विचार

‘म्याग्‍नाकार्टामा जस्तो हरेक नेतालाई बोलाएर छाप लगाएर मानेनन् भने फ्याक्नुपर्छ ।’

केदारभक्त माथेमा |
माघ १८, २०७७ आइतवार १८:५७ बजे

काठमाडौँ : जब लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिइन्छन्, पछारिन्छन् या फालिन्छन्, तब नागरिक समाज उठ्नैपर्छ । तर मैले नागरिक समाजको आन्दोलनमा प्राध्यापकहरू देखिन । उहाँहरू देखिनु पर्ने हो । प्राध्यापकहरू पनि बल्नु पर्ने हो । उहाँहरू बलेपछि मात्रै पो त छात्र, छात्राहरूलाई बाल्न सक्नुहुन्छ । त्यो नदेखेर अलिकति दुःख लागेको छ ।

अमेरिकाको तेस्रो राष्ट्रपति थोमस जेफरसन सायद अमेरिकाको संविधान लेख्‍ने सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँले भन्‍नुहुन्थ्यो– ‘इटरनल भिजिलान्स इज द प्राइस अफ लिबर्टी/डेमोक्रेसी ।’ अर्थात्, लोकतन्त्र चाहिन्छ भने त्यसको मूल्य चुकाउनुपर्छ । त्यो मूल्य भनेको सँधै सचेत हुनुपर्‍यो भन्‍ने हो । 


कसैले तपाईंको औँलामा टेक्दा कमसेकम ऐया त भन्‍न पर्‍यो । जानीजानी टेक्या हो भने त त्यो मानिसले माफी नै माग्‍नुपर्छ । तर यहाँ ऐया पनि नभन्‍ने मानिसहरू पनि छन्, त्यो चाहिँ भएन । संसद् पुनर्स्थापनाका कुरा गरिरहेका छौँ, हामीले । संसद पुनर्स्थापना गरेर मात्रै सबै  सिद्धिने होइन । यहाँ भयानक विकृति देखेका वा खपेका छौँ हामीले । निर्वाचन प्रक्रिया नै हेर्नुस् न । कति महँगो बनाएको छौँ हामीले । यसलाई पनि हामीले एडजस्ट गर्नुपर्छ ।

मलाई त कताकता लाग्छ, यो नागरिक समाज बढेर यत्रो रुपमा आओस् कि १३ औं शताब्दीमा किङ जोन भन्‍ने बेलायतको निरंकुश राजा थियो । त्यसलाई २५ वटा व्यारलले बोलाएर हस्ताक्षर गर्न लगाइएको थियो, म्याग्‍नाकार्टामा । त्यस्तै म्याग्‍नाकार्टा यी सबै नेताहरूलाई हस्ताक्षर गर्न ल्याउनुपर्छ । यसले नै जम्मै भ्रष्टाचार हुने, गडबढी हुने गर्छ । नेपालले यो धान्‍न सक्दैन । यसलाई अर्कै प्रक्रियाबाट जानुपर्छ । हरेक कुरामा राजनीतिकरण छ ।
 
एउटामा सत्ता आयो कि उहाँहरूले त विर्ता पाएको जस्तो गर्नुहुन्छ । विश्‍वविद्यालयमा देख्नुभयो नि, विद्यालयमा देख्नुभयो, कुरा सुन्‍नुभयो । हरेक क्षेत्रमा प्रशासनिक तन्त्रमा, हुँदाहुँदा संवैधानिक अंगहरूमा हात छ । हो, हामीले यसलाई अन्त्य गर्नुपर्दछ/बन्द गर्नुपर्छ । सहनै हुन्‍न ।

कसैले तपाईंको औँलामा टेक्दा कमसेकम ऐया त भन्‍न पर्‍यो । जानीजानी टेक्या हो भने त त्यो मानिसले माफी नै माग्‍नुपर्छ । तर यहाँ ऐया पनि नभन्‍ने मानिसहरू पनि छन्, त्यो चाहिँ भएन ।

कुनै बेला त के गरौँ, के गरौँ हुन्छ । मलाई थाहा छ, मैले चार जना प्रधानमन्त्रीलाई बालुवाटारमा पटक-पटक बिन्ती गरेर भनेको छु– ‘विश्‍वविद्यालयमा तपाईंहरूले हात नबढाउनुस् है, प्रधानमन्त्रीज्यूहरू । कहिल्यै राम्रो हुन्‍न यो ।’
 
जुन दिनदेखि विश्‍वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्‍वविद्यालयले कहिल्यै पनि राम्रो गर्न सक्दैन । पटक-पटक भनिरहेका छौँ । यसमा पनि यसलाई अन्त्य गर्नुपर्दछ । अब संघीयताप्रतिको प्रतिबद्धता आउनुपर्‍यो । भाषणमा मात्रै होइन, अब के गर्नुहुन्छ, छ महिना पछि के गर्नुहुन्छ ? त्यो आउनुपर्छ । दुई चार वर्ष हेर्दा त्यो त आएन ।

अर्को समाजवादप्रतिको प्रतिबद्धता आउनुपर्‍यो । हामीले त्यो त महसूस गरेका छौँ । अलिकति समाजवादी खालको रिपोर्ट आएको छ भने चकटीमुनी राखिदिन्छन् । बाहिर निकाल्दै निकाल्दैनन् । हाम्रै चिकित्सक शिक्षाको प्रतिवेदन पनि डेढ महिना लुकाउनुभयो, साथीहरूले लडेर साथ दिनुभयो । हामीले निकाल्यौँ ।
 
यो पनि प्रजातन्त्र हो ? यो प्रजातन्त्र खोजेको हो ? यो प्रजातन्त्र हो भने चाहिँदैन यो प्रजातन्त्र हामीलाई । मैले सोचेकै थिइनँ यस्तो प्रजातन्त्र ।
 
आफूले गठन गरेको आफ्नै मन्त्रीको अध्यक्षतामा भएको उच्चस्तरीय समितिको प्रतिवेदन लुकाउँछ । राम.....राम.... । त्यसलाई त सार्वजनिक गरेर बहस गर्नुपर्‍यो नि । सार्वजनिक विद्यालयहरू, अस्पतालहरूको स्थिति देख्नुहुन्छ, समाजवादको त हामी अगाडि बढेको पटक्कै छैन । यो पनि प्रतिबद्धता चाहिन्छ ।
 
नागरिक आन्दोलन भव्य रुपले जाओस् । म्याग्‍नाकार्टा जस्तो हरेक नेतालाई बोलाएर छाप लगाएर मानेन भने फ्याक्नु पर्छ ।


(नागरिक समाजले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा माथेमाले व्यक्त गरेको विचारको-सार)


Author

थप समाचार
x