विचार

कसकी छोरी ? कसकी श्रीमती ? कसकी आमा ? कसकी दिदी ? कसकी बहिनी ?

डा. मीना उप्रेती |
फागुन २४, २०७७ सोमबार १६:४२ बजे

महिलाको अवस्था बुझ्‍न हामीले छोरीदेखि आमासम्मको भूमिका र अस्तित्व केलाउनुपर्छ । त्यसभित्र बुहारी, भाउजू, फुपू, काकी सबै पर्छन् । यी सबै महिलाको भूमिकामा पुरुष हाबी भएको देखिन्छ । महिलालाई उसको अस्तित्वसँग बाँच्‍न दिइएको छैन । कसकी छोरी ? कसकी श्रीमती ? कसकी आमा ? कसकी दिदी ? कसकी बहिनी ? भनी प्रश्‍न गरिन्छ । 

उनीहरूको आफ्नै आइडेन्टिटी छैन । ‘अट्याच्ड आइडेन्टिटी’मा उनीहरू बाँचिरहेका छन् । उनीहरूलाई दोस्रो दर्जामा राखिएको छ । संरचना, नियम, कानुनको बन्धनले उनीहरूलाई बाँधेको छ । संरचनाभित्रका मूल्य-मान्यता र व्यवस्था महिलाका पक्षमा छैनन् । सामाजिक संरचनामा उनीहरूले गर्नुपर्ने काम, कर्तव्य र दायित्व आउँछ, अधिकार आउँदैन । 


आमालाई हामीले धर्ती बनाएका छौँ । छोरी आज्ञाकारी हुनुपर्छ भन्ने छ । बुहारीलाई कर्तव्यपालकको बोझिलो जिम्मेवारी सुम्पाइएको छ । संरचनाले महिलालाई हरेक ठाउँमा ठगेको छ । पढ्ने र करिअर बनाउने बेला महिलाको जीवनमा सबैभन्दा ठूलो खड्गो बनेर आउँछ, विवाह । विवाहपछि गोत्र, नाता, दैनिकीसँगै धेरै कुरामा परिवर्तन विवाहले ल्याइदिन्छ । महिलाको अस्तित्व छोराछारी, श्रीमान्, घर, परिवारसँग जोडिएर आउँछ । केही समयअघि ४० वर्षमुनिका महिलाले बिनासिफारिस विदेश जान नपाउने कुरा आयो । ५० वर्षमा को जान्छ विदेश ? 

कानुन महिला र पुरुषका लागि बराबर बनाउनुपर्छ । महिला असुरक्षित छन् भने उनीहरूका लागि कानुन बनाउने होइन । जसको कारण महिला असुरक्षित छन् उनीहरूका लागि बनाउने हो । हाम्रोजस्तो समाजमा अब छोरीलाई होइन, छोरालाई नियन्त्रण गर्नेखालको कानुन आउनुपर्छ । करिअरको हिसाबले २० देखि ४० वर्ष महिलाका लागि सबैभन्दा ऊर्जाशील र उत्पादक उमेर हो । तर, यही उमेरमा ऊ श्रीमती, बुहारी, आमा, कर्मचारी सबैको भूमिका एकैचोटि निभाउनुपर्छ । जसको बाबजुद पनि आमाहरू युनिभर्सिटीमा प्रोफेसर छन् । बुहारीहरू मिडियामा काम गर्न कुदिरहेका छन् । छोरीहरू बाइक चलाउन सिकिरहेका छन् । यहाँनेर पुरुषले आफ्नो भूमिका निभाउनुपर्छ । 

विवाहभन्दा अगाडि बुवा र बिहेपछि श्रीमान् महिलाको करिआरको सारथी बन्नुपर्छ । छोरीहरू युनिभर्सिटीमा टपर हुनुमा बुबाको भूमिका छ । किनभने, छोरीहरू बुबासँग बार्गेनिङ गर्न थालेका छन् । पढाइ र करिअरका लागि जिद्दी गर्न थालेका छन् । तर, बुबादेखि श्रीमान्सम्म आइपुग्दा त्यो भूमिका बिस्तारै कमजोर हुँदै जान्छ । अहिलेको अवस्थामा महिलाको करिअर र विवाहमा एउटा रोज्नुपर्ने देखिएको छ । दुइटै रोज्दा असाध्यै गाह्रो हुन्छ । तर, राम्रो पार्टनर पाइयो भने व्यापक सजिलो पनि छ । 

शिक्षा, जागिर र महिला 

सक्षम महिला विवाहपछि सम्झौता गर्न सिक्छन् । बच्चालाई रुवाउँदै जागिर जान सक्दैनन् । आफ्नो जीवनको निर्णय आफैँ लिन सक्दैनन् । उनीहरूको प्राथमिकतामा आफ्नो प्रगतिभन्दा श्रीमान् र छोराछोरीको प्रगति पर्छ । अफिसको कामभन्दा घरको काम पर्छ । जागिर नै प्राथमिकतामा नपरेपछि उनीहरूको कसरी पदोन्नति होस् ? कसरी निर्णायक तहमा पुगून् ? महिला माथिल्लो पोस्टतर्फ लम्किँदै गर्दा समाजमा उनीहरूको चियोचर्चो हुन थाल्छ । श्रीमानलाई जोइटिङ्गे्र भन्न थाल्छ । बिहेपछि महिलालाई नयाँ नातागोता व्यवस्थापन गर्न असाध्यै गाह्रो हुन्छ । विभिन्‍न अड्चन आउँछ । उनीहरू आफूलाई घाटा हुने सम्झौता गर्न थाल्छन् ।
नेतृत्व तहमा पुग्‍न समर्पण चहिन्छ, समय चाहिन्छ । यो कुरा महिलाले आफ्नो करिअरमा भन्दा परिवारमा खर्चिन्छन् । अनि महिलाले नेतृत्व वहन गर्न सक्दैनन् भन्ने खालका प्रश्‍न उनीहरूमाथि उब्जिन्छ । योग्य महिला नेतृत्व तहमा उक्लिन खोज्दा खुट्टा तान्ने धेरै हुन्छन् । संरचनाले महिलालाई माथि जान दिँदैन । नीति निर्माण तहमा पुरुषको एकछत्र राज छ । महिलालाई नेतृत्व तहमा उक्लिन पुरुषको जहिल्यै असहयोग हुन्छ । जसको कारण तल्लो तहमा महिला सहभागिता भए पनि माथिल्लो तहमा महिला देखिँदैनन् । महिलालाई आमा हुन पनि दिऊँ, जागिरे हुन पनि दिऊँ, नेता हुन पनि दिऊँ । उनी जसरी बाँच्‍न चाहन्छिन् त्यसरी नै बाँच्‍न दिऊँ ।

 

खाना कतिबेला पाक्छ भनेर सोध्नुको सट्टा आफू पनि किचनतिर लागौँ । मेरो मोजा कहाँ छ भनेर सोध्नुको सट्टा आफ्नो मोजा आफैँ खोज्छ थालौँ । 

माथिल्लो तहमा महिला हराउँदै जानुको अर्को पनि कारण छ । महिलाहरूको शिक्षा पूर्ण हुन पाउँदैन । एसएलसी, आईए, बीए पढ्दापढ्दै बिहे हुन्छ । आधा शिक्षा न बोक्नु, न टोक्नु हुन्छ । जसले उनीहरूलाई थप पीडा दिन्छ । कोही घरव्यवहारले खाइरहेको जागिर पनि बिहेपछि छाड्छन् । शिक्षा सधैँ स्वतन्त्रतासँग जोडिएर आउँछ । पढेपछि आत्म पहिचान हुन थाल्छ । आफ्नो तरिकाले बाँच्‍ने, जागिर खाने सोच आउन थाल्छ । तर, अपूर्ण शिक्षाले महिलालाई झनै यता न उताको बनाइदिन्छ । 

महिलाको भूमिका र संघर्ष

ऐतिहासिक रूपमा महिलाले जुन खालको हिंसा भोगेको हामीले सुन्दै आएका छौँ, त्योभन्दा डरलाग्दो हिंसा आजका दिनमा भइरहेको छ । त्यसको एउटै कारण हो, हामीले छोरीलाई सक्षमभन्दा संवेदनशील बनायौँ । उसलाई सन्तानका रूपमा होइन, छोरीका रूपमा हुर्काउनु नै हाम्रो गल्ती हो । अबको अवस्थामा छोरी जन्मिन पाउनु नै ठूलो भाग्य भएको छ । जन्मिनुभन्दा अगाडि नै उसको अस्तित्व समाप्त पार्न खोजिन्छ । अबका अभिभावक छोरी जन्मिन पनि दिँदैनन् । किनभने, अहिले एउटा सन्तान चाहिएको छ, त्यसमा पनि छोरा । 

महिलाहरूको कर्तव्यसँग संघर्ष जोडिएको हुन्छ । पुरुषहरूको कर्तव्यसँग अधिकार जोडिएको हुन्छ । महिलालाई हेर्ने दृष्टिकोणमा अहिले पनि कुनै आधुनिकता आएको छैन । पुरुष आफूलाई शक्तिशाली मान्छन् । तर, उनीहरू आफैँ शक्तिशाली भएका होइनन् । महिलाको भूमिका, साथ र सहयोगले उनीहरूलाई शक्तिशाली बनाएको हो । 

वास्तवमा ऊ कमजोर छ । एक दिन श्रीमती घरमा नहुँदा होटलमा गएर खाना खाने पुरुष कसरी शक्तिशाली हुन्छ ? उनीहरूलाई महिलाले शक्तिशाली बनाएका हुन् । तर, त्यसको बदलामा पुरुषले महिलालाई कमजोर बनाए । पुरुषको सफलताका लागि महिलाहरू मरिमेटेर लाग्छन् । तर, पुरुष सपोर्ट गर्न लागि हिचकिचाउँछ । जसरी छोरा मान्छेहरू मेरो काम छ भनेर स्वतन्त्र भएर हिँड्न सक्छन् । महिलाले ‘मेरो काम छ’ भन्यो भने ‘के काम ?’ भनेर प्रश्‍न गर्ने गरिन्छ । तर, अब यस्ता प्रश्‍न गर्न छाडिदिनुपर्छ । 

पुरुषको भूमिका र सोच

पुरुषले घरको काम गरेर महिलालाई काममा पठाउँदैनन् । एउटै जागिर खाएर अफिसबाट फर्किएका दम्पतीमा श्रीमती सिधै किचनमा जान्छिन् । श्रीमान् पत्रिका पल्टाउने, टिभी खोल्ने वा कम्प्युटर चलाउनतिर लाग्छन् । त्यस्ता क्रियाकलापले पुरुषलाई करिअरमा अगाडि बढ्न भर्‍याङ लगाउने काम गर्छ । तर, महिलाहरू भाँडा माझ्छन्, भात पकाउँछन्, त्यो उनीहरूको करिअरमा सघाउने खालको काम होइन । महिलाका काम छरिएका हुन्छन् भने पुरुषका काम ठाडो उकालो लागेका हुन्छन् । पुरुषको स्वार्थ आफू र जागिरसँग हुन्छ । महिलाको स्वार्थ परिवार र छोराछोरीसँग हुन्छ । महिला जहिले पनि समाजले के भन्छ ? सासू-सुराले के भन्छन् ? भनेर सोचिरहेका हुन्छन् । महिलाको जीवन अरूले ‘के भन्छ’ भन्‍नेसँग जोडिएको हुन्छ । पुरुषको जीवन उसले ‘के गर्‍यो’ भन्‍नेसँग जोडिन्छ । जागिर खायो कि खाएन, श्रीमतीलाई काबुमा राख्यो कि राखेन, मर्द बन्यो कि बनेन आदि । तर, महिलाले केही गर्न खोज्यो भने उसलाई ‘ओभरस्मार्ट’ भएको भनिन्छ । ‘ओभारस्मार्ट’ र ‘मर्द’को सम्बन्ध र अवस्थालाई अब हामीले केलाउनुपर्छ । 

पुरुषको करिअरको कोसेढुङ्गा बनेका महिलालाई पुरुषबाट भने सहयोग भएको छैन । उनले जति नै सहयोग हामीले पनि गर्नुपर्छ भन्ने चेत पुरुषमा आएको छैन ।
खाना कतिबेला पाक्छ भनेर सोध्नुको सट्टा आफू पनि किचनतिर लागौँ । मेरो मोजा कहाँ छ भनेर सोध्नुको सट्टा आफ्नो मोजा आफैँ खोज्छ थालौँ । समय व्यवस्थापनमा एकअर्कालाई साथ दिन सकियो भने सम्बन्ध उसै राम्रो हुन्छ । तर, महिलाको सफलतामा पुरुषले खुलेर सहयोग गर्न चाहँदैन । आफ्नोभन्दा राम्रो जागिर श्रीमतीले खाँदा, उनको प्रमोसन हुँदा श्रीमान्लाई आफू तल परेको भान हुन्छ । यसमा दोष पुरुषको मात्र छैन । दोष समाज, चिन्तन र संरचनामा छ । 
आफू स्वतन्त्र हुन चाहने पुरुषले महिलालाई पनि स्वतन्त्र छाडिदिनुपर्छ । श्रीमतीलाई जति अधीनमा राख्‍न थाल्यो श्रीमान्लाई पनि उति नै गाह्रो हुन्छ । श्रीमतीलाई श्रीमती होइन, साथी बनाउनुपर्छ । सम्झौता होइन, साझेदारी गर्नुपर्छ, बराबरी बनाउनुपर्छ । श्रीमान्-श्रीमतीको सम्बन्धलाई होचो र निचोको सम्बन्धका रूपमा लिनु हुँदैन । 

 

नीति निर्माण तहमा पुरुषको एकछत्र राज छ । महिलालाई नेतृत्व तहमा उक्लिन पुरुषको जहिल्यै असहयोग हुन्छ । जसको कारण तल्लो तहमा महिला सहभागिता भए पनि माथिल्लो तहमा महिला देखिँदैनन् ।  

श्रीमती भइसकेपछि आफ्नो थर झुण्ड्याओस् । सिन्दुर, चुरा, पोते लगाइदियोस् भन्ने सोच अब छाड्नुपर्छ । श्रीमान् श्रीमती भनेका दुई फरक व्यक्ति हुन् । यो एउटाको अस्तित्व अर्कोमा विलीन हुने सम्बन्ध होइन । महिला घरमा कसैको श्रीमती होला । तर, बाहिर उसको भूमिका फरक हुन्छ । श्रीमान्हरू आफूलाई फरक ठान्छन् । श्रीमतीलाई भने फरक हुन दिँदैनन् । श्रीमतीको बुहारी हो, जागिरे हो, आमा भन्‍ने कुरा बुझ्दैनन् । श्रीमान्को सफलता त पहिलादेखि नै श्रीमतीको हातमा थियो । तर, श्रीमतीको सफलतामा श्रीमान्को भूमिका कहीँकतै देखिँदैन ।

समानता, आरक्षण र महिला सहभागिताको प्रश्‍न  

आरक्षणले महिलालाई अवसर दिएको छ । जति नै सबल र सक्षम भए पनि पुग्‍न ुपर्ने ठाउँमा महिला पुग्‍न पाउँदैनथे । आरक्षणले निश्चित कोटा छुट्याइदिएको छ । नेपाल जस्तो महिलालाई पछि पारिएको समाजमा आरक्षण राम्रो कुरा हो । तर, आरक्षणको प्रयोग कसरी हुन्छ र यसलाई कसरी सोचिन्छ, त्यो फरक कुरा हो । 
संरचना वा नियम-कानुनको आधारमा जति बेलासम्म पुरुषको दाँजोमा महिला पुग्दैनन्, तबसम्म आरक्षण चाहिन्छ । तर, यसको सही प्रयोग हुनुपर्छ । बन्द बाटोमा गोरेटो बाटो देखाउने काम आरक्षणले गरेको छ । यसलाई पिच गरेर ठूलो बाटो बनाउने काम महिलाको आफ्नै हो । 

अहिले महिला सहभागिताका लागि मात्रै आरक्षणको प्रयोग गरिएको छ । महिलालाई देखाउनेका लागि मात्रै आरक्षण दिइएको छ । नियम भएको कुरा पनि व्यवहारमा छैन । आरक्षणप्रति दृष्टिकोण पनि खराब छ । गोल्ड मेडलिस्टलाई पनि आरक्षणबाट आएको भनेपछि मुख खुम्च्याउने चलन छ । नियम, कानुन, प्रशासन भएका सरकारी संस्थाकै यो हालत छ भने गैरसरकारी संस्थाको त झन् हामीले कुरै नगरौँ । 

गैरसरकारी भनेको व्यक्ति र संस्थाबाट सञ्चालित हुन्छ । त्यहाँ महिला सहभागिताको विषयमा कसैले पनि ध्यान दिएको हुँदैन । गैरसरकारी संस्थाले महिलालाई माया गरेर जागिर दिएका होइनन् । डोनरले महिला हुनैपर्छ भनेर नियम बनाएको केही महिला आएका हुन् । अब हामी सहभागितामा मात्रै सीमित हुनुहुँदैन । नीतिनिर्माण तहमा पुग्‍न का लागि लम्किनुपर्छ । तर, सामाजिक संरचनालाई व्यवस्थापन गर्ने, चलाउने र पुननिर्माण गर्ने काम पुरुषबाट भएको छ । उनीहरूको चिन्तनमा परिवर्तन नभएसम्म उनीहरूको सहभागिता, प्रतिनिधित्व र अवस्था उकालो लाग्दैन । 

(सृजना खड्कासँगको कुराकानी ।)


Author

थप समाचार
x