विचार

सुशील कोइरालाको ५ औँ स्मृति दिवस

सुशील 'दा’बाट अनुकरण गर्नुपर्छ ‘सादा, सरल र सहज शैली’

बालकृष्ण खाण |
माघ २६, २०७७ सोमवार १२:९ बजे

सुशील कोइराला नेपाली कांग्रेसको दृढ प्रतिबद्ध नेता हुनुहुन्थ्यो । उहाँको जीवनकालमा पार्टीका नेताहरूलाई सदैव सहयोग पुर्‍याउनु भयो । र, आफ्ना पृथक धारणा पनि नेताहरूसँग सदैव उहाँले राखिरहनुभयो । कांग्रेस स्थापनाकालदेखि नै अध्यक्षात्मक  पार्टीको रुपमा थियो । अध्यक्ष निर्वाचित हुन्थ्यो । अन्य पदाधिकारी र कार्यसमिति अध्यक्षले नेताहरूको परामर्शमा नियुक्त गर्ने वैधानिक व्यवस्था थियो ।

पार्टीको अध्यक्षात्मक ढाँचा बनाउनमा सुशील कोइराला पछिल्लो समयकालमा अनवरत लागिरहनु भयो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको पहिलो पटकको बानेश्वर महाधिवेशनमा पार्टी सभापति र पाँच विकास क्षेत्रका प्रतिनिधिको रुपमा ५ जना निर्वाचित केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था भएर, त्यसका लागि निर्वाचन भयो । यसका लागि सुशील कोइरालाले नै तत्कालीन पार्टी नेताहरू भट्टराई र गिरिजाप्रसाद कोइरालालाई सदैव दबाब सिर्जना गर्नुभयो । अहिलेको कांग्रेसको सामूहिक नेतृत्व र निर्वाचनबाटै केन्द्रीय समितिको पूर्णता गर्ने व्यवस्था गर्नमा सुशील 'दा'को ठूलो योगदान छ ।


अध्यक्षात्मक प्रणाली कांग्रेसमा आवश्यक छ कि छैन, त्यसमा बहस त छँदैछ तथापि पार्टीलाई यो दिशामा लैजानुमा उहाँको ठूलो भूमिका छ । अन्य कतिपय मुद्दामा पार्टीका नेताहरूलाई सदैव सहयोग गर्नुभयो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला रहँदाखेरी मुलुकमा हिंसात्मक राजनीतिलाई शान्ति प्रक्रियामा बदल्ने क्रममा गिरिजाबाबुको नेतृत्वमा तत्कालीन द्वन्द्वरत नेकपा माओवादीसँग सहमति भयो र १२ बुँदे बृहद शान्ति सम्झौता भयो । गिरिजाबाबुलाई त्यो कार्य गर्न कदम चाल्ने सबैभन्दा बढी सहयोग सुशील ''दा’को थियो ।

पछिल्लो समयमा सुशील 'दा’ आफै सभापति हुनुभयो । दोस्रो संविधानसभामा कांग्रेस ठूलो पार्टी भएको अवस्थामा प्रधानमन्त्री पनि हुनुभयो । उहाँ प्रधानमन्त्री भएकै बखत संविधान निर्माण गर्ने क्रममा एकदमै असहज अवस्था थियो । संविधान जारी भइसकेपछि प्रधानमन्त्रीको निर्वाचन नयाँ प्रक्रिया सुरु हुन्‍छ भन्‍ने सबैलाई थाहा थियो । उहाँलाई पनि थाहा थियो । तथापि उहाँको नेतृत्वमा राजनीतिक दलहरूसँगबीच जुन खालको सहमतिमा संविधान बन्यो, त्यो संविधान तत्काल जारी गर्न धेरै नै दृढतापूर्वक अडान लिनुभयो ।

संविधान जारी गर्ने वातावरण बनेको थिएन । संविधान जारी नभएमा झन् जटिलता थपिन्‍छन् भन्‍ने उहाँलाई लाग्यो । संविधान जारी नभएमा अनिश्चयको अवस्था रहिरहन्‍छ । संविधानमा संशोधन गर्ने व्यवस्था राखिएकै छ । बरु संविधान जारी गरौँ, आवश्यक पर्ने स्थानमा परिमार्जन गरौँला भनी तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो दलको सभापति र प्रधानमन्त्रीको हैसियतमा रोष्टममा पटक-पटक बोल्नुभयो । पार्टीका अन्य नेताहरूलाई पनि बोल्न लगाउनु भयो । अत्यन्तै दृढ अडान लिएर संविधान जारी गर्ने वातावरण निर्माण गर्नु भयो । जारी गर्ने नेतृत्व पनि आफैले लिनुभयो । तसर्थ, उहाँ दृढ प्रतिबद्ध र लोकतान्त्रिक मूल्य पद्धतिका लागि योगदान पुर्‍याएको नेता हुनुहुन्‍छ ।

 सुशील कोइरालाले पनि किसुनजीको जस्तै सादा सरल र प्रजातान्त्रिक समाजवादी नेताले अवलम्बन गर्नुपर्ने आचरण अपनाउनु भयो ।

उहाँले जीवनचर्या पनि एकदमै सादगीपूर्ण र साधा तरिकाले बिताउनुभयो । प्रजातान्त्रिक समाजवादी विचारलाई आत्मसात् गरेर अघि बढ्ने कोसिस गर्नुभयो । त्यो आचरणप्रति आफ्नो जीवनकालभर प्रतिबद्ध रहनुभयो । त्यो क्रममा आफ्नो जीवन पनि किसुनजीको जस्तै सादा सरल र प्रजातान्त्रिक समाजवादी नेताले अवलम्बन गर्नुपर्ने आचरण अपनाउनु भयो ।

आफूसँग असहमत भएकालाई पनि सँगै लिएर हिँड्नुहुन्थ्यो । असहमति राख्‍नेहरूलाई पनि समेटेर लैजान सदैव प्रयास गर्नुहुन्थ्यो । आफ्नो विचार, दृष्टिकोण र कार्यशैलीप्रति दृढ प्रतिबद्ध रहँदारहँदै पनि आफूसँग फरक मत राख्‍नेहरूलाई पनि आफ्नो जीवनको पछिल्लो समयमा समेट्न खोज्‍नुभयो । सहमतिबाटै अगाडि बढ्न कोसिस गर्नुभयो ।

राजनीति आफ्ना विचार, दृष्टिकोण हुन्‍छन् । कार्यशैली आ-आफ्‍नै प्रकृतिको हुन्‍छ ।  तर, फरक कार्यशैली र दृष्टिकोणसँग पनि सामजस्यता र सहमति नै राजनीतिको एउटा महत्वपूर्ण पार्टी हो । त्यो कुरा उहाँले जीवनको अन्तिम समयमा गर्नुभयो । जुन कुरा हामीजस्ता राजनीतिकर्मीले सिक्न जरुरी छ ।

उहाँ सैद्धान्तिक रुपमा जसरी प्रजातान्त्रिक समाजवादप्रति दृढ हुनुहुन्थ्यो, जीवनशैली पनि त्यस्तै अबलम्बन गर्नु भएको थियो । नेपाल, हाम्रा छिमेकी मुलुक र संसारभर हाइफाई जीवनशैली अपनाउने गरेको देखिन्‍छ । सूचना र सञ्चारमा वाइफाई फैलिएजस्तै, जीवन पद्धतिमा हाइफाई फैलिएको छ । तर, सबै नेपालीका इच्छा आकांक्षा पूरा गर्न नेताहरू सादा, सरल र सहज हुन जरुरी छ । त्यो विषय आदरणीय सुशील दाबाट नयाँ पुस्ताले सिक्न आवश्यक छ । अनुकरण गर्नुपर्छ ।

सुशील दाको जोडबलमा जारी भएको संविधानको अहिले आफू अनुकुल व्याख्या गर्ने काम भइरहेको छ । संविधान धेरै व्यवहारिक छ । जनताका मौलिक अधिकारहरूमा बढोत्तरी गरिएको छ । राज्यको दायित्व र जिम्मेवारी  बढाइएको छ । जनताका हक र अधिकार सुनिश्चित गरिएको छ । यी नै संविधानका महत्वपूर्ण आधारशीला हुन् । बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था यो संविधानको मूल राजनीतिक आधारशीला हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानले स्थापित गरेको छ । नागरिक हक, मानवअधिकार स्थापित गरेको छ । पछिल्लो पटकको आमनिर्वाचनमा नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को बहुमत आयो । त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्‍नुभयो । त्यसपछि सरकारले चाहे मानव अधिकार आयोगसम्बन्धी विधेयक होस्, चाहे सूचना प्रविधिसम्बन्धी विधेयक होस्, चाहे मिडिया काउन्सिलसम्बन्धी विधेयक होस्, चाहे राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक होस् ती सबै संविधानमा भएका व्यवस्थाविपरीत जनताका अधिकारलाई कुल्चने गरी ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश त कस्तो गरी ल्याइयो भन्‍ने सबैलाई छर्लंगै भइहाल्यो । यी सबै संविधानप्रतिकूल सरकारले गरेका निर्णय थिए ।

संविधानको प्रावधानविपरीत प्रधानमन्त्रीले जसरी प्रतिनिधि सभा भंग गर्नुभएको छ । यो असंवैधानिक र अलोकतान्त्रिक हो ।

पछिल्लो पटक सरकारले दुई वर्षसम्म बहुमतप्राप्त प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने प्रावधान राजनीतिक स्थीरताका लागि संविधानमा राखिएको छ । त्यसरी नै बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्न नपाउने प्रावधान पनि संविधानमा राखिएको छ । संविधानको प्रावधानविपरीत प्रधानमन्त्रीले जसरी प्रतिनिधि सभा भंग गर्नुभएको छ । यो असंवैधानिक र अलोकतान्त्रिक हो । संविधान निर्माणका क्रममा राजनीतिक दलहरूबीचको सहमतिमा संसदीय अभ्यास भएका अन्य मुलुकहरूमा भन्दा केही पृथक व्यवस्था संविधानमा गरियो । जुन राजनीतिक स्थीरताका लागि गरिएको थियो ।

सहमतिको खिलापमा, संविधानको खिलापमा, विधिको शासनको खिलापमै स्वयं प्रधानमन्त्री र सरकार उभिएको छ । तसर्थ, संविधानको रक्षाका लागि, विधिको शासनको रक्षाका लागि, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि उभिनुपर्ने अवस्था आएको छ ।

कांग्रेस सरकारको यो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक कदम भनेर आन्दोलित बनेको छ । जुन संविधान निर्माणका क्रममा भएका सहमतिको मर्म मर्न नदिन । संविधान निर्माण र जारी गर्ने कामको नेतृत्व गर्ने आदरणीय सुशील कोइरालाको सम्मान र राजनीतिक स्थायीत्वका लागि भएका पटक पटकका जनआन्दोलन र ती जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षा गर्न हो । हामी सुशील 'दा’ले देखाएको बाटो र उहाँले ल्याएको संविधानको मुल मर्म मर्न नदिन जस्तोसुकै कदम पनि चाल्न पछि पर्दैनौँ । आदरनीय सुशील 'दा’प्रति श्रदासुमन । श्रदासुमन । (मधुसुधन भट्टराईसँगको कुराकानीमा आधारित) 


Author

बालकृष्ण खाण

खाण नेपाली कांग्रेसका नेता हुन् ।


थप समाचार
x