विचार

कूटनीतिक राहदानी चोरी भएपछि. .‍ .

मोहनकृष्ण श्रेष्ठ |
फागुन २२, २०७७ शनिबार ६:० बजे

१९९८ सेप्टेम्बर २ देखि ३ सम्म दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा असंलग्न राष्ट्रहरूको संगठन नामको १२ औँ शिखर सम्मेलन गरिने तय भयो । त्यसपश्चात् हाम्रो मन्त्रालयमा पनि काम सुरु गर्नुपर्ने अवस्था आयो । त्यसबखत म मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय कानुन महाशाखामा उपसचिव पदमा कार्यरत थिएँ । सम्मेलन सुरु हुनुभन्दा केही दिन पहिले आवश्यक तयारीका लागि डरबन जाने आदेश प्राप्त भयो । साथै त्यस बखत इजिप्टका लागि राजदूत गोपीनाथ दवाडीलाई पनि तुरुन्त डरबन जाने आदेश गयो । हामी सम्पर्कमा थियौँ र डरबनमा भेट गर्ने गरी कुरा मिलायौँ । 

२७ अगस्ट १९९८ का दिन म काठमाडौँबाट बैंककका लागि उडेँ । बैंककबाट जोहानेसबर्ग पुगेर त्यहाँबाट डरबन पुग्‍ने योजना थियो । त्यही दिन बैंककबाट फ्लाइट भएकाले एअरलाइन्सको काउन्टरमा गएँ । त्यहाँ कार्यरत केटीलाई मेरो टिकट 'फुल पेड' र म कूटनीतिज्ञ भएकाले मलाई 'बिजिनेस क्लास'मा अपग्रेड गरिदिनुस् भनेर अनुरोध गरेँ । उनीहरूले यो अधिकार हामीसँग छैन, ब्राजिलियन एअरलाइन्स भारिगको म्यानेजर हङकङ जानुभएको छ । एक घण्टापछि फर्कनुहुन्छ । तर खबर चाहिँ तुरुन्त पठाइदिउँला भनी जवाफ फर्काए । 


म कुरेर बसेँ । नभन्दै म्यानेजर बैंकक आइपुगेपछि मलाई खोज्‍न आइपुगे । सानो कदको व्यक्ति भए तापनि महँगो सुटलाई राखेकाले व्यक्तित्व झल्किन्थ्यो । उहाँले मेरो मागबमोजिम तुरुन्त स्वीकृति दिनुभयो र भलाकुसारी पनि गर्नुभयो । ब्राजिलियन नागरिकहरू अति नै मित्रवत् हुने कुरा त पहिलादेखि थाहा थियो । टोकियो बसाइँताका एक दिन होटल न्यु ओटानीमा गएको बखत लिफ्‍टमा एक युगल जोडी पनि सँगै गियो । सामान्य हाईहेल्लो गर्दा उनीहरू ब्राजिलियन रहेछन् । ब्राजिल अति राम्रो देश भएकाले मौका मिलेमा घुम्न आउनुस् भनी तुरुन्त निमन्त्रणा गरी हालेको कुरा पनि याद आयो । 

टिकेटिङ काउन्टर खुलिसकेकाले म पनि लाइनमा उभिन पुगेँ । मेरा अगाडि २-३ जना उभिराखेको र सबभन्दा अगाडि एक जना अजंगको कुइरे उभिराखेको थियो । करिब ८ं० वर्षको ठूलो जिउडालको र ६ फुटभन्दा अग्लो त्यो व्यक्तिलाई काउन्टरको केटीले सरलाई कुन सिट दिऊँ भनी अंग्रेजीमा सोधिन् । बुढाले कुनै पनि सिट भए हुन्छ, तर एउटा राम्री केटीसँगै पारिदेऊ है भनी अनुरोध गरे । वरिपरि बसेका सबै जना गलल्ल हासे । बूढाको ठट्यौलीपन गजबको थियो । 

भारिग एअरलाइन्सको त्यो फ्लाइट बैंककबाट उडी जोहानेसबर्ग भई ब्राजिलको रियो दी जेनेरियो जाने अन्तिम फ्लाइट रहेछ । लकहिड कम्पनीले बनाएको त्यो भीमकाय प्लेनमा त्यो दिन यात्रुहरू खास थिएनन् । सिटहरू धेरैजसो खाली थिए । बिजिनेस क्लासमा पनि म र अरु केही यात्रुहरू मात्र थिए । यात्रुहरू नहुँदा एअरहोस्टेसहरू पनि फुर्सदिला नै भए । मारिया मसँग कुरा गर्न आई । फिल्महरू हेर्नुस् भनी एउटा मुभी प्लेयर पनि ल्याइदिइन् । निकै मिजासिला तथा हँसिला मारियाले नेपालबारे पनि निकै सोधखोज गरिन् । मैले पनि ब्राजिल तथा ब्राजिलियनहरूप्रति उच्च भावना रहेको र हालसम्म जान नपाए पनि कुनै दिन जानेछु भने । निकै बेर कुराकानी भएपछि खाना ल्याइदिइन् । त्यसपश्चात् एउटा फाराम र खाम पनि दिइन् ।

राहदानी बोक्ने अधिकृतले सावधानी अपनाएकै हुन्छ । तर पनि अकल्पनीय तरिकाले क्षणभरमा आँखाकै अगाडि प्रतिनिधिमण्डल सबैको राहदानी चोरी हुनु भनेको विरलै घटना थियो । त्यो यात्रुहरूले भारिग एअरलाइन्सको सेवाबारे आफ्ना कमेन्ट लेख्‍नका लागि थियो । मैलै राम्रो लेखिदिएँ । हुन त त्यस्तो बन्दी खाम कर्मचारीले हेर्न नहुने हो । तर मारियाले खोलेर पढेको रहेछ । निकै खुसी भएर मलाई धन्यवाद दिन पनि आइन् । साथै पाइलटलाई पनि देखाएको रहेछ । केही बेर पछि मलाई पाइलटले ककपिटमा बोलाउन पठाउनुभयो । ककपिटबाट यसो आकाशमा हेरेँ । ताराहरू चम्किराखेका निष्पट्ट अन्धकार, तल विशाल समुद्र । प्लेन आफ्नै गतिमा उडिराखेको थियो । करिब ११ घण्टाको फ्लाइटपछि प्लेन जोहानेसबर्ग एअरपोर्टमा ल्यान्डिङ गर्यो । पाइलट तथा मारिया सबैलाई बाई गरेर म होटलतिर लागेँ । 

म तथा राजदूत दवाडी भई नेपाली प्रतिनिधिमण्डलका लागि आवश्यक व्यवस्थाहरू सबै मिलायौँ । सबै तयारी पूरा भइसकेको थियो । कार्यक्रमअनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइपुग्यो । ३ सेप्टेम्बरका दिन सम्मेलन औपचारिक रूपमा समाप्त भयो । दक्षिण अफ्रिकी सरकारले सम्मेलनका लागि राम्रो व्यवस्था मिलाएको थियो । 

अब नेपाली प्रतिनिधिमण्डल ४ सेप्टेम्बरको दिन डरबनबाट जोहानेसबर्ग भई दुबई फर्कनु थियो । साथै प्रधानमन्त्री कोइराला दुबईबाट कतारको औपचारिक भ्रमणमा जाने कार्यक्रम थियो । नेपाली प्रतिनिधिमण्डलमा २६ जना थियौँ । हामी दुई टिम भई फर्कनुपर्ने । प्रथम टिममा मलगायत अन्य परराष्ट्र मन्त्रालयका कर्मचारीहरू र केही पत्रकार साथीहरू पनि थिए । म, शिष्टाचार अधिकृत राजाराम बर्ताैला तथा निमित्त शिष्टाचार महापाल वनमालीप्रसाद लाकौल प्रथम टिममा थियौँ । जोहानेसबर्ग एअरपोर्टमा पुगी सिधा इमिरेट एअरलाइन्सको काउन्टरमा पुग्यौँ । त्यस दिन केही व्यक्तिहरूले हडतालजस्तै गरी राखेको रहेछ । प्लेकार्डमा इफ यु फ्लाई टुडे, यु विल डाई लेखिएको  देखियो । 

बर्तौलाले हाम्रो कूटनीतिक राहदानीहरू तथा टिकटहरू भएको कालो सानो ब्याग काउन्टरमा यसो राखेको मात्र के थिए, कसैले पछाडिबाट टिपेर बेपत्ता भयो । त्यो चोरी यति छिटो भएको थियो कि हामीलाई के भएको भन्नेसम्म पनि थाहा भएन । हाम्रै आँखाको सामुन्‍ने ब्याग राख्‍नै पाएको छैन, चोरी भयो । हामी सबै अक्क न बक्क भयौँ । सोच्नै सकिएन, के भएको भनेर । सायद त्यो चोर हामीलाई पछ्याउँदै आएको होला । एकैछिनमा एअरपोर्टमा ठूलो हल्लाखल्ला भयो । १० मिनेटपछि एफएमले पनि नेपाली प्रतिनिधिमण्डलको कूटनीतिक राहदानीहरू एअरपोर्टबाट चोरी भएको खबर प्रसारण भएछ । ठूलो हंगामा भयो । अब के गर्ने ? यत्तिकै प्रधानमन्त्री तथा अन्य गन्यमान्य व्यक्तिहरू पनि जोहानेसबर्ग आइपुगेर दक्षिण अफ्रिकी सरकारले सम्मानपूर्वक भीआईपी रुममा लगेछन् । ठूलै आपत् पर्‍यो हामीलाई । तर हामीले संयमपूर्वक काम गर्‍यौँ। 

प्रतिनिधिमण्डलका सबै सदस्यहरूलाई राहदानी चोरी भए तापनि हामीसँग सबै विवरण भएकाले ट्राभल डकुमेन्ट बनाएर फर्कन सक्छौँ भनी विश्वास दिलायौँ । इमिरेट एअरलाइन्सले पनि निकै मद्दत गर्‍यो । धन्न, हाम्रो फ्लाइट साँझ ५ बजेतिर थियो र समय पनि प्रशस्त बाँकी थियो । ३-४ घण्टामा सबैको ट्राभल डकुमेन्ट तयार भयो । फ्लाइटमा सिट पनि कन्फर्म गरी बोर्डिङ पाससमेत उपलब्ध भएपछि हामी ढुक्क भयौँ । 

म तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव हरि शर्माजी एउटा भीआईपी रुममा बसेका थियौँ । करिब १ बजेतिर भोकले निकै सताउन थालेको थियो । मैले हरि सरलाई म केही खाना किनेर आउँछु भनी इमिग्रेसनतिर गएँ । त्यहाँ एक जना निख्खर कालो र कपालमा तेल लगाएर टलक्क टल्काएका अधिकृत बसेका थिए । मैले आफ्‍नो परिचय दिएँ । उनले आधा जोक र आधा सान्त्वना देखाएर, ओहो नेपाली, मैले त सुनेको तपाईंहरूले राहदानी बिक्री गर्नुभयो । 

एक त राहदानी चोरी, अर्काे भोकले सोत्तर भएका बेला त्यो अधिकृतले त्यसरी बोल्दा कति रिस उठ्यो होला । मैले पनि अलि अलि मजाक जस्तै गरी, हाम्रो राहदानी त तपाईंकै दाजुभाइहरूले चोरेर लग्यो, बिक्री गरेका हैनौँ भनेर जवाफ फर्काएपछि उनले फेरि बोलेनन् । जोक गर्ने समय हुन्छ नि । मैले फुडकोर्टमा गई चिकेन बिर्यानी किनेर ल्याएँ । हरि सरले पनि निकै मीठो मानी खानुभएको दृश्य अहिलेसम्म याद छ । कार्यक्रमअनुसार नै नेपाली प्रतिनिधिमण्डल दुबई आइपुग्यो ।

भोलिपल्ट नेपाली प्रतिनिधिमण्डल कतारतर्फ लागे भने म तथा शाखा अधिकृत रमेशप्रसाद खनाल (जर्मनीका लागि पूर्वराजदूत) काठमाडौँ फर्क्यौँ । मैले दिनहुँजसो हामी बसेको होटल किन्लोईका म्यानेजरलाई फोन गरी राहदानीबारे सोधपुछ गरिराखेको थिएँ । १२ सेप्टेम्बरका दिन उताबाट म्यानेजरको फोन आयो । उनले खुसीको खबर सुनाए । तपाईंहरूको राहदानी सबै जस्ताको त्यस्तै पुलिसले बरामद गरेको छ । 

ओहो ! कस्तो खुसीको खबर । चोरले सायद पैसाका लागि ब्याग चोरेको होला, तर पैसा त सुका-मोहर पनि थिएन । अनि दिक्क मानेर फोहोर फाल्ने ढ्वाङमा फालिदिएको बुझियो । मैले राहदानीहरू डीएचएलबाट अविलम्ब पठाइदिन अनुरोध गरेँ । नभन्दै १६ सेप्टेम्बरका दिन सबै २६ वटा राहदानी मेरो हातमा आइपुग्यो । तुरुन्त तत्कालीन परराष्ट्र सचिव मुरारिराज शर्मालाई खबर गरे । एउटा ठूलो आपत् टर्‍यो । ठूलो चिन्ताको विषय दूर भयो । चोरले उक्त राहदानीहरू जलाउन सक्थ्यो, समुद्रमा फालिदिन सक्थ्यो । च्यातिदिन सक्थ्यो । तर केही पनि नगरी सिर्फ फोहोर फाल्ने ढ्वाङमा फालिदिएकाले त्यो अपरिचित चोरलाई मनमनै धन्यवाद पनि दिएँ, दुःख दिए तापनि तिम्रो जय होस् भनेर । 

विदेश भ्रमणका बेलामा अनेक अकल्पनीय घटना घट्छन् । तर प्रतिनिधि मण्डल सबैको राहदानी चोरी हुनु पनि निकै संवेदनशील घटना हो । यसरी चोरी होला भनेर कसैले सोच्ने कुरा पनि हुँदैन । राहदानी बोक्ने अधिकृतले सावधानी अपनाएकै हुन्छ । तर पनि यसरी अकल्पनीय तरिकाले क्षणभरमा आँखाकै अगाडि प्रतिनिधिमण्डल सबैको राहदानी चोरी हुनु भनेको विरलै घटिने घटना मध्ये थियो ।

मलाई मनमा खुल्दुली लागिराखेको थियो । अब ककसलाई सजाय हुने हो यो घटनाले गर्दा । मैले हरि सरलाई सोधेँ, हामीलाई केही कारबाही हुन्छ कि भनेर । उहाँको जवाफ सुनेर म अवाक् भएँ । हैन मोहनजी, भ्रमणमा यस्ता घटना घटिराख्छन् । कसैलाई कारबाही हुँदैन । बरु चोरिएका राहदानीहरू फिर्ता ल्याउन सकिन्छ कि पहल गरिराख्नुस् । प्रधानमन्त्री तथा अन्य कोही प्रतिनिधिमण्डलका उच्चपदस्थ व्यक्तिहरूबाट गालीको कुनै एक वचन पनि सुन्‍न परेन । सहनशीलता तथा सुझबुझको उत्कृष्ट नमुना । (लेखक श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत हुन् । उहाँको दुई पुस्तक 'कूटनीतिमा तीन दशक' काठमाडौँ र यसको अ‌ग्रेजी संस्‍करण 'थ्री डिकेट्स इन डिप्लाेम्यासी' बेलायतबाट प्रकाशित छ )


Author

मोहनकृष्ण श्रेष्ठ

लेखक फ्रान्सका लागि नेपालका पूर्वराजदूत हुन् । ‘कूटनीतिमा तीन दशक’ उनको पुस्तक हो ।


थप समाचार
x