ आफूलाई इच्छा लागेको कदम उठाउँदै गएको छ । रुससँगको सम्बन्ध ‘रिसेट’ गर्न पनि फ्रान्सले आफ्ना साथी मुलुकसँग राय मागेको छैन । माक्रोनले पूर्वी यूरोपका आफ्ना साथी मुलुकसँग बलियो सम्बन्ध राख्न कोसिस गरेको भए शायद आज फ्रान्सलाई टर्कीसँगको घम्साघम्सीमा होस् या रुससँगको सम्बन्धलाई ‘रिसेट’ गर्नमा होस्, दुवैमा सहयोग प्राप्त हुन्थ्यो होला । तर यी मुद्दामा फ्रान्सलाई निर्धक्क समार्थन गर्ने पूर्वी यूरोपियन मुलुकको संख्या कम छ,’ फ्रेन्च फाउन्डेसन फर स्टारटेजिक रिसर्चका शोधकर्ता ब्रुनो टेरट्राइस भन्छन् ।

फ्रान्स एर्डोगन पछि हट्नेछन् भन्ने सोच्छ । टर्की अहिले धेरै वटा मुद्दामा फसेको छ । मुलुकको गिर्दो आर्थिक अवस्था उकास्नेदेखि आफू सम्मिलित अन्तर्राष्ट्रिय मुद्दाहरुलाई पार लगाउने जिम्मेवारीमा एर्डोगन फसेका छन् ।  तर उनी सजिलै हार मान्ने खालका नेता होइनन् । उनी अन्तराष्ट्रिय राजनीतिका चतुर खेलाडी हुन् । उनले माक्रोनले दिएको अभिव्यक्ति माथि अरब मुलुकहरुको विरोध खोजेर आफ्नो प्रभाव थप बलियो बनाउनेतर्फ लाग्नेछन् ।  

फ्रान्समा बनेका बस्तुहरुको बहिष्कार गर्ने अभियानमा एर्डोगन सरिक भइसके । यो अभियान अरब तथा मुस्लिम देशमा फैलदो छ । यसको राप एर्डोगनले ताप्ने नै छन् । उनले त्यसको छनक आफ्नो अभिव्यक्तिबाट दिइसके । ‘पश्चिमा मुलुकहरुमा मुस्लिम धर्म र संस्कृतिसहित बाँच्न गाह्रो हुन थालिसक्यो,’ उनको पछिल्लो अभिव्यक्ति थियो । यसबाट पनि के पुष्टि हुन्छ भने डढेलो सुरु भइसक्यो । त्यसलाई निभाउन पक्कै समय लाग्ने छ ।  

(दि गार्डीयानका डिप्लोमेटिक एडिटर विनटुरको रिपोर्ट प्रबिनबिक्रम कटवालबाट भावानुवाद)


Author

थप समाचार
x